बुटवल- रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका नौ जना बिरामी परेका छन् ।
सम्मरीमाई गाउँपालिका वडा नम्बर–६, नगवलियाका यादव परिवारले बुधबार साँझ घर नजिकैको बाँसघारीमा उम्रिएको च्याउ खाँदा बिरामी परेका हुन् ।
बिरामी पर्नेमा ७५ वर्षीया रोशनी यादव, ७३ वर्षीया रामपुजन यादव, ५० वर्षीया चन्द्रमती यादव, ४० वर्षीया गीता यादव र ईश्वरवति यादव, ३३ वर्षीया मञ्जु यादव, १८ वर्षीया सीमा यादव, १४ वर्षीया रोमा यादव र १० वर्षीया आशिष यादव छन् ।
च्याउ खाएका उनीहरुलाई राति १० बजेतिर बान्ता हुने, पेट दुख्ने समस्या देखिएपछि भैरहवास्थित भीम अस्पताल ल्याएको उनीहरुका आफन्त अयोध्या यादवले जानकारी दिए ।
भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले अस्पताल ल्याउँदा समस्या भएपनि अहिले बिरामीहरुको अवस्था सुधारोन्मुख रहेको बताए ।
मर्चवार क्षेत्रमा पछिल्लो समय विषालु च्याउ खाएर बिरामी पर्ने क्रम बढ्दो छ । केही महिना पहिला पनि विषालु च्याउ खाँदा कोटहीमाई गाउँपालिकाका १६ जना बिरामी परेका थिए । पाल्पामा पनि पटक पटक विषालु च्याउ खाएर बिरामी भएका र मृत्यु भएका खबर आउँछन् ।
लापरबाहीका कारण यस्तो हुने गरेको भन्दै चिकित्सकहरुले विषालु र खाने मिल्ने पहिचान गरेर मात्रै च्याउ खान आग्रह गरेका छन् ।