Main Menu
  |   Friday, December 15, 2017
नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की

मनिकर कार्की
प्रतिनिधिसभा सदस्य उम्मेदवार
रुपन्देही क्षेत्र नं. २
नयाँ शक्ति पार्टी, नेपाल

तपाईंलाई किन भोट दिने ?
पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु । त्यसैले विकास, समृद्धि र प्रगतिको नयाँ गन्तव्यमा पुग्नका लागि आम मतदाताले मलाई भोट दिने ।
दोस्रो बदलिएको राजनीतिक गन्तव्यसहितको बदलिएको राजनीतिक कार्यभार पूरा गर्नका लागि अबको नयाँ पुस्ता अग्रसर हुनुपर्छ र मैले त्यही युवा पुस्ताको नेतृत्व गरेको छु, त्यसैले मलाई भोट दिने । र, म विसंगतिपूर्ण बन्दै गएको राजनीति सफा गर्न र असल राजनीतिक संस्कार निर्माण गर्नकै लागि राजनीतिको मैदानमा उत्रिएको छु, त्यसैले असल राजनीतिका लागि आम नागरिकले मलाई मत दिनुहुन्छ भन्नेमा म विश्वस्त छु ।

चुनावी अभियानका क्रममा मतदाताको प्रतिक्रिया के छ ? के भनेका छन् ?
हामी अहिले चुनावी अभियान लिएर आम मतदाताको घरदैलोमा पुगिरहेका छौं । हामी मतदाताको प्रतिक्रियाले उत्साहित पनि छौं । अहिले आम नागरिक प्रश्न गर्न थालेका छन् ? विगतमा दल र तिनका नेताहरुले बाँडेका आश्वासनको बारेमा प्रश्न गर्छन् । ती सपना किन पूरा हुन सकेनन् भनेर प्रश्न गर्छन् । हामी त्यसैको उत्तर दिँदै पारम्परिक राजनीतिको चरित्रको बारेमा मतदातालाई सम्झाउँदैछौं । अनि वैकल्पिक राजनीतिको बारेमा जानकारी दिंदै अबको राजनीतिक गन्तव्यको बारेमा बहस गर्दै हिंडेका छौं । यसमा आम नागरिकको अभिमत परिवर्तन, विकास र समृद्धिकै दिशातर्फ छ । आम नागरिक आफ्नो अवस्था बदलिएको हेर्न चाहन्छन् । यो देश समृद्ध बनेको देख्न चाहन्छन् । आफ्ना समस्या र दुःख हटेको हेर्न आतुर छन् ।

रुपन्देहीमा नयाँ शक्ति पार्टीको अवस्था कस्तो छ ?
नयाँ शक्ति पार्टी स्थापना भएको त्यस्तै डेढ वर्षजति भयो । यो अवधिमा नयाँ शक्तिले देशैभर संगठन निर्माण गर्न सफल भएको छ र करिब ३० देशहरुमा प्रवास संगठन बनिसकेको छ । जहाँसम्म रुपन्देहीको कुरा छ, जिल्लाभर ३ हजार भन्दा बढी पार्टी सदस्यहरु छन् भने यहाँका सबै नगर तथा गाउँपालिकाहरुमा संगठन निर्माण भइसकेको छ ।
स्वभाविक रुपमा ठूला पार्टीहरुको तुलनामा हाम्रो संगठन कमजोर पक्कै हो तर, हामी जुन गतिमा अघि बढिरहेका छौं, त्यो भने पक्कै पनि उत्साहजनक नै छ । किनकि स्थापनाको यति छोटो समयमा हामीले देशैभरबाट उम्मेदवारहरु उठाएर चुनावी अभियान तीव्र पारेका छौं, हाम्रा लागि यो नै पहिलो सफलता हो । जहाँसम्म चुनावी मतपरिणामको कुरा छ, हामी यसपटक सबै ठाउँमा जित्नकै लागि मात्र होइन, हाम्रो एजेण्डा स्थापित गर्न र एउटा सशक्त विकल्प निर्माण गर्नका लागि चुनावी मैदानमा उत्रिएका हौं ।

