Main Menu
  |   Thursday, July 27, 2017
७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ

मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् । राजनीतिमा नयाँ नयाँ शब्द र परिभाषा ल्याउने उनी अहिले नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष हुन् । नेकपा क्रान्तिकारी माओवादी नव जनवादी क्रान्तिको मुद्दा बोकेर आन्तरिक तयारीमा लागेको छ । राजनीतिक यात्रामा अनेक उतारचढाव बेहोरेका वैद्यसँग लुम्बिनी टाइम्सका लागि सी. पी. खनालले लामो कुराकानी गरे । कुराकानीका क्रममा उनले क्रान्तिको विषयलाई बडो जोडतोडले उठाएका छन् । प्रस्तुत छ, उनीसँगको कुराकानीको अंश :


तपाईँ ७० वर्ष पुग्नुभयो, ७० वर्षको उमेरमा आएर हेर्दा तपाइँको राजनीतिक यात्रामा के उपलब्धि भो, के दिनुभयो देशलाई ?

राजनीति भन्ने कुरा, त्यसमा पनि कम्युनिष्ट राजनीति गर्ने कुरा सरल हुँदैन । हामी राजनीतिमा लाग्दा के कति लाभ भयो भन्ने हिसाबले सोचिदैन । देश जनतालाई के कति दिनसक्यौं भन्ने हिसाबले सोच्ने हो । लाभ हैन त्याग हो । यसरी हेर्दा यो राजनीतिक जिवन बिताइयो, यसो हेर्दा एकदम ठीक गरियो, सही बाटोमै छु भन्ने लाग्छ । सकारात्मक अर्थमा नै मैले लिएको छु । देश र जनताको मुक्तिको निम्ति, साम्यवादको आर्दशका निम्ति गरियो, अझै पनि गर्न बाँकी छ । यतिले पुग्दैन । यत्रो आन्दोलन गरेर पनि, जनताले रगत बगाएर पनि वास्तवमा जनताको मुक्ति हुन सकेको छैन । यसबीचमा सकारात्मक र नकारात्मक अनुभवहरु छन् । सकारात्मक अनुभवहरुलाई आधार बनाउँदै फेरि पनि नेपालमा जनवादी क्रान्ति पूरा गरेर समाजवादी साम्यवादलाई अगाडि बढाउनुपर्छ भन्ने लाग्छ ।

राजनीति आदर्श हो कि व्यवहार हो ?

Mohan Baidhya  3
दुवै हो भनेर भन्नुस् । राजनीति आदर्श पनि हो व्यवहार पनि हो । राजनीति सबैको केन्द्र हो । राजनीतिको एउटा लक्ष्य हुनुप¥यो । त्यो आदर्शले डो¥याएको हुन्छ । देश र जनताको सेवा, देश र जनताको मुक्तिको कुरा आदर्श हो । तर कुरा के हो भन्दा यो व्यवहार पनि हो । विभिन्न आन्दोलनहरुबाट अघि बढ्नुपर्ने हुन्छ । यसैले राजनीति आदर्श र व्यवहारको एकत्व हो भन्ने लाग्छ ।

त्यसो भए किन परिवर्तन हुन सकेन ? किन जनतालाई त्यो अनुभूति दिलाउन सकेन राजनीतिले, सधै आदर्श मात्रै रह्यो, व्यवहार भएन । सधै तपाइँहरु क्रान्ति अझै बाँकी छ भन्नुहुन्छ, आखिर जनताले के पाए ?

यहाँले कुरा त ठीक उठाउनुभयो । तर यहाँनेर कुरा के छ भने, जनजीविकाकै कुरा गरौं । यो सत्ताले मजदुरलाई के दिएको छ ? ८–१० हजार रुपैयाँ तलब छ । ८–१० हजार रुपैयाँले मजदुरले के गर्न सक्छ ? रोजगारी छैन, मान्छेहरु बाहिर गएको छ, यहाँ केही छैन, यिनीहरुले विकास गर्छु भन्छन्, के विकास निर्माण गर्छन् । अब हेर्नुस्, जलश्रोतको कुरा गर्नुस्, यो देशमा ७–८ सय मेघावाट भन्दा बढी विद्युत छैन । २–३ हजार त राम्रै तरिकाले गर्न सकिन्छ भन्या । सेयर उठाएर गर्न सकिन्छ । यो दिशातर्फ पार्टीहरु किन जाँदैनन् । हाम्रो त मुल सवाल जनजीविका हो ।

