Main Menu
  |   Wednesday, November 14, 2018
के हो ‘नयाँ शक्ति’को अर्थ-राजनीतिक आधार ?
के हो ‘नयाँ शक्ति’को अर्थ-राजनीतिक आधार ?

डा बाबुराम भट्टराई

जसै २०७२ असोज ३ मा संघीय गणतन्त्र नेपालले नयाँ संविधान प्राप्त गर्यो, त्यसको ठीक दुई दिनपछि संविधान निर्माणमा अहोरात्र खटेका एकीकृत माओवादीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पत्रकार सम्मेलन गरी पार्टी र व्यवस्थापिका संसदको सदस्य पद परित्यागको घोषणा गरे । त्यसयता राजनीतिक वृत्तमा त्यही विषय चर्चामा रहेको छ र यसले नेपाली राजनीतिमा एक खालको तरंग सिर्जना गरिदिएको छ । जनमानसमा भट्टराईले हठात् किन पार्टी परित्याग गरे भन्ने जिज्ञासा पनि अनुत्तरित नै छ ।

उनको पार्टी परित्याग अत्यन्तै नयाँ भने होइन । पार्टीभित्र र बाहिरबाट पनि उनले पार्टी फुटाउने छन् भनेर लख काटिएको हो । धेरैले धेरैपटक उद्घोष नै गरेका पनि हुन् । जसै एमाओवादीभित्र अध्यक्ष प्रचण्ड र भट्टराईबीच अन्तरसंघर्षको विषय प्रवेश पाउँथ्यो पार्टीभित्र र बाहिरकाहरुले उनलाई पार्टी फुटाएर बाहिरिन पटकपटक चुनौती पनि दिएकै हुन् । यी सबै परिघटनालाई विश्लेषण गर्दा भट्टराईको पार्टी बर्हिगमन अनपेक्षित होइन ।

Manikar Karki
आफैले निर्माण गरेको पार्टी एकाएक छाडेर बाहिरिनु बुद्धिमता हो त भन्ने प्रश्न फेरि पनि उब्जिन्छ । विषयलाई भावनात्मक रुपले हेरियो भने यो कदापि सुखद कदम होइन नै । किनकि जुन पार्टी र आन्दोलन निर्माण गर्नमा आफ्नो जीवनको अत्यन्तै ऊर्जाशील समय खर्च गरियो, त्यही पार्टी छाडेर जाने कुरा सहज र सुखद पक्कै होइन । तर, खासखास कालखण्डमा यस्ता अप्रिय निर्णय गर्नुपर्ने रहेछ । किनकि यस्तो निर्णय लिइएन भने कहिल्यै पनि इतिहासको क्रमभंग हुँदैन । इतिहासको क्रमभंग नहुँदा इतिहासको गतिले नयाँ मोड लिन सक्दैन । नयाँ निर्माणको आधार नबनेसम्म, नयाँ निर्माणको आधार खडा नभएसम्म विकास र प्रगतिका कुरा सुन्दर गफमै सीमित हुनेछन् । हो, उनले त्यो जोखिम मोलेरै अहिले पार्टी परित्यागको घोषणा गरेका छन् । उनको कदममा सम्भावना मात्र छन् भन्ने होइन । यो अत्यन्तै जोखिमयुक्त र चुनौतीपूर्ण पनि छ ।

चुनौती
अहिले नयाँ शक्ति निर्माणको सबैभन्दा मुख्य चुनौती हो, उनीसँग राजनीतिक संगठन र आन्दोलनको एजेण्डा नहुनु । उनीसँग तात्कालिक रुपमा भएको सम्पत्ति एमाओवादीबाट बर्हिगमन मात्रै हो । यसैका आधारमा नयाँ शक्ति निर्माणको कुरा गरिएको छ । बहसमा आएको नयाँ शक्तिको यो नै एउटा मुख्य विशेषता पनि हो । हुन त उनले चाहेको भए पार्टीलाई फुटाएर जान पनि सक्थे । फुटाएको भए उनले पार्टी फुटाएको आरोप आजीवन खेप्नुपर्ने हुन्थ्यो र त्यसपछि बन्ने राजनीतिक शक्ति पनि प्रकारान्तरले माओवादीको एउटा समूहमै सीमित हुन्थ्यो । जति चिरा परे पनि र पारे पनि त्यो माओवादी स्वादकै अर्को पार्टी बन्ने थियो, जसको अहिले खासै अभाव छैन । तीन दशकभन्दा लामो समय सक्रिय राजनीतिमा, अझ नेतृत्वदायी भूमिकामा रहेका व्यक्ति एकाएक एक्लै पार्टीबाट बाहिरिँदै उनले सबै सम्भावनाको ढोका खुल्ला राखेका छन्, जुन उनका लागि ठूलो चुनौती बन्न पुगेको छ ।

भन्नैपर्छ, बजारमा नयाँ शक्तिको चर्चासँगै विभिन्न आशंका पनि जीवितै छन् । एउटा सम्भावना बोकेको राजनीतिज्ञ भएकाले व्यापक मात्रामा जनचासो हुनु स्वाभाविकै हो । खासगरी नयाँ शक्तिको सैद्धान्तिक आधार र त्यसको राजनीतिक संरचना कस्तो हुनेछ भन्ने नै जिज्ञासा र चासो छ । नयाँ शक्तिको जनाधार कसरी निर्माण हुन्छ ? त्यसले कुन वर्गको राजनीतिक मुद्दा बोक्छ ? गरिखाने वर्गको मुद्दा बोक्छ कि हुनेखानेहरुको मुद्दा ? पार्टीमा बाहिरका मानिस कसरी आकर्षिक हुन्छन् ? कुन मानेमा त्यो नयाँ शक्ति हुनेछ ? कस्ता पात्र त्यसमा समावेश हुनेछन् ? संगठक कोको हुनेछन् ? पार्टीको सैद्धान्तिक आधार र राजनीतिक दर्शन के हुनेछ ? यस्तै प्रश्नको घेराभित्र छ, प्रस्तावित नयाँ शक्तिको विमर्श ।

अहिले नयाँ शक्ति बनाउन भट्टराई सबै पक्षसँग अन्तरक्रियामै छन् । उनी विभिन्न दल र दलगत समूहसँग आबद्ध व्यक्तित्व, समाजका बुद्धिजीवी, पेसाकर्मी, उद्योगी, व्यवसायी, विद्यार्थी र नागरिक समाजका अगुवासँग संवादमा छन् । नयाँ संविधानमा आफ्ना हक, अधिकार र पहिचानका मुद्दा समेटिन नसकेको भन्दै आन्दोलनरत आदिवासी जनजाति, थारु, मधेशी, मुस्लिमलगायतका सीमान्तकृत समुदायसँग पनि सडकमा पनि पुग्न भ्याएका छन्, उनीहरुका राजनीतिक मागप्रति ऐक्यबद्धता जनाउन ।

उता, अबको राजनीतिक मुद्दा आर्थिक विकास र समृद्धि हुनुपर्ने भन्दै उनी उद्योगी व्यवसायीहरुसँग पनि घनिभूत छलफलमा छन् । यसबाट पनि नयाँ शक्तिको राजनीतिक दर्शन र लाइन के हुने भन्ने जिज्ञासा मेटिएको छैन । के उनले यी सबै वर्ग र समुदायलाई एकैपटक खुसी पार्न र सन्तुलनमा राख्न सक्छन् ? नयाँ शक्तिले फरकफरक स्वार्थ बोक्ने वर्ग र समुदायका राजनीतिक र कतिपय गैरराजनीतिक आकांक्षालाई सम्बोधन गर्न सक्ला ? यस्तै प्रश्न नयाँ बन्ने शक्तिका चुनौती हुन् ।

अवसर
हरेक चुनौतीसँग अवसर पनि सँगै आएको हुन्छ । प्रत्येक चुनौतीको सफल कार्यान्वयन नै अवसरको पोको पनि हो । अहिले भट्टराईले नयाँ शक्ति निर्माणको कुरा गर्दैगर्दा यसका जति चुनौती छन्, त्यत्ति नै अवसर पनि छन् । मुख्य गरी अहिले मुलुकमा नयाँ संविधान जारी भएको अवस्था छ र अबको राजनीतिक लाइन आर्थिक विकास र समृद्धि नै हो । यसका लागि आर्थिक सरोकारका विषयलाई दह्रोसँग बोक्न सक्ने राजनीतिक शक्तिको खाँचोलाई लक्षित गरी उनले नयाँ शक्ति निर्माणको कुरा गरिरहेका छन् । यो एउटा निकै ठूलो अवसर पनि हो ।

अहिले शासनसत्ताको बागडोर सम्हालिरहेका दलहरु कुनै न कुनै रुपमा परीक्षित (टेष्टेड) भइसकेका छन् । आफूलाई प्रजातन्त्रको हिमायती ठान्ने सबैभन्दा पुरानो दल नेपाली कांग्रेस अहिले ठूलो पार्टी बनेको छ । यो पार्टी २००७ सालको परिवर्तनपछि पञ्चायतकालको प्रत्यक्ष शासनलाई छाड्ने हो भने सत्तासीन भएरै बसेको हो । यो अवधिमा कांग्रेसका सबै शीर्ष नेतृत्वको शासन जनताले भोगेका पनि छन् । संसदीय राजनीतिलाई नै आफ्नो मार्गदर्शन मान्ने कांग्रेसले केही नयाँ गर्ला भन्ने न कसैलाई आशा छ, नत भरोसा नै । त्यसैगरी, २०४६ सालको राजनीतिक परिवर्तनपछि सधैं सत्तानजिक रहेको एमाले कांग्रेसभन्दा कुनै पनि मानेमा फरक छैन । उसले केही पपुलिष्ट नारा लगाउने बाहेक नूतनको खोजी न त हिजो गरेको थियो, न भोलि नै गर्नेछ । उसको राजनीति फगत यथास्थितिलाई नै निरन्तरता दिने हो ।

२०६३ सालको आन्दोलनपछि नेपाली राजनीतिमा नयाँ सम्भावनासहित उदाएको नेकपा माओवादीले ठूलो आशा जगाएको पनि हो । दुनियाँ फेर्न भन्दै सहर पसेको माओवादी पनि सहरको रमझममा आफै नचिनिने गरी बदलिन पुगेको छ र यो अहिले सहरकै सौन्दर्यमा विलुप्त भएको छ । ऊ पनि संसदवादी दलहरुभन्दा कुनै मानेमा फरक हुन सकेको छैन । उसले पटकपटकको सत्तारोहणमा केही गर्न खोजेको भएता पनि शक्ति सन्तुलनको जटिलता तथा शान्ति र संविधान निर्माणको भारीले नै किचिन पुग्यो । अन्ततः पटकपटकको फूटसँगै, जनयुद्धबाट आर्जन गरेको शक्ति र सामथ्र्य गुमाएर अहिले शिथिल बन्न पुगेको छ ।

माओवादी आन्दोलनको मूलधार बनेको एमाओवादी अर्को संसद्वादी कम्युनिस्ट पार्टी भएरै राजनीति धान्ने सुरमा छ । माओवादीको शान्तिपूर्ण राजनीतिक अवतरणसँगै उदाएका मधेशवादी क्षेत्रीय शक्तिहरुले पनि राष्ट्रिय आकार ग्रहण गर्न नसक्दा उनीहरु पनि मूलतः सत्ताकै वरिपरि रहेर राजनीति चलाउने ध्याउन्नमै छन् । तथापि उनीहरुले बेलामौकामा उत्पीडित समुदायका अधिकार र पहिचानलाई आफ्नो राजनीति गर्ने आधार मान्न भने छाडेका छैनन् । अहिले बिलकुल नयाँ लाग्ने कुनै पनि शक्ति राजनीतिक बजारमा हावी छैन । यस मानेमा नयाँ शक्तिका लागि राजनीतिमा निकै ठूलो स्पेस छ ।

सबैजसो राजनीतिक शक्ति कुनै न कुनै रुपमा जनतामा पुगिसकेका र उनीहरुले जनताका आशा र अपेक्षाको सम्बोधन गर्न नसकेको स्थितिमा समाजको ठूलो तप्का दलहरुको कार्यशैली र सत्तामोहदेखि वाक्क छन् । उनीहरुले मुलुकको रुपान्तरण र प्रगतिका लागि फरक ढंगबाट राजनीतिक शक्तिको निर्माण हुनुपर्ने कुरा औंल्याइरहेका छन् । पछिल्लो राजनीतिक रुपान्तरणपछि वयस्क बनेको एउटा ठूलो युवापुस्ता कुनैपनि पार्टीप्रति सन्तुष्ट छैनन् र उनीहरु नयाँको खोजीमा छन् । ती सबैको अपेक्षा र आशालाई सम्बोधन गर्न सकेमा नयाँ शक्तिका लागि यथेष्ट ठाउँ छ । र, नयाँका लागि यो नै अहिलेको राजनीतिमा सबैभन्दा बलियो सम्भावना हो ।

