Main Menu
  |   Monday, August 20, 2018
सम्झिराख्नुस् – दसैं, मासु अनि रोग
सम्झिराख्नुस् – दसैं, मासु अनि रोग

दसैं भन्नासाथ मासु भन्ने कुरा सबैको दिमागमा आइहाल्छ । पहिले–पहिले मासु खानलाई दसैं नै कुर्नुपथ्र्यो भने अहिले त्यस्तो अवस्था छैन । अहिले मानिसहरू नियमित रूपमा दिनहुँजसो मासु खाइरहेका हुन्छन् तथापि दसैंको मासुको कुरै अलग हुन्छ । दसैंमा घरमै खसी–बोका काटिने हुँदा आन्द्राभुँडी, कलेजो आदि विभिन्न भागका परिकार बनाएर खाने चलन छ ।

यस्ता मासुमा प्रोटिनको मात्रा धेरै हुन्छ । स्वस्थ मानिसलाई पनि धेरै मासु खाँदा हानी हुन सक्छ । हेभी प्रोटिनयुक्त खाना खाँदा पाचन प्रणालीमा असर पर्छ । फलस्वरूप एसिडिटी तथा ग्यास्ट्रिकको समस्या उत्पन्न हुन्छ ।

दसैंमा मासु पोलेर खाने, सेकुवा बनाएर खाने चलन छ । यस्ता मासु राम्रोसँग नपाक्ने हुँदा झाडापखाला तथा आउँ हुने सम्भावना हुन्छ । यसैगरी दसैंमा घरमै मासु काटिने हुँदा धेरै भएर फ्रिजमा राख्ने चलन छ । मासु तथा बोसो सुकाएर राखिन्छ । यस्तो मासुमा ढुसी लागेर फुड पोइजनिङ हुन सक्छ । कीटाणुका कारण आउँ पर्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

चाडपर्वमा रमाइलोका लागि रक्सी तथा मासु सँगै खाइन्छ । यसले पनि स्वास्थ्यमा नकारात्मक असर पार्छ । उच्च रक्तचाप भएका बिरामीले खानामा नियन्त्रण नगर्दा हर्ट एट्याकको सम्भावना वृद्धि हुन्छ । मधुमेह तथा युरिक एसिड बिरामीले रातो मासु खाँदा स्वास्थ्य अझ बिग्रन्छ । उच्च प्रोटिनले युरिक एसिडलाई बढावा दिन्छ, जसले गर्दा गोली गाँठाहरू सुन्निन्छन् । बाथका रोगीले रातो मासु खाँदा जोर्नी सुन्निन्छ ।

रातो मासुमा स्याचुरेटेड फ्याट (स्वास्थ्यका लागि हानिकारक चिल्लो) हुन्छ । यसले शरीरमा बोसोको मात्रा बढाउँछ र उक्त बोसो रगतको नशा तथा धमनीमा गएर जम्न सक्छ । यसले गर्दा कोलस्ट्रोल, उच्च रक्तचाप एवं मुटुको रोग लाग्न सक्छ । दसैंमा मात्र नभएर अन्य समयमा पनि मानिसहरू पोलेको मासु, सेकुवा आदि बढी खान्छन् । यस्ता मासुमा कार्सिनोजेनिक भनिने तत्व समावेश हुन्छ जसले पेट र आन्द्रासम्बन्धी क्यान्सर हुने सम्भावना बढाउँछ ।

रोगअनुसार मासु
उच्च रक्तचाप : रातो मासु खानु हुँदैन । रातो मासुमा स्याचुरेडेट फ्याट बढी हुने भएकाले रक्तचाप उच्च भएर मुटु रोग बढ्नसक्छ । खानै परे २–४ पिस बोसो तथा छाला निकालेर खानुपर्छ । यस्ता बिरामीका लागि माछा तथा कुखुराको मासु लाभदायक हुन्छ । डिप फ्राई खानेकुरा पनि खानुहुँदैन । काँचो नुन खाने, जाँड, रक्सी, चुरोट आदि सेवन गर्ने जस्ता कुराबाट टाढै रहनुपर्छ । चाडपर्वका निहुँमा आफ्नो नियमित काम छोड्नुहुँदैन । नियमित रूपमा व्यायाम गर्नुपर्छ । बिहान केही समय हिँडडुल गर्नुपर्छ । यति गरे खानेकुरा पचाउन तथा चिल्लो पदार्थको असर कम गर्न सकिन्छ ।

