Main Menu
  |   Friday, December 15, 2017
बुद्ध विवाद-कहाँ चुकेको छ नेपाल ?
बुद्ध विवाद-कहाँ चुकेको छ नेपाल ?

हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी भूमिमा गई भारत बुद्धभूमि भएको उल्लेख गर्दै हिँडेकोमा धेरै नेपालीहरू आक्रोशित भएको देखियो। विशेषगरी सामाजिक सञ्जालमा यसको चर्को प्रतिवाद भइरहेको छ।

जापान जाँदा जसरी उहाँले सो दाबी गर्नुभयो, त्यसैगरी हाल जर्मनी र फ्रान्स जाँदा पनि गरेको पाइएको छ। त्यसैले यो केवल भाषागत रूपमा चिप्लिएको कुरा मात्र होइन।

प्रधानमन्त्री मोदीको औपचारिक ट्वीटर एकाउन्टमा पनि भारतले भिक्षा माग्दै हिँड्ने दिन गएको र अब अन्तर्राष्ट्रिय जगतले गान्धी र बुद्धको भूमिलाई उसको यथोचित हक प्रदान गर्नुपर्छ भन्ने आशयको ट्वीट गरिएको थियो।

अंग्रेजीमा ठ्याक्कै भन्दा त्यहाँ ‘दिस इज द अपच्र्युनिटी टु गिभ द ल्यान्ड अफ महात्मा गान्धी एन्ड लर्ड बुद्ध इटस् ड्यु’ भन्ने भाखा परेको छ। अत: यहाँ प्रधानमन्त्री मोदीको मनोविज्ञान के हो भनी विश्लेषण गरिरहनु परेन।

नेपालको संविधानसभामा केही महिनाअघि बुद्ध नेपालमा जन्मिएका हुन् भनी उहाँले दिएको भाषण केवल तत्कालका लागि नेपालीको मन जित्नेसम्मको उद्देश्यले आएको थियो भनी बुझ्न गाह्रो छैन। तर यो शैली प्रधानमन्त्री मोदीको मात्र होइन। उहाँले पुरानो भारतीय परम्परालाई निर्वाहसम्म गरेको हो।

यस लेखमा उठाउन खोजिएको प्रश्न अर्कै छ। नेपाली जनतालाई भगवान बुद्ध नेपालमा जन्मेका हुन् वा उनी वंशजका नाताले नेपाली नागरिक थिए भन्ने कुराको प्रमाणपत्र किन भारतबाट चाहिएको हो?

यस्तो प्रमाणपत्र माग्नुपर्ने नेपालीको बाध्यता के हो र यस्तो प्रमाणपत्र दिनसक्ने भारतको क्षमता के छ र? सबैलाई थाहा छ, बुद्ध कहाँ जन्मेका हुन्। केवल लुम्बिनीको विद्यमानता मात्र होइन, सबै प्रमाण यदि छन् भने नेपालकै पक्षमा छन्।

अशोक स्तम्भ र त्यहाँ उल्लेखित हरफहरू ताजै छन्। त्यसैले जुन कुरा आफैंमा प्रमाणित छ, त्यसका लागि कसैको प्रमाणपत्र खोज्नु जरुरी छैन। मूल प्रश्न बुद्ध नेपालमा जन्मिएता पनि के नेपाली जातिले आफ्नो क्षमता र सामथ्र्यअनुसार बुद्धलाई नेपालमा स्थापित गर्न सकेको छ त?

के त्यस्तो इज्जत बुद्धभूमिले बुद्धलाई दियो? भन्ने हो। यो इज्जत दिन नसकेकै कारणले नेपालीहरू बुद्धको जन्म कहाँ भयो भन्ने आधारमा बहसमा भाग लिनुपर्ने अवस्था आएको हो।

नेपालको बौद्ध सम्पदाका बारेमा ऐतिहासिककालदेखि आजसम्म प्रशस्त लेखिएको छ। नेपाली र नेवारीमा लेखिएका अत्यन्त मौलिक बौद्ध साहित्य प्राचीनकालदेखि नै उपलब्ध छ।

नेपालका लागि तात्कालीन बेलायती राजदूत ब्रायन हडज्सन (१८०१-१८९४) लगायतका अठारौं र उन्नाईसौं शताब्दीका विभिन्न विद्वानले बेलैमा तिनको संकलन र सुरक्षा व्यवस्था गरिदिएकाले आजको पिँढीले यो साहित्य हेर्न र पढ्न पाएको छ।

त्यसबाहेक पनि एभी स्मिथ, एफ एम मुलर, फुहरर, बुहलर, एलए वाडेल वा सिल्भाँ लेभीलगायतले नेपालको बुद्ध परम्परा वा हिन्दु वा बुद्धको मिश्रित छँटाको बारेमा लेखेर नेपाललाई विश्वप्रसिद्ध बनाइदिए।

एट्किन्सन र सिल्भाँ लेभीले अरूभन्दा पनि बढी बुद्ध परम्पराको सामाजिक र सांस्कृतिक पक्षबारे लेखेका छन्। सिल्भाँ लेभीले लेखेको द हिस्ट्री अफ द हिन्दु किंग्डम र पण्डित डा. भगवानलाल इन्द्रजीका लेखोटहरूले आज पनि नेपाली पहिचान खोज्नेलाई राम्रो खुराक दिन सक्छन्।

नेपालमा यो विद्वत परम्पराले नेतृत्व लिनसक्ने गरी अगाडि बढ्न पाएन। किन यस्तो भयो? नेपालीले मनन गर्नुपर्छ।बुद्ध जन्मिएर मात्र नेपाल बुद्धमय हुन सक्दैन थियो। त्यसरी पगरी पाइँदैन। त्यसका लागि नेपाल वा नेपालीले कति लगानी गरे? त्यो महत्त्वपूर्ण हो।

नेपालमा आजसम्म नेपाल सरकारले सरकारी खर्चमा मुलुकभरि थुप्रै भवन बनाएको छ। कतिवटा भवन बुद्धका नाममा अर्पण गरियो? कतिवटा सडक, सार्वजनिक पार्क, चोक, पौवा र पानीपँधेरालगायत सामाजिक कल्याणकारी कार्य बुद्धका नाममा भए?

के महाकालीदेखि मेचीसम्म ऐतिहासिक कालमा बनेका मन्दिर, स्तुप र गुम्बाको अभिलेख नेपाल सरकारसँग छ? बुद्ध दर्शन, धर्म, संस्कृति वा यीसँग सम्बन्धित ललितकला, वा स्तुकला, संगीत र संस्कारहरूको स्थितिलाई सुधार गर्न कसले के गरेको छ र?

कहाँकहाँ सरकारले संरक्षणको प्रयास गर्‍यो? यी सबै प्रश्नले बुद्ध वा नेपाली बौद्ध परम्पराको स्वामित्व कसले लिने भन्ने प्रश्न उठाइरहने छ? त्यस्तो प्रश्नलाई निस्तेज गर्न र आजका दिनमा पनि बुद्धप्रति आमनेपालीलाई गौरवान्वित तुल्याउन विशेष रूपमा कहिँकतै कुनै काम कुनै स्तरमा नेपालमा भएको देखिँदैन।

आमनेपालीमा बुद्धका बारेमा धेरै उच्चस्तरको स्नेह छ भन्नेमा शंका गर्नुपर्ने कुनै ठाउँ छैन। त्यसैले बुद्धका नाममा उनीहरू कुटपीट वा लडाइँ गर्न तयार हुन्छन्। तर लाटो स्नेहले केही पनि हुँदैन।

आफ्नो सामाजिक वा सांस्कृतिक जीवनमा बुद्ध जन्मभूमिलाई त्यसको हैसियत बमोजिमको व्यवहार गर्न नेपाली समुदाय जहिल्यै पनि चुकेकै छ। पुर्खाबाट पाएको बौद्ध सम्पदालाई निरन्तरता दिन के गरेका छन् र नेपालीले? यो प्रश्नको जवाफ हरेक नेपालीले खोज्नुपर्छ।