मजदुरहरुको तलब किन बढ्दैन । किसानहरुको स्थिति के छ ? अनुदान किन दिदैनन् यिनीहरुले ? अहिले हामी डब्लुटीओको सदस्य भएर के पायौं ? विश्वबैंक र अन्तरराष्ट्रिय मुद्रा कोषबाट किन ऋण लिनु परिराख्याछ, किन तिनीहरुको शर्त मान्नुपरिराख्याछ ? जनजीविकासँग जोडिएका विषय यिनी हैनन् ? त्यसकारणले यी जनजीविकासँग जोडिएका विषयलाई सम्बोधन गर्नकै लागि क्रान्ति गर्ने भनेको हो । क्रान्ति त संघर्षको साधन हो । मुल विषय त राष्ट्रिय राजनीति हो । जनजीविकाकै कुरा हो । विकास निर्माण भन्छन्, कहाँ विकास निर्माण गर्छन् यिनीहरुले ? त्यसकारण भन्नुस्, जनजीविकाका कुरा असाध्यै गम्भीर छन्, घनीभूत छन् । हामीले यी कुराहरुमा केन्द्रीत भएर मजदुर, किसानलाई माथि उठाउनका लागि नयाँ शिरामा आन्दोलन हुन्छ हेर्नुस् । नयाँ ढंगले हुन्छ । अब फेरि हेर्नुस्, कर्मचारीहरुको तलब वृद्धि भयो । एकदम ठीक छ । राम्रो छ । खै त मजदुरहरुको, किसानहरुको कुरा गरेको ? यतातिर ध्यान दिनुप¥यो । यी विषयहरुलाई सम्बोधन गर्नुप¥यो भन्ने हो ।

तपाइँले आफ्नो पालामा नेपालमा यसो गरेर छाड्छु भन्ने केही प्लान छ ? तपाइँको सपना के हो ?

मेरो सपना भन्नुहुन्छ भने, अझै एउटा क्रान्ति गर्नुपर्छ भन्ने लाग्छ । म हुँदै नेपालमा राष्ट्रियता, जनगणतन्त्र र जनजीविकाका समस्या समाधान गर्ने र नेपालमा रहेको दलाल पुजीपति, नोकरशाह पुजीपति र सामन्त पुजीपतिको सत्तालाई समाप्त पारेर शोषित पीडितको राज्यसत्ता स्थापना गर्नुपर्छ भन्ने मेरो योजना हो । मेरो सपना त्यही हो ।

तपाइँहरु त अहिले संख्यात्मक हिसाबले पनि कमजोर हुनुहुन्छ, एकथरि दलहरु राजनीतिक क्रान्ति पूरा भयो अब आर्थिक क्रान्ति भन्न थालेका छन्, कसरी पूरा होला तपाइँको सपना ?

संभव र असंभवको कुरा के हो भने राजनीतिमा जे पनि हुन्छ । अहिले तत्काल त अलि गाह्रै होला जस्तो छ । राणाकालमा जन्मिएको मान्छे हुँ म । त्यो बेला राणाहरुको विरोध गर्न असाध्यै गाह्रो थियो । सत्ताको विरोध गर्नु नै गाह्रो कुरा हो । पछि पञ्चायती व्यवस्था आयो । भोगियो पनि । त्यो पञ्चायती व्यवस्था ढल्ला भन्न गाह्रो थियो । पछि आएर जनयुद्ध शुरु गरियो । जनयुद्धकै कारण यति होला भन्ने मान्छेलाई थिएन । संभव होला त भन्ने थियो । त्यस्तै अहिले पनि हेर्दा संभवजस्तो देखिदैन । संभव होला र भन्ने लाग्छ । तर भोलि संभव हुन्छ । संभव हुनुको पछाडि कारण छन् । किनभने जनताका समस्या, जनजीविकाको समस्या, राष्ट्रियताको समस्या र जनगणतन्त्रको कुराकै कारण संभव छ ।

यी कारणहरुले नै हुने हो । अब हेर्नुस्, एमालेहरुलाई, चप्पल लगाएर हिड्थे पहिले । संघर्ष त ग¥या हुन् नि तिनीहरुले । अहिले हेर्नुस् त, कहाँ पुगे । लाभको राजनीति गरे । जनतालाई के भयो ? के पाए ? त्यो त हैन नि । यो सबप्रति जनताको असन्तुष्टि छ । जनताका कुरा सम्बोधन गर्ने कसले ? सबै लाभको राजनीतिमा व्यस्त छन् । त्यसैले हामीले भनेका छौं, हामीले गर्छौं । हामीले जनगणतन्त्र स्थापना, जनजीविकाका समस्या र दलाल नोकरशाह पुजीपतिको नेतृत्वमा रहेको शासनसत्ताको अन्त्य गरी किसान मजदुर र उत्पीडित वर्गको उत्थानका लागि नयाँ जनवादी क्रान्ति आवश्यक छ र त्यसको नेतृत्व क्रान्तिकारी शक्तिले नै गर्नसक्छ, गर्छ पनि ।

तपाइँले भनेको नयाँ जनवादी क्रान्तिको स्वरुप कस्तो हुन्छ ? कहिले शुरु हुन्छ यो क्रान्ति ?