मधुमेह : दसैंमा नवारात्रिभर पूजाआजा गर्ने चलन छ । कतिपय घरमा भोकै व्रत बसेर पूजाआजा गरिन्छ । यसो गर्दा स्वास्थ्यमा हानी हुन्छ । भोकै बसेर आलु तथा दूध बढी खाँदा शरीरमा चिनीको मात्रा अझ बढ्छ । यसले समस्या उत्पन्न हुन्छ । दसैंमा यस्ता बिरामी पनि धेरै हुने गरेका छन् । सुगर हाइ भएर पिसाबमा किटोन आउँछ । यसलाई डायबेटिक किटोएसिडोसिस भनिन्छ । त्यसैले मधुमेहका बिरामी भोकै नबसी खानेकुराका साथमा नियमित औषधि सेवन गर्नुपर्छ । यस्ता बिरामी भोकै बस्दा पेट दुख्ने, वान्ता हुने लक्षण देखापर्छन् । यसैगरी इन्सुलिन लिइरहेका मधुमेहका बिरामीले इन्सुलिन नलगाउने, खाना नखाने काम गर्दा शरीरमा ग्लुकोजको मात्रा कमी भएर बेहोस हुने सम्भावना वृद्धि हुन्छ । यसलाई हाइपो ग्लासिमिया भनिन्छ । यस्ता बिरामीले कमजोर महसुस गर्छन् । चिटचिट पसिना आएर बिरामी बेहोस हुन्छ ।

मधुमेहका बिरामी लामो समय भोकै बस्नु हुँदैन । बेलाबेलामा थोरै मात्रामा दूध, फलफूल तथा कालो चिया खाइरहनुपर्छ । यस्ता बिरामीले रातो मासुभन्दा पनि ह्वाइट मिट खानुपर्छ भने क्यालोरीयुक्त खानेकुरा सीमित मात्रामा खानुपर्छ । दसैंमा चिउरा तथा मासु–भात खाइन्छ । यस्ता खानपानमा ख्याल राख्नुपर्छ । बिरामीले मासुबाहेक दाल, गेडागुडी, पनीर, दूध, दही एवं तोफु आदि पनि खान सक्छन् । मधुमेहका बिरामीले चाडपर्वको निहुँ बनाएर मिठाईं खानुहुँदैन । खानैपरे सुगर फ्रि मिठाई खान सकिन्छ । फलफूल खाँदा पनि ख्याल गर्नुपर्छ । केरा, अनार, आँपजस्ता गुलिया फलफूल नखानु नै वेश हुन्छ । स्याउ, मौसम, सुन्तला दिनको एउटा खान सकिन्छ ।

मुटु रोग : पहिलेदेखि नै मुटु रोग लागेका तथा मुटुको नसा साँघुरिएका बिरामीले चाडपर्व होस् वा अन्य समयमा विशेष ध्यान दिनुपर्छ । आफूले खाने औषधि नियमित सेवन गर्नुपर्छ । रातो मासु नखानुनै उपयुक्त हुन्छ । उच्च क्यालोरी तथा चिल्ला खाना खानु हुँदैन । यस्ता बिरामीको एक्कासि रक्तचाप बढे हर्ट एट्याक हुने सम्भावना बढ्छ । कुखुराको मासु तथा माछा खानु उपयोगी हुनसक्छ ।

कोलस्ट्रोल : कोलस्ट्रोलका बिरामीले खसीको मासु, कलेजो तथा फोक्सो खानुहुँदैन । तोरीको तेल तथा घिउमा स्याचुरेटेड फ्याट बढी हुने भएकाले नखानु नै वेश हुन्छ । सोयाबिनको तेल, ओलिभ ओयल आदिको प्रयोग कम हानिकारक हुन्छ । चीज वा गेडागुडी खानुहुँदैन । ह्वाइट मिट तथा माछा यस्ता बिरामीका लागि लाभदायक मानिन्छ । माछा र ह्वाइट मिट खाँदा नतारी थोरै तेलमा पकाएर वा बेक गरेर खानुपर्छ । हरिया सागसब्जी यस्ता बिरामीका लागि फाइदाजनक हुन्छन् ।

