Main Menu
  |   Friday, December 15, 2017
क्रिमसनमा निःशुल्क विपन्न नागरिक उपचार सेवा
क्रिमसनमा निःशुल्क विपन्न नागरिक उपचार सेवा

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पतालमा नेपाल सरकारले प्रदान गर्ने निःशुल्क विपन्न नागरिक उपचार सेवा सुरु भएको छ । अस्पतालमा निःशुल्क मृगौला रोगको डायलासिस, हेड इन्जुरी, स्पाईनल इन्जुरी र मुटु रोगको उपचार सेवा उपलब्ध हुन थालेको हो ।
अस्पतालले मृगौला रोगको डायलासिस गत वैशाखबाट नै निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

हालै स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखासँग सम्झौता गरी अन्य रोगको समेत निःशुल्क उपचार सेवा सुरु गरिएको अस्पतालका निर्देशक डा. शेखर प्रसाद पोखरेलले जानकारी दिनुभयो । कात्तिक ७ गते भएको सम्झौतामा अस्पतालका क्रिमसन कलेज अफ टेक्नोलोजीका अध्यक्ष लक्ष्मण ज्ञवाली र स्वास्थ्य सेवा विभागका तर्फबाट निर्देशक भीम सिंह तिंकरीले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौताअनुसार जिल्ला स्थित विपन्न नागरिक औषधि उपचार सिफारिस समितिबाट सिफारिस भई आएका उल्लेखित रोगका बिरामीहरुको एक लाख रुपैंयाँसम्मको उपचार अस्पतालमा निःशुल्क हुनेछ । सम्झौता पत्रमा अस्पतालले नियमानुसार सिफारिस भई आएका मृगौला, हेड इन्जुरी, स्पाईनल इन्जुरी र मुटु रोग लागेका बिरामीहरुको उपचार सेवा विपन्न नागरिक औषधोपचार कोष निर्देशिका (दोस्रो संसोधन) २०७३ को परिधिभित्र रही निःशुल्क गर्नुपर्ने उल्लेख छ ।
क्रिमसनमा यस्तो सेवा विस्तारसँगै यस क्षेत्रका बिरामीहरु सरकारले उपलब्ध गराएको निःशुल्क उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । अस्पतालले हेड इन्जुरी र स्पाइनल इन्जुरी रोग सम्बन्धी परीक्षण एवं उपचार शुल्क राष्ट्रिय ट्रमा सेन्टर र मुटु रोग सम्बन्धी परीक्षण एवं उपचार शुल्क शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले निर्धारण गरेको शुल्कमा नबढ्ने गरी उपचार सेवा प्रदान गर्नेछ । तोकिएको प्रक्रिया पूरा नगरी आएका बिरामीको उपचार अस्पतालले गरेमा त्यस बापतको रकम महाशाखाले शोधभर्ना नगर्ने सम्झौतामा उल्लेख छ ।

अस्पतालमा हाल मुटु रोगको उपचारका लागि वरिष्ठ मुटु रोग विशेषज्ञ डा. लक्ष्मण दुवे, हेड इन्जुरी, स्पाईनल इन्जुरीको उपचारका लागि न्यूरो सर्जन डा. के. आई.सि. केसी र मृगौला रोगको उपचारका लागि मृगौला रोग विशेषज्ञ डा. सर्जुराज सिंह कार्यरत रहनु भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. लक्ष्मण दुवेले सरकारले उपल्बध गराउने निःशुल्क उपचार सेवा क्रिमसनमा सुरु भएकाले यस क्षेत्रका बिरामीलाई ठूलो राहत मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सेवाले पैसा नभएर उपचार गर्न नसकेका धेरै जना लाभान्वित हुनेछन् ।

ठूला रोगमा एक लाख रुपैंयाँसम्मको उपचार खर्च सरकारले व्यहोर्दा बिरामी र उनीहरुका आफन्तलाई धेरै राहत मिल्नेछ ।’ क्रिमसनमा मृगौला, हेड इन्जुरी, स्पाईनल इन्जुरी, मुटुलगायतका विभिन्न रोगको उपचारका लागि आवश्यक पूर्वाधार र जनशक्ति उपलब्ध भएकाले सरकारले यस्तो सेवा सञ्चालनका लागि अनुमति प्रदान गरेको जनाइएको छ ।

नेपाल सरकारको अस्पताल भवन निर्माण राष्ट्रिय संहिताअनुसार निर्मित अत्याधुनिक सुविधासम्पन्न आफ्नै भवनमा संचालित क्रिमसन ५० शैंयाको अस्पताल हो । बिरामीको चाप बढेसँगै अस्पतालले थप शैंयाको अनुमतिका लागि प्रक्रिया अघि बढाएको अस्पतालका निर्देशक डा. पोखरेलले बताउनुभयो ।
अस्पतालमा आईसियु, न्युरो आईसियु, सिसियु सेवा समेत उपलब्ध छ । १६ वर्ष देखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बिबिए, बिसिए, बिसिआईएस, बि.फार्मा कक्षाहरु सञ्चालन गर्दै आइरहेको क्रिमसन कलेज अफ टेक्नोलोजीले ६ वर्षदेखि क्रिमसन अस्पतालमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ । कलेज तथा अस्पतालले अन्य थप कार्यक्रम समेत सञ्चालनको तयारी गरिरहेको छ ।

जनरल फिजिसियन, हाडजोर्नी तथा नशा रोग, नशा तथा मनोरोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, बाल रोग, स्त्री तथा प्रसुति रोग,फिजियोथेरापी, दन्त रोग विशेषज्ञ सेवा समेत अस्पतालमा उपलब्ध छन् । यस्तै अत्याधुनिक प्रविधिद्धारा बिभिन्न किसिमका शल्यक्रिया, बिना चिरफार दुरबिन पद्दतिद्धारा पत्थरीको शल्यक्रिया, सिटि स्क्यान, इण्डोस्कोपी, कोलोनोस्कोपी, अत्याधुनिक प्रयोगशाला, सी–आर्म मेसिनद्धारा हाडजोर्नी सम्बन्धी उपचार लगायतका सेवाहरु पनि उपलब्ध रहेको अस्पतालका प्रशासकीय अधिकृत मनमोहन भट्टराईले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।