Main Menu
  |   Wednesday, November 14, 2018
बुटवलका बौद्ध विहार र गुम्बा
बुटवलका बौद्ध विहार र गुम्बा

विहारको परिचय ः
“विहरति” भन्ने संस्कृत शब्द, जसको अर्थ ‘रहनु’ भन्ने हुन्छ । विहार शब्दले रहने अर्थात् बस्ने, सुत्ने ठाउँलाई जनाउँछ । शाक्यमूनी बुद्ध र उहाँका संघ गुरुहरु सुरुसुरुमा खुल्ला आकाशमुनी, रुख मुनी, पाटी पौवा वा गुफामा बस्नु भएको थियो । कालान्तरमा बुद्ध धर्म र संघको प्रशिद्धि यत्रतत्र फैलियो । दानबीरहरु जन्मिए । भिक्षुहरुलाई बस्न, नुहाउन, आराम गर्न, धर्मोपदेश गर्न र सुन्न मिल्ने खालका भौतिक संरचना बनाइ सुरुमा बुद्ध र संघलाई दान गर्ने गरियो । जसलाई बौद्धधर्ममा विहार भनियो ।

विहारहरुको निर्माणको लामो इतिहास छ । बुद्धले बिहार कस्तो हुनुपर्छ भन्ने कुरा उल्लेख गर्नुभएको छ । जुन विनय पीटकमा उल्लेख छ । बुद्ध र संघलाई दान गर्ने क्रममा राजारानी, महाजन, उपासक, उपासिका, बुद्धका निजी सेवक (वैद्य) हरुले समेत विहारलाई दान गरेको देखिन्छ । बुद्धको महापरिनिर्वाणपछि पनि बुद्धसंघलाई बिहार दान दिने र बिहारहरु निर्माण गर्ने प्रचलन छ । बुटवल उप.म.न.पा. भित्र निर्माण गरिएका विभिन्न जातिको बौद्ध धर्मावलम्बीहरुले निर्माण गरेका गुम्बा र विहारहरुको अवस्थालाई यहा छोटकरी रुपमा उल्येख गरिएको छ ।

पदमचैत्य विहारः
करिब एकसय बर्ष पहिलेसम्म बुटवल बजारमा कुनै बुद्ध बिहार तथा गुम्बा थिएन । यहाँको कालापानीको लडाई समयमा ललितपूरका सिंहवीर ब्रजाचार्य आएर बस्दा आफ्नो कूल परम्परा अनुसार बुद्धधर्मको चिन्ह स्वरुप आफ्ना आराध्यदेव कुलदेवता शीलाको पञ्चबुद्ध बनाई एउटा बुद्ध पदम (कमल) माथि राखि चैत्यको गर्भमा स्थापना गरी आँगनमा चैत्य स्थापना गरेकाले पद्मगर्भ चैत्य नामाकरण भएको थियो ।

वि.सं.१९७१ सालमा काठमाण्डौं गुच्छाटोला निवासी साहु शंखमुनि र मानमुनि बज्राचार्य दुई दाजुभाईले उक्त चैत्यलाई जिर्णोद्धार गरी त्यसमा ढलोटका पञ्चबुद्ध राखी पछि त्यसको पश्चिमतर्फ एउटा धर्मशाला पाटी बनाईदिए । सिंहवीर बज्राचार्यद्वारा निर्मित उक्त विहारको विभिन्न समयमा विभिन्न व्यक्तित्वहरुको सहयोगबाट जिर्णोद्धार, संरक्षण, सम्बद्र्धन विकास तथा विस्तार हुँदै आएको छ ।

यस पदमगर्भचैत्य विहारमा हरेक अष्टमी, औंसी र पूर्णिमाका दिन सबै उपासक, उपासिकाहरु बसी पञ्चशील ग्रहण गर्ने, वुद्धबन्दमा पूजाआजा भजन गर्ने गरिंदै आएको थियो । खुल्ला आकाशमुनी भएकोले हरेक बर्षको बर्षातको पानी र हिउँदको चिसोले खराब हुने बिग्रने, भत्कने हुँदा विभिन्न उपासक उपासिकाबाट सहयोगमा स्थायी चैत्यको निर्माण गरियो ।

नेपालमा स्थवीरवादको बौद्ध धर्मको पुनः जागरणको शीलशीलामा काठमाण्डौका भिक्षु कर्मशिल, भिक्षु धम्मालोक, भिक्षु रामज्योति पूर्व ४ नं. भोजपुरका भिक्षु शाक्यनन्द लगायत पश्चिम पाल्पाका भिक्षु अमृता नन्दहरु तथा श्रीलंका गई बुद्ध धर्म अध्ययन गरी आउँदा यही पार्टीमा उहाँहरुबाट पूजापाठ, धर्मदेशना हुने गथ्र्यो ।