लुम्बिनी वा बौद्ध विश्वविद्यालयको सुस्त विकासले या त नेपालीको क्षमतामा प्रश्न उठाउँछ, या उनीहरूको प्रतिबद्धतामा। बुद्धको जुन महिमा छ, त्यो केवल बुद्धमार्गी धर्मको कुरामात्र होइन। यसको सांस्कृतिक पक्ष पनि छ। कति नेपालीले बुद्धको फोटो आफ्नो घरमा झुन्ड्याएका छन्?

आफ्नो घरबाहिरको चोक र बजारमा भएका बुद्धस्थलको संरक्षणमा कसले कतिको योगदान गरेको छ? कहाँ कति नयाँ र सिर्जनात्मक कामकारबाही भएका छन्।

के बुद्ध गौरव स्थापित गर्न नेपालमा दिपावली गरिन्छ? नेपाली समाजको यी सबै कुराका लागि भूमिका नै कति रह्यो र? के यी प्रश्नहरूको बारेमा प्रधानमन्त्री मोदीसँग असन्तुष्ट आमनेपाली र विशेषगरी युवा पिँढीले सोच्नु पर्दैन?

नेपालमा हालका वर्षहरूमा सबैभन्दा अभद्र किसिमको खेलवाड नेपाली ललितकला, संगीत र वास्तुकलामा भएको छ। काठमाडौं उपत्यका र सम्पूर्ण नेपाल आफ्नो अलग कलाकारिताका कारण यस क्षेत्रका अन्य देशहरू भन्दा फरक पहिचान बनाउन सफल भएको थियो।

नेपाली कालिगढहरू नेपाली कलाका कारणले दक्षिण र उत्तरतर्फका विभिन्न राज्य पुग्न सकेका थिए। करिब २०३५, ०३६ सालतिरसम्म पनि उपत्यका र छेउछाउका क्षेत्रमा अनुपम सुन्दरता भएका नेपाली पुराना दरबार, घर, धर्मशाला, फाल्चा र चोक छ्याप्छ्याप्ति देखिन्थे।

सरकारी, गुठी सञ्चालित वा सर्वसाधारणकै भए पनि त्यस्तो कलासम्पदाको संरक्षणका लागि कतैबाट किन प्रयास भएन? नेपालमै विकास भएको पगोडा शैलीका आदि परम्परागत पाटीपौवा, घर, दरबार प्राय: सबै ढले।

तीसँगसँगै एउटा सभ्यता पनि ढल्यो। आज काठमाडौं दक्षिण एसियाको एउटा अव्यवस्थित सहर जस्तो लाग्दछ। नेपाल सरकारले चाहेको भए काठमाडौंको ऐतिहासिक मौलिकता दुईचारवटा पुराना दरबारमा मात्र सीमित हुने थिएन।

नेपाल सरकारले बनाएको एउटा मात्र कानुनले पनि त्यो सबै ऐतिहासिक सम्पदा आज मौलिक रूपमा जस्ताको तस्तै कायम रहन सक्दथ्यो। काठमाडौं उपत्यका र पहाडी खण्डका लगभग सबै पुराना सहरको ऐतिहासिक मापदण्डलाई छोडी हिँड्न नदिएको भए ती सबै सहर सांस्कृतिक धरोहरका रूपमा भविष्यका लागि सुरक्षित रहने थियो।

आज पनि जेजति सम्पदा बाँकी छन्, चाहे ती सरकारी हुन् वा निजी, तिनको राष्ट्रियकरण गरेर वा आवश्यक जनसहभागिता समेत प्राप्त गरी संरक्षण गर्न सकिन्छ।

