Main Menu
  |   Wednesday, November 14, 2018
बस् सब ठीक ठाक छ !
बस् सब ठीक ठाक छ !

अत्यधिक गर्मी समयमा घामले तातेको पीच सडकमा यात्रा गर्दा सडकमा पानीको सतह जस्तो दृष्य देखिन्छ, जसमा वस्तुहरु उल्टो दृष्टिगोचर हुन्छन् । भौतिक विज्ञानमा यसरी देखिने दृष्यलाई दृष्टिभ्रम अर्थात् मिराज भनिन्छ । अहिले मुलुक असाध्यै कष्टकर अवस्थामा छ । झण्डै साँढे तीन महिनादेखि चलेको तराई मधेश आन्दोलन र दुई महिनाभन्दा बढी समयदेखिको भारतीय नाकाबन्दीले अहिले मुलुक अत्यन्तै संकट ग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । अनि आम जनताको दैनिकी अत्यन्तै अभावग्रस्त बन्न पुगेको छ । इन्धन तथा अन्य अत्यावश्यकीय वस्तुहरुको अभावका कारण स्कूल, कलेज, कार्यालयदेखि अस्पताल सम्मका कामहरु निकै प्रभावित बन्न पुगेको छ ।

अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा जीवन रक्षाका लागि प्रयोग हुने औषधिसमेतको अभाव भइसकेको छ, जसका कारण कयौं अस्पतालहरुले सल्यक्रिया नगरेको र बिरामीहरुलाई भर्ना गर्न नसक्ने अवस्थामा पुगेका समाचारहरु दैनिकजसो आइरहेका छन् । समग्रमा चुलो जलाउने ग्यासदेखि विरामीको प्राणरक्षा गर्ने अक्सिजन र दमको रोगीले प्रयोग गर्ने इनहेलरसम्मको अभाव छ । यो संकटले पुर्याएको तात्कालीक आर्थिक संकटको कथा एउटा छ, तर यसले भविष्यमा सृजना गर्नसक्ने अन्य व्यथाको कुनै औपचारिक लेखाजोखा समेत गर्न सकिने अवस्था पनि छैन । समग्रमा अहिले मुलुकको सम्पूर्ण आर्थिक प्रणाली नियन्त्रणभन्दा बाहिर जान लागिसकेको छ ।

यो त भयो मुलुकको पछिल्लो आर्थिक दुरावस्था । तर, यसको बाबजुद् पनि मुलुक चलेकै देखिन्छ । माथिबाट हेर्दा यहाँ सबै ठीकै त छ जस्तो भान हुन जान्छ । जसरी ग्रीष्ममा उष्ण तापले तातेको पीच सडकमा पानीको सहतरुपी मिराज देखिन्छ, त्यस्तै अहिले सतही रुपमा हेर्दा मुलुक चलेकै देखिन्छ । महिना दिनदेखि नेपाल आयल निगमले इन्धन आपूर्ति गर्न सकेको छैन तर पनि सडकमा गुड्ने सवारी साधनहरुमा खासै उल्लेखनीय कमी आएको महशुस हुँदैन । सबैले आफ्नो बन्दोबस्ती गरेकै छन् । अनि सडकको छेउछाउमा पार्किंग गरेर राखिने निजी सवारी साधनहरुको लर्को पनि कुनै दिन घटेको छैन । आखिर सबैले आफ्नो गुजारा चलाएकै छन् । हो, सडकको कुनै चोकमा एक घण्टा उभिएर गम खाने हो भने बजारमा इन्धन संकट छ भन्ने कुराको महशुस गर्न निकै कठिन पर्छ ।

अनि जनताले पनि आफ्नो गुजारा गरेकै छन्, कसैले भोकै ज्यान गुमाएको सुनिएको छैन । सबैको घरमा जसरी भए पनि चुलो बलेकै छ । अब स्कूल, कलेजहरु पनि बिस्तारै संंचालनमा आउन थालेका छन् । हो, माथिबाट हेर्दा यहाँ कुनै समस्या नै लाग्दैन । जब हामी घरघरतिर नजर दौडाउन पुग्छौं, चोकका चिया पसलहरुमा चिया पकाउनका लागि कुइरिमण्डल धुवाँ पुत्पुताएको देख्छौं । सडकका छेउछाउका पसलहरुमा बाहिरपट्टी अस्थायी चुलो बनाई दाउरा कोचेर धुवाँ र ध्वांसोले कालो भएको भांडोमा केही पकाउँदै गरेको देख्छौं, भान्सा कोठाको चुलो घरका छत र बरण्डामा बसाईंसरेको देख्छौं, बसका छतमा यात्रा गर्ने मानिसहरुको लर्को देख्छौं, औषधि पसलहरुमा रित्तिदै गरेका औषधिका कार्टुनहरु देख्छौं, सधैं सामानले खचाखच भरिने पसल तथा डिपार्टमेन्टल स्टोरका खाली डब्बाहरु देख्छौं अनि महशुस हुन बाध्य हुन्छौं, ए देश त संकटमा पो रहेछ ।

तर, यहि संकट केहीका लागि कमाउ धन्दा जो बनेको छ । अनि काठमाण्डूका शासकहरुले किन यो संकट महशुस गर्न सकेका छैनन् ? बडो ताज्जुबको विषय भने यहि बनेको छ । मधेशका एक नेताले टेलिभिजन अन्तरवार्ताको क्रममा भनेका थिए, ‘हामीलाई पनि निकास चाहिएको छ । तर, राज्य किन निकास दिन खोज्दैन ?’ समस्याको चुरो एकातिर छ, तर शासकहरुको राष्ट्रवादी विकल्प भने अर्कै छ, अनि कसरी निकास निस्कन्छ ? सत्ताको बागडोर सम्हाल्नेहरु अझै पनि विद्युतीय तरंगहरुमार्फत दाउरे र साइकल राष्ट्रियताको गफ गरिरहेका छन् । ती अझै पनि अहिलेको समस्या भनेको भारतीय नाकाबन्दी मात्र हो, अरु सब ठीकठाक छ भनेर कोकोहोलो गरिरहेका छन् । अहँ तिनले भारतीय नाकाबन्दी भन्दा अगाडि तराई मधेशमा आन्दोलन थियो भन्ने कुराको महशुस गर्न सकेका छैनन् । आखिर किन शासकहरु यतिबिघ्न दृष्टिभ्रम भएर बसेका हुन् ? अहँ उत्तर कतै फेला पर्दैन ।

उता आन्दोलनकारीहरुको आँखाबाट हेर्ने हो भने पनि सतहमा अर्कै मिराज देखिन्छ । उनीहरु भारतीय नाकाबन्दीको उच्चारण यदि कसैले गर्यो भने पनि आन्दोलनको इज्जतै जान्छ जसरी मौन बसिरहेका छन् । उनीहरु कहिले नाकाबन्दी भारतले होइन आफूहरुले गरेको गर्व गर्छन् त कहिले नाकाबन्दी कहाँ छ ? यो त मधेशले गरेको विद्रोह हो भन्दै पानी माथिको ओभानो बन्दछन् । उनीहरुको आँखाले नाकाबन्दी देख्दैन, अनि उनीहरुका कानले भारतीय सुरक्षा फौज नेपाली भूमिमा आएर गोली चलाउँदा समेत गोलीको आवाज सुन्दैन । तर, यो समाजका हामी भने तमासे मात्र बन्न पुगेका छौं । अनि हामी अस्पतालमा औषधि अभावका कारण अप्रेसनको पर्खाइमा बसेको बिरामीलाई पनि राष्ट्रियताका चार लाइन कविता र दुई पंक्ति भाषण पिलाउन उद्यत देखिन्छौं ।

हो, जनस्तरमा राष्ट्रियता र स्वाभिमानका भावनात्मक आवेग उराल्ने छुट पक्कै पनि होला । तर, मुलुक हाँक्ने सिटमा बसेका नेतागणहरुलाई त्यही कुरा सापटी लिएर टेलिभिजनका कांचका पर्दामा कुर्लिने छुन नहुने पर्ने हो । तर, उनीहरु त्यही गरिरहेका छन् र भनिरहेका छन्, ‘बरु लडिन्छ, तर झुकिन्न’ । अहँ थाहा छैन तिनीहरु कोसँग लड्ने कुरा गर्दैछन् अनि कोसँग नझुक्ने ? आखिर यो मुलुकलाई यसरी परिनिर्भर कसले बनायो ? के जनताले परनिर्भर बनाए ? मुलुकलाई आत्मनिर्भरको बाटो लैजान कसले छेक्यो ? जनताले जुलुस गरेर छेके ? २०४६ साल यताको कथित प्रजातान्त्रिक अवधिमा मुलुकको आर्थिक विकास र प्रगति गर्न कसले छेक्यो, जनताले ? अनि अहिले ती किन त्यसरी कुर्लिरहेका छन् ? के जनतासँगै भावना, आवेग र उत्तेजनाको व्यापार गरेरै मुलुक चल्ने हो ?

अनि मुलुकलाई आत्मनिर्भर र स्वाधिन अर्थतन्त्रको बाटोमा लैजाने भनेर भाषण गरेको कति भयो ? मुलुकमा यस्तो विकराल समस्याको समाधान गर्नुपर्ने बेलामा नेताहरुको भूमिका खै ? अहिले समस्या समाधानका लागि मुख्यगरी जसरी काठमाण्डूका शासकहरुले चासो र चिन्ता देखाउनुपर्ने हो उनीहरु सत्तासुख भोग गर्नमै तल्लीन छन् र आँखै अगाडिको यो विकराल समस्यालाई देखिरहेका छैनन् । अनि पटकपटक निर्णायक भनिने मधेशी मोर्चा र सरकारबीचको वार्ता औपचारिक एजेण्डामा प्रवेश नै नगरी टुंगिने नियति दोहोरिरहेको छ । यस अघि पनि दर्जनौं पटक सरकार र आन्दोलनरत मधेशी मोर्चाबीचको वार्ताको नियती यस्तै भएको छ ।

वार्ताकै सन्दर्भमा सालिन र पाका मधेशी नेता महन्थ ठाकुरले एक टेलिभिजन वार्तालापका क्रममा वार्ताको समयमा खास के कुरा हुन्छ? भन्ने प्रश्नको उत्तरमा भनेका थिए, ‘वार्ताको क्रममा हामीलाई बोलाइन्छ, दुई चार थान राष्ट्रियताको पाठ पढाइन्छ, अनि तपाईंहरुको आन्दोलनले मुलुक विखण्डनको खतरा बढेकोले तपाईंहरुले आन्दोलन फिर्ता लिनुपर्यो भनिन्छ, बस् त्यत्ति नै हो । कहिल्यै पनि सरकारको तर्फबाट हामीले राखेको मागहरुप्रति ठोस धारणा आउन सकेको छैन ।’ आखिर किन जहिल्यै पनि निर्णायक भनेर थालनी गरिने वार्ता औचारिक रुपमा सुरु नै नभई अन्त्य हुन्छ ? अनि कहिलेसम्म यो श्रृंखला जारी रहने हो ? प्रश्नहरु बग्रेल्ती उब्जिएका छन् तर तिनको न त कसैसँग उत्तर छ, न त समाधान नै । केवल प्रश्नको पेटारो मात्र बन्ने गरेको छ ।

अतः समस्या समाधानका लागि उत्तेजना र आवेगमिश्रित भाषणले मात्रै काम गर्दैन । अनि राजनीतिक दलका जिम्मेवार नेताले जनताकोस्तरमा भावना र उत्तेजनाको व्यापार गरेको सुहाउँदैन पनि । यदि भावना र आवेगले मात्रै देश बन्ने भए शायद यो मुलुक उहिल्यै सिंगापुर भइसक्थ्यो । अनि आक्रोसको राँको बालेर मात्रै राष्ट्रियताको जर्गेना हुने पनि होइन । सरकारका औपचारिक कार्यक्रमहरु चलेकै छन्, मन्त्रीहरु सिलान्यास र उद्घाटनमा हिंडेकै छन्, नेताहरुका भाषणवाजी चलेकै छ, काठमाण्डूमा वार्ता र छलफल पनि चलेकै छ, अखबारहरुमा समाचार छापिएकै छन्, रेडियोहरु बजेकै छन्, टीभीले नेतागणका मुहार देखाएकै छ, अनि जसरी भएपनि सडकमा सवारीहरु गुडेकै छन्, अनि जेनतेन जनताको चुलो पनि बलेकै छ, सामाजिक संजालले राष्ट्रियताको पहरेदारी गरेकै छ भनेर बसे त सबै ठीकठाकै देखिन्छ । तर, यथार्थमा मुलुक भने अत्यन्तै संकटग्रस्त अवस्थामा पुगिसकेको छ । राजनीतिक नेतृत्वले त्यसभित्रको समस्या देख्नुपर्यो र त्यसलाई समाधान गर्नुपर्छ, तब न नेता नत्र केको नेता र कसको नेता ? twitter: @nibartaman

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।