यसरी बौद्ध गुम्बा तथा विहारको निर्माण साथै संघ दान गर्ने क्रममा पुष्पराज बज्रचार्यले वि.सं.२००० सालमा चैत्यमा ५ वटा माने राख्नुभएको र भिक्षुहरुको निवासका लागि विहार बनाउने इच्छा राख्नु भएको थियो । उहाँको सो इच्छा पूरा गर्नको निमित मृत्युपर्यान्त उहाँकी धर्मपत्नी र छोराहरुले ३५०० कम्पनी त्याग गरी जीर्ण भएको पार्टीको पुनः निर्माण गरि दुईतले विहार निर्माण गरी २००५ सालमा वसन्त पञ्चमीका दिन संघदान गरियो । सोही दिन पद्मगर्भचैत्य विहारबाट पद्यचैत्य विहार नामाकरण गरियो ।

यस विहारमा धार्मिक आस्थाका कारण विभिन्न सामाग्री, घण्ट, माने आदि दान गर्ने र भौतिक सुविधाको अभाव हुँदा पनि विभिन्न अनागरिकाहरु, उपासक–उपासिका, बौद्धमार्गीहरुले जग्गा, भवन, पैसा आदि दान गर्ने गर्नुहुन्छ । बुटवल उपमहानगरपालिकाकै सबैभन्दा पुरानो बौद्ध विहार यस पद्मचैत्य विहारको सञ्चालन व्यवस्थापनको निमित हाल विमल बहादुर शाक्यको अध्यक्षतामा विहार व्यवस्थापन समिति रहेको छ ।

शान्ति ज्योति बौद्द समाज गुम्बा
२०५६ मा स्थापना भएको शान्तिज्योति बौद्द समाज गुम्बाकोे विधिबत रुपमा र विधान अनुसार २०५७मा दर्ता भएको हो । बुटबल उप महानगरपालिका बुटवल सुख्खानगरमा स्थापित यस गुम्बाको क्षेत्रफल १२ धुर रहेको छ। भौतिक साधन, स्रोतले सम्पन्न यस गम्बाको सरसफाईको लागि एकजना कर्मचारी राखिएको छ ।

बौद्ध धर्मप्रति आस्था विश्वास राख्ने सम्पूर्ण समुदायको धार्मिक, सांस्कृतिक, नैतिक, सामाजिक, बौद्धिक, आर्थिक तथा स्वास्थ्य सुधारमा सहयोग पु¥याइने उनिहरुमा सुमधुर सम्बन्ध स्थापना गरी बौद्ध धर्मका नाममा समाजमा चलेका कुसंस्कार र संस्कृति निमूल गर्नु र अनुकूल संस्कारको विकास अवलम्बन गर्नु गराउनु रहेको छ । यसैगरी यस संस्थाले सञ्चालन गर्ने गतिविधिहरुमा बौद्ध धर्म सम्बन्धी झाँकी, सभा सम्मेलन, गोष्ठी आयोजना, बौद्ध विहार, गुम्बा चैत्य, चौतारीहरु, प्रतिक्षालय, धर्मशाला आदि निर्माण र परियति शिक्षा प्रदान गर्ने रहेको छ ।

विगतका वर्षहरुमा समुदायका बालबालिकाहरुलाई पनि बुद्द धर्म सम्वन्धि जानकारी गराउने उद्देश्यले शील प्रार्थना,पूजाबारे सिकाउनको साथै अतिरिक्त क्रियाकलापहरु गराउने गरिएकोमा हालका वर्षहरुमा गरिएको छैन। तर खास खास अवसरका पूजाहरुमा अन्तराष्ट्रिय परियति बुद्दबिहार डिङ्गरनगरबाट वौद्द भिक्षु भिक्ष्ुाणीहरु आई पूजाआजा,शील प्रार्थना आदि गराउनु हुन्छ ।

शान्तिज्योति बौद्द समाज गुम्बाको स्थापनाको लाागि जग्गा उपलब्ध गराउने दाता शिवकुमारी अस्लामी मगर ज्यूबाट दान गरिएको जग्गामा भवनको शिलान्यास पनि सोही जग्गादाताकै बाहुलीबाट भएको थियो भने उद्घाटन बरिष्ठ समाजसेवी चन्द्रकला सारु मगरूको करकमलबाट सुसम्पन्न भएको थियो ।
यस गुम्बाको व्यवस्थापन संचालन तथा व्यवस्थि गर्ने गुम्बा संचालक समितिमा श्री लुम बहादुर सारु मगरको अध्यक्षतामा १५ सदस्यीय समिति रहेको छ भने वरिष्ठ सल्लाहकार समितिमा २१ जना सदस्यहरु रहनु भएको छ ।

विश्वशान्ति वौद्द गुम्बा, लक्ष्मिनगर
नेपाल मगर बौद्ध समाज गुम्बाको स्थापना वि.सं.२०४९ सालमा भएको हो । बुटवल उपमहानगर पालिका वार्ड नं.६, लक्ष्मीनगरमा स्थापित यस गुम्बाको स्थापनाको पनि निश्चित उद्देश्य रहेको छ । प्रायोजन हेर्दा शान्तिका अग्रदुत भगवान गौतम बुद्धको शान्तिको सन्देशलाई बौद्ध धर्म, संस्कृति, दर्शन, समाजसेवाको माध्यमबाट फैलाई नेपाल राज्य साथै विश्वमै शान्ति स्थापित गराउने विशुद्ध समाज सेवाले प्रेरित देखिन्छ । मुलुकका विभिन्न क्षेत्र, तह तप्का, पेशा, व्यवसायमा आबद्ध मगर व्यक्तिहरुको मिति २०५७ साल चैत्र २८, २९ र ३० गते भएको प्रथम राष्ट्रिय भेलाको माग सुझाव र निष्कर्ष बमोजिम नेपाल मगर बौद्ध समाज नामक संस्था स्थापना गरिएको हो ।
बुटवल–६, लक्ष्मीनगरमा आफ्नै भवन भई सञ्चालनमा रहेको उक्त गुम्बाको केही भागमा भवन निर्माणको क्रममा रहेकोछ, भने बुद्ध मूर्ति रहेको मन्दिर र एक भवन अहिले पनि यथावत सञ्चालनमा रहेको छ ।

यस गुम्बाको स्थापनाको उद्देश्य पनि अन्य गुम्बा र विहारले लिए जस्तै बुद्ध धर्म प्रचार प्रसार शान्तिको सन्देश, धर्मदेशना, शीलहरुको पालनाको साथै, बौद्ध धर्म मान्ने बौद्धमार्गीहरुको सर्वाङ्गीण विकास र समाजमा शान्ति स्थापना रहेको देखिन्छ ।
यस गुम्बाको संचालन, रेखदेख र व्यवस्थापनको लागि श्री मान बहादुर थापा मगरको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणी समिति गठन गरिएको छ भने विशेष योगदान दिएका र सल्लाह सुझाव उपलब्ध गराइनेहरुको एक ५ सदस्यीय सल्लाहकार समिति पनि रहेकोछ । गुम्बाको रेखदेखको लागि पालेको ब्यबस्था गरिएको छ,भने नियमित पजाआजा पनि हुने गरेको छ।

शाक्यमुनी बौद्ध विहार, चिडियाखोला
शाक्यमुनि बौद्ध विहार, चिडिया खोला बुटवल–५, सिद्धबाबामा विक्रम सम्बत् २०५७ साल ०७ महिना २३ गते शुक्रबार सम्पन्न भएको हो । यसको विहार काठमाण्डौ, डौबहाल, हाल बुटवल उपमहानगर पालिका बुटवल–६, आर्दशनगर बसोबास भएको ७८ बर्षे सिद्धिलाल शाक्य (जोकर) ले आफ्ना पूजनीय पिता स्व. गणेश शाक्य र स्व.माता श्रीमति बुद्धिमाया शाक्यको पूण्य स्मृतिमा निर्माण गरेका थिए । यसको निर्माणमा छोरा सिद्धिलाल शाक्य (जोकरको) सक्रियता रहेता पनि उहाँका बुहारी धीर कुमारी शाक्य ७५ बर्ष, नातीहरु रामलाल शाक्य र रमेश शाक्यको सक्रिय सहभागिता रहेको भन्ने देखिन्छ । साथै उक्त विहारको निर्माणका क्रममा बौद्ध धर्ममा आस्था विश्वास राख्ने उपासक, उपासिकाहरुको अमूल्य योगदान रहेको छ ।