स्थापनाकालका धेरै नेताहरुले पार्टी छाडे रे, रुपन्देहीमा कति मत आउने अनुमान छ ?
हेर्नुस् एउटा जिवन्त पार्टीमा मान्छेहरु आउने जाने निरन्तर भइ नै रहन्छ । अरु पार्टीहरुमा पनि मान्छेहरुको आउने जाने क्रम चलिनैरहेको छ । त्यसैले नयाँ शक्तिमा पनि यो क्रम चल्नु कुनै नौलो होइन । फेरि नयाँ शक्ति पार्टीको वैकल्पिक राजनीतिक यात्रा तत्कालका लागि होइन । यो भविष्यउन्मुख लामो यात्रा हो । अनि यो यात्रामा कतिपय पुराना सहयात्रीहरु थाक्नु स्वभाविक पनि हो । त्यसैले थाक्नेहरु बाहिरिने अनि ऊर्जाशील नयाँ अनुहारहरु पार्टीभित्र भित्रिने क्रम निरन्तर चलिनैरहन्छ ।
अब जहाँसम्म मतको कुरा छ, हामीलाई के विश्वास छ भने आम नागरिक पुराना पार्टीहरुको झुठा आश्वासनबाट दिक्क भइसकेका छन् । अहिले सबै विकल्पको कुरा गरिरहेका छन् । हामी चुनावी अभियानका क्रममा सहरबजार अनि गाउँघरतिर घुम्दा पनि आम नागरिकले गुनासो र असन्तुष्टि नै पोखेका पायौं । त्यसैले यसपटक हामी वैकल्पिक शक्तिलाई नागरिकले मत दिन्छन् भन्नेमा हामी आशावादी छौं । अनि अर्को कुरा चुनाव जित्नकै लागि मात्र पनि लडिन्न । जित्ने उद्देश्य राख्ने हो तर पनि हामीले वैकल्पिक राजनीतिको रक्षाका लागि अनि आम युवापुस्तामा छाएको राजनीतिक निराशालाई हटाउनको लागि र भविष्यमा आशा कायमै छ भन्ने सन्देश दिनकै लागि चुनाव लडेका हौं । यसमा नागरिकले हाम्रो अभियानलाई साथ दिनेछन् भन्नेमा हामी पूर्ण आशावादी छौं ।

कठिन संघर्ष गरेर व्यवस्था परिर्वतनमा योगदान गरेका दलहरुलाई जित्न सक्नुहोला ?
हो, हामीले के स्वीकार गरेका छांै भने पुराना दलहरुको योगदान राजनीतिक व्यवस्था फेर्नका लागि भयो । त्यसका लागि उहाँहरु सबैलाई धन्यवाद छ । तर, अहिले व्यवस्था फेरिएसँगै राजनीतिको एजेण्डा फेरिएको छ । अब आम नागरिकको अवस्था फेर्ने बेला आएको छ । गरिबीको अवस्था, भ्रष्टाचारको अवस्था, बेरोजगारीको अवस्था फेर्ने बेला हो यो । त्यसैले हामी यो बदलिएको राजनीतिक कार्यभार पूरा गर्नका लागि दलको शैली, संस्कार अनि चिन्तन प्रणाली नै फेरिनुपर्छ भनिरहेका छौं । त्यसैले त वैकल्पिक शक्तिको आवश्यकता महशुस भएको हो । अब हिजो जसरी राजनीति गरियो, त्यही तौरतरिका अनि शैली र विचारले राजनीति चल्दैन । अब परिवर्तन हुने बेला आइसकेको छ । हिजोको राजनीतिक साधन अनि साध्य बदलिएको छ त्यसैले अब नयाँलाई चुन्नुपर्छ । म आम नागरिकलाई पनि त्यही अपिल गर्न चाहन्छु ।

