Main Menu
  |   Friday, November 24, 2017
‘हिरो’को गीतले मलाई हिरोइन बनायो
‘हिरो’को गीतले मलाई हिरोइन बनायो

रेखा थापालाई धेरैले हिरोइन भन्छन् तर उनी आफूलाई हिरो भन्छिन्, जसको वरिपरि सिंगो चलचित्र घुम्छ । अरु चलचित्रमा पहिले हिरोको मोलमलाइ हुन्छ अनि बल्ल हिरोइनको पालो आउँछ । तर, नेपालमा त्यस्ता चलचित्र पनि बन्छन्, जसमा रेखालाई केन्द्रमा राखेर पटकथा लेखिन्छ । र, जसले हिरोभन्दा बढी पारिश्रमिक पाउँछिन् ।

समय सबैको आउँछ, धैर्य गर्न सक्नुपर्छ । रेखा त्यस्तै धैर्यले जन्माएकी कलाकार हुन्, जोसँग अनुभवमात्रै होइन, अहिले पैसा पनि छ । चलचित्रबाटै कमाएको पैसा उनले चलचित्रमै खन्याउँछिन् । अर्को अर्थमा उनी उद्यमी पनि हुन् ।

‘हिरो’ चलचित्रबाट सेतो पर्दामा ‘हिरोइजम’ देखाउँदै आएकी रेखाले ‘मितिनी’पछि कहिल्यै पछाडि फर्केर हेरिनन् । कसैलाई आदर्श नमान्ने र आफ्नै अभिनयमा विश्वास गर्ने रेखालाई आफ्नो पूरै जीवन यही क्षेत्रमै खर्चने ठूलो अभिलाषा छ । करिब एक दशक नेपाली चलचित्रमा एकछत्र राज गरेकी उनै रेखा मंगलबार दिउँसो बाह्रखरीका नरेश फुयाँलसँग गफिँदा नयाँ चलचित्र ‘रामप्यारी’को चटारोमा थिइन् । छोटो बसाइमा उनले आफ्नो जीवनलाई यसरी फिँजाइन्:

‘हिरो’को गीतले मलाई हिरोइन बनायो

मोरङको झुरकिया भन्ने ठाउँमा भदौ ५ गते जन्मिएँ । माध्यमिक तहसम्मको मेरो अध्ययन त्यहीँ भयो । ‘मिस कोसी’ जितेपछि म ‘मिस नेपाल’मा प्रतिस्पर्धा गर्न ०५७ मा काठमाडौं आएँ । ‘मिस नेपाल’मा मैले त्यति ठूलो सफलता हात पार्न सकिनँ । उत्कृष्ट १० मा मात्र परें ।

त्यसपछि केही समय मोडलिङ गरें । ‘मिस नेपाल’ चलिरहँदा मेरो अनुहार बारम्बार पत्रपत्रिकामा छापिएपछि छवि ओझाले फिल्ममा अफर गर्नुभयो । राजेश हमाल नायक भनेपछि त म हुरुक्कै भएँ । त्यो चलचित्र थियो– ‘हिरो’ ।

निर्देशक नरेश पौडेलले ‘हिरो’का बेला मलाई अभिनय सिकाउनुभयो । मैले थुप्रै सिक्ने अवसर पाएँ । यसमा नायिकातर्फ निरुता सिंह मुख्य भूमिकामा हुनुहुन्थ्यो । मेरो दोस्रो मुख्य भूमिका थियो । यो चलचित्रबाट मलाई धेरै राम्रो प्रतिक्रिया आयो । त्यो बेलाका सुपरस्टार राजेश हमालसँग ‘तिम्रो मन चक्कु छुरीले’ गीतमा मैले गरेको अभिनयले सबैलाई ओझेलमा पारिदियो । त्यो गीतले मलाई स्थापित गराइदियो । तर, सबैले राम्रो त भने, डेढ वर्षसम्म काम कसैले दिएनन्, कसैले अफर गरेनन् ।

