Main Menu
  |   Tuesday, September 19, 2017
लुम्बिनी विकास कोषका उपाध्यक्ष भन्छन्–लुम्बिनी विकास कोष बुझ्नै १० महिना लाग्यो
लुम्बिनी विकास कोषका उपाध्यक्ष भन्छन्–लुम्बिनी विकास कोष बुझ्नै १० महिना लाग्यो

सिद्धार्थ महर्जन (भिक्षु निग्रोध) २०७२ जेठ २ मा लुम्बिनी बिकाष कोषको उपाध्यक्ष नियुक्त भएका थिए । नियुक्तिपछि उनले धेरै झमेला र समस्याहरुको सामना गर्नुप¥यो । एकातिर आन्तरिक विवाद अर्कोतिर मधेश आन्दोलन, यी दुई कारणले उनले केही समय लुम्बिनीमा काम गर्न सकेनन् । ७ महिनाजति विकास कोष तनाबमै रह्यो । मधेश आन्दोलन सकिएपछि बुद्ध पूर्णिमा मनाएर लुम्बिनी केही तंग्रिन थालेको छ । विकास कोषले नियमित काममा चासो दिन थालेको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै लुम्बिनी विकास कोषले के गर्दैछ, गुरुयोजनाको काम कति बाँकी छ र कहिले सकिन्छ जस्ता विषयमा सी. पी. खनालले उपाध्यक्ष सिद्धार्थ महर्जनसँग कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको महत्वपूर्ण अंश ः

मधेश आन्दोलन, कर्मचारीको विवाद जस्ता कारणले लामो समय तनाब झेलेको लुम्बिनीमा अहिले के भईरहेको छ ?
हालै हामीले एउटा आर्थिक वर्ष सक्यौं । समीक्षा ग¥यौं । अबका कामका बारेमा योजना बनायौं । लुम्बिनीले मधेश आन्दोलनका कारण धेरै क्षति बेहोर्नुप¥यो । आन्दोलनकै कारण भौतिक पूर्वाधार तर्फ ५० प्रतिशत र पूजीगततर्फ ४५ प्रतिशत मात्रै बजेट खर्च भएछ । गुरुयोजनाका कामहरु पनि प्रभावित भए । अब हामीले नयाँ ढंगले काम गर्नुछ । ६–७ महिना बिथोलिएको कामलाई पूरा गर्नुपर्ने छ । हामीले गुरुयोजनाको बाँकी कामलाई पनि छिटै सक्नुपर्ने छ । केन्द्रीय नहर, यसको आसपास, प्रशासनिक भवन, सूचना केन्द्रका केही कामहरु बाँकी छन् । न्यू लुम्बिनी भिलेजका यी कामहरु हामीले दशैं अघिसम्ममै पूरा गर्ने योजना बनाएका छौं । दशैं अघि सकेर उद्घाटन गर्ने योजना हाम्रो छ । केन्द्रीय नहरको दायाँ र बाँयाका पोखरीहरुको काम पनि पूरा गर्नेछौं । पानी ट्यांकी निर्माण गरेर पिउने पानीको ब्यवस्था गर्ने, बाँकी रहेका स्थानमा विद्युतीकरण गर्ने, ढल व्यवस्थित गर्ने जस्ता कामहरु हामीले यो आर्थिक वर्षभित्रमा पूरा गर्नेैछौं । बुद्धपूर्णिमामा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले भनेअनुसार अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको डिजाईन तयार पारेर काम शुरु गरिनेछ । चीन र एडीबीको छुट्टाछुट्टै सहयोगमा सडकमा सोलार बत्ती राख्ने र पवित्र उद्यान क्षेत्रको विद्युतीकरणलाई व्यवस्थित गर्नेजस्ता कामहरु पनि हामीले गर्नेछौं ।

लुम्बिनी गुरुयोजनाको काम कहाँ पुग्यो, के बाँकी छ अब ?
अहिलेसम्म हामीले अनुमान गरेअनुसार गुरुयोजनाको ३२–३४ प्रतिशत काम बाँकी छ । तरपनि अब हामीले गर्नुपर्ने काम के के बाँकी छन् र अहिलेसम्म गरिएका काम कस्ता रहे, अबका काम कसरी गर्नुपर्छ भन्नेबारेमा अध्ययन गर्नका लागि हामीले एउटा कन्सल्टेन्सीसँग सम्झौता गरिसकेका छौं र अध्ययन अनुसन्धानको काम शुरु भइसकेको छ । ४५ दिनभित्रमा बाँकी कामको सम्पूर्ण प्रारुप तयार गर्ने भनेर हामीले जिम्मा दिइसकेका छौं । प्राविधिकहरु खटिईसकेका छन् र अबको केही दिनमा त्यसको रिर्पोट आउने छ । अध्ययनपछि तयार हुने प्रारुप र गर्न बाँकी रहेका कामहरुलाई हामीले सकेसम्म छिटो पूरा गर्ने छौं । अबको ४ वर्षभित्र हामीले गुरुयोजनाका बाँकी काम जसरीपनि पूरा गर्नुपर्छ । ग्लोबल टेण्डर आह्वान गरेरै भएपनि हामीले गुरुयोजना पूरा गर्नेछौं । गुरुयोजना पूरा गर्न ६ अर्ब जति रुपैयाँ लाग्ने देखिएको छ । सरकारले यो रकम दिन तयार रहेको बताइसकेकोले हामी अघि बढेका छौं । अर्थ मन्त्रालय र संस्कृति मन्त्रालयबीच गुरुयोजनाको काम पूरा गर्नका लागि बजेट विनियोजन गर्ने सहमति भइसकेको छ ।

लुम्बिनी विकास कोष चालु आर्थिक वर्षमा केमा केन्द्रित हुनेछ ?
हामी अहिले विकास निर्माणकै काममा बढी समय खर्चनेछौं । लुम्बिनीको प्रचार विभिन्न तरिकाले भइरहेको अवस्थामा लुम्बिनीको संरचना नै पूरा नहुनु राम्रो कुरा हैन । पहिले हामीले लुम्बिनीलाई हेर्नलायक सून्दर र पवित्र स्थल बनाउनु पर्छ । त्यसपछि पर्यटकलाई आउनुस् भन्दा लुम्बिनीको प्रचार राम्रोसँग हुनसक्छ । अहिले पनि पर्यटक आइरहेका छन् तर लुम्बिनीमा निर्माणाधीन संरचना देखेर खिन्न हुने अवस्था आउनुहुन्न । यसैका लागि लुम्बिनी विकास कोष लागिरहेको छ । न्यू लुम्बिनी भिलेजमै प्रशासनिक भवनजस्तै ८ वटा भवन बनाउन बाँकी छ । लुम्बिनी संग्राहालय जस्ता ६ वटा भवन बन्न बाँकी छन्, अडिटोरियम हल, टेलिकम्युनिकेशन, सडकका काम पनि बाँकी छन् । अरु नियमित कार्यक्रमहरु त जारी नै रहनेछन् ।