मन्दिर नजिकमा स्थापना हुनुले त्यहाँ आवत जावत गर्ने पूजाआजा, विवाह पार्टीको लागि आउनेहरुले बुद्धको छत्रछायाँमा शितलता र शान्तिको महशुस गरुन साथै बुद्धधर्मको प्रचार प्रसार र संरक्षण पनि होस भन्ने मुख्य अभिप्राय रहेको छ । रमेश लाल शाक्य, सिद्धिलाल शाक्यका कान्छा नाती साथै यस विहारमा अन्य समयमा विवाह, वर्तबन्ध, पार्टी लगायका कार्यको लागि भाडामा दिने गरेको र सो बापत आएको रकम केही मन्दिरको लागि र केही आफुहरुले लिने गरेको जानकारी रमेशलाल शाक्यले बताउनु भयो ।

यस विहारमा अरु समयमा खासै बौद्ध धर्म सम्बन्धी गतिविधि नहुने तर बैशाख पूर्णिमाका दिन विहानै देखि बौद्धमार्गी भिक्षु, उपासक उपासिका सबै भेला भै ज्ञानमाला, भजन गर्ने, पूजाआजा र दान दिने कार्य हुने गरेको छ ।

विश्वशान्ति बुद्ध विहार, दुर्गा मन्दिर लाईन
बुटवल उपमहानगर पालिका दुर्गामन्दिर लाइन ८ विश्वशान्ती बुद्ध विहार दुर्गा, बुद्धधर्मबाट प्रेरित भएका बौद्धमार्गीहरु, उपासक उपासिकाहरुको सक्रियता यस विश्वशान्ति बौद्ध विहारको स्थापना भएको हो । चित्रकार समाजले मूर्ति उपलब्ध गराएको र सूर्य प्रसाद प्रधान मेयर भएको समयमा उक्त मूर्ति स्थापना गरिएको हो।

औंसी, पूर्णिमा र बुद्ध जयन्ती जस्ता खास खास पर्वका समयमा बौद्धमार्गीहरु भेला भई पूजा अर्चना, शील प्रार्थना गर्ने गरिन्थ्यो । तर हाल बुटवल उपमहानगर पालिका भित्र स्रोतः विमल बहादुर शाक्यः अध्यक्ष पद्यचैत्य विहार , बु.उ.म.न.पालिका २, सडक विस्तार गर्ने कार्यलाई सहज बनाउन आवश्यक भएकोले उक्त मूर्ति निकाली विहार भत्काएको अवस्था छ । सो मूर्तिलाई पुनः स्थापना गर्ने बारे कुनै चाँसो देखाएको छैन ।

पूर्ण चैत्य विहार
यस विहारको स्थापना स्व. पिता पूर्णलाल गुभाजुको स्मृतिमा उहाँको इच्छा पूर्तिको निमित स्वर्गीय माा दयालक्ष्मी एवं अन्य चन्दादाताको सहयोगबाट वि.सं. १९८९ सालमा भएको हो । विहारमा भएको लेखिएको विवरण अनुसार स्व.पिता पूर्णलाल गुभाजुले बुद्ध विहार र चौपारीको स्थापना गर्ने इच्छा गरे अनुसार स्वर्गीय माता दयालक्ष्मी एवं अन्य चन्दादाताबाट चन्दा सहयोग संकलन गरी विहार र चौपारी दुवैको निर्माण गरिएको तत्कालिन बुटवल, खस्यौली वार्ड नं.८ मा स्थापना गरिएको बुटवल ३ निवासी श्री देवेन्द्रराज शाक्यको र यसको संरक्षक खड्ग लाल गुभाजु परीवार भन्ने देखिएबाट यो कुनै व्यक्ति विशेषको सक्रियता वा चाहनामा निर्मित भएको हो । धार्मिक क्रियाकलाप, भजन पूजाआजा नियमित रुपमा हने गरेको छ । यस विहारमा खासगरी अष्टमी, औंसी र पर्णिमामा बौद्ध मार्गिहरुको जमघट र पजा, प्रार्थना हने गरेको छ ।

बुटवलको व्यस्त र बीच बजारमा आज पनि ठूलो चौपारी, बुद्ध विहार रहनु र ती निकै जिर्ण अवस्थामा देख्दा आश्चर्य लाग्नु स्वभाविकै हो । यसलाई निर्माणकर्ताहरुले राखेको धार्मिक उद्देश्य पूरा गर्ने गरी साथै सामाजिक कार्यको लागि पनि प्रयोग योग्य बनाउन सकिन्छ । सम्बन्धित निकाय बौद्धमार्गीहरु, सरकारी निकाय सबैका ध्यान जान जरुरी छ ।

