Main Menu
  |   Sunday, May 27, 2018
उल्लु : लाटोकोसेरो कि हामी ?
उल्लु : लाटोकोसेरो कि हामी ?

नेपाली समाजमा लाटोकोसेरोप्रति हेर्ने दृष्टिकोण त्यति सकारात्मक छैन । संस्कृतमा लाटोकोसेरोलाई ‘उलूक’ भनिन्छ र यसैबाट अपभ्रंश हुँदै नेपालीमा ‘उल्लु’ भएको हो । नेपाली बृहत शब्दकोष अनुसार उल्लुको अर्थ लाटोकोसेरोको अलावा ‘निर्बुद्धि, मूर्ख, बेकूफ, उरन्ठेउलो, बदमास, सिल्ली’ पनि हुन्छ ।

कसैलाई गाली गर्न प¥यो भने वा कसैले केही काम बिगारेमा हामीले उसलाई ‘उल्लु’को उपमा दिन्छौं । कसैले मूर्खता देखाएमा उसलाई ‘कस्तो उल्लु रहेछ ,कस्तो काम नलाग्ने उल्लु जस्तो रहेछ !’ जस्ता वाक्यांश जोडेर सत्तोसराप गर्छौ । तर जापानलगायत कतिपय युरोपियन मुलुकहरूमा बुद्धिजीवी, विद्वान तथा दार्शनिक मानिसहरूलाई लाटोकोसेरोको संज्ञा दिइन्छ ।

लाटोकोसेरोसँग अन्धकारमा समेत देख्ने सामथ्र्य भएकोले विश्वका धेरै मुलुकहरूमा यसलाई अज्ञानता चिर्ने ‘विद्वता र ज्ञान’ को प्रतीकको रूपमा लिने गरिन्छ । अंग्रेजी भाषामा समेत लाटोकोसेरोहरूको समूहलाई ‘पार्लियामेन्ट’ अर्थात व्यवस्थापिका भनिन्छ । त्यस्तै लाटोकोसेरोले मानिसलाई हानि गर्ने चरा, मुसा, भ्यागुता, सर्प लगायत अन्य किराहरू खाएर पर्यावरणलाई सफा र सन्तुलित राख्न मद्दत गर्ने भएकोले विदेशमा यसलाई विशेष सम्मान प्राप्त छ ।

तर नेपालमा भने अन्धविश्वास, चेतनाको अभाव जस्ता कारण लाटोकोसेरोको संख्या दिनप्रतिदिन घट्दै जाँदा संरक्षणकर्ताहरूमा चिन्ता थपिएको छ । ‘लाटोकोसेरो कृषकको मित्र पनि हो’ भन्ने कुरा स्वयं कृषकहरूलाई अवगत नहुँदा यसको संरक्षण र प्रवर्धनमा चुनौती थपिएको देखिन्छ ।

लाटोकोसेरोको चिनारी :
लाटोकोसेरो एक किसिमको मांसाहारी पंक्षी हो । लाटोकोसेराको शरीर अत्यन्तै हलुका तथा नरम भुवाहरूले ढाकेको हुन्छ । यसका आँखा ठुला हुनुका साथै तीनवटा परेलाहरू हुन्छन् । यसको ठोंड छोटो र घुम्रिएको हुन्छ ।

लाटोकोसेराका आँखा खप्परमा टाँसिएका र स्थिर हुन्छन् । यसले आँखा अन्य पंक्षीले जस्तो दायाँ बायाँ घुमाउन नसक्ने भएकोले पुरै टाउको घुमाउने गर्दछ । यसले एउटै दिशामा २७० डिग्रीमा टाउको घुमाउन सक्ने क्षमता राख्दछ । यिनीहरूले रुखको टोड्को, भुर्इंमा तथा पहराहरूमा फुल पारी बच्चा कोरल्ने गर्दछन् । यसले १ देखि १४ वटासम्म फुल पार्दछ ।

यिनको शरीरको तौल ३१ ग्रामदेखि लिएर ४.५ किलोग्रामसम्मको हुने गर्छ । यसको अनुमानित औसत आयु ४ देखि १२ वर्षसम्म हुन्छ । नेपालमा यिनीहरूको बासस्थान ५,१०० मिटर उचाइसम्म भेटिन्छ । लाटोकोसेरो प्रायः राती तथा बिहानपख सक्रिय हुने र शिकार गर्ने पंक्षी हो । त्यसो त यिनीहरूले दिउँसो पनि आँखा देख्न सक्छन् ।

तर दिउँसो यिनीहरूको देख्ने र सुन्ने क्षमता निकै कमजोर हुन्छ । यिनीहरूको रातको समयमा कान सुन्ने तथा आँखा देख्ने क्षमता अत्यन्तै सबल हुन्छ । यसले नदेखिकन पनि सिकार गर्न सक्छ । कुनै घाँसेमैदानमा मुसा छ भने त्यो मुसा आफूदेखि कति दूरीमा छ भनेर यसले सुनेरै थाहा पाउँछ । नेपालमा भूगोल अनुसार लाटोकोसेरोलाई हुचिल, हाप्सिलो, कोचलगाँडे, कोइरालो, उल्लु, डुन्डुल आदि नामले चिनिन्छ ।

कृषकको मित्र लाटोकोसेरो :
कृषकको अन्नबाली खाइदिने तथा नोक्सान गरिदिने मुसा एवं कीराफट्याङ्ग्राहरू लाटोकोसेरोले खाने हुँदा यसलाई कृषकको असल मित्रको रूपमा लिने गरिन्छ । एउटा बयस्क लाटोकोसेराको जोडीले बच्चा हुर्काउने करिव चार महिनाको अवधिमा आहाराको रूपमा झन्डै तीन हजार मुसा मार्दछ । यस अर्थमा सयौं जोडी लाटोकोसेराले लाखौंको संख्यामा मुसाको शिकार गर्दछ ।

यसरी लाटोकोसेरोले मुसा लगायत किराफट्यांग्रा खाइदिने हुँदा कृषकले विषादीमा गर्ने खर्चको समेत बचत हुन्छ । जहाँ लाटोकोसेरोको उपस्थिति हुन्छ, त्यहाँ खेतीपाती राम्रो हुने भएकोले कृषि प्रधान देश नेपालको लागि यो पंक्षी निकै उपयोगी मानिन्छ । यसको अलावा यसले मानिसलाई हानि गर्ने सर्प, चमेरा, भ्यागुता तथा अन्य किराफट्यांग्राहरू खाएर मानिसलाई सहयोग गरिरहेको हुन्छ । लाटोकोसेरो पर्यावरणका दृष्टिले समेत उपयोगी मानिन्छ ।

लाटोकोसेरोले कतिपय मृतजनावारलाई सफाचट पारी खाइदिने भएकोले यसले पर्यावरण सफा राख्न सहयोग गरेको हुन्छ । जहाँ लाटोकोसेरो पाइन्छ, त्यहाँ वातावरण स्वच्छ हुन्छ । त्यसैले लाटोकोसेरोलाई स्वच्छ वातावरणको व्यारो मिटरको रूपमा पनि लिने गरिन्छ ।

त्यस्तै पारिस्थितिक प्रणालीमा लाटोकोसेरो माथिल्लो तहमा पर्दछ । मुसा, सर्प, चमेरा, भ्यागुता, किराफट्यांग्रा आदि खाएर पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्ने काम यसले गर्दछ । यसर्थ लाटोकोसेरो कृषक लगायत समग्र मानव समुदाय कै लागि निकै उपयोगी पंक्षीको रूपमा लिने गरिन्छ ।

लाटोकोसेरो संरक्षणका चुनौती :
नेपालमा चराहरूको अवैध व्यापारमध्ये लाटोकोसेराको व्यापार सबैभन्दा बढी भएको पाइन्छ । विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरो मध्ये नेपालमा २२ प्रजातिका लाटोकोसेरो पाइन्छ । सो मध्ये नेपाल सरकारले ८ प्रजातिका लाटोकोसेरोलाई दुर्लभ तथा संकटापन्न चराको सूचीमा राखेको छ ।

अवैध व्यापारको मारमा परी नेपालका ठूला खाले लाटोकोसेराहरू हुचील, हाप्सिलो, महाकौशिक, भासोलूक, उलूक र कालपेचक लोप हुने अवस्थामा छन् । नेपालबाट सालिन्दा दुई हजारको हाराहारीमा लाटोकोसेरोको अवैध व्यापार हुने तथ्यांक छ । बाघ, भालु कै हाराहारीमा अवैध व्यापार भए पनि लाटोकोसेरोलाई महत्वहीन ठानिएको लाटोकोसेरोविद् राजु आचार्यको भनाइ छ ।

त्यस्तै बढ्दो अवैध व्यापारसँगै वनजंगलको फँडानी र खण्डीकरण, डढेलो, बुढा रुखहरूको कटानी, आवास निर्माण, सहरीकरण आदिले बासस्थान विनाश, आहाराको कमी, कृषिमा प्रयोग हुने रासायनिक मल तथा विषादीको बढ्दो प्रयोग र जलवायु परिवर्तन जस्ता कारणहरूले गर्दा लाटोकोसेराहरू लोप हुने अवस्थामा पुगेका छन् ।

विष प्रयोग गरी मारिएका मुसा र अन्य साना जीवहरू खाँदा पनि लाटोकोसेरा मर्ने गर्छन् । लाटोकोसेरो नेपालमा केही मानिसहरूले मारेर पनि खाने गरेको पाइन्छ । भारतमा तान्त्रिक विधिमा प्रयोग हुन्छ । चीनमा लाटोकोसेरोको मासु खाएमा यौन रोग र नेपालमा दमको रोग निको हुने भन्ने अन्धविश्वास छ । चीनमा लाटोकोसेरोलाई १० वर्षसम्म बोतलमा राखेपछि रक्सी बनाउने गरिन्छ ।

त्यो रक्सी पिउँदा बाथरोग निको हुनुको साथै यौनवद्र्धक हुने विश्वास गरिन्छ । लाटोकोसेरोको अङ्ग घरमा राखे घरको सुरक्षा हुने र घरमा सह आउने कतिपय मानिसहरू विश्वास गर्दछन् । लाटोकोसेरोको छाला तथा प्वाँख घर सजावटमा समेत प्रयोग गरिन्छ । यी विविध कारणहरूले गर्दा लाटोकोसेरोको अवैध व्यापार बढ्दो क्रममा छ ।

निष्कर्ष :
अन्धविश्वास तथा मानिसका शौखिन क्रियाकलापका कारण लाटोकोसेराको प्रयोग बढिरहँदा यसले अनाहकमा ज्यान गुमाउन परिरहेको छ । कुनै पनि जीव वा पंक्षीका अंग औषधीय उपयोग र अदृश्य तान्त्रिक शक्तिको स्रोत नभएको र विज्ञानले पनि प्रमाणित नगरेकोले यो नितान्त अन्धविश्वास र भ्रममात्र हो ।

यदि लाटोकोसेराका अंग घरमा राखे वा यसको मासु खाए घरमा सह र समृद्धि आउने भए हजारौं नेपालीहरू जो लाटोकोसेरो मारेर मासु खान्छन् किन गरिब नै रहिरहेका छन् त ? यस्तो अन्धविश्वासलाई आमचेतनाको माध्यमबाट निरूपण गर्न सक्नु पर्दछ । लाटोकोसेरा प्रकृति सन्तुलनका सहयोगी अनि कृषकका अनन्य मित्र हुन् ।

यसको संरक्षणबाट पर्यापर्यटनको समेत विकास गर्न सकिन्छ । आमसर्वसाधारण माझ लाटोकोसेराको पर्यावरणीय महत्व र अवैध कारोबारमा संलग्न हुँदा रु.१० हजार रूपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै हुन सक्ने कानुनी व्यवस्था भएको सचेतना अभिवृद्धि गर्नु जरुरी छ । पैसा आउने जीवजन्तुकापछि दुगुर्ने सरकारी र गैरसरकारी संस्थाहरूले बेलैमा नसोचे र संरक्षणका प्रभावकारी कार्यक्रमहरू बेलैमा नल्याए, यी मानव उपयोगी लाटोकोसेराहरू कुनै संग्राहलयको भित्तामा तस्विरको रूपमा सीमित हुने निश्चित छ ।

यिनीहरूको अनुपस्थितिमा कृषकको अन्न उब्जाउने क्षमतामा ह्रास आउने छ । पर्यावरण तथा पारिस्थितिक प्रणाली असन्तुलन हुँदा समग्र मानव समुदायलाई असर पुग्ने छ । उल्लु लाटोकोसेरो होइन, हामी हौं । यति गुनकारी तथा उपयोगी पंक्षीको संरक्षणमा नलाग्ने हामी पक्कै उल्लु हौ । हामी उल्लु भैरहने कि गुनकारी लाटोकोसेरो संरक्षणका लागि आजैदेखि जुट्ने ?

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।