siddhartha Maharjan
लुम्बिनीमा गुरुयोजना विपरीत पनि काम भए, कोषको विहार नियमावली पनि खासै पालना भएन । यसमा कोष रमिते जस्तै बनेको देखियो नि !
हो, सरकारका तर्फबाट पनि लुम्बिनी गुरुयोजनाको ट्रयाक भन्दा बाहिर गएर काम भयो भन्ने कुराहरु आएका छन् । वर्षौंदेखि भइरहेका कामहरु र अब हुने कामहरु पनि गुरुयोजनाअनुसार हुनुपर्छ र बन्नुपर्छ । जेजति कारणले गुरुयोजनाभन्दा बाहिर गएर काम भएका छन् त्यसमा अब पुनरावलोकन गर्न वा के कसरी सुधार्न सकिन्छ त्यस विषयमा पनि हामीले ध्यान दिनेछौं । हामी छलफलकै क्रममा छौं । यसमा सरोकारवाला पक्ष समन्वय गरेर अघि बढ्ने हो । लुम्बिनीमा जे जति संरचना बनेका छन् ती सबै एकखालको सहमतिकै आधारमा बनेका छन् । विहार क्षेत्रमा निश्चित मापदण्ड र नियम पालना गर्नेगरी नै हामीले जग्गा दिएका छौं । विदेशीहरुले बनाएका विहारहरुको विषयमा पनि कुरा उठ्ने गरेका छन् । हामीले जति समय दिएर अनुगमन गर्नुपर्ने थियो त्यो विविध कारणले हुन सकिरहेको छैन । हामी आगामी दिनमा नियमित अनुगमन गर्ने र नियमन गर्ने छौं । तर जति कुराहरु जसरी बाहिर आएका छन् ती सबै सही हुन् जस्तो मलाई लाग्दैन । आफ्नो देश छाडेर लुम्बिनीलाई माया गरेर लगानी जुटाएर यहाँ आएर विहार बनाउने सबैलाई एउटै दृष्टिबाट हेरिनु हुँदैन । एकाध घटनालाई आधार मानेर विश्लेषण गर्नुहुन्न । विहारहरुले पनि कतिपय काम राम्रा पनि गरेका छन् । त्यसको सराहना गर्न सक्नुपर्छ । केही कामहरुमा ढिलाई भएका छन्, ती कामहरु समयमै गर्न र सही ढंगले गर्नका लागि हामीले उत्प्रेरणा दिने काम हाम्रो तर्फबाट हुनुपर्छ । विदेशी पर्यटकहरुलाई लुम्बिनी आउने वातावरण बनाउनका लागि विहारहरुले महत्वपूर्ण भूमिका खेलेका छन् । विहारलाई होटल जस्तै गरी व्यवसायिक बनाउन खोजियो भन्ने कुरामा चाहिँ हामीले यसको अनुगमन गर्छौं । कतै गलत कुराहरु फैलाइएका हुनसक्छन् । कतै सही पनि हुनसक्छन् । त्यसलाई ठीक बाटोमा हिड्न र नियमहरु पालना गर्न हामीले झक्झक्याउने हो । विदेशीहरुले बनाएका विहारमा आएर विदेशी बसे भन्ने कुरामा चाहिँ म के भन्छु भने उनीहरुलाई बस्नकै लागि बनाएको विहारमा उनीहरु बसे भनेर आलोचना गर्नु ठीक होइन । जस्तो थाईल्याण्डबाट आएका भिक्षुहरु वा पर्यटक त्यहीँअनुसारको वातावरण यहाँ चाहन्छन्, हामीकहाँ त्यस्तो विविधता भएका र उनीहरुको स्तर मिल्ने खालका होटलहरु बनिसकेका छैनन् । त्यसैले पनि हामीले अहिले पर्यटकलाई सहज हुने वातावरण बनाउनुपर्छ । पछि हामीकहाँ राम्रा र विविधता भएका होटलहरु खुल्दै गए भने बस्ने उनीहरु नै हुन् । हामी विविधता दिन र राम्रा होटलहरु सञ्चालन गर्न तर्फ लागौं । साँच्चै भन्ने हो भने भैरहवा विमानस्थ लबनेर सकिएपछि हामीकहाँ चीनबाट पर्यटकहरु आउन थाले भने लुम्बिनीमा बस्ने ठाउँ नै हुनेछैन । हामीले यतातिर सोंचेर काम गर्नुपर्छ । आलोचना मात्रै गर्ने काम नगर्ने गर्दा हामी बिग्रिएका छौं । हाम्रो होटल स्तरीय बनाउँदैनौं अनि विहारले यसो ग¥यो र उसो ग¥यो भनेर आफुकहाँ ती मान्छे आइदिए हुन्थ्यो भन्छौं । अनि उनीहरु कसरी आउन सक्छन् । अर्को कुरा विहारहरुमा त हामी नेपालीहरु, अझ स्थानीयले नै रोजगार पाएका छन् । जहाँसम्म नियम कानुनको कुरा छ, त्यो जोसुकै भएपनि पालना गर्नुपर्छ, हामीले लागू गर्छौं ।