महाज्ञान बौद्ध गुम्बा (रामनगर) तमु हयूल छोंज धीं
महाज्ञान बौद्ध गुम्बा, रामनगरको स्थापना वि.सं.२०३५ सालमा भएको हो । स्थानीय गुरुङ्ग समुदायको सक्रियतामा स्थापना गरिएको उक्त गुम्बाको स्थापनाको लागि तमु हयूला छोंज धीं, गुरुङ्ग राष्ट्रिय परिषद्को एकाईको रुपमा जिल्ला कार्यसमितिको मातहतमा रहने गरि स्थापना गरिएको उक्त गुम्बा अर्थात् गुम्बा व्यवस्थापन समिति अन्तर्गत जिल्लाभरिमा लगभग २४ वटा जति गुरुङ्गहरुद्धारा सञ्चालित बौद्ध गुम्बाहरु रहेका छन् ।

स्थापनाकालमा आफ्नो कुनै भवन जग्गा नभएको अवस्थामा बुटवल १० रामनगरमा सार्वजनिक जग्गामा निर्मित उक्त गुम्बाका २ वटा आफ्नै भवन, १ वटा व्यवसायिक भवन, खानेपानी, शौचालय, सरसफाई तथा दैनिक पूजापाठको पनि राम्रो व्यवस्था रहेको छ । तत्कालिन समयमा सार्वजनिक जग्गामा बनाइएको उक्त गुम्बाको लागि २०६५ सालमा माओवादीका देव गुरुङ, न्यायका लागि तथा स्थानीय विकासमन्त्री हुँदा सोही जग्गालाई लालपूर्जा प्रदान गर्नुभएको छ । उक्त गुम्बा को क्षेत्रफल १ बिगाहा ३ धुर रहेको छ ।

गुरुङ्गहरुको ७ वटा विभिन्न पर्वहरुको पूजाआजा र पालना गरिने १ बैशाख पूर्णिमाको २ पौष १५, ३ ल्होसार, ४ माघी, ५, धनुषा पर्व, ६ म्हेतले पर्व, ७, क्होला सोतार लगायत मनाइन्छन् । उद्देश्यः बुद्ध धर्मको जर्गेना तमु भाषा संस्कृतिः संस्कार, चाडपर्व, इहिास, रीतिरिवाज आदिको संरक्षण र सम्बद्र्धन गर्दै तमु जातिको गौरवमय परम्परा कायम राख्ने उद्देश्य सहित गठन भएको तमु प्य ल्हु संघको मातहतमा रही गुरुङ्गहरुकै सक्रियतामा स्थापना भएको यस गुम्बाको उद्देश्य, बौद्ध धर्म, दर्शन, परम्परा कायम राखी विश्वमा शान्ति फैलाउने, प्रचास प्रसार गर्ने रहेको छ । यस गुम्बामा दैनिक पूजापाठ, विशेष पर्वहरुमा धुमधाम गरिनुका साथै विभिन्न बौद्ध गतिविधि पनि बौद्धधर्म दर्शन, शीलप्रार्थना लाई पूर्णतया पालना गरिन्छ।

सा–फुँ–तीं क्हाल्सा, बौद्ध गुम्बा
वि.सं.२०३७ स्थापना भएको सा–फुँ–तीं क्हाल्सा, बौद्ध गुम्बा गुरुङ्गहरुको जातिय पहिचान, इतिहास, परम्परा, भाषा, संस्कृति, संस्कार, रीतिरिवाज, परम्पराप्रति सबै गुरुङ्ग समुदायलाई जागरुक गराई जातीय धार्मिक एकताको सूत्रमा बाँध्ने उद्देश्य राखेर यस गुम्बाको स्थापना गरिएको हो ।

समान उद्देश्य भएका गुरुङ्ग संघसंस्थाहरु बीच एकिकरण गर्ने कुरा जाहेर गर्दै विभिन्न धर्म, दर्शन, राजनैतिक, आस्था र विचार राख्ने तमु संघसंस्थाहरुलाई आवश्यक समन्वय गर्दै जातिय, अस्तित्व, पहिचान र भावी सन्तानहरुको मार्ग सुनिश्चित र यशपूर्ण बनाउँदै एकताबद्धमा राख्ने कुरालाई प्राथमिकतामा गुरुङ्ग राष्ट्रिय परिषद्लाई दिइएको छ ।

यस गुम्बाको स्थापनाकालमा यसको आफ्नो कुनै भवन, जग्गा नभएको हुँदा संस्थापक अध्यक्ष क्या.रुद्र ब. गुरुङ्गको अध्यक्षतामा पहल गरी नेपाल सरकारद्वारा ५ कठ्ठा १० धुर जग्गाको उपलब्ध गराइएको छ । स्थानीय समाज ( गुरुङ्ग) ले आर्थिक सहयोग गरी र हप्तामा १ पटक घरफर्क अभियान लागू गरी श्रमदान मार्फत सच्याउने र भवन निर्माण गर्ने कार्य गरियो । शुरुमा ७ सदस्यीय रहेको यो गुम्बा व्यवस्थापन समितिपछि ३÷३ बर्षमा सभा गरी नयाँ समिति चयन गर्ने प्रचलन रहेको छ । हाल रहेको गुम्बा व्यवस्थापन मुल समिति श्री झल ब. गुरुङ्गको अध्यक्षतामा १३ सदस्यीय रहेको छ भने उपसमितिमा महिलाको र युवकहरुको पनि एक।एक समिति रहेको छ ।

उक्त गुम्बा खासगरी गुरुङ्ग जातिहरुको उत्थान, इतिहास, परम्परा, रीतिरिवाज, आदिको पहिचानको जर्गेनाको लागि गरिएता पनि बौद्धधर्मावलम्बीहरुले गर्ने सम्पूर्ण गतिविधिहरु सञ्चालन हुने गर्छन् । पंचशीलको पूर्णतया पालना, दैनिक पूजाअर्चना साँझ बिहान गरिन्छ भने उक्त गुम्बामा भिक्षु भिक्षणीहरुको नियमित रुपमा बस्ने गरेको पाइएन ।

गुरुङ्ग थरकै पुरोहितबाट पूजाआजा गरिँदै आएको उक्त गुम्बामा गुरुङ्गशास्त्र अध्ययन गर्ने विद्यार्थीहरुको रुपमा ७ जना शिक्षार्थीहरु नियमित अध्यापन गराइदै आएको छ । बुद्धजयन्ती लगायतका गुरुङ्गहले मान्ने पर्वहरु मांगी म्हतले पर्व लगायतका ७ वटा पर्वहरुका अवसरमा विशेष जमघट रहने गरेको सो गुम्बा सम्बन्धीत घरधुरी १३० रहेको जानकारी पाएँ ।

श्री थकाली गुम्बाः
श्री थकाली गुम्बा बुटवल उपमहानगर पालिका वार्ड नं.६, थकाली सेवा समितिको बुटवल क्षेत्रीय कार्यालय परिसरमा रहेको छ । यसको स्थापना २०६५ सालमा विधिवत रुपमा स्थापना भए पनि पहिले र थहाली सेवा समिति गठन र सञ्चालन भएदेखि नै बुद्ध मूर्ति स्थापना गरी पूजाआजा गर्ने गरेको पाईन्छ । नेपाल सरकारले कानूनी पहिचानमा रहेका ५९ आदिवासी जनजाती मध्ये १ थकालीबासीहरु आफ्नो भाषा, रीतिरिवाज,, चाडपर्व र संस्कृतिको उचित संरक्षण गरी तिनलाई समृत पार्ने कार्यप्रति वचनबद्ध र आबद्ध रहँदै आएको देखिन्छ । थासाङ –थाक सात सय) मा तेह्र मुखिया परिपाटी अंगाली संस्थागत रुपमा क्रियाशिल रहेका थकालीहरु थाकखोला बाट अन्यत्र बसाई सरी गएपछि र २००७ सालको राजनैतिक परिवर्तन भएपछि आफ्नो संस्कृति, पहिचान र रीतिरिवाज, संस्कार, परम्परा जोगाउँदै एकताको रुपमा अघि बढ्ने उद्देश्यले २०११ साल देखि पोखरा, काठमाण्डौं, भैरहवा लगायत देशका विभिन्न ठाउँमा संगठित हुने क्रममा भैरहवा थकाली समाजको प्रस्ताव र पोखरा थकाली समाजको संयोजनमा बुटवल क्षेत्रमा थकाली सेवा समितिको गठन र स्थापना भएको हो ।

