Main Menu
  |   Sunday, July 22, 2018
नेपाल एकीकरणदेखि सुगौली सन्धिसम्मको तथ्य– के भएको थियो इतिहासमा ?
नेपाल एकीकरणदेखि सुगौली सन्धिसम्मको तथ्य– के भएको थियो इतिहासमा ?

पृष्ठभूमि:
हाम्रा राजनीतिज्ञहरू र सरकारमा रहेका शासकहरूमध्ये अधिकांशलाई नेपालको ऐतिहासिक तथ्यप्रति समुचित चासो नभएको र कति जनालाई त नेपालको राजनैतिक इतिहासकै राम्रो जानकारी नभएको हुँदा नेपाल–भारत सीमा सम्बन्धमा उठेका प्रश्नमा जहिले पनि भारतीय हितले प्राथमिकता पाएको देखिएको छ । त्यसैले समस्त नेपालीले आफ्नो भूमिको साँध–सिमानाका विषयमा आधिकारिक जानकारी राख्नु अत्यन्त आवश्यक छ ।

नेपाल एकीकरणः
इतिहासको उषाकालले के देखाउँछ भने नेपालको क्षेत्रफल विशाल थियो । मध्यकालीन विशाल नेपाल तत्कालीन राजाहरूको व्यक्तिगत सम्पत्ति सरह अंशवन्डा गरिँदै गएपछि आपसी झैझगडा समेतका कारण खण्डित हुँदै गएको प्रमाण पाइन्छ ।

पृथ्वीनारायण शाहले सर्वप्रथम राज्य राजाको व्यक्तिगत सम्पत्ति होइन र सार्वभौमसत्ता अविभाज्य हुन्छ भन्ने तथ्यलाई हृदयंगम गरे । सन् १७४२ मा २० वर्षको उमेरमा गोरखाको राजगद्दीमा विराजमान भएका पृथ्वीनारायण शाहले नेपालको पुनःएकीकरण अभियान सुरु गरे । सन् १७४३ मा नुवाकोटमाथि गरिएको आक्रमण विफल भएपछि उनले दोस्रोपटक नुवाकोटमा आक्रमण गरी २६ सेप्टेम्बर १७४४ मा नुवाकोटमाथि विजय प्राप्त गरे ।

२८ मे १७५७ मा विजयादशमीको दिन पारेर गोर्खाली सेनाले कीर्तिपुरमाथि आक्रमण ग¥यो । बल्खु खोलाको किनारमा ६ घण्टासम्म भएको लडाइँमा ४०० गोर्खाली सैनिकसहित काजी कालु पाँडेको मृत्यु भयो । यसपछि पृथ्वीनारायण शाहले सैनिक व्यवस्था मिलाउने उद्देश्यले केही समयका लागि युद्ध रोके । यसै अवधिमा पृथ्वीनारायण शाहले आफ्ना भाइहरू महोद्दामकीर्ति शाह, दलजित शाह आदिको नेतृत्वमा मकवानपुरमा आक्रमण गर्न गोर्खाली सेना पठाए । गोर्खाली सैन्यले १७६२ अगस्त २१ मा कमवानपुरमा आक्रमण ग¥यो । त्यहाँका राजा दिग्बन्धन सेन हरिहरपुर गएका हुँदा ४ अक्टुबर १७६२ मा गोर्खाली सेनाले त्यहाँ पनि आक्रमण गरी हरिहरपुर विजय गरे ।

यसरी पराजित भएका दिग्बन्धन सेनले बंगालका नबाब मीरकासिमसँग सैनिक सहयोग मागी पुनः राज्य फिर्ता गर्ने योजना बनाए । परिणामस्वरुप २००० जति मुस्लिम सेनाले १२ जनवरी १७६३ मा मकवानपुरमाथि आक्रमण गरे । पृथ्वीनारायण शाहले वंशराज पाण्डे र केहरसिंहको नेतृत्वमा पठाएको गोर्खाली फौजसँग मुस्लिम सेनाको केही जोड चलेन । १७०० जति मीरकासिमका सेना मारिए । दिग्बन्धन सेन गोर्खामा नजरबन्द भए र पहाडी भूभागमा राज्यविस्तार गर्ने मीरकासिमको आकांक्षा धूलिसात भयो ।