विकास कोष लामो समयसम्म विवाद र समस्यामा फस्यो, अहिले पनि उस्तै हो कि सुध्रियो ?
हो, केही अघि सम्म विवादैविवाद खडा भयो । यसले कसैलाई राम्रो गर्दैन । लुम्बिनी अन्तरराष्ट्रिय आस्थाको केन्द्र हो । यो पवित्र स्थलको विकास गर्न, व्यवस्थित गर्न बनेको कोष नै विवादमा फस्नु हुँदैनथ्यो । आगामी दिनमा यहाँका नकारात्मक कुराहरु बाहिर जानुहुन्न । हाम्रा आन्तरिक समस्या आन्तरिक रुपमै समाधान गर्नुपर्छ । प्रोपोगाण्डामा नलैजाउँ । कोषमा १०–१५ वर्षदेखि नै समस्या थियो । यसलाई समाधान गर्न चासो देखाइएको थिएन वा सकिएको थिएन, अहिले यो समाधान भएको छ । कर्मचारीहरु र पदाधिकारीबीच सहमति भएको छ । कर्मचारीका जायज मागहरु सम्बोधन भएका छन् । अब त्यसरी विवादमा फस्दैन । हामी मिलेर काम गर्छौं ।

कोषमा कसैले कसैलाई टेर्दैनन्, मनमौजी चल्छन् भन्ने चर्चा चल्छ नि बेलाबेलामा, त्यो पनि समाधान भयो त ?
कोषमा खासमा एउटाले अर्काको अस्तित्व नै नस्वीकार्ने रोग थियो । चेन अफ कमाण्ड नमान्ने प्रवृत्ति थियो । म आउँदा पनि थियो यो समस्या । म आएर विकास कोष, यहाँका अरु पदाधिकारीहरु, कर्मचारीहरु, मन्त्रालयका कर्मचारीहरुको बानी व्यवहार र शैली बुझ्नै १० महिनाजति लाग्यो । लुम्बिनीको बारेमा मैले २०४८ सालदेखि नै चासो राख्दै काम गरेको भएपनि कोषको बारेमा भित्री कुराहरु मलाई थाहा थिएन । यस्तो होला भन्ने लागेको पनि थिएन । यसबीचमा सबैबीचमा तालमेल मिलेको छ । एउटा समझदारी भएको छ । राजनीतिक नियुक्तिबाट आएकाले पनि फरक फरक स्वभाव र विचार भएको होला । तर मेरो नियुक्ति राजनीतिक भएपनि म राजनीतिक व्यक्तित्व होईन । म लुम्बिनीका लागि काम गर्नुपर्छ भन्ने मान्छे हो ।

राजनीतिक नियुक्तिका कारणले लुम्बिनीको विकासमा बाधा पुगेको हो ?
त्यो पनि केही हदसम्म हुनसक्छ । तर राजनीतिक व्यक्तित्व भन्दा लुम्बिनीसँग सरोकार राख्ने व्यक्तिलाई यहाँ पठाउनुपर्छ । राजनीतिक नियुक्ति हटाउनका लागि त सरकारले नै ध्यान दिनुपर्ने हो । स्वच्छ छविको मान्छे, जो लुम्बिनीको विकास होस् भन्ने चाहन्छ त्यस्तो मान्छेलाई लुम्बिनीमा पठाउँदा नै राम्रो हुन्छ ।

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls
  • ‘लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’
    लुम्बिनी टाइम्स / बुधबार, १९ असाेज ।

    पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् । चालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त […]

  • ७० वर्ष पुगेका मोहन वैद्य भन्छन्– अझै एउटा क्रान्ति गर्न मन छ
    लुम्बिनी टाइम्स / बिहीबार, २३ भदौ ।

    मोहन वैद्य किरण उमेरले ७० को नजिक पुगेका छन् । राणाकाल, पञ्चायत, शाहवंश र गणतन्त्रको अनुभव गरेका उनी अहिले नव जनवादी क्रान्ति आवश्यक छ भन्दै त्यसको तयारीमा लागेका बताउँछन् ।