क्रोनिक किड्नी रोग
बिरामीले रातो मासु, प्रोटिन तथा पोटासियमयुक्त खाना कम खानुपर्छ । गेडागुडी तथा कुरिलो पनि खानुुहुँदैन । केरा तथा हरियो सागपात पनि चिकित्सकको सल्लाहमा खानुपर्छ ।

कलेजोका रोगी
अहिले नेपालमा कलेजोका रोगीको संख्या बढिरहेको छ । अल्कोहलका साथै हेपाटाइटिस बी, सीका कारण कलेजोको रोग तथा क्यान्सर हुने सम्भावना हुन्छ । त्यसैले खानेकुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ । खानेकुरा पचाउन कलेजो आवश्यक हुन्छ । त्यसैले कलेजोलाई असर पार्ने खानेकुरा अल्कोहल, मासु तथा मासुजन्य पदार्थ खाँदा दीर्घरोगीले विशेष ख्याल गर्नुपर्छ । बिरामीले उच्च प्रोटिनयुक्त खाना खाँदा दिसाबाट रगत आउने, रगत वान्ता हुने बेहोस हुने आदि हुन्छ । यस्ता बिरामीको संख्या चाडपर्वमा धेरै बढ्ने भएकाले पनि विशेष सतर्कता अपनाउनुपर्छ । आफ्नो स्वास्थ्यको ख्याल नगरी जथाभावी खाए ज्यानै जान सक्छ ।

अन्त्यमा
यसबाहेक ग्यास्ट्रिक, मोटोपन आदिको समस्या भएकाहरूले पनि दसैंमा मात्र नभएर अरु बेलामा पनि आफ्नो स्वास्थ्यको ख्याल राख्दै खानेकुरा खानु उचित हुन्छ । दसैंमा अरु कुराको भन्दा मासुको खपत बढी हुन्छ । मासु बेचबिखन गर्नेहरूले राम्रोसँग पशुपक्षीको स्वास्थ्यको हेरविचार गरेका हुँदैनन् । रोगी पशुपक्षीको मासु खानु हुँदैन तर मासु किन्न जाँदा रोग लागेको थाहा पाइँदैन । ताजा एवं झिंगा नभन्किएको मासु मात्र किन्नुपर्छ । काँचो माछा–मासु कहिल्यै खानुहुँदैन । एकैचोटी किनेर घरमा मासु थुपार्नुभन्दा आवश्यक मात्रामा पटक–पटक खरिद गर्नुपर्छ । काँचो मासुलाई ४८ घन्टासम्म डिफ्रिजमा राख्न सकिन्छ ।

तेल पनि एउटै प्रयोग नगर्ने । एउटै तेललाई पटक–पटक पकाउँदा कार्सिनोजेनिक तत्व निस्कन्छ जसले हानी गर्छ । चाडपर्वका समयमा धेरै र अस्वस्थ खानेकुरा खाँदा ज्वरो आउने, फुड पोइजनिङ हुने, झाडापखाला लाग्ने तथा आउँ पर्ने समस्या उत्पन्न हुनसक्छ । माछा–मासुभन्दा पनि सागपातमा जोड दिनुपर्छ । एकैठाउँमा बसेर रमाइलो गर्दै तास खेल्नुभन्दा केही समय हिँडडुल गरे खानेकुरा पनि पच्छ । संस्कारको निरन्तरताका लागि पनि विजयादशमीलाई खुसीका साथ सेलिब्रेट गर्नुपर्छ । यद्यपि चाडपर्वका नाममा जथाभावी खाएर अस्वस्थ हुनु स्वास्थ्य बाधा मात्र होइन आर्थिक क्षतिका साथै परिवारका सदस्यहरूका लागि हैरानीसमेत हो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।