Main Menu
  |   Friday, December 15, 2017
सुरक्षा निकाय ‘हाई अलर्ट’मा, गस्ती र उद्धारमा सेनाका हेलिकोप्टर
सुरक्षा निकाय ‘हाई अलर्ट’मा, गस्ती र उद्धारमा सेनाका हेलिकोप्टर

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा दोस्रो चरण निर्वाचन सुरक्षा गस्ती र उद्धारका लागि नेपाली सेनाले पाँचवटा क्षेत्रमा हेलिकोप्टर तैनाथ गरेको छ । निर्वाचनको मुखमा उम्मेदवार र मतदान केन्द्र लक्षित विस्फोटका घटना बढेपछि सेनाले दुर्घटना भए तत्काल उद्धार गर्ने र झडप भए नियन्त्रण गर्ने लक्ष्यसहित आफ्ना हेलिकोप्टरलाई तैनाथ अवस्थामा राखेको हो ।

सरकारले बिहीबारको निर्वाचनलक्षित सुरक्षा व्यवस्था कडा बनाएसँगै सेनाले समेत सक्रियता बढाएको हो । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा उम्मेदवारलक्षित बम आक्रमण हुन थालेपछि सेना, प्रहरी र सशस्त्र प्रहरीका तीनवटै निकायले सडकमा संयुक्त गस्ती सुरु गरिसकेका छन् ।

सेनाले प्रदेश २ र उपत्यकालाई विशेष निगरानीमा राखेर गस्ती थालेको छ । पहाड तथा तराई वा अन्य स्थानमा समेत हवाई गस्तीको कार्ययोजना बनाएको छ ।

मतदान केन्द्रमा हुलदंगा वा अन्य निर्वाचनविरोधी गतिविधि भए फिल्डमा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिन नसके नेपाली सेनाले तत्कालै रेस्क्यु गर्नेछ ।नेपाली सेनाका सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालले सेनाको जिम्मेवारीभित्र पर्ने सम्पूर्ण सुरक्षा व्यवस्था तयारी अवस्थामा रहेको जानकारी दिए । ‘पहिलो चरणमा २८ हजार सेना परिचालन गरेका थियौ दोस्रो चरणमा ३६ हजार परिचालित छन्,’ उनले भने, ‘आवश्यकता हेरेर थप सेना रिजर्भमा राखिएको छ ।’

निर्वाचनविरोधी गतिविधि बढेपछि सेनाले मतदान केन्द्रमा उच्च सतर्कता अपनाएको हो । ‘निर्वाचन सुरक्षाका लागि नेपाली सेना तयारी अवस्थामा छ, जहाँ अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ, त्यहाँको सुरक्षाका लागि सेनाको मद्दती फौज पुग्नेछ,’ उनले भने ।

गृह मन्त्रालयले तीन घेराको सुरक्षा व्यवस्था गरेअनुसार मतदान स्थल, उम्मेदवार र मतदाताको सुरक्षामा खटिएका तीन सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा बनाएको जनाएका छन् । निर्वाचनमा ६४ हजार २० नेपाली सेना, ६६ हजार ६ सय ७८ नेपाल प्रहरी, २८ हजार ९१ जना सशस्त्र प्रहरी परिचालित हुनेछन् ।

त्यसबाहेक मद्दती फौज, सादा पोसाक र म्यादी गरी २ लाख ८० हजार सुरक्षाकर्मी तैनाथ भइसकेका छन् । पहिलो चरणमा मतगणनामा खटिनेबाहेक सबैलाई मद्दती फौजका रूपमा राखिएको गृह मन्त्रालयले जनाएको छ ।

हवाई र जमिनबाट गस्ती गर्न छुट्टै सुरक्षा फौज तैनाथ गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणकृष्ण दुवाडीले सबै मतदातालाई भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न बढी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

‘सबै मतदान स्थलमा सुरक्षाकर्मी परिचालित भइसकेका छन्, थप सुरक्षाका लागि रिजर्भ फोर्स तयारी गरेका छौ,’ उनले भने । दुवै चरणमा निर्वाचनमा करिब ३ लाखभन्दा सुरक्षाकर्मी परिचालित भएका छन् ।उनका अनुसार कुनै पनि घटना भए १० देखि ३० मिनेटभित्र तत्काल उद्धार गर्न ‘क्वीक रेस्पोन्स टिम’ बनाइएको छ ।

‘हामी यो भन्न चाहन्छौं कि सरकारले भयरहित वातावरणमा मतदान गर्ने अधिकार सुनिश्चित गर्न सबैले सहज वातावरण अपनाउनुपर्छ,’ गृह प्रवक्ता दुवाडीले भने । संविधान र कानुन नमान्नेमाथि कडा कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै गृह प्रवक्ता दुवाडीले भने, ‘सुरक्षाको सबै उपाय अवलम्बन गरेका छौं, ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गर्दछौं ।’

नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेले सबै सुरक्षा निकायले सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइसकेको जानकारी दिए । ‘भारतसँग सिमाना जोडिएको स्थानमा नेपाल र भारतको संयुक्त सुरक्षा फौजले हतियारसहित चेकजाँच सुरु गरिएको छ, भारतसँग सिमाना जोडिएका सबै नाकामा उच्च सुरक्षा व्यवस्था गरिएको छ,’ उनले भने, ‘दुर्गममा घटना भए तत्काल हेलिकोप्टर परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।’

निर्वाचन गतिविधिमा संलग्नमध्ये हालसम्म ९ सय ५१ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सेनाले बाहिरी घेराको सुरक्षाका अलावा मतदानपछि मतगणना केन्द्रमा समेत सुरक्षा परिचालन गरिसकेको छ । ‘सेनाले मतदानपछि सम्बन्धित स्थानमा मतपेटिका ढुवानी गर्नेसम्मको जिम्मा लिएको छ,’ डीआईजी न्यौपानेले भने ।

शंकास्पद लागे प्रहरीलाई फोन गर्नु
गृह मन्त्रालयले अपरिचित व्यक्ति, शंकास्पद गतिविधि र शंकास्पद वस्तु देखेमा नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोलको फोन नम्बर १०० मा खबर गर्न आह्वान गरेको छ ।

‘आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको क्रममा निर्वाचनविरोधीहरूले उम्मेदवारलाई लक्षित गरी विस्फोटनका घटनाहरू घटाउने, सर्वसाधारणलाई डर त्रास सिर्जना हुनेगरी सार्वजनिक स्थान तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको घर, कम्पाउन्डमा बम विस्फोटन गराउनेजस्ता गतिविधिहरू गरी निर्वाचनमा अवरोध सिर्जना गर्ने क्रियाकलाप गरिरहेको’ उल्लेख गर्दै यस्तो कार्य भएको जानकारी भए तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।