सकस बहादुर शेरचन, धन प्रसाद शेरचन, क्षेत्र ब. भट्टचन, कृष्ण बहादुर शेरचन लगायतका व्यक्तिहरुको लगानीमा एक तले भवन निर्माण गरियो । यसैगरी माथिल्लो तलाको निर्माणको लागि क्षेत्र बहादुर भट्टचनबाट जापानमा भएका आफन्त दाजुभाइबाट चन्दा संकलन, कृष्ण ब. शेरचन, काठमाण्डौं निवासी सहयोग, भैलो कार्यक्रम , यु.के, अमेरिका, जापान, हङकङ लगायत विदेशमा रहने दाजुभाइबाट संकलन गरी भौतिक संरचना निर्माण गरेको पाईयो भने बौद्ध गुम्बाको स्थापना २०६५ सालमा विधिवत रुपमा निर्माण भए पनि पहिले देखि नै बुद्ध पूजाआजा गर्ने गरेको जानकारी सोधपुछबाट पाएँ । थाकखोलाबाट झरेपछि विभिन्न ठाउँमा छरिएर रहनु पर्दा यिनीहरुले माने धर्महरु र रीतिरिवाज मान्दै गरेपनि घरघरमा बुद्ध मूर्ति स्थापना गर्नेहरुले लुम्बिनी विकास कोषले विदेशबाचट झिकाइएका ७ वटा ठूला बुद्ध मूतिहरु मध्ये एउटा मूर्ति पाइएको र सो मूर्तिको स्थापना, गुम्बा निर्माण ढाँचा दिने समेतका कामहरु मोतीप्रसाद शेरचनले गर्नुभएको हो।

सो मूर्ति गुम्बाको स्थापना पश्चात त्यहाँ प्रत्येक दिन बिहान साँझ पूजा गर्ने गरी मन्दिरको रेखदेख सहितको जिम्मा एकजना थकाली थरकै व्यक्तिलाई तलबमा राखिएको छ । स्थायी रुपमा गुरुमा भन्तेकोटी नरहेता पनि बुद्ध जयन्ती औसी पूर्णिमा जस्ता अवसरमा विशेष पूजा गर्दा बाहिरबाट लामा बोलाइन्छ र ती मुख्य आफ्नै जातिका हुन्छन् अन्य भक्त जातिका पनि हुन्छन् । बुद्धधर्मावलम्बीले मान्नु पर्ने पूजाआजा दैनिक भएता पनि शील प्रार्थना लगायतका कार्यहरु खासै गरिएको छैनन् । यसको मुलकारण आफ्नो जातिय संस्कार कूलपूजा गर्दा हिंसा गर्नेुपर्ने र बुद्ध पूजामा यो वर्जित गरिएको छ ।

शान्ति बौद्ध विहार, उजेलापूर, सेमलार
शान्ति बौद्ध विहारको स्थापना वि.सं.२०५६ र बौद्ध सम्वत् २५४३ मा भएको हो । तत्कालिन सेमलार गाविस र वर्तमान अवस्थामा बुटवल उप महानगरपालिका वार्ड नं.१७ पर्ने यस समेलार गाउँको उजेलापुरमा स्थापित यस बौद्ध विहारको स्थापनाको लागि स्व.सिंहमान सिमाङ्गैडाका स्मृतिमा उहाँको छोरा श्री राजेन्द्रमान सिमङ्गैणाले १ कठ्ठा जग्गा अनुदान दिनुभयो । त्यसमा भवन निर्माणको लागि आर्थिक स्रोत नभएको अवस्थामा त्यस क्षेत्रमा बौद्धमार्गी मगर समुदायले भैलो खेल्ने, विभिन्न रीतिरिवाज संस्कार परम्पराहरुसंग जोडिएर समाजमा आर्थिक लाभ हुने काम गर्ने, समाजमा खुशीका क्षणहरु पाठजूजा, व्रतबध, विवाह आदिमा नाचगान गर्ने, बाजा बजाउने, भैलो खेली संकलन गरेको पैसाबाट भवन निर्माण कार्य थालनी गरियो ।

यसरी कुनै सरकारी वा गैर सरकारी लगानी बिना आफैले आर्थिक संकलन जुटाएर भवन निर्माण गर्दा तेज ब. थापा मगर, सचिव, अध्यक्ष, नरबहादुर थापा मगरको उल्लेखनीय योगदान रहेको छ । (पदम बहादुर भण्डारी मगर–सदय, शान्ति बौद्ध विहार–उजेलापूर) यसरी वि.सं.२०५६ मा स्थापना भएको उक्त विहारको उद्घाटन २०५७ जेठ ५ गते श्री श्रद्धेय भिक्षु अश्वघोष महास्थवीर ज्यूबाट सम्पन्न भएको थियो । साथै अध्यक्षकै पहलमा मूर्ति निर्माण स्थापना पनि गरियो । २ कोठा सहितको भवन, आर्थिक, स्रोतको रुपमा रहेको ताजा र भाँडाकुँडा, कुर्चीहरु रहेका छन्, जो मगर समाजको÷गुम्बाको सम्पत्तिको रुपमा जोडिएका छन् भने अन्य समुदायको लागि दिंदा भाडामा दिने गरिन्छ ।

