Main Menu
  |   Saturday, December 15, 2018
चियापसलका चर्चा र प्रधानमन्त्री निर्वाचन

चर्चामा छ प्रधानमन्त्रीको चुनाब सुशील कोइराला र केपी ओलीबीच नभइ केपी ओली र नरेन्द्र मोदीबीच हुँदै छ । यसकारण ओलीले जित्नैपर्छ यसो हुँदा हाम्रो राष्ट्रवाद जोगिन्छ । कुरा बडो मिठो र राष्ट्रवादी सुनिन्छ । सुन्दा पनि मजा आउँछ एउटा राष्ट्रवादी भएका नाताले ।

यसमा मलजल गर्न कांग्रेस सह महामन्त्री पुर्ण बहादुर खड्काको राजीनामा, गगन थापा, चन्द्र भण्डारी, आनन्दप्रसाद ढुंगानालगायतका नेताहरुको आक्रोशले पुगिहाल्छ कि कांग्रेस साँच्चै भारतपरस्तै भएछ । यसपछि मजाले भन्न सकिन्छ– एउटा मुलुकको प्रधानमन्त्री निर्वाचनमा भारतले यतिसम्म हस्तक्षेप गरेर नेपालमा आफ्नो ‘माइक्रोम्यानेजमेन्ट’ सफल पार्न खोज्दै छ । यो भन्दा पनि मजै आउँछ । त्यो पनि नाकाबन्दीले मुलुक तहसनहस भएको अवस्थामा ।

बजार फुर्सदमा छ । बजारमा सामान छैन र काम पनि छैन । चियापसलमा भेला भएर गफ चुट्न र एक अर्कालाई दोष थोपर्नका लागि यो समय पर्याप्त छ । ठीक छ, – भारतले नेपालमा हस्तक्षेप गर्‍यो । उसले आफ्नो भूमिका बढाउन खोज्यो । संविधान जारी गर्दा एक वचन पनि सोधिएन भन्ने रिसमा भारतले यो सब गरिरहेको छ । दुइचार अक्षरका विश्लेषण पनि मानिदिउँ ।

यो सबै भारतसँग जोडिएको कुरा भयो । अब हामी हाम्रा तर्फबाट यानिकी भारतलाई दशगजा पारी छाडेर आफ्नै भूमिका बारेमा कुरा गरौ । कवि भूपि सेरचनले बडो मजाले भनेका छन् कि यो हल्लै हल्लाको देश हो । हो यो हल्लै हल्लाको देश हो । यहाँ ट्वीटरमा लेखिएपछि त्यसलाई पुष्टि गर्न, तथ्य प्रस्तुत गर्न वा वास्तविकता बाहिर ल्याउन पर्दैन ।

बस् भनिदिए पुग्छ–देश भारतको चंगुलमा गयो, नेपालको राष्ट्रियता सकियो भारतपरस्त र भारतको चम्चा भयो, गुलाम भयो । यसका पछाडिका तथ्य र सत्य कुरा केही भन्नु पर्दैन कोठामा बसेर भारतीय गुप्तचरहरु नेपालमा घुमिरहेको र माइक्रो म्यानेजमेन्टमा लागेको हट केक समाचार बनाएर पाठक बढाउन र आलोचनाका थुप्राहरु बनाउन एकदमै सजिलो छ । के कहाँ कसरी किन भन्ने कुरा राख्न सजिलो छ तर त्यसमा पुष्टाइँ गर्न पर्दैन । यसैले नै भनिएको हो यो हल्लै हल्लाको देश हो ।

अब आउनुस्, कोइरालाले किन तीन दलको सहमति अझ त्यो पनि भद्र व्यक्तिहरुका बीचमा बसेर गरिएको भद्र सहमति तोडेर एक्लै उभिए, एकपटक प्रधानमन्त्री भएको र उमेर गुज्रिएको व्यक्तिले फेरि प्रधानमन्त्रीको पदमा र्‍याल चुहाए ? एकछिनलाई मानौ–उनले सहमति तोडे । एक्लै उभिए । र्‍याल पनि चुहाए । सहमतिमा गएको भए राष्ट्रपति पक्का थियो ।

कोइरालाहरुले उचालेर उनलाई प्रधानमन्त्री नबने चुनाबमा पछारिने र पार्टीमा पनि पछि पर्ने गलत आइडिया दिएकाले यस्तो भयो, उस्तो भयो भन्ने कुरा पनि भए । ‘प्रधानमन्त्री भए आगामी चुनाबमा सरकारमा हुनेले धेरै फाइदा लिनसक्छ र चुनाब आफ्नो पक्षमा आउँछ अनि पार्टी सभापति पनि कायमै राख्न सकिन्छ’ भन्ने कुराले कोइरालालाई उचाल्यो । यी कुराहरु पनि चर्चामै छन् ।

अब कोइरालाको दृष्टिबाट हेरौ– मुलुक अहिले दोसाँधमा उभिएको छ । एउटा संविधान कार्यान्वयनको र अर्को आर्थिक संक्रमणकाल । भारतले गरेको नाकाबन्दी र मधेशको समस्या समाधान पनि चानेचुने कुरा होइनन् । संविधान कार्यान्वयनका लागि तीन दल एकै ठाउँमा रहेर काम गरेको भए एकदमै राम्रो । संविधान निर्माणमा सँगै भएका दल सरकारमा पनि सँगै गएका भए सुनमा सुगन्ध हुने थियो । त्यसो गर्न कसले रोक्यो भन्ने कुरा खोजिएकै छैन ।

एकछिन विगतमा जाउँ – राष्ट्रपतिले सहमतिय सरकार गठनका लागि आह्वान गरे । यतिन्जेल कोइराला मधेश समस्या सुल्झाउने आइडिया खोज्दै थिए । एमाले सत्ताको बागडोर सम्हाल्न कसरत गरिरहेको थियो । सहमतीय सरकार भएन । बनाइएन । कसैलाई चासो पनि भएन कि मधेश केन्द्रित दलहरुलाई पनि समेटेर सरकार बनाउनुपर्छ भन्नेमा । मिति पुरा भयो । अनि राष्ट्रपतिले बहुमतीय सरकार गठन भने । यो भन्न नपाउँदै एमालेले पार्टी अध्यक्ष केपी ओलीलाई उम्मेदवार घोषणा गरिसकेको थियो । उसले अरु कसैसँग छलफल गर्न आवश्यक ठानेन र पार्टी बैठकबाट ओलीलाई उम्मेदवार बनायो ।

एमाओवादी बाबुराम भट्टराईले पार्टी छाड्दा दिएको झड्काबाट उम्किसकेको थिएन । उसले झन्झनाहट महसुस गरिरहेको थियो । यसर्थ एमाओवादी चाहेर पनि सरकारको नेतृत्व लिन तयार थिएन । आफु थिचिएको महसुसमा थियो । त्यतिन्जेल ओलीले प्रचण्डलाई अध्यक्ष मान्न तयार रहदै पार्टी एकताको प्रस्ताव लिएर उपमहासचिव विष्णु पौडेललाई पठाए । पार्टीका खम्बा मानिएका बाबुरामले दिएको झड्काबाट थलिएका प्रचण्डले यसलाई पेनकिलरको रुपमा लिए । आफैले पागल घोषणा गरेका नेता ओलीको यो प्रस्तावले प्रचण्डलाई तत्काल सहमतिमा आउन बल पुरायो । प्रचण्डलाई एमालेले सँगै अर्को कुरामा सहमत गरायो – एमाले नेतृत्वको सरकारलाई पूर्ण सहयोग गर्ने । झन्झनाहटबाट प्रचण्ड अब उम्किने भए । यसर्थ उनले एमालेलाई समर्थन गरे ।

यतिन्जेलसम्म कांग्रेससँग कसैले छलफल गरेका थिएनन् । न त कांग्रेसले नै गर्‍यो । एमालेले बहुमत जुटाइसक्दा कांग्रेस मधेश समस्या र नाकाबन्दीकै वरिपरि घुमिरहेको थियो । समय घर्किएपछि कांग्रेसले बैठक डाकेर प्रधानमन्त्रीबारे छलफल गर्‍यो । केन्द्रीय समिति भारतको नाकाबन्दी र मधेश समस्यामै अलमलियो ।

जसबाट तत्काल प्रधानमन्त्रीबारे निर्णय निस्किने संकेत देखिएन । उता एमाले सरकार गठनको जोडघटाउमा सफल भएको ठान्दै कांग्रेस बैठक बसिरहेकै स्थानमा पुग्यो र बहुमत पुराएको अदृश्य धाक दियो । यो कोइरालालाई सह्य भएन । यसअघि एमालेले कुनै छलफल नगरी प्रधानमन्त्रीको उम्मेदवार छानेको थियो र अरु दलहरुसँग सहमति गरेर मात्रै सबैभन्दा ठूलो दलसँग सहमतिका लागि आग्रह गर्न पुगेको थियो । कोइरालाले अपमान महसुस गरे । जसरी संविधान जारी गर्ने मिति तय गर्दा अन्तरिम संविधानका संरक्षक सरहका राष्ट्रपतिलाई एकपटक नसोधी संसदबाट निर्णय गराएर निम्तो पठाउँदा उनी रिसाएका थिए त्यसैगरी ।

