Main Menu
  |   Friday, December 15, 2017
बान की मुन लुम्बिनी आउन इच्छुक
बान की मुन लुम्बिनी आउन इच्छुक

लुम्बिनी । संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन लुम्बिनी भ्रमण गर्न इच्छुक देखिएपनि नेपाल सरकारले वेवास्ता गरेको पाइएको छ । नेपाल सरकारले वातावरण बनाए वान आगामी वैशाखमै लुम्बिनी भ्रमणमा आउन चाहेको सूचना गत पुष महिनामै परराष्ट्र मन्त्रालयमा आएको थियो । तर सरकारले यस विषयमा अहिलेसम्म छलफल समेत गरेको छैन ।

‘लुम्बिनी विश्व शान्ति शहर’को गुरुयोजना निर्माणकर्ता कोरियन प्रोफेसर क्वाकले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि दूर्गा प्रसाद भट्टराइलाई भेटि वानले लुम्बिनी भ्रमण गर्न चाहेको सूचना दिएका थिए । लगत्तै भट्टराइले परराष्ट्र मन्त्रालयलाई ‘गोप्य र जरुरी’ पत्र प्रेषित गरि ‘लुम्बिनी विश्व शान्ति शहर’को गुरुयोजना कार्यान्वयनका लागि आर्थिक सहायताको अभाव नहुने देखिएकाले सकेसम्म आगामी वैशाखमै नभए सन् २०१६ भित्रै वानको प्रमुख आतिथ्यतामा उक्त गुरुयोजनाको शीलान्यास गर्ने तयारी गर्न आग्रह गरेका थिए ।

पत्रमा गुरुयोजना निर्माणकर्ता क्वाकको विशेष आग्रहमा भारतीय प्र्रधानमन्त्री नरेन्द्र मोदी र वेलायतका राजकुमार फिलिप समेत उक्त अवसरमा लुम्बिनी आउने प्रबल सम्भावना रहेको उल्लेख गरिएको छ । पत्रमा लेखिएको छ– ‘शुरुमा केही शंकाहरु भएपनि हाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत उक्त योजनाको बृहत पक्षसंग सकारात्मक हुुनु भएकाले निजको र वेलायतका राजकुमार फिलिपको समेत सो अवसरमा उपस्थिती हुन सक्ने प्रबल सम्भावना छ ।’ यसअघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमणको कार्यक्रम स्थगित गरि अर्को पटक लुम्बिनी घुम्ने वचन दिएका थिए ।

त्यस्तै वानको लुम्बिनी भ्रमणका सम्वन्धमा पत्रमा लेखिएको छ –‘नेपालको नेतृत्व रहने उक्त योजना (लुम्बिनी विश्व शान्ति शहर) मा वर्तमान संयुक्त राष्ट्रसंघका महासचिवको शशक्त सहयोग रहने र सो योजनाको खासगरि भित्री र वाहिरी रिङ्गरोड तथा सडक र सिंचाइ सञ्जाल निर्माणको शीलान्यास नीजको कार्यकाल सन् २०१६ को डिसेम्वर भित्रै र सकेसम्म वैशाख पूर्णिमाका अवसरमा हुन सके सो का लागि नीज महासचिव नेपाल भ्रमणका लागि तयार रहनुभएको संकेत मिलेको छ ’ ।

‘लुम्बिनी विश्व शान्ति शहर’को शीलान्यासका लागि राष्ट्रसंघका महासचिव र भारतीय प्रधानमन्त्री एकैचोटी लुम्बिनी आउने प्रबल सम्भावना रहेको र गुरुयोजना कार्यान्वयनमा ठूलो आर्थिक सहायता हुने सम्भावना रहंदा पनि सरकारले ध्यान नदिएको भन्दै परराष्ट्र र पर्यटन तथा संस्कृति मन्त्रालयका उच्च अधिकारीहरु असन्तुष्ट छन् । उनीहरुले सरकारका मन्त्रीहरुले जानिजानी यो आयोजना गुमाउन खोजेको दावी गरे ।

कोरियाली सहयोेग नियोग कोइकाको सहयोगमा तयार भएको गुरुयोजना कार्यान्वयनमा नेपाल सरकारले अग्रसरता नदेखाएको भन्दै कोरिया समेत असन्तुष्ट छ । कोइकाका कन्ट्रि डाइरेक्टर ह्युड्ड क्यो किमले केही दिनअघि लुम्बिनीमा सरकारले बृहत्तर लुम्बिनी क्षेत्रको अर्को गुरुयोजना निर्माणका लागि सहयोग गर्न आग्रह गरेको खुलासा गरेका थिए । तर एउटा गुरुयोजना कार्यान्वयनमा नजादैं अर्को काममा हात हाल्न नसकिने उनको स्पष्टोक्ति थियो ।

नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले वानकी मुनले लुम्बिनी भ्रमण गर्न चाहेको विषयमा आफ्नो मन्त्रालयलाई जानकारी नभएको बताए । क्वाकको गुरुयोजना कार्यान्वयनका लागि सरकार तत्पर रहेको प्रतिक्रिया उनको छ । तर गुरुयोजना कार्यान्वयनका लागि बजेट ब्यवस्था र जग्गा अधिग्रहण लगायतका महत्वपूर्ण काम बांकी रहेकाले तत्काल शीलान्यासको कार्यक्रम गर्ने विषयमा सरकारले कुनै निर्णय नगरेको उनको भनाई छ ।

शान्ति शहरको गुरुयोजना कार्यान्वयन गर्न क्वाक आफै सक्रिय

लुम्बिनी । सरकारले ‘लुम्बिनी विश्व शान्ति शहर’को गुरुयोजना स्वीकृत गरेपछि यसको कार्यान्वयनका लागि गुरुयोजना निर्माणकर्ता कोरिएन प्रोफेसर क्वाक याङ्गुन आफै सक्रिय बनेका छन् । उनले यसका लागि संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन र राष्ट्रसंघका स्थायी नियोगहरुमार्फत थुप्रै मुलुकहरुलाई आर्थिक सहायतका लागि समेत सहमत गराएको जानकारी दिएका छन् ।

मायादेवी मन्दिरको रात्रीकालीन दृश्य ।

मायादेवी मन्दिरको रात्रीकालीन दृश्य ।


केही महिना अघि संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अधिकारीहरुलाई भेटेर प्रोफेसर क्वाकले यस्तो जानकारी गराएका हुन् । क्वाक संगको भेटपछि राष्ट्रसंघको स्थायी नियोगका स्थायी प्रतिनिधिले परराष्ट्र मन्त्रालयलाई गोप्य र जरुरी पत्र प्रेषित गरि लुम्बिनी शान्ति शहरको कार्यान्वयनमा तत्काल अग्रसर हुन नेपाल सरकारलाई आग्रह गरेका छन् । त्यसरी पठाइएको पत्रमा गुरुयोजना कार्यान्वयनका लागि क्वाक आफैले अन्तरराष्ट्रिय समुदायसंग पहल गरिरहेकोले सरकारले तत्काल समन्वय गरि प्रकृया अगाडी बढाउन आग्रह गरिएको छ ।

पत्रमा आर्थिक सहायता जुटाउने विषयमा आवश्यक योजना तय गर्न र सहायता गर्न चाहने मुलुकहरुलाई तत्काल सम्पर्क गरेर अगाडी बढ्न अर्थ मन्त्रालयलाई आग्रह समेत गरिएको छ ।

पत्रमा– गुरुयोजना कार्यान्वयनका लागि ठूलो आर्थिक सहायता गर्न कोरिया,नर्वे,यूके,अमेरिका र संयुक्त राष्ट्रसंघका निकायहरु तयार रहेकाले आर्थिक सहायताको समस्या ठूलो नहुने देखिएको उल्लेख छ । त्यस्तै नेपाल सरकारले छिटो पहल गरे आगामी वैशाखमै गुरुयोजना कार्यान्वयनमा लैजान सकिने विश्वास क्वाकले दिलाएका छन् । उनले अरु एक दर्जन भन्दा बढी बुद्धिष्ट मुलुकहरुसंग यस विषयमा छलफल भइरहेको र छिट्टै सहमति पाउने विश्वास समेत गरेका छन् ।

भारत र श्रीलंकाले गुरुयोजना निर्माणका लागि सहयोग गर्ने बचन यसअघि नै दिएका थिए । प्रोफेसर क्वाकले आफुले तयार गरेको गुरुयोजना दर्जनौं मुलुकहरुसंग प्रस्तुत गरिसकेका छन् ।

यो गुरुयोजनालाई आफ्नो जीवनको महत्वपूर्ण परियोजनाका रुपमा लिएका क्वाकले नेपाल सरकारले अनुमति दिए यसको कार्यान्वयनमा आफै अग्रसर हुने प्रतिबद्धता जनाएका थिए ।

लुम्बिनीलाई संसारकै शान्त,सुन्दर र ब्यवस्थित शहरको रुपमा विकास गर्न सरकारले कोरियन सहयोग नियोग (कोइका) मार्फत प्रोफेसर क्वाकलाई यसको गुरुयोजना बनाउने जिम्मा दिएको थियो । प्रोफेसर क्वाकले गुरुयोजनाको सम्पूर्ण काम पुरा गरेर गतवर्ष नै नेपाल सरकारलाई बुझाएका थिए ।

सन् १९७८ मा जापनिज वास्तुकलावीद् केन्जो टाङ्गेले बनाएको लुम्बिनी गुरुयोजना बाहिर २४ वर्गमाइलको क्षेत्रफलमा पर्नेगरि उनले शान्ति शहरको गुरुयोजना कोरेका हुन् । उनको गुरुयोजनाले लुम्बिनीको पांच वर्गमाइल क्षेत्रमा शान्ति शहर बनाउने र वांकी १९ वर्गमाइल क्षेत्रलाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । पांच वर्गमाइल क्षेत्र भित्र लुम्बिनी वरिपरिका ११ गाविस समेटिनेछन् ।