गाँठी कुरा के हो भने भगवान बुद्धलाई राष्ट्रिय गौरव वा सामाजिक रुपान्तरणका लागि नेपालमा कहिल्यै प्रयोग गरिएन। बुद्ध आफैंमा भयंकर परिवर्तनकारी मानिन्छन्। समाज रुपान्तरणको ठूलो एजेन्डा उनीसँग थियो।

त्यसैको बलका कारणले उनको शेषपछिको लामो अवधिपछि मात्र उनका सम्झनामा शास्त्र लेखिन्छन्। नेपालमै पनि बुद्ध शिक्षा वा दर्शनका बारेमा संस्कृत र नेवारी भाषामा सयौं साहित्य लेखिएका छन्। तिनका बारेमा आमनेपालीमा स्कुल, कलेज र शिक्षालयहरूमा चर्चासम्म हुँदैन।

बेलैमा बुद्ध परम्पराका मौलिक महत्त्वका दिनहरूमा दिपावली गर्ने चलन चलाइदिएको भए बुद्ध सम्पदा हरेक नेपालीको विवेक भएर बाँच्ने थियो। यदि ब्रायन हडसन जस्ता केही युरोपियनहरूले बेलैमा नेपाल आई नेपाली राष्ट्रका यी सम्पदालाई संकलन र अभिलेखीकरण गर्ने र तिनको महत्त्वलाई संसारभरि चर्चित गराइदिने कार्य नभएको भए सम्भवत:आजको पिँढीले यसका बारेमा कुनै जानकारी पनि पाउन सक्ने थिएन।

नेपालको उच्च हिमाली क्षेत्रको बौद्ध परम्परा आज पनि यो देशको सबैभन्दा उत्कृष्ट सांस्कृतिक सम्पदा हो। उच्च हिमाली क्षेत्रका नेपाली जातिहरू तथा उनीहरूले कोरेको स्थानीय पहिचन यो परम्पराका बाहक रहेका छन्। हिमालयको हावा, पानी र जीवनपद्धतिसँग मिसिएर माटो छोडेको यो परम्परा संसारमा कतै पाइँदैन।

यो बौद्ध परम्परामा नेपाल तिब्बत र भुटानभन्दा कम छैन। यो परम्पराको झल्को लद्दाख, हिमाचल प्रदेश, सिक्किम र अरुणान्चल क्षेत्रमा पनि छ। बाँकी सबैले संवद्र्धन गरेका छन्, नेपाल ओरालो लागेको छ।

नेवार बुद्ध परम्परा आफैंमा अद्वितीय छ। यो सम्पदा तिब्बतेली परम्पराभन्दा पुरानो मात्र होइन, अनुपम पनि छ। तिब्बतले नेपालबाट धेरै कुरा सिक्यो। विशेषगरी बज्रयानको प्रवाह त यतैबाट भएको हो।

महायानमा पनि नेपालीपनको आफ्नो लगानी छ। उनीहरूले यसलाई जोगाएका छन्। इज्जत पनि दिएका छन्। साम्यवादी चिनियाँ साम्राज्यले पनि यसको महत्त्व बुझ्यो। तर नेपालले यसलाई जोगाउन र यसको निरन्तर श्रीवृद्धि गर्नका लागि के गर्‍यो भन्ने प्रश्न सान्दर्भिक छैन र?

नेपालका हिमाली भेगको आफ्नोपन र संगठित हिन्दु तथा बुद्ध परम्परा राज्यको संरक्षण नपाएको तथा प्रतिद्वन्द्वीको सिर्जना भएका कारणले क्षय हुँदैछ। स्थानीय जनताको प्रतिरोध गर्ने क्षमता छैन। जुन रूपमा यो सम्पदाको क्षय हुँदैछ, त्यो हृदयविदारक नै छ।

सम्पूर्ण हिमाली क्षेत्र हिन्दु तथा बुद्ध परम्पराको खुला संग्रहालय हो। ढ्यांग्रो ठटाउने लोकसंस्कृतिदेखि डाँग्रे भकाउने प्रचलनहरू नेपालको सांस्कृतिक सम्पदा पनि हो। यो संग्रहालय पर्वतारोहणलगायतका नेपालको पर्यटन व्यवसायमा ठूलो अर्थ राख्छ।