तपाईंको क्षेत्रका मतदाताको सबैभन्दा ठूलो समस्या के रहेछ ?
मेरो चुनावी क्षेत्रमा गाउँदेखि सहरबजार क्षेत्रसम्म भएकोले सबै ठाउँको समस्या फरकफरक रहेको पाएँ । बजार क्षेत्रको समस्या र गाउँको फरक हुन्छ । यद्यपि उचित स्वास्थ्य शिक्षाको अभाव, बेरोजगारी, महंगी जस्ता साझा समस्याहरु पनि छन् नै । यहाँ भूमिमा स्वामित्वको अभाव पनि अर्को ठूलो समस्या हो । जसलाई समाधान गर्ने पुराना पार्टीहरुको पुरानै प्रतिबद्धता वर्षौंसम्म पनि पूरा भएको छैन । अनि वर्षौंदेखि निर्माणाधिन विकास परियोजनाहरु समयमै सम्पन्न नहुनु पनि यहाँको मुख्य समस्या हो । यी सबै समस्या हल गर्दै यस क्षेत्रको आधुनिक विकासका लागि एकीकृत विकास योजना र नीतिगत सुधार अपरिहार्य देखिएको छ । मैले त्यही विषयमा अध्ययन गरी विशेष योजना निर्माण गरी काम गर्ने लक्ष्य लिएको छु ।

७. तपाईंका मतदाता सामु के कस्ता प्रतिबद्धताहरु छन् ?
मेरो राजनीतिक लक्ष्य भनेकै आम नागरिकको अवस्था फेर्ने हो । आर्थिक विकास, समृद्धि र प्रगति मार्फत आम नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य हो । त्यसले म त्यही लक्ष्य प्राप्तिको दिशामा अग्रसर भएर काम गर्ने प्रतिबद्धता आम मतदातासमक्ष जाहेर गर्दछु । म अरु पार्टीका उम्मेदवारहरुले जस्तो यो पनि बनाउँछु, त्यो पनि बनाउँछु भन्दिन ।
किनकि त्यो नियमित कार्यसूचिमा आउने कुरा हो । यहाँ सरकारको नियमित योजनालाई आफ्नो चुनावी घोषणापत्रमा राखेर मत माग्ने परिपाटी छ, जुन सिद्धान्ततः गलत हो भन्ने मेरो बुझाई छ । किनकि ती नियमित परियोजनाहरु जसको निर्माण कार्य सुरु भइसकेको छ र सुरु हुने प्रक्रियामा छन् ती आयोजनाहरु यसै सञ्चालन हुन्छ नै । त्यसकारण अहिलेसम्म स्वीकृत भइसकेका विकास निर्माणका आयोजनाहरुलाई चुनावी प्रतिबद्धतापत्रमा उल्लेख गरेर पार्टीहरुले त्यस्तो कुनै ठूलो काम गरेको जस्तो मलाई लाग्दैन ।
हो, म के कुरामा प्रतिबद्धता जनाउँछु भने अब तोकिएको समयभित्र सबै निर्माणका कामहरु पूरा गर्न म प्रतिबद्ध भएर लाग्नेछु । हरेक परियोजना तोकिएको समय र लागतमा पूरा गर्ने मेरो प्रतिबद्धता हो । यसका लागि ऐन कानूनमा विशेष संशोधन गर्न जरुरी छ भने पनि म त्यो काम सबैभन्दा पहिला गर्नेछु । अनि शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रमा सुधार र परिवर्तन मेरो अर्को काम हुनेछ । सुशासन कायम गर्नका लागि नीतिगत र प्रशासनिक सुधार अर्को काम हो । समग्रमा म आफू सदाचार, सुशासन अनि असल शासनको पक्षमा काम गर्नेछु । यहि मेरो प्रतिबद्धता हो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।