क्वाकको गुरुयोजनाले लुम्बिनीमा २ लाख पर्यटक अटाउन सक्ने गरि प्रत्येक घरमा होम स्टेको अवधारणा अघि सारेको छ । यो गुरुयोजना कार्यान्वयनमा ३ अर्व अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ । केन्जो टाङगेले तयार गरेको हालको गुरुयोजनालाई कुनै असर नपर्ने गरि तयार गरिएको लागेको गुरुयोजनाले स्थानीय वस्ती,जंगल,स्कुल,मठ,मन्दिर,मस्जिद तथा सडकहरुलाई जस्ताको तस्तै राखेर शान्ति शहरको रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।

क्वाकले गुरुयोजना कार्यान्वयनमा समस्या पर्ने भन्दै लुम्बिनी क्षेत्रमा अग्ला घर निर्माण नगर्न,उद्योग कलकारखानाहरुलाई ब्यवस्थित गर्न, ठूला तारे होटलहरु बनाउने अनुमति नदिन सरकारसंग आग्रह गरिसकेपनि त्यसको कार्यान्वयन भएको छैन । कमलको फुलको आकारमा तयार भएको क्वाकको गुरुयोजनाले २४ वर्गमाइल क्षेत्रफललाई चार भागमा बाँडेको छ ।

हालको पवित्र जोनलाई बुद्ध जोन,हालको गुरुयोजना क्षेत्रलाई धर्म जोन, त्यसवाहिर पांच वर्गमाइल क्षेत्रलाई संघ जोन र बांकी १९ वर्गमाइल क्षेत्रलाई उपासाका जोनको रुपमा परिभाषित गरिएको छ ।

संघ जोनलाई कमलको फूलको पत्र जस्ता ८ वटा पत्रमा बांडिएको छ । ति आठवटै पत्रमा बनेका शहरुहरुमा माछा,मासु,मदिरा तथा पेट्रोलियम सवारीहरु निषेध गर्ने योजना क्वाकको छ । शहर बाहिर उपासाका जोनमा कृषि उत्पादनका लागि ब्यवसायीक फारमहरु सञ्चालन गरेर कृषि पर्यटनको अवधारणा समेत अघि सारिएको छ ।

शान्ति शहरमा एउटै आकारका घर,फराकिला सडक,१० मिनेटभित्र पुग्न सकिने स्कुल तथा स्वास्थ्य चौकीहरु,सौर्य उज्र्जा,पानी,विद्युत लगायतका सवै सुविधा सहित शहरलाई प्रदूषण रहित बनाउने उपायहरु उल्लेख गरिएको छ ।

‘गरिवी संगै शान्ति नआउने’ भन्दै क्वाकले आफ्नो गुरुयोजना कार्यान्वयन भए लुम्बिनीका प्रत्येक ब्यक्तिले दैनिक ३० डलर आम्दानी गर्न सक्ने दावी समेत गरेका छन् ।

क्वाकले नेपाली संस्कृतिको एउटा महत्वपूर्ण आकर्षण ‘अतिथि देवो,भवः’ संसारभर अनुकरणीय रहेको भन्दै प्रत्येक घरमा पर्यटक वस्न मिल्ने गरि ‘होम स्टे’बनाउने अवधारणा अघि सारेका छन् ।

आकाशबाट हेर्दा यो शहर कमलको फूलको आकारमा देखिनेछ, जसलाई पूर्ण रुपमा प्राकृतिक,जैविक र आधुनिक शहरको रुपमा विकास गरिने छ । वनजंगल र जीवजनावरको संरक्षण देखि,बुद्धकालिन रुख लगाउने,हुर्काउने,र शान्ति शहरभित्र रहने स्थानीय वासिन्दाको क्षमता अभिबृद्धिका कार्यक्रम समेत गुरुयोजनाभित्र समावेश गरिएका छन् ।

क्वाकले तयार गरेको शान्ति शहरको गुरुयोजनाप्रति लुम्बिनीका स्थानीय वासिन्दा समेत खुसी छन् । केन्जो टाङ्गेको गुरुयोजनाले विस्थापित भएका स्थानीय वासिन्दा शान्ति शहरको गुरुयोजनाका कुरा चल्दा त्रसित भएका थिए । यद्यपी क्वाकले हाल भएका सवै संरचना जस्ताको तस्तै राखेर जग्गा अधिग्रहण विना कमलको फुलको आकारको गुरुयोजना तयार गरेपछि लुम्बिनीवासी खुसी छन् । उनीहरुले गुरुयोजना छिटो कार्यान्वयनमा ल्याउन माग समेत गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।