यसलाई नजोगाउने हो भने कश्मीर लद्दाखदेखि भुटानसम्मका महत्त्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा रहेको नेपाल हिमवत्खण्डको प्रतिस्पर्धात्मक क्षमता समाप्त भएर जानेछ।

कुन धर्म मान्ने भन्ने अधिकार हरेकलाई प्राप्त छ। तर संगठित रूपमा गरिने धर्म प्रचार र पैसाको हिंसात्मक प्रयोगलाई नेपाली निमुखाहरूका हितमा नियमन नगर्ने हो भने आफ्नो स्थानीय धार्मिक-सांस्कृतिक सम्पदा सदाका लागि लोप हुनेछन्। नेपालको सांस्कृतिक सम्पदाउपरको चढाइलाई नेपालले रोक्नुपर्छ।

यसै पनि नेपाल पक्षराष्ट्र भएको सांस्कृतिक सम्पदासम्बन्धी युनेस्को महासन्धिअन्तर्गत यो सम्पदालाई कायम राख्ने नेपालको नैसर्गिक हक नै हो। कति नेपालीले यसका बारेमा लेखेका बोलेका छन्? के नेपाल सरकारको यस सम्बन्धमा कुनै कर्तव्य छैन?

फ्रान्सेली लेखक सिल्भाँ लेभीका अनुसार स्कन्द पुराणमा पशुपतिका बारेमा लेखिएको नेपाल माहात्म्यमा शिवकी पत्नी पार्वतीले भनेकी छन्-यस अद्वितीय मुलुकमा बुद्धलाई पूजा गर्नु भनेको शिवलाई पूजा गर्नु हो।

नेपाल माहात्म्यमा विष्णुको अवतारका रूपमा बुद्धको पूजा गर्ने विधिविधान छ। सिल्भाँ लेभीका भनाइमा यो एउटा राजनीतिक गोटीचाल मात्र होइन। यस देशमा यस देशमा बुद्धको ठूलो सम्मान छ।

उनले लेखेका छन्-‘नेपाल माहात्म्य बनारसका एकजना पण्डितलाई देखाउँदा उनले भने हो त्यहाँ (नेपालमा) बुद्ध प्रभावशाली छन्’ (तत्र बुद्ध: प्रभावती ।।) श्री ३ महाराजको भत्ता खाएर नेपालमै बस्ने एकजना बंगाली पण्डितले एउटा पाण्डुलिपि सिल्भाँ लेभीलाई दिन ल्याउँदा भनेका थिए – बुद्धको कृपाले तपाईंले मसँग सोध्नुभयो।

पशुपतिको कृपाले मैले यो पाएँ। (यद् भवताम् बुद्ध: प्रसादात् अभीष्ठम्, तन् मया पशुपति प्रसादात् लब्धं।।) यो राष्ट्रिय चरित्र आज कहाँ पुग्न गयो? यसको लेखाजोखा कसले गर्ने?

अधिकांश हिमवत् खण्डमा हिन्दु र बुद्ध परम्पराले एकअर्कालाई प्रभावित गर्दै संयुक्त संस्कृतिको निर्माण गर्दै अगाडि बढेको हो। कतिपय अवस्थामा यी एकअर्काभन्दा फरक देखिन्छन् भने अन्य अवस्थामा यी परिपूरक भइसकेका छन्। यसमा किरात धर्म र परम्पराको पनि मिश्रण छ।

यो सामूहिकताले नेपाललाई केवल अलग पहिचान मात्र दिँदैन, मौलिकता पनि दिन्छ। त्यसलाई कायम राख्नु नेपालको सुदूर भविष्यका लागि पनि जरुरी छ। धार्मिक रूपमा नेपाललाई अलग बाटोमा लैजाने प्रयासलाई प्रतिरोध गर्नुपर्छ।