सरकार गठनमा बहुमत पुराइसकेको एमालेले यहीबीचमा राष्ट्रवाद र भारतविरोधीको कार्ड फाल्यो । यसले ओलीलाई जनसमर्थन प्राप्त हुन्छ भन्नेमा एमाले ढुक्क थियो । हुन पनि त्यही भयो । भारतसँग टनकपूर सन्धि गराउने ओलीको नाममा लागेको कालो धब्बा यसले हटायो र ओलीलाई पुरा राष्ट्रवादी बनायो । एमाले र ओलीले चाहेको पनि यही थियो । ओलीलाई जसरी पनि प्रधानमन्त्री हुनुथियो र उनले जुन अस्त्र प्रयोग गरेर भएपनि यो दौडमा जित हात पार्न चाहन्थे ।

यदि त्यो नहुँदो हो त एमालेले तीन दलबीच भएको भनिएको भद्र सहमतिअनुसार बैठक डाकेर तीनदलको बैठकबाट निर्णय गराएर आफुले सरकारको नेतृत्व लिन किन चाहेन ? मधेशको समस्या समाधान गरौ भनेर कोइरालाले भन्दा किन समर्थन दिएन । किनभने उसलाई छिटोभन्दा छिटो प्रधानमन्त्री हुनुथियो । देशको समस्याबारे भन्दा पनि पदको लोभ थियो ।

अब कोइरालातिर जाउँ । एमालेको निर्णयबाट अपमान महसुस गरेको कोइरालाले मधेशी दलहरुलाई सहमतिमा ल्याएर भारतले गरेको नाकाबन्दी खोल्न चाहन्थे । उनी सकेसम्म आफ्नै कार्यकालमा यसो गरेर त्यसको जस लिन खोजिरहेका थिए । उनलाई थाहा थियो कि मधेशको समस्या समाधान नगरी नाकाबन्दी खुल्दैन । नाकाबन्दी नखुले दशैंको मुखमा जनताले सराप्नेछन् । जुन सबैभन्दा अप्रिय हुनेथियो । भारतको विरोधमा उत्रिएका जनता आफ्नै सरकारविरुद्ध उत्रिने शंका उनमा थियो ।

यो सबै भइसक्दा कोइराला धेरै पछि परिसके । एमाले सत्तामा पुग्ने निश्चित भयो । तरपनि उनी पछि हट्नुहुन्न भन्ने मानसिकतामा देखिए । र प्रधानमन्त्रीमा उम्मेदवारी दिए । उनले हार्लान् वा जित्लान् यो अहिले अहम् विषय हुँदै हैन । यो न त भारत र नेपालको चुनाब हो । यसमा कोइरालाले लिएको एउटामात्रै अडानलाई सही भन्न सकिन्छ । मधेशी दलहरुलाई साथ लिएर मधेशको समस्या समाधान गर्ने र नाकाबन्दी खोलाएर जनताको मन जित्ने उनको योजना थियो । यो योजना केपी ओली प्रधानमन्त्री भएमा सफल हुनसक्दैन । अर्को कुरा मधेशी दलहरुलाई बाहिर राखेर बनेको सरकार वा मधेशी दलहरुको समर्थनविना बनेको सरकारले मधेशको समस्या समाधान गर्न सक्दैन । मधेश अहिले सबैभन्द बढी एमालेसँग रुष्ट छ र एमालेले पनि मधेशलाई चिढाउने काम गरिरहेको छ । जसका कारण नाकाबन्दी खुल्ने संकेत पनि देखिदैन ।

यति भनिसकेपछि अबको निकास के हो त भन्ने कुरा आउँछ । समीकरण कायम रहेमा एमालेसँग अहिले बहुमत पुगेको देखिएको छ । यो सरकारलाई समर्थन गर्न कोइरालाले त्याग गर्नुपर्छ । तर शर्त सहित । सरकारमा मधेशी दलहरुलाई समेत जानसक्ने वातावरण बनाएर ओलीको नेतृत्वलाई समर्थन गर्न कोइरालाले त्याग गर्नुपर्छ । यो भएन भने अब बन्ने सरकारले समस्या समाधान भन्दा पनि झन् थप्ने काम गर्ने छ ।

मधेशप्रति रिजिड नेता ओलीको सरकारले भनिएजस्ता सुनौला सपना पूरा गर्ला भन्न सकिदैन । मुलुक भारतीय गुलाम हैन आफ्नै देशभित्रको जालोमा अल्झिएर उकुसमुकुस हुने छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।