विहारभित्र ठूलो ढलोटको मूर्ति र फोटाहरु राखिएका छन् जहाँ हरेक पूर्णिमा र वाहिरबाट भिक्षु भिक्षुणीहरु आउँदा पूजाआजा, बृद्धबन्दना, शीलप्रार्थना गर्ने गरिन्छ । यसरी भिक्षुहरु आउँदा भोजन दान भिक्षादान गर्ने गरिन्छ, बोलाएर घरसम्म पनि भिक्षु जाने गर्नुहुन्छ । साथै विहारमा पंचशीलको पालना गर्ने उपासक उपासिकाहरु पनि हुनुहुन्छ ।

स्थापनाकालमा गठित समिति नरबहादुर थापा मगरको अध्यक्षतामा ७ सदस्यीय सो मगर समाज तथा विहार परिचालन समिति रहेको थियो । सोही समितिले निर्माण समितिको जिम्मा पूरा गरेको थियो र हाल पनि सोही समिति यथावत रहेको छ । गाउँको बिचमा भएको यो विहार, सार्वजनिक कार्यहरुको लागि पनि प्रयोग हुने गरेको छ । सच्चाहरुलाई खोप सुई लगाउने, औषधीहरु वितरण गर्दा पनि असजिलो नहोस् भनी एउटा कोठा स्थापना गर्ने योजना बनाएका छौं । तर आर्थिक अभावले सरसफाइको र नियमित पूजाको निम्ति समेत पुजारी र पाले व्यवस्था गर्न सकिएको छैन ।

बुटवल नगरभित्र रहेका यी गुम्बा र बिहारहरुले बुद्ध धर्मको प्रचार प्रसार धर्मदेशना, शिलपालना, बुद्धवन्दमा गरी आफ्नो धार्मिक संस्कार जोगाउनुको साथै बुद्धले चालेको शान्ति स्थापनाको कदमलाई दिगो रुपमा समाजमा स्थापित गराउने महत्वपूर्ण काम गरेका छन् ।

बुटवल उपमहानगरपालिका भित्रका यि गुम्बा र विहारहरु मध्ये नेवार समुदायबाट स्थापित र सञ्चालित ४ वटा, मगर समुदायबाट सञ्चालित ३ वटा, गुरुङ्ग समुदायबाट सञ्चालित २ वटा र थकाली समुदायबाट सञ्चालित एउटा रहेको छ । 

सन्दर्भ सामाग्रीहरु
१. शाक्य, देवेन्द्रराज, “बैशाख पूर्णिमा”, पाँच संयोगको पुनित दिवस
२. शाक्य देवेन्द्र शाक्य, सात संयोगको दिवसः आषाढ पूर्णिमा
३. आचार्य बलदेव उपाध्याय (बि.सं.२०११), बौद्धदर्शन मीमांस बौद्धधर्म तथा दर्शनका प्रमाणिक विवेचना
४. शाक्य देवेन्द्रराज, बुद्धकालिन केही प्रमुख विशारहरु (बि.सं.२०७०) जनप्रकाशन प्रा.लि., बुटवल
५. शाक्य रत्न शुन्दर, बौद्धजगतका समरणीय ब्यक्तिहरु (२०००) बजिएमसी, लुमन्ति प्रकाशन, बौद्ध संस्कृत बिहार, भक्तपुर
६. बज्राचार्य प्रकाश, बौद्ध दर्पण, (बि.सं.२०५३), बुद्ध जयन्ति समारोह समिति, आनन्दकुटी बिहार, श्रीधः बिहार र धर्मकृति प्रकाशन, धर्मकृति बिहार, श्रीधः बिहार
७. थकाली सेवा समाज नेपा, क्षेत्रीय कार्यालय बुटवलको बिधान
८. नेपाल मगर बौद्धसेवा समाजको बिधान, (बि.सं.२०५९)
९. तमु ह्युल छोंज धीं, गुरुङ्ग राष्ट्रिय परिषदको बिधान, बि.सं.२०६५
१०. पद्मचैत्य बिहारको संक्षिप्त परिचय
११. शान्तिज्योति बौद्धसमाजको बिधान, बि.सं. २०५७

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।