अर्थ-राजनीतिक आधार
अहिलेसम्म हामीले राजनीतिक मुद्दालाई नै केन्द्रीय विषय बनायौं । तर, संविधान निर्माण भएसँगै उत्पीडित जाति र समुदायका छुटेका मुद्दा संविधान संशोधनमार्फत सम्बोधन भएसँगै एकहदसम्म राजनीतिक मुद्दा संस्थागत भएको मानिनेछ र अबको राजनीतिक एजेण्डा जनताको प्रत्यक्ष समृद्धि र प्रगतिसँग अन्तरसम्बन्धित हुनुपर्नेछ । यसका लागि आर्थिक विकास र समृद्धि अबको राजनीतिक मुद्दा बन्नुपर्नेछ । आर्थिक उत्पादन, विकास, समृद्धि र प्रगतिका लागि राजनीति गर्ने हो भने पारम्परिक पार्टीहरु र तिनका संरचना फरक हुनुपर्नेछ । पुरानै संस्कार र राजनीतिक पृष्ठभूमि बोकेका दलले नयाँ ढंगको मुद्दा उठान गर्न सक्दैनन् र प्रकारान्तरले ती पनि पुरानै ढर्राअनुसारै सञ्चालित हुनेछन् । आर्थिक विकास र प्रगतिका लागि साँच्चिकै आर्थिक मुद्दा बोक्ने व्यापक जनसहभागितामा आधारित दल बन्नुपर्नेछ, जसले समृद्धि र प्रगतिका मुद्दा उठान गर्न सक्षम हुनेछ र मुलुक आर्थिक रुपले समृद्धितर्फ अग्रसर हुनेछ । यही सैद्धान्तिक पृष्ठभूमिका आधारमा नयाँ शक्ति निर्माणको विषय उठेको हो ।

त्यसकारण नयाँ शक्ति निर्माणको बहसलाई समर्थन र विरोधको आलोकमा कैद गर्नुभन्दा साँच्चिकै नयाँ र समृद्ध नेपाल निर्माणका लागि कस्तो प्रकारको राजनीतिक मुद्दाको उठान हुनुपर्छ ? त्यसका लागि कस्तो राजनीतिक चरित्रको शक्ति बन्नुपर्छ भन्ने बहस गर्नु जरुरी हुन्छ । बहसको क्रममा अहिलेको नेपाली समाजको यथार्थ चरित्र चित्रण गर्दै नेपाल बन्न नसक्नुका ठोस कारण पहिल्याउनुपर्छ । यस दिशामा अहिलेको नेपाली समाज कुन मानेमा पहिलेको भन्दा फरक हो ? वर्तमान नेपाली समाजको चारित्रिक बनौट के हो र त्यसलाई उत्पादनमुखी बनाउन के गरिनुपर्छ ? अथवा साँच्चिकै नेपाली समाजको बनौटमा आधारभूत परिवर्तन आएको हो वा त्यो समयक्रममा आफै आएको हो ? नेपाली समाजका सीमितता के के हुन् ? हो, नयाँ शक्तिको अर्थराजनीतिक संकथनमा यिनै प्रश्नको उत्तर खोजिनुपर्छ । यी नै नयाँ शक्ति निर्माणका अर्थराजनीतिक आधार हुन् । नयाँ शक्ति निर्माणको बहसको डाइनामिक्सले यी यावत सवाललाई पक्रन सक्नुपर्छ र वर्तमान नेपाली समाजको यथार्थ चरित्र चित्रण गर्नुपर्छ । जहाँसम्म लाग्छ, नयाँको खोजीमा रहेको समाजका लागि अबको अर्थराजनीतिक सवाल यिनै हुन् । यिनै हुन् नयाँ शक्ति निर्माणको अर्थराजनीतिक संकथन पनि ।

twitter: @nibartaman

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।