यसको स्वरुप भन्नुहुन्छ भने, साम्राज्यवाद, सामन्तवाद विरोधी हो यो । अथवा के भन्नुहुन्छ भने, देशभित्रको दलाल पूँजीपति, नोकरशाह पुँजीपतिको अन्त्य गर्ने हो । अर्को, बाह्य साम्राज्यवादी, सामन्तवादीको हस्तक्षेपका विरुद्धमा हुन्छ । संघर्षको स्वरुप भने हामीले आन्दोलन गर्दा सरकार कसरी प्रस्तुत हुन्छ भन्ने कुरा हो । सरकारले बाध्य पारेमा हतियार उठाउने अवस्था पनि आउन सक्छ । आमुल परिवर्तन गर्ने क्रान्तिमा हतियारको आवश्यकता पनि पर्छ । क्रान्ति शुरु गर्ने विषयमा भन्दा, अब हेर्नुस्, यो मितिदेखि शुरु भयो भन्ने नहुन पनि सक्छ । आन्तरिक हिसाबले तयारी गर्दै जाने र लास्टमा आएर झ्वाम्म राज्यसत्ता कब्जा हुने हुन्छ । अब नेपाली क्रान्ति नेपाली हिसाबले हुन्छ । जनयुद्ध र जनआन्दोलनका अनुभवहरुलाई संश्लेषण गर्दै अघि बढ्छौं ।

यसरी आन्दोलन गर्ने परिस्थिति तयार छ ? जनताले चाहेका छन् ?
Mohan Baidhya
नेपालमा पुरातनको पक्षमा, यथास्थितिको पक्षमा राजनीति हाबी भइरहेको छ । म त्यस पक्षमा जानेवाला छैन । किन भने रुपान्तरणका निम्ति भनेर लागियो हेर्नुस्, त्यत्रो रगत बग्यो । जिन्दगीको यत्रो हिस्सा गयो । अब आएर म लाभको राजनीति गर्न चाहन्न । पुरातन मुलधारका विरुद्ध परिवर्तनको मुलधारलाई अघि बढाउनुपर्छ भन्ने पक्षमा छु । जनताले परिवर्तन चाहन्छन् । जनता जहिले पनि परिवर्तनलाई नै साथ दिन्छन् । साँच्चै आन्दोलन नै गर्ने हो भने त विभिन्न पक्षका मान्छेहरु छन्, उनीहरु आउँछन् । राम्रो काम गर्न थाल्ने हो भने यो पार्टी र त्यो पार्टी भन्ने हुन्न । माओवादी केन्द्रका मान्छेहरु आउँछन्, एमालेका, कांग्रेसका मान्छेहरु आउँछन् । हामीलाई साथ दिन्छन् भन्ने हामीलाई विश्वास छ ।

तपाइँहरुले जनयुद्ध गर्दा पनि अनेक सपना देखाउनुभएको थियो, ती त अलपत्र परे, अब तपाइँले भनेका यी सबै कुराहरु कार्यान्वयन हुनसक्लान् ?

समयलाई नाप्न गाह्रो पर्छ । क्रान्ति समयको माग हो । विश्वमा पनि क्रान्तिका लागि अनुकुल समय छ । नेपालमा पनि क्रान्तिका लागि वस्तुगत पक्ष बलियो छ, क्रान्तिकारी शक्ति कमजोर छ । अलिकति क्रान्तिकारी शक्ति बलियो हुनैपर्छ । त्यसका लागि हाम्रो पक्ष बलियो बनाउन लागिरहेका छौं । त्यसका लागि अन्तरराष्ट्रिय शक्तिको पनि साथ जरुरी छ । सपनाहरु समयअनुसार परिवर्तन पनि हुन्छन् । हामीले एउटा हिसाबले केही कुरा हासिल गरेका छौं । तर ती समयअनुसार अझै पनि पूरा भएका छैनन् भन्ने हाम्रो बुझाई हो । हामी जनताकै पक्षमा छौं, जनताकै लागि कुरा गरिरहेका छौं । सपनाहरु बाँड्ने हैन, हामीले बाँड्दैनौं, विस्तारै पूरा गर्न तर्फ नै लाग्छौं ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।