त्यतिबेला चलचित्र धेरै बन्थे । अहिलेजस्तो समय थिएन । नायिकाहरुको दबदबा भएको समय थियो । निरुता सिंह, विपना थापा, जल शाहलगायत स्थापित नायिका हुनुहुन्थ्यो, त्यही भएर होला शायद मैले काम पाइनँ ।

‘मितिनी’पछि मैले पछि फर्किएर हेर्नु परेन । यसमा दिलीप रायमाझी, उत्तम प्रधान नायकका रूपमा हुनुहुन्थ्यो । यसपछि बिस्तारै मेरो माग बढ्दै गयो । अहिलेसम्म मैले करिब १४० जति चलचित्रमा अभिनय गरिसकें ।

मलाई मेरा सबै चलचित्र मन पर्छन् । म सबै चलचित्रमा मुख्य रोलमा छु, त्यही भएर पनि होला । आफ्नो सन्तान जस्तो भए पनि मन परेजस्तै हो । ‘दुर्गा’, ‘काली’, ‘हिम्मत’, ‘कसले चो¥यो मेरो मन’ महिलाकेन्द्रित हुन् । महिलाका विषयमा महिलालाई नै मुख्य पात्र बनाइएका चलचित्र मलाई मन पर्छन् । त्यो बेला यी सबै चलचित्र सफल भए पनि ।

‘मितिनी’, ‘दुर्गा’लगायत मेरा थुप्रै चलचित्रले एक सय दिन पनि मनाए । ५१ र ७५ दिन मनाउने चलचित्र त धेरै छन् । सय र ७५ दिन मनाएका चलचित्रका ट्रफी मसँग धेरै छन् ।

चलचित्रमा काम गर्दा केमेस्ट्रिी मिलेको जोडी भन्ने गरिन्छ । तर, मेरो भने त्यस्तो भएन । मैले जतिसँग काम गरेकी छु, सबै राम्रो देखिएको छ । सबैसँग मेरो जोडी मिलेको छ । मैले धेरजसो नयाँ नायकसँग काम गरें । सबैसँग काम गर्न सजिलो नै भयो । निर्देशकका रूपमा सविर श्रेष्ठसँग सबैभन्दा सजिलो लाग्छ ।

हिरोभन्दा बढी पारिश्रमिक लिन्छु

चलचित्रमा मैले पाएको पारिश्रमिकमा अहिलेसम्म सन्तुष्ट छु । कतिले नायिकालाई कम पारिश्रमिक दिइन्छ भन्छन् । तर, पैसा पनि कामअनुसार हुन्छ । म अभिनयअनुसार पारिश्रमिक लिन्छु । फाइटको दृश्य छ, एक्सनप्रधान/जोखिमपूर्ण अवस्थामा बसेर काम गर्नु पर्नेछ भने धेरै लिन्छु । मैले कैयौं पटक हिरोभन्दा धेरै पैसा लिएकी छु । सुपरस्टार हिरोसँग नवनायिकालाई तुलना गरेर हिरोइनलाई कम पैसा दिने कुरा गर्नु तर्कसंगत होइन । मैले पनि पहिलो चलचित्र गर्दा एक रुपैयाँको चाँदीको सिक्का पाएकी थिएँ । म अहिले कम्तीमा ३ लाख लिन्छु ।

चलचित्रमा अभिनय गरेर आर्थिक रूपमा सबल भइन्छ कि भइँदैन, त्यो स्वयं व्यक्तिमा भर पर्छ । म अभिनय गरेकै पैसाले अहिलेसम्म बाँचिरहेकी छु । आफ्नो जीवनशैली आफैं निर्धारण गर्ने हो । एउटा चलचित्रमा खेलेर हतास हुँदै पलायन हुने पनि छन् । तर, दत्तचित्त भएर लाग्ने कालाकारले राम्रो गरेका छन् । लगाव, झुकाव र मेहनत भयो भने चलचित्रबाटै जीवनलाई सुन्दर बनाउन सकिन्छ । आर्थिक रूपमा सबल हुन सकिन्छ । म त्यसको उदाहरण हुँ ।

म १६ वर्षदेखि यही क्षेत्रमा छु । चलचित्र बनाइरहेकी छु । अभिनय गरिरहेकी छु । जीवन यही क्षेत्रमा समर्पित गर्नेछु । म बूढी हुँदासमेत मलाई चलचित्रमा काम गरिरहेको देख्नुहुनेछ ।

नेपालबाट थुप्रै कलाकार विदेश पलायन भएका छन् । यसलाई लिएर नकारात्मक आलोचना पनि उत्तिकै देख्छु । तर, किन पलायन भए भनेर कसैले खोज्न सकेनन् । नेपाली चलचित्र उद्योगमा आफ्नो ऊर्जाशील समय खर्च गरेका कलाकारलाई राज्य वा अन्य सरोकारवाला निकायले संरक्षण गरे कि गरेनन्, प्रस्टै छ । यसको अर्थ यो होइन कि राज्यले सबै कलाकारलाई पाल्नुपर्छ । दुई–चार पैसा दिएर र एउटा प्रमाणपत्र थमाएर पनि केही हुने त होइन । चलचित्र निर्माता संघ, कलाकार संघ, चलचित्र विकासबोर्डलगायत संस्थाले चाहे भने यो क्षेत्रका लागि धेरै गर्न सक्छन् । तर, आजसम्म गरेका छैनन् । सबै आफ्नै काममा व्यस्त छन् । पूरै जीवन चलचित्रलाई समर्पण गरेका तुलसी घिमिरे, नीर शाह, बसुन्धरा भुसालजस्ता कलाकारले खोइ के पाए ? बलिउड, हलिउडमा कलाकारको ठूलो इज्जत छ । दर्शकसँगै राज्यले सम्मान गर्छन् । नेपालमा उल्टो छ । केही सीमित कलाकारलाई मात्रै राज्यले राम्रो व्यवहार गरेको देखिन्छ । तर, उनीहरुले आफूलाई

योग्य र अब्बल सावित गरेका पनि छन् ।
यति भन्दाभन्दै राज्यले व्यक्ति–व्यक्तिलाई हेरेर सम्भव हुँदैन । यो सिर्जनाको क्षेत्र हो । स्वेच्छाले आएको क्षेत्र हो । राज्यको मुख ताकेर हुँदैन । आफूले आफ्ना लागि गर्ने हो ।

मेरा चलचित्रले आँसु होइन, जोस भरिदिन्छन्

‘रेखा फिल्म्स’ ब्यानरबाट आजसम्म एक दर्जनभन्दा बढी चलचित्र बनिसकेका छन् । पछिल्लो चलचित्र ‘रामप्यारी’ हो, जुन चैत २६ बाट रिलिज हुँदैछ । चलचित्र निकै राम्रो बनेको छ । दर्शकले छुट्ट्याएको २ घण्टाको समय र टिकट काटेको पैसा खेर जाँदैन । चलचित्र हेरेपछि दर्शलाई केही गरूँ भन्ने जोस, जाँगर र आँट पलाउनेछ । महिलाको विषयवस्तुलाई आधार बनाएर बनाइएको चलचित्र हो । श्रमिक/मजदुरको कथा छ । दर्शकले हलबाट बाहिर निस्कँदा आँसु होइन, छुट्टै प्रकारको आनन्द र स्फूर्ति बोक्नुहुनेछ । ६० लाखमा बनेको ‘रामप्यारी’मा रंगमञ्चमा अभिनय गरिरहेका आभाष अधिकारीलाई ब्रेक दिएकी छु । नायिकाको रूपमा म आफैं छु ।

देश नेताहरुको पेवा होइन

म एकीकृत नेकपा माओवादीप्रति आस्था राख्ने मान्छे हुँ । तर, पार्टीको घेराभित्र छैन । मैले सदस्यता लिएको पनि होइन । मैले संविधानसभा निर्वाचनमा एमाओवादीबाट टिकट पाएको हो तर अहिले भने म सम्पूर्ण समाजको अध्ययन गरिरहेकी छु । राजनीतिक दल, समाज र नेताहरुलाई जनताले गर्ने व्यवहार र हेर्ने दृष्टिकोण किन सकारात्मक छैन, किन सधैं नकारात्मक टिप्पणीमात्र हुन्छ भन्ने प्रश्नको उत्तर खोजिरहेकी छु । राजनीतिमा लाग्ने नेताहरुको आफ्नै फरक व्यवसाय वा आयस्रोत नभएकाले भ्रष्टाचार गरेका हुन् जस्तो लाग्छ । नेताहरुको पनि नियमित आम्दानी स्रोत हुन्थ्यो भने भ्रष्टाचार हुने नै थिएन । राजनीति भनेको देश र जनताको सेवा गर्ने माध्यम हो । पैसा कमाउने थलो वा साधन होइन भन्ने हेक्का सबैलाई हुनुपर्छ ।

म एमाओवादीमा रहँदैमा फाइदा हुने र छाड्दा घाटा हुने हुँदैन । ममा नेतृत्व गर्ने क्षमता छ भने पार्टीलाई फाइदा हुन्छ । मैले स्टेजमा गएर बोल्दा मान्छे कन्भिन्स हुन्छन् भने फाइदा होला । होइन भने रेखा थापा कुनै पार्टीमा जाँदा वा नजाँदा फाइदा/घाटा हुँदैन । तर, म राजनीति गर्न भने रुचाउने मान्छे हुँ ।

मेरो नयाँ चलचित्र ‘रामप्यारी’ मजदुरप्रति समर्पित छ । तर, त्यो मजदुरमाथि भइरहेको अन्याय र उसले भोगेका दुःखको अन्त्य चलचित्र बनाएर र हेररमात्र हुँदैन । त्यसका लागि नीति–निर्माणको तहमा पुग्नुपर्छ । त्यसका लागि मैले राजनीति गर्नुपर्छ । त्यही भएर हो मैले राजनीति गर्न थालेको ।

संकीर्ण सोचले देश बिग्रियो

१० वर्षका बच्चाले पनि राजनीति बुझ्नुपर्छ । उनीहरुलाई स्कुल लेभलबाटै राजनीतिको ज्ञान दिनुपर्छ ।

देश निर्माणको जिम्मा नेताको मात्रै हो भनिएकैले देश यो तहसम्म बिग्रिएको हो । सबैको उत्तिकै अधिकार र दायित्व छ । मन लागे जो पनि राजनीतिमा जान सक्छ । डाक्टर, पाइलट, इन्जिनियरले राजनीति गर्नु हुँदैन भन्नेहरु पनि छन्, म अचम्ममा पर्छु । देश बनाउने सबैले हो । कुनै पेसा वा व्यवसाय गर्ने व्यक्तिले राजनीति गर्नु हुँदैन भन्ने संकीर्ण सोच त्याग्नुपर्छ । देश बनाउने जिम्मेवारी नेताको मात्रै हो भन्नेसँग तर्क गरेर जित्न सकिँदैन ।

रिल लाइफजस्तै रियल लाइफ होस्

पर्दाभित्रको कलाकारमा मलाई ‘रेखा’ मन पर्छ, ‘काली’ मनपर्छ, ‘दुर्गा’ मन पर्छ, ‘रामप्यारी’ मन पर्छ । रिल लाइफजस्तै रियल लाइफ पनि होस् भन्ने लाग्छ । मैले चलचित्रमा गरेको अभिनयजस्तै समाजमा पनि गर्न सकूँ भन्ने लाग्छ । तर, त्यो सबै सम्भव नहुँदो रहेछ । म चलचित्रमा उत्पीडित, श्रमिक, मजदुरको न्यायका लागि लड्छु । वास्तविक जीवनमा पनि त्यही चाहना छ । गरिरहेकी पनि छु । मेरो लगानी चलचित्रमा छ, त्यसैले चलचित्र मेरा लागि व्यवसाय हो । यही व्यवसायबाट मैले पछि परेका महिलाको सेवा र अधिकारको कुरा गरिरहेकी छु । समतामूलक समाज निर्माणको कुरा उठाइरहेकी छु ।

समय सबैको आउँछ

आजसम्म आउँदा मैले कसैलाई ‘रिप्लेस’ गरें भन्ने लाग्दैन । कसैले मलाई ‘रिप्लेस’ गर्दैछ भन्ने पनि लागेको छैन । एकपटक सबैको समय आउँछ, सदुपयोग गर्नमात्र सक्नुपर्छ । चलचित्रमा अभिनय गर्नु ब्युटी प्याजेन्ट जस्तो होइन– स्टेजमा गएर राम्रो जवाफ दिँदैमा एउटाले उपाधि जित्ने र अरु घर फर्किने । विद्या भण्डारीले डा. रामवरण यादवलाई ‘रिप्लेस’ गर्नुभएको होइन । शेरबहादुर देउवाले सुशील कोइरालालाई ‘रिप्लेस’ गर्नुभएको होइन । यो त समयको चक्र हो, घुमिरहन्छ । आज एउटाको पालो, भोलि अर्कोको पालो ।
मेरो पनि समय आयो । दर्शकले रुचाउनुभयो । त्यही भएर धेरै चलचित्र गरें, आफैं चलचित्र बनाएँ । यो क्रम जारी छ । जारी रहनेछ ।

नेपाली चलचित्रको अवस्था

अंग्रेजी, हिन्दी, कोरियन चलचित्र विश्वभर हेरिन्छन् । नेपाली चलचित्र अझै त्यो स्तरमा पुग्न सकेका छैनन् । नेपालमा चलचित्र निर्माण सुरू भएको धेरै नभएकाले यस्तो भएझैं लाग्छ । सबैले मन पराउने खालका चलचित्र बने विश्व बजारमा ठाउँ अवश्य पाउँछ ।

राज्यले कलाकारलाई सम्मान वा प्रमाणपत्र दिनुभन्दा नेपाली चलचित्रलाई कसरी विश्वबजारसम्म पुर्याउने भन्ने सोच्नुपर्छ । आफ्ना सम्पूर्ण संयन्त्र प्रयोग गर्नुपर्छ । यसरी कलाको सम्मान हुन सक्छ । समग्र कला क्षेत्रले नै सम्मानित महसुस गर्नेछ ।

अभिनय गर्न कुनै शैक्षिक संस्थाबाटै ज्ञान लिनुपर्छ भन्ने हुन्न तर लिएको राम्रो । रंगमञ्चबाट आउने कलाकारलाई दर्शकले रुचाउनुको कारण यही हो । उनीहरु सिकेर आएका हुन्छन् । उनीहरुको अभिनय जीवन्त हुन्छ । कामै नगरेको व्यक्तिले भन्दा काम गरिरहेको व्यक्तिले निश्चय नै राम्रो गर्छ ।

पहिले आफ्नो क्षमता चिनौं

अर्काको काँधमा बसेर कसैले सिकार गर्न सकिँदैन । जमिनमा पाइला नटेकी उभिन सकिँदैन । काम गर्ने व्यक्ति नै सक्षम हुनुपर्छ । कसैसँग नाता सम्बन्ध भएकै भरमा काम गर्न सकिँदैन । चलचित्र उद्योगमा छिर्न सकिएला तर टिक्न सकिँदैन । आजसम्मको इतिहासले देखाएको पनि यही हो ।

आफू कत्तिको क्षमतावान छु, हिरो/हिरोइन/निर्देशक बन्नुअघि त्यस क्षेत्रको ज्ञान कति छ, स्वयं आफैंले पहिचान गर्न सक्नुपर्छ । रहर र लहडका भरमा काम हुँदैन । लगाव र झुकाव पनि चाहिन्छ । बाह्रखरीबाट

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।