यो प्रतिरोध नपुगेकाले नेपालको आफ्ना धार्मिक परम्परा अब समाप्त हुँदै जाँदैछन्।अहिले पनि चनाखो हुन सकिन्छ।

नेपालको सांस्कृतिक निधिलाई कानुन बनाएर संरक्षण गर्न सकिन्छ। यस क्षेत्रमा चाहिने लगानीका लागि उपयुक्त वातावरण दिने खालको कानुन नेपालमा कहिल्यै बन्दै बनेन।

यसका साथसाथै ऐतिहासिक मन्दिर, चैत्य र गुम्बाको संरक्षणका लागि पनि सरकारले निजी क्षेत्रसँग सहभागिता खोज्नुपर्ने आवश्यकता भइसकेको छ। नेपालसँग इतिहास छ। यसलाई वर्तमान बनाउने जिम्मेवारी आजका नेपालीको हो।

निष्कर्षमा भन्नुपर्दा प्रधानमन्त्री मोदीले बुद्ध भारतमा जन्मिएको मान्नुहुन्छ भने मान्नुहोस्। यसै पनि ईश्वरको कुनै पनि अवधारणा राजनीतिक सीमानामा सीमित हुँदैन। यसबाट चिन्ता गर्नुपर्ने केही छैन।

तर नेपालको बुद्ध सम्पदा समाप्त हुन लाग्यो भन्नेमा आजको पिँढीले चिन्ता लिइदियो र यसका लागि आमनेपालीले गर्नुपर्ने कामकारबाहीका सम्बन्धमा स्पष्टता दिने हो भने आज जेजस्तो भए पनि भोलिका दिनमा कुनै मोदीले बुद्ध भारतमा जन्मिएका हुन् भनी दाबी गर्न सक्ने छैनन्।

भारतले चाहेर पनि बुद्धमय हुन सक्दैन। नेपालमा इतिहासलाई जीवित तुल्याउने प्रचुर आधार आज पनि छन्। आफ्नो अकर्मण्यता, असक्षमता वा लघुताभाष अरूलाई थोपरेर नेपालमा बुद्ध स्थापित हुन सक्दैनन्।

नेपाललाई बुद्धमय बनाउनुपर्छ। यसका लागि इतिहास आफैंमा ठूलो सम्पदा हो। त्यस्तै नेपालीपन सहितको हिन्दु धर्म तथा संस्कृतिका बारेमा पनि त्यही मापदण्ड लागू हुन्छ।
– अन्नपूर्ण पोष्टबाट साभार

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • नागरिकको मुहारमा मुस्कान भर्ने नै मेरो प्रमुख लक्ष्य : कार्की
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    पहिलो कुरा नयाँ शक्ति पार्टीले बदलिएको राजनीतिक परिवेशमा राजनीतिक गन्तव्य बदलिएको निश्कर्षसहित आर्थिक विकास, समृद्धि र प्रगतिलाई नै मुख्य राजनीतिक एजेण्डा बनाएर वैकल्पिक राजनीतिको सुरुवात गरेको छ । र, म यहि एजेण्डा लिएर आम नागरिकको घरदैलोमा पुगेको छु ।

  • प्रदेशको राजधानी बुटवल नै हुन्छ : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / सोमबार, १८ मंसिर ।

    विकासका थप नयाँ आयामहरु गर्न बाँकी छ । बुटवललाई अब महानगर बनाउने योजना छ । मैलै सदनमा बजेट प्रस्तुत गर्दा बुटवलदेखि सुनौलीसम्मलाई समेटेर महानगर बनाउने प्रस्ताव प्रस्तुत गरेको थिए । सरकार परिवर्तन र केहि दलहरुको संकिर्ण मानसिकताका कारण महानगर बन्न सकेन । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनमैना, देवदह, ओमसतिया, रोहीणी, शुद्धोधन र सियारी गाउँपालिकालाई समेटेर महानगर विकास परिषद बनाउनेछौं ।