यसैबीच गोर्खामा चौबिसी राज्यहरूको दोस्रो आक्रमण भयो तर गोर्खाली सेनाको अगाडि उनीहरूको केही लागेन । यसपछि गोर्खाली सेनाले १७६४ सेप्टेम्बर १६ मा कीर्तिपुरमा दोस्रो पटक आक्रमण ग¥यो तर यसपटक पनि कीर्तिपुरले गोर्खालाई पराजयको तीतो स्वाद चखाइदियो । यसरी दुई पटकसम्म असफल भएका पृथ्वीनारायण शाहले विशेष तयारीका साथ कीर्तिपुरमाथि तेस्रो पटक आक्रमण गरे । १२ मार्च १७६६ को मध्यरातमा गोर्खाली सेनाले कीर्तिपुरमाथि आफ्नो कब्जा जमायो ।
phadindra-nepal
कीर्तिपुर हात पारेपछि गोर्खाको आँखा कान्तिपुरमाथि प¥यो । गोर्खाको प्रचण्ड शक्तिसँग जुध्ने साहस कान्तिपुरका जयप्रकाश मल्ल एक्लैले गर्न सकेनन् र उनले १७६७ मा कम्पनी सरकारसँग सहयोग मागे । कम्पनी सरकारले किनलकको नेतृत्वमा २४०० सेना पठायो । त्यो सेनालाई पृथ्वीनारायण शाहको सेनाले सिन्धुलीगढीको पौवागढीमा नराम्रोसँग हरायो । अब पृथ्वीनारायण शाहको ध्यान काठमाडौंमाथि केन्द्रित भयो । उनले जयप्रकाश मल्लकहाँ आफ्ना दूतहरू पठाई ‘आत्मसमर्पण गर्नुहोस्’ भन्ने सन्देश पठाए तर जयप्रकाश मल्ल त्यति सजिलै राज्य छोेड्ने चाल नदेखाएका हुँदा २६ सेप्टेम्बर १७६८ को मध्यरातमा गोर्खाली सेनाले कान्तिपुरमाथि आक्रमण ग¥यो । जयप्रकाश मल्ल भागेर ललितपुरमा शरण लिन पुगे ।

पृथ्वीनारायण शाह सोही रात कान्तिपुरको राजसिंहासनमा विराजमान भए । यता ललितपुरका काजीहरू पृथ्वीनारायण शाहसमक्ष आत्मसमर्पण गर्न राजी भएपछि जयप्रकाश मल्ल र तेजनरसिंह मल्ल भागेर भक्तपुरमा शरण लिन पुगे । बिना रक्तपात गोर्खाली सैन्यले ६ अक्टुबर १७६९ का दिन ललितपुर कब्जा ग¥यो । ललितपुर विजयपछि पृथ्वीनारायण शाहको ध्यान भक्तपुरमाथि प¥यो । उनले पहिले रणजित मल्लसँग फिर्ता गर्न आग्रह गरे तर रणजित मल्ल यसमा सहमत नभएपछि एक वर्षसम्म यो कुरा त्यत्तिकै रह्यो । त्यसपछि ९ नोभेम्बर १७६९ मा १५०० जति गोर्खाली सैनिक भक्तपुरको प्रवेशद्धार भत्काई सहरभित्र पसे ।

दुबै पक्षबीच १३ नोभेम्बरसम्म घमासान लडाइँ भयो । जयप्रकाश मल्लको दाहिने खुट्टाको गोलीगाँठामा गोरखाली पक्षले हानेको गोली लाग्यो र ११ नोभेम्बरका दिन रणजित मल्लका आठ पहरियाको पनि मृत्यु भयो । यस लडाइँमा ठूलो सँख्यामा भक्तपुरको सेनाको विनाश भएको र साधारण जनताको पनि ज्यान गएको हुँदा १३ नोभेम्बरका दिन रणजित मल्लले आफ्नो पगरी फुकाई झ्यालबाहिर झुन्ड्याई आत्मसमर्पण गरे । यसरी भक्तपुर पनि गोर्खामा एकीकृत भयो ।

काठमाडौं उपत्यका विजयपछि पृथ्वीनारायण शाह पश्चिम विजयको अभियानमा लागे तर उनी सफल भएनन् । अनि उनी फेरि पूर्वी अभियानमा लागे । यस क्रममा उनले किराँतप्रदेश (चौदन्डी र विजयपुर) मा सैनिक अभियान चलाए । सन् १७७३ को सुरुमा माझ किराँतमाथि गोर्खालीको आधिपत्य कायम भयो । १७ जुलाई १७७४ मा गोर्खाली सेनाले विजयपुरमा आक्रमण गरेपछि त्यहाँका राजा कर्णसेन र मन्त्री बुद्धिकर्ण भागेर सिक्किम गए । इलामका विषयमा सिक्किमका राजासँग कुराकानी गरेपछि इलाम पनि गोर्खामा गाभियो र सन् १७७४ को अन्ततिर गोरखाली सेना दार्जीलिङभित्र प्रवेश ग¥यो । यसरी गोर्खाको सिमाना पूर्वमा दार्जिलिङसम्म पुग्यो । यसबीच देवघाटमा १० जनवरी १७७५ को रातमा पृथ्वीनारायण शाहको मृत्यु भयो ।

पृथ्वीनारायण शाह गद्दीमा आसीन हुँदा गोर्खाको सिमाना उत्तरमा हिमालय, दक्षिणमा सेती नदी, पूर्वमा त्रिशुली एवं पश्चिममा माथितिर चेपे र तलतिर मस्र्याङ्दी थियो । उनको आर्जनमा यो राज्य विस्तारित हुँदै उनको अवसानको अवधिसम्म उत्तरमा रसुवागढी, दक्षिणमा मोरङ हनुमाननगर, पूर्वमा दार्जीलिङ र पश्चिममा मस्र्याङ्दी र चेपेसम्म पुगेको थियो ।

पृथ्वीनारायण शाहको अवसानपछि उनका छोरा प्रतापसिंह शाह नेपालको राजगद्दीमा बसे । यसपछि राजदरबारमा षड्यन्त्र सुरु हुन थाल्यो । १३ दिनको आशौचभित्रै प्रतापसिंह शाहले भाइ बहादुर शाह र काका दलजित शाहलाई नजरबन्द गर्नु यसको उदाहरण हो । जब बहादुर शाहलाई नेपाल एकीकरण अभियान अगाडि बढाउने सल्लाह दिए तनहुँ अन्तर्गतको चितवनको तराई क्षेत्रबाट अंग्रेजहरू अगाडि बढ्ने सम्भावनालाई दृष्टिगत गरी बहादुर शाहको सल्लाह मुताविक प्रतापसिंह शाहले चितवनमाथि आक्रमण गर्न अभिमानसिंह बस्न्यातलाई आदेश दिए । स्वरुपसिंह कार्कीको नेतृत्वमा गएको सैन्यदलले १४ जुलाई १७७७ मा कविलासपुर र ६ अगस्तमा चुरेपहाडको सोमेश्वरगढी विजय ग¥यो र चितवन गोर्खामा गाभियो तर अल्पायुमै प्रतापसिंह शाहको अक्टुबर १७७७ र्इं मा देवघाटमा मृत्यु भयो ।

प्रतापसिंह शाहको मृत्यु हुँदा उनका छोरा रणबहादुर शाह केवल तीन वर्षका थिए । दाजुको मृत्युको खबर सुनेपछि बहादुर शाह काठमाडौं फर्किए । अनि आफ्ना भतिजा बालक रणबहादुर शाहलाई राजगद्दीमा राखेर आफू उनका नायब भई राजकाज गर्न थाले ।

आफ्ना देवर बहादुर शाहले आफ्नो हक खोसेको टुलुटुलु हेरिरहने स्वभाव रणबहादुर शाहकी आमा राजेन्द्र लक्ष्मीको थिएन । उनले मौका पाउनासाथ बहादुर शाहलाई कैद गरी आफैं नायब भई शासन चलाउन थालिन् । राजगुरु गजराज मिश्रको प्रयासले थुनाबाट मक्त हुनासाथै राजेन्द्रलक्ष्मीलाई कैद गरी बहादुर शाहले रणबहादुर शाहको नायबी पुनः सम्हाले तर राजेन्द्रलक्ष्मी चाँडै नै बहादुर शाहको कैदबाट मक्त भएकीले बहादुर शाह अब आफ्नो केही नलाग्ने देखेर पुनः बेतिया हुँदै पटना गई बस्न थाले ।

देवर भाउजूबीचको यस वैमनस्यताको फाइदा हरकुमारदत्त सेनले उठाए । उनले पर्वत र पाल्पाको सहायताले तनहुँको पहाडी भागमा पुनः अधिकार जमाए । यसले गर्दा चौबिसी राजाहरूको साहस बढेर गयो । पर्वत, लमजुङ, तनहुँ आदि चौबिसी राजाहरूको साहस बढेर गयो । पर्वत, लमजुङ, तनहुँ आदि चौबिसी राजाहरू एक गठ भई उनीहरूले संयुक्त रुपमा सन् १७८१ को डिसेम्बरमा गोरखामाथि आक्रमण गरे । चेपेपारि चिप्लेटीमा भएको यस युद्धमा अमरसिंह थापाले चौबिसीहरूलाई हराए । यसपछि सिह«ानचोकमा पुगेको चौबिसी फौज त्यहाँ पनि अमरसिंहसँग परास्त भयो । यो पराजयको बदला लिँदै चौबिसी फौजले कास्कीमाथि अधिकार जमायो । यसैबीच अमरसिंह थापा र पर्वत तथा लमजुङको संयुक्त शक्तिबीच तार्कुघाटमा रणसंग्राम मच्चियो ।

यस युद्धमा पनि अमरसिंह थापा नै विजयी भए । लमजुङे फौजका सरदार भक्तिथापा र पर्वते सरदार बलिभञ्जन नेपाली फौजको कैदमा परे । यी दुईमध्ये बलिभञ्जन कैदमै मरे भने भक्ति थापाले नेपालको पगरी स्वीकार गरेकाले उनी नेपाली फौजका सरदारमा नियक्त भए । यसरी कास्की नेपालमा समाहित भयो । कास्की नेपालमा समाहित भएपछि नेपाली फौज लमजुङ प्रवेश ग¥यो । लमजुङे राजा वीरमर्दन शाह पहिले आफ्नो शरणमा रहेका हरकुमार दत्त सेनलाई साथै लिई हरकुमार दत्त सेनको रामनगरको जमिनदारीमा पुगे । यसरी ई. १७८२ मा लमजुङ र तनहुँ नेपालमा एकीकृत भए ।

यसैबीच पर्वत ठूलो तयारीका साथ लम्जुङमाथि आक्रमण गर्न आयो । नेपाली फौज र पर्वतको मातहत आएको चौबिसी पल्टनबीच मकैडाँडामा लडाइँ हुँदा चौबिसी फौज परास्त भई लमजुङको इलाका छाडेर कुलेलम ठोक्यो । नेपाली फौजले यही बेला सतहुँ भीरकोट र रिसिङलाई पनि नेपालमा मिलायो । आफ्नो हातमा नायबी अधिकार आउनासाथ राजेन्द्रलक्ष्मीले ठूलो विजय–योजना बनाई एकीकरण अभियानलाई अगाडि बढाएकी थिइन् । नभन्दै उनले नेपालको पश्चिमी सरहद निकै विस्तृत पारिन् पनि, तर यो विजय योजना पूर्ण हुन नपाउ“दै इस्वी १७८६ को सुरुतिरै महारानी राजेन्द्रलक्ष्मीको देहान्त भयो ।

भाउजू राजेन्द्रलक्ष्मीको देहान्तपछि बहादुर शाहले पुनः रणबहादुर शाहको नायबी पाए । उनले तुरुन्तै राजेन्द्रलक्ष्मीले थालेको पश्चिम विजय–अभियानलाई निरन्तरता दिए । बहादुर शाहले पाल्पाली राजा महादत्त सेनकी छोरीसित विवाह गरी बृद्धिमत्तापूर्वक पाल्पालाई आफ्नो सहायक बनाई बाँकी रहेका चौबिसी राज्य एकीकरण गर्न दामोदर पाँडेको नेतृत्वमा एक फौज पठाए । पाल्पा र नेपालको संयुक्त फौजले पश्चिम ४ नम्बर नुवाकोट, अर्घाकोट, गुल्मी, इस्मालाई नेपालमा मिलायो । अमरसिंह थापाको नेतृत्वमा रहेको नेपाली फौजले बाग्लुङलाई आफ्नो अधिकारमा लियो । यसरी चारैतिरबाट घेरिएपछि पर्वतले पनि नेपाली फौजसमक्ष आत्मसमर्पण ग¥यो । यसपछि नेपाली फौजको एक दल भीरकोटतिर लाग्यो । प्यूठानले युद्ध नै नगरी नेपाली फौजसमक्ष आत्मसमर्पण ग¥यो भने यो फौजले सजिलै दाङ पनि सर ग¥यो । नेपाली फौजको अर्काे दलको नेतृत्व अमरसिंह थापाले गरेका थिए । उनी बाग्लुङबाट मुसीकोट पुगे । जाजरकोटले युद्ध नगरी सन्धि गरेकाले अमरसिंह थापा त्यहाँबाट फर्किएर आए । पाल्पा र नेपालबीचको आपसी सहायताको सन्धिअनुसार विजित प्रदेशमध्ये पाल्पालाई गुल्मी, अर्घा र खाँची दिइयो भने बाँकी सबै प्रदेश नेपालमा गाभिए ।

यतिमै यो विजय अभियान रोकिएन । अमरसिंह थापाको नेतृत्वमा एक फौज कर्णाली क्षेत्रतिर पठाइयो । यो फौज भेरी नदी तरी सुर्खेतमा दाखिल भयो र त्यहाँ दैलेखलाई पराजित ग¥यो । यो फौज भेरी नदी तरी सुर्खेतमा दाखिल भयो र त्यहाँ दैलेखलाई पराजित ग¥यो । अमरसिंह थापा यसपछि कर्णाली तरी अछाम र डोटीलाई नेपालमा मिलाउन समर्थ भए । यसरी सन् १७९० को सुरुतिर नेपालको पश्चिमी सिमाना महाकाली नदीसम्म पुग्यो । यसको लगत्तै नेपाली फौज महाकालीपारि अलमोडा पुग्यो । अलकनन्दावारिसम्म दखल गर्न कुनै युद्ध गर्नु परेन । अलकनन्दापारि गढवालका राजासँग युद्ध चल्दाचल्दै चीनले नेपालमाथि अक्रमण गरेको खबर पाएपछि नेपाली फौज ई. १७९१ मा गढवालसित सन्धि गरी काठमाडौं फक्र्याे ।

भोट (तिब्बत) र नेपालबीच नयाँ र पुराना नेपाली मुद्राको मूल्यको अन्तर र तिनको सट्टाको दर निर्धारित गर्ने विषयमा भएको मतान्तरले शत्रुताको रुप लिँदै १७८९ ई. मा दुई मुलुकबीच युद्ध हुन पुग्यो । यस युद्धमा नेपालले भोटका खिरु, कुती, लोङ्गाझुङ्गा र फलाक इलाकाहरू कब्जा गरेको थियो । नेपालले भोट उपर आक्रमण गरेको सूचना पाई चीनले सरदार चान्चुको नेतृत्वमा तीनजना अम्बा (सामान्य अधिकृत) सहित एक ठूलो फौज ल्हासा पठायो चान्चुले वास्तविक वस्तुस्थिति बुझेपछि भोटका पन्ध्र–सोह«जनाको प्रतिनिधि मण्डल र नेपाली प्रतिनिधि मण्डलबीच छलफल हुँदा यस झगडामा सम्पूर्ण रुपमा भोट नै दोषी सावित भयो र उसले नेपाललाई हर्जाना तिर्नुपर्ने देखियो ।

यस सम्बन्धमा भोटका समक्ष केही सर्तहरू राखिए । भोटको अनुरोधमा नेपालीहरूले केवल पचास लाख रुपियाँमै सन्तुष्ट हुनु पर्ने, भोटले उक्त रकम तिरेको खण्डमा नेपालीहरू आफूले दखल गरेका क्षेत्रमाथिको दाबी त्याग्ने तर रकम नतिरे हिमालयको मुख्य श्रृंखलाभन्दा दक्षिणका भोटका इलाका नेपालकै कब्जामा रहने र यी कुनै पनि कुरा नमान्ने भए ल्हासा दरबारले नेपाललाई प्रति वर्ष एक लाख रुपैयाँ दिनु पर्ने भन्ने सर्तहरू रहेकोमा भोटले कुनै पनि सर्त मञ्जुर गरेन त चान्चुका प्रतिनिधिहरूको दबाबका कारण भोट प्रतिवर्ष पचास हजार रुपैयाँ नेपाललाई बुझाउन मञ्जुर हुन बाध्य भयो ।

बाध्यतावश उक्त निर्णयमा हस्ताक्षर गरे पनि भोटलाई यो निर्णयमा कदापि चित्त बुझेको थिएन त्यसैले सन्धि अनुसार तिरेको पहिलो वर्षको पचास हजार रुपैयाँपछि नेपालले भोटबाट कुनै रकम पाएन । फलस्वरुप अवसर पर्खिरहेको नेपालले भोटमाथि आक्रमण गर्ने निहुँ पायो र बहादुर शाहले सन् १७९१ मा भोटमाथि आक्रमण गर्न एक फौज पठाए । उक्त फौज हिमालय शृंखला पार गरी भोटमा उपस्थित हुन पुग्यो । नेपाली फौजल विगर्चाका प्रसिद्ध विहारहरू लुटी प्रशस्त सम्पत्ति हात पा¥यो । यसबाट भोट यति आतङ्कित भयो कि दलाइ लामा स्वयम् ल्हासाबाट भाग्न तयार भएका थिए । चीनले अविलम्ब सहयोग गर्ने आश्वासन दिएकाले उनी केही सन्तोषको सास फेरेर बसे ।

ई. १७९२ को जनवरीमा भोटको सहयोगका निम्ति चिनिया“ फौज आइपुग्यो । दिगार्चाबाट लुटेको सम्पत्ति फिर्ता गर्ने र कैद गरिएका तिब्बती अधिकारी र नेपालमा शरण लिई बसेका सुमुर लामालाई बुझाउने भोटको मागका विषयमा नेपालले कुनै चासो नदेखाएकाले भोटको सहायतार्थ आएको चिनियाँ फौज नेपालतिर बढ्यो । यो चिनियाँ फौज ७० हजारको संख्यामा रहेको कुरा इतिहासमा लेखिएको भए पनि एकजना चिनियाँ इतिहासकारका अनुसार यसमा केवल १० हजार जना मात्र थिए । जे होस् यो फौज निरन्तर काठमाडौंतिर बढ्ने क्रममा त्रिशूलीको किनारै किनार नुवाकोटसम्म आइपुग्यो ।

घैबुङ इलाकामा भएको युद्धमा दुबैतर्फ गरी चार हजार सैनिक हताहत भए । चिनियाँहरू अझ अगाडि बढ्दै पाँचमाने भञ्ज्याङ आइ पुगे । भञ्ज्याङ काटी उक्त चिचियाँ फौज जितपुर फेदीसम्म आइपुग्यो । यस हिसाबले चाँडै नै चिनियाँ फौजले काठमाडौं घेर्ने निश्चित थियो । यस प्रत्युत्पन्न अवस्थामा नेपाली फौजले बडो बृद्धिमानी देखायो । १९ सेप्टेम्बर १७९२ को रात नेपालीहरूले चिनियाँ फौज बसेका तीनैतिरका जंगलका रुख र बुटाहरूमा बलेका राँकाहरू बाँधिदिए । घरेलु जनावरका सिङमा पनि यसैगरि राँकाहरू बालियो । चिनियाँहरूले यसलाई आफू तीन तिरबाट असंख्य शत्रुद्धारा घेरिएको सम्झेर भागाभाग गर्दै पछि हटे । यस घटनापछि दुवै पक्ष युद्धविराम गर्न सहमत भए ।

रणबहादुर शाह वयस्क भइसकेपछि उनी बहादुर शाहको नायबीमा बस्न तयार भएनन् । त्यसैले एक दिन एक्कासी रणबहादुर शाहले बहादुर शाहसित उनको नायबी कालको हिसाब मागी उनलाई कैद गरे । दरबारका शक्तिशाली भारदारहरूको दाउपेचमा परी ई. १७९५ मा कैदमै बहादुर शाहको हत्या गरियो । विशाल नेपालका महान् स्वप्नद्रष्टा र एकीकरण अभियानका एक संघर्षशील तर अथक योद्ध नायकको दुःखद अवसान भयो ।

रणबहादुर शाहको विलासिताको अनेक कथा छन् । यिनका पाँचवटी रानी भएको उल्लेख पाइन्छ । प्रथम रानी राजराजेश्वरीबाट कुनै सन्तान भएनन् । दोस्री रानी सुवर्णप्रभाबाट रणोद्यत शाह नामका युवराज जन्मेका थिए तर एकजना विधवा तिरहुत ब्राह्मणी कान्तमतीसँग तेस्रो विवाह गरी उनीबाट इस्वी १७९५ मा जन्मेका गीर्वाणयुद्ध विक्रम शाहलाई कान्तमतीको प्रेममा पागल भएका रणबहादुर शाहले ई. १७९७ मा राजसिंहासनको उत्तराधिकारी घोषित गरे । जेठी रानी राजराजेश्वरी गीर्वाणकी नायव भइन् र रणबहादुर सन्यासी भए ।

कान्तमती शीतला रोगबाट ई. १७९९ मा दिवङ्गत भएपछि प्रेमविह्वल रणबहादुर शाह बहुलाएझै“ जथाभावी गर्न थाले । आफूलाई सन्यासी घोषित गरे पनि उनले राजकाजमा पनि हस्तक्षेप गर्न कुनै कसर बाँकी राखेनन् तर दामोदर पाँडेसँग आखिर केही नलागेपछि सन् १८०१ मा उनी काशीतर्फ पलायन भए । तर उनी काशी प्रवासबाट केही वर्षमै काठमाण्डु फर्कन समर्थ भए । उनी काठमाण्डु फर्किएकै दिन दामोदर पाँडे र उनका जेठा छोरा समातिए र लुमडीको थान अगाडि मारिए । रणबहादुर शाह गीर्वाणयुद्ध विक्रम शाहका नायब भई पुनः राजकाज चलाउन थाले । पाँडेको हत्यापछि भमिसेन थापा प्रधानमन्त्री भए । रणबहादुर काशीबाट फर्केलगत्तै अमरसिंह थापाको नेतृत्वमा पश्चिम विजयका निम्ति एक फौज पठाए ।

पाल्पाली राजा पृथ्वीपाल सेनलाई उनकी बहिनीसित विवाह गर्ने निहुँ पारी रणबहादुर शाहले पुनः काठमाडौं बोलाई उनलाई यहीं नजरबन्द गरिदिए । चौतरिया शेरबहादुर शाह र रणबहादुर शाह सौतेला भाइहरू थिए । युद्ध क्षेत्रमा जाने विवादमा ई. १८०३ को अप्रिल (वैशाख शुक्ल १८६३)मा शेरबहादुर शाहले रणबहादुर शाहलाई तरबार प्रहार गरी मरणासन्न तुल्याएपछि तत्कालै तरबार प्रहार गरी बालनरसिंह कुँवरले शेरबहादुर शाहलाई समाप्त गरे ।

रणबहादुर शाहको मृत्युपछि भीमसेन थापाले आफ्ना समर्थक सैनिकहरूद्वारा राज्यका शक्तिशाली पचासभन्दा बढी आफ्ना विरोधीलाई एक एक गरी सखाप पारे । त्यसै दिन पाल्पाली राजा पृथ्वीपालसेन पनि आफ्ना सबै सैनिक अधिकृतहरूका साथ मारिए । भीमसेन थापाले तुरुन्तै आफ्ना पिता अमरसिंह थापालाई पाल्पा कब्जा गर्न पठाए । यसरी एकीकृत हुन बाँकी रहेको पाल्पा पनि नेपालमा मिलाइयो । तत्कालै भीमसेन थापाले चौतरिया बम शाहलाई कुमाउ“का हाकिम नियुक्त गरी पठाए ।

पृथ्वीपाल सेनको हत्यापछि पाल्पा नेपाल अधिराज्यमा गाभिनुभन्दा पहिले नै अमरसिंह थापा बाँकी रहेको पश्चिम विजय अभियान पूर्ण गर्न नेपालको अधिकारमा आइसकेको अलमोडा इलाकामा पुगिसकेका थिए । उनको नेतृत्वमा रहेको फौजले सन् १८०४ मा गढवालको राजधानी श्रीनगरमा आक्रमण ग¥यो । गढवालका राजा प्रद्युम्न शाह यस युद्धमा पराजित भएपछि गढवालमा पनि नेपालको प्रभुत्व कायम भयो । गढवाल विजयको वर्षदिनभित्र नेपाली सेनाले गढवालको उत्तर–पश्चिमका स–साना रजौटाहरूलाई आफ्नो राज्यमा मिलाए । यसरी सन् १८०५ को प्रारम्भतिर नेपालको पश्चिमी सीमा सतलज नदीसम्म पुग्यो ।

पूर्वी सिमानाको हकमा सन् १७८४ मा नेपालको सिमाना मेची र टिस्टा नदीका बीच अवस्थित दार्जीलिङको सम्पूर्ण तल्लो भूभागसम्म विस्तारित भएको थियो । मेची नदीदेखि पूर्वतर्फको पहाड र पर्वत शृङ्खलाको सम्पूर्ण भूभाग पनि नेपालका एकिकृत भयो । यसपछि नेपाली फौज अझै पूर्वाेत्तरतर्फ लाग्दै सन् १७८९ मा सिक्किममा प्रविष्ट भयो । टिस्टा नदीदेखि पश्चिमतर्फको सबै भूभाग नेपालमा मिलाइयो ।

राज्यविस्तारको लालसा अझै मेटिएको थिएन । अझ यसो भनौं, नेपाल एकीकरण अभियान अmभै पूर्ण भइसकेको थिएन । अमरसिंह थापा ई.सं. १८०५ को अन्त्यतिर आफ्नो फौजसहित काँगडा राज्यमा प्रवेश गरे । त्यहाँका राजा संसार चन्द युद्धमा हारी काँगडाको दुर्गभित्र लुक्न पुगे । यस युद्धमा लड्दालड्दै नयनसिंह थापाले प्राण त्यागे । संसार चन्द सुर्जनपुराको किसानको छद्मभेषमा सपरिवार किल्लाबाट भागेपछि उनी पंजाबका राजा रणजित सिंहसँग मिल्न पुगे । कांगडा दुर्ग रणजित सिंहलाई दिने सर्तमा संसारचन्द मन्जुर भएपछि सन् १९०९ को मे महिनामा सिख फौजले नेपाली फौजमाथि आक्रमण ग¥यो । दुवै पक्षबीच घमासान युद्ध भयो । २४ अगस्ट १८०९ मा संसारचन्द र रणजित सिंहको संयुक्त फौजसित नेपाली फौज परास्त भएकाले अमरसिंह थापा सो दुर्ग छोडी सतलजवारि आई त्यहाँको शासन व्यवस्था संचालन गर्न थाले । यसरी सन् १८०९ सम्ममा नेपालको सिमाना पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म कायम भएको थियो ।

नेपाल–अंग्रेज युद्ध :
अंग्रेजहरू नेपाल अधिराज्यसँग वाणिज्य सन्धि गरी भोटसम्म व्यापार बढाउन चाहन्थे तर नेपालको नीति अंगे्रजविरोधी थियो । ब्रिटिश–इन्डियाबाट भोट पस्ने मार्गमा नेपालको कब्जा भएको हुँदा नेपालसँग लड्ने उपाय मात्र उनीहरूले बाँकी देखे । पश्चिमतर्फका देहरादुन, कुमाउँ, गढवाल, शिमला, नैनीताल र पूर्वतर्फका दार्जीलिङ, सिक्किम आदि स्थान चिसो हावापानीयुक्त भएकाले उनीहरू यी प्रदेश कुनै पनि हालतमा नेपालबाट हात पार्न चाहन्थे । यसका निम्ति उनीहरूले नेपाल अधिकृत बुटवल र स्युराजको विषयलाई झगडाको बिउ बनाउन खोजे ।

सीमा सन्धिको कुरा गर्दा ई.सं. १८०१ मा नेपाल र इस्ट–इन्डियाबीच भएको सन्धिको उल्लेख गर्नु प्रासङ्गिक हुने छ (अनुसूची : १) । यस तेह्र सूत्रीय सन्धिको पाँचौं धारामा सीमा विवादको समाधानको प्रावधानबारे उल्लेख गरिएको छ । तर अंग्रेजहरूले यसको बेवास्ता गर्दै सीमा सम्बन्धी निहुँ झिकेर लडाई गर्ने सुर कसे । उनीहरूले २५ दिनभित्र उत्तर पाउने गरी बुटवल र स्युराज छाडिदिने विषयमा नेपालसँग पत्राचार गरे । नेपालले जवालले जवाफ दिनु
पर्ने अन्तिम म्याद बित्नासाथ अङ्ग्रेजी फौज बुटवलतर्फ रवाना भयो ।

नेपाली फौजले कुनै मुकाविला गरेन तर सो पल्टन फर्कनासाथ २९ मे १८१४ मा नेपाली फौजले आक्रमण गरी ती दुवै भागमा आफ्नो अधिकार पुनः कायम ग¥यो । यसैलाई निहुँ बनाएर १ नोबेम्बर १८१४ ई. का दिन अंग्रेज पक्षले नेपालसित युद्धको घोषण ग¥यो तर अंग्रेज पक्ष त्यसभन्दा पहिले नै २२ अक्टुबरकै दिन देहरादुनको इलाकामा घुसिसकेको थियो । यसरी युद्धनीतिका विपरीत आफैले दिएको आवधि समाप्त हुनुभन्दा पहिले नै अङ्ग्रेजहरुले नेपाल अधिराज्यका सीमाक्षेत्रका पाँच स्थानमा आफ्ना सैनिक छाउनी खडा गरे । क्याप्टेन लेटर नेपाल अधिराज्यको पूर्वी भूभाग सिक्कम तथा दार्जीलिङमाथि कब्जा जमाउन खटिए भने मेजर जनरल अक्टर लोनी लुधियानामा बसेर नेपालको तात्कालिक सुदूर पश्चिमको भूभागमाथि आक्रमण गर्ने तयारी गरिरहेका थिए ।

मेजर जनरल जिलेस्पी नेपाल अधिराज्य अन्तर्गतको भूभाग देहरादून, नाहान, गढवाल, श्रीनगर आदि इलाकामाथि निसाना साधिरहेका थिए । मेजर जनरल मार्ले मकवानपुरको बाटो राजधानी काठमाडौ“माथि आक्रमण गर्न अर्‍हाइएका थिए । त्यस्तै क्याप्टेन लेटरलाई कोशीदेखि टिस्टासम्मको सीमा हेर्न थप जिम्मेवारी दिइएको थियो । अङ्ग्रेज पक्षबाट करिव ४५ हजारको सैन्यबल र त्रियासी ओटा तोप युद्धभूमिमा तैनाथ गरिएका थिए । नेपालको सैन्यशक्ति त्यसको आधा पनि थिएन, तैपनि युद्धको पहिलो वर्ष अङ्ग्रेजहरुले सोचे जति सफलता पाएनन् ।

नेपाली फैजभन्दा अधिक संख्या र आधुनिक हातहतियारले सुसज्जित अङ्ग्रेजी फौजसँग नेपाली पक्षले जुन रणकौशल देखायो । त्यसलाई शत्रुपक्षले पनि उदाहरणीय ठानेको पाइन्छ । तर १८१५ मार्चदेखि भने उनीहरू पूरा तागत र पर्याप्त सामग्रीका साथ लडेका हुँदा अल्पसंख्यक नेपाली फौज पछि हट्न बाध्य भयो । उक्त घमासान युद्धमा १८१५ अप्रिल २३ का दिन हस्तिदल शाहीले वीरगति प्राप्त गरे । मलाउँको किल्लाको रक्षाका निम्ति तैनाथ भक्ति थापा पनि देउथलको युद्धमा लड्दा लड्दै छातीमा गोलीलागी दिवंगत भए ।

अमरसिहं–अक्टरलोनी समझदारी:
अलमोडाको पतन र बम शाहको आत्मसमर्पणको सूचना पाएपछि ८ मे १८१५ का दिन अमरसिंह थापाले अक्टरलोनीलाई एक पत्र लेखी उनको इच्छाका विषयमा सोधे तर अक्टरलोनीले युद्धको नियमानुसार पहिले अमरसिंह थापाले नै आफ्नो विचार स्पष्ट गर्नुपर्छ भनी प्रत्युत्तर दिएका हुँदा ११ मे १८१५ मा रामदासले अक्टरलोनीलाई अमरसिंह थापा सन्धि गर्न चाहनुहुन्छ भन्ने सूचना दिए । यसरी अमरसिंह थापाले अक्टरलोनीसँग सन्धि गर्न सहमति व्यक्त गरेपछि पश्चिमतर्फ युद्धविराम भयो ।

अंग्रेज पक्षबाट सहमित–पत्रका बुँदाहरू तयार पारिए । फलस्वरुप १५ मेका दिन पश्चिमका कमान्डर अमरसिंह थापाले अक्टरलोनीसँग अनिष्टकारी समझदारी–पत्र(अनुसूची : २) मा हस्ताक्षर गरिदिए । महाकालीपारि सतलजसम्मको पहाडी र तराई भूभाग इस्ट इन्डिया कम्पनीको अधीन हुने भयो । सुगौली सन्धिले महाकालीपारि कुन कुन भूभाग कम्पनीलाई दिनु पर्ने भन्ने सम्बन्धमा कुनै किटानी उल्लेख गरिएको छैन तर अमरसिंह थापा र अक्टरलोनीका बीच भएको उक्त समझारीपत्रमा तात्कालीन नेपाल अधिकृत भूभागका बरेमा स्पष्ट उल्लेख गरिएको छ ।

१८१५ को १५ मेका दिन भएको उक्त समझदारीपत्रमा ९ धाराहरू छन् । ती नौ धाराहरमध्ये पहिलो, दोरो, तेस्रो, छैठौ, सातौ र आठौ धारामा नेपालले महाकाली नदीदेखी पश्चिमतर्फ गुमाउनुपरेका भू–भागको नामाङ्कन गरिएको छ । उक्त धाराहरूमा राजगढ, मलाउ“, जैथक, हरिद्वार, नजीवाबाद, भिली, आर्किफ, सबाथु, जगतगढ, वाइन, कुमाउँ, गढवाल आदिको उल्लेख पाइन्छ । यमुना र सतलजका बीचका किल्ला एवं गढको पनि उक्त सन्धिमा उल्लेख गरिएको छ । यस समझदारीले सुगौली सन्धि हुनुपूर्व नेपालको पश्चिमी सिमाना सतलज नदीसम्म कायम थियो भन्ने कुराको पृष्टि गरेको छ ।

सुगौली सन्धि :
अमरसिंह थापा र अक्टरलोनीबीच भएको उक्त समझदारीको करिब ६ महिनापछि सन. १८१५ डिसेम्बर २ मा मात्र सुगौली सन्धि (अनुसूची : ३) प्रस्तावित गरियो । सुगौली सन्धिका बुँदाहरू अंग्रेजहरूले तयार गरे, जसमा नेपालको सीमा पूर्वमा मेची नदी र पश्चिममा महाकाली नदी कायम गरियो । कोसी र कालीबीचको समस्त तल्लो भूमि अर्थात् तराईजति सबै इस्ट इन्डिया कम्पनीलाई सुम्पिनु पर्ने भयो । मेचीपारि टिