Main Menu
  |   Sunday, October 21, 2018
दोस्रो चरणको निर्वाचनमा कस्तो छ दलको तयारी ?
दोस्रो चरणको निर्वाचनमा कस्तो छ दलको तयारी ?

काठमाडौं । कांग्रेसले पहिलो चरणमा उम्मेदवार बनेका नेतालाई आवश्यकताअनुसार दोस्रो चरण निर्वाचनका लागि खटाउने भएको छ। पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र प्रदेश सभाका ७४ क्षेत्रमा आइतबार निर्वाचन सकिएपछि कांग्रेसले उनीहरूलाई दोस्रो चरणमा खटाउने नीति लिएको हो।

निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले आवश्यकताअनुसार प्रतिनिधिसभाका ३५ सहित प्रदेश सभाका उम्मेदवारलाई बाँकी ४५ जिल्लामा खटाउने जानकारी दिए।

‘निर्वाचन सकिए पनि केही उम्मेदवार प्राविधिक काममा जिल्लामै व्यस्त हुन सक्छन् तर अन्य ठाउँमा प्रचारमा जान तयार हुनेलाई हामी तत्काल खटाउँछौँ,’ खाणले भने, ‘४५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाए पनि उम्मेदवार भइसकेकालाई विशेष प्रतिनिधिका रूपमा खटाउने तयारीमा छौँ।’ पहिलो चरणको निर्वाचन भए पनि मतगणना दोस्रो चरणको निर्वाचनपछि मात्र हुने भएकाले उम्मेदवार भइसकेका नेतालाई पनि प्रचारमा खटाएर पार्टीका पक्षमा थप माहोल बनाउने नीति कांग्रेसले लिएको हो। वाम गठबन्धन बन्दा धेरै सिट जित्न दबाबमा परेको कांग्रेसले प्रचारलाई थप प्रभावकारी बनाउन नेताहरूलाई जिल्लाको तल्लो तहसम्मै परिचालनको नीति लिएको छ। ‘हामी पहिलो चरणमा उम्मेदवारलाई पनि सोध्छौँ, जानुपर्ने ठाउँमा पठाउँछौँ। उहाँहरूको प्रभावकारिताअनुसार पठाउने तयारी छ,’ खाणले भने।

पहिलो चरणका शीर्ष नेता दोस्रो चरणको निर्वाचनमा केन्द्रित गर्दै एमाले

पहिलो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा उम्मेदवार भएका एमाले शीर्ष नेता दोस्रो चरणको निर्वाचनमा केन्द्रित हुने भएका छन्। पहिलो चरणमा उम्मेदवार भएका योगेश भट्टराई, शेरधन राई, पृथ्वी सुब्बा गुरुङ, अरुण नेपाल, राजेन्द्र पाण्डेलगायत नेता चुनावी प्रचारप्रसारमा खटिनेछन्। एमालेबाट पहिलो चरणभन्दा दोस्रो चरणको निर्वाचनमा धेरै शीर्ष नेता छन्।

एमाले सचिवसमेत रहेका भट्टराईले पहिलो चरणमा निर्वाचन भइसकेका क्षेत्रका नेतालाई चुनावी गतिविधिमा खटाइने बताए। ‘पहिलो चरणको निर्वाचन भर्खर सकिएको छ,’ उनले भने, ‘पहिलो चरणको निर्वाचनमा उम्मेदवार भएका शीर्ष नेतालाई कार्यतालिका बनाई खटाउँछौँ।’ निर्वाचन प्रचारप्रसारलाई आक्रामक बनाउन नेताहरूलाई व्यवस्थित रूपमा परिचालन गर्ने उनको भनाइ छ।

दोस्रो चरणको निर्वाचन प्रचारप्रसारमा जुट्दै माओवादी नेता

पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै माओवादी केन्द्रका सबै शीर्ष नेता दोस्रो चरणको निर्वाचन प्रचारप्रसारमा केन्द्रित हुने भएका छन्। दोस्रो चरणको निर्वाचन २१ मंसिरमा हुँदै छ। माओवादीले पहिलो चरणमा निर्वाचन भएका जिल्लाका उम्मेदवार कहाँ–कहाँ खटिने भन्ने विषयमा निर्णय नगरेको नेता शक्तिबहादुर बस्नेतले बताए। पहिलो चरणमा उम्मेदवार भएका नेता बस्नेत, वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, कृष्णबहादुर महरालगायत नेता दोस्रो चरणको निर्वाचनको प्रचारप्रसारमा खटिने भएका छन्। जाजरकोटबाट प्रतिनिधिसभा उम्मेदवार रहेका बस्नेतले प्रदेश नम्बर ५ र ६ मा पर्ने जिल्लाका चुनावी कार्यक्रममा आफू केन्द्रित हुने बताए। ‘मेरो निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भइसकेको छ,’ उनले भने, ‘आगामी दिनमा निर्वाचन प्रचारप्रसारमा स्थानीय पार्टी नेता कार्यकर्तासँग सल्लाह गरेर कार्यतालिका बनाई खटिन्छु।’
आजको नयाँ पत्रिकाबाट।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।