Main Menu
  |   Wednesday, February 21, 2018
‘कौडीको भाउमा’ बहुमूल्य जडीबुटी
‘कौडीको भाउमा’ बहुमूल्य जडीबुटी

गुल्मी । व्यावसायिक प्रयोजनमा ल्याउन सके राम्रो आम्दानी हुने सयौं प्रजातिका बहुमूल्य जडीबुटी किसानले घाँस र दाउराका रूपमा प्रयोग गरिरहेका छन् । आँगनमै उपलब्ध सामान्य जडीबुटीका बारे किसानलाई जानकारी छैन । वन कार्यालयले अहिलेसम्म बहुमूल्य र बहुउपयोगी जडीबुटीको पहिचान, जानकारी र संरक्षणमा चासो नदिएकाले किसानले घाँसदाउराका रूपमै प्रयोग गर्ने गरेका हुन् ।

तीन सयभन्दा बढी सामुदायिक वनमध्ये उच्च भूभागमा रहेका भार्से, मदाने, थाप्ले, रेसुंगा, सालिमेलगायतका अधिकांश जंगलमा बहुमूल्य र बहुउपयोगी जडीबुटी छन् । वन कार्यालयले भने जिल्लाभरबाट खोटो बाहेक अन्य कुनै वनजन्य बस्तु व्यावसायिक रूपमा निकासी नहुने जनाएको छ । उच्च पहाडी जंगलमा बहुउपयोगी जडीबुटी छन् । तर किसानले त्यस्ता जडीबुटीको संरक्षण र व्यावसायिक रूपमा प्रयोग नगरी घाँस, दाउराका रूपमा प्रयोग गर्ने गरेको वन कार्यालयका प्रमुख बिशाल घिमिरेले बताए ।

‘जिल्लाका उच्च पहाडी भागका सामुदायिक र निजी वनमा बहुमूल्य र बहुउपयोगी जडीबुटीको घाँस काट्ने र सडाएर फाल्ने गरेको पाइयो,’ उनले भने ‘जडीबुटीहरू खेर गइरहेको पाएपछि उपभोक्तालाई सचेतना दिने काम गरिरहेका छौं ।’ स्थानीय तहलाई यससम्बन्धी जानकारी दिएर स्थानीय स्तरमै संरक्षण र व्यावसायिक उत्पादनमा अग्रसर गराउने कार्यक्रम बनाउनुपर्ने उनले बताए ।

जिल्लामा सोमै (सुगन्धवाल), जटामसी, विष, कुटकी, मजिठो, पाषण वेद, दालचिनी, चिराइतो, चौतारी, सुगन्धकोकिला, कुरिलो, टिमुर, लोक्ता, अमला, बेल, तेजपात लगायतका महत्त्वपूर्ण र व्यवसाय नै गर्न सकिने खालका जडीबुटी जंगलमै सडेर खेर जाने गरेको छ । दुर्गम क्षेत्रका वनमा कुटकी, पाषणवेद, विष, मजिठो, जटामसीलगायतका लोपोन्मुख जडीबुटी पनि छन् ।
दुर्गम क्षेत्रमा धेरै जमिन बाँझोमा परिणत हुँदै गएकाले त्यसमा जडीबुटी खेती गर्दा पनि किसानले राम्रो आम्दानी गर्न सक्ने घिमिरेले बताए । ‘किसानलाई जडीबुटीको व्यावसायिक खेतीतर्फ आकर्षित गर्न सकिने प्रसस्तै सम्भावना छन्,’ उनले भने, ‘आफ्नै बारीमै खेर गइरहेको जडीबुटीबाट आम्दानी हुन्छ भन्ने चेतना किसानमा बढाउनु जरुरी छ ।’

मजिठो धेरै प्रकारका रोगहरूको उपचार र गलैंचा रङ्गाउन बढी प्रयोग गरिन्छ । त्यस्तै सुगन्धवाल सेन्टमा प्रयोग हुने प्रफ्युम बनाउन विदेश निर्यात गरिन्छ भने कुरिलो, अमला, पनि औषधि उत्पादनका लागि, सुगन्ध कोकिला महँगो धुप बनाउनमा प्रयोग गरिने जडीबुटी हुन् । कार्यालयका अनुसार जिल्लाबाट सोमै २ सय ४० रुपैयाँ, टिमुर प्रतिकिलो ८ सय, कुरिलो १२०, सुगन्धको किलाको फल २ सय ५० रुपैयाँ प्रतिकेजीमा विदेश निर्यात हुन्छ ।

तर ती सबै जडीबुटी गाईभैंसीलाई घाँस खुवाउन, कुरिलोको जरा दाउरा बाल्नमा प्रयोग भएका छन् भने टिमुर, सुगन्धको किलाको फल त्यसै झरेर जंगलमै सड्ने गरेका छन् । ‘हाम्रै घर आँगनमै हजारौं मूल्यका जडीबुटीहरू रहेछन्,’ चन्द्रकोट गाउँपालिका ५ ग्वाघाका बलबहादुर थापाले भने, ‘तिनीहरूको संरक्षण र व्यावसायिक गराउन सके घरमै बसेर राम्रो आम्दानी गर्न सकिने रहेछ ।’ जडीबुटीको वृक्षरोपण, प्रदर्शन प्लान्ट, उद्योग स्थापना, बजार प्रवद्र्धनका लागि कार्यालयले योजना बनाएर काम गरेको जनाएको छ ।

गाउँका किसानले आफ्नै बारी र खरबारीमा भएका जडीबुटी चिन्न नसक्दा त्यसबाट आम्दानी लिन नसकेको माओवादी केन्द्रका जिल्ला इन्चार्ज बीरबहादुर कार्कीले बताए । उनले झन्डै ५ वर्षदेखि जिल्लामै सिस्नो, असुरो, टिमुर लगायत बनजन्य जडीबुटी प्रशोधन गरेर बिक्री गर्दै आएका छन् । ‘हाम्रै जिल्लामा करोडौं मूल्यका जडीबुटी छन्,’ उनले भने, ‘तर कुनै उपयोग हुन नसक्दा सडेर खेर गइरहेको छ ।’ उनले झन्डै ४ लाख लगानीमा जडीबुटीहरूका बिरुवा उत्पादन र वनजन्य जडीबुटीको प्रशोधन गर्दै आएका छन् । संजीवन, कुरिलो, तेजपात, सुगन्धवाल, चिराइतोलगायतका बिरुवा पनि उत्पादन गरेका छन् ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।

  • जेसिज एउटा अभियान हो : पौडेल
    लुम्बिनी टाइम्स संवाददाता / शनिबार, ८ पुस ।

    जेसिज आफैमा एउटा नेत्तृत्वविकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसिज भनेको एउटा समुन्द्र हो यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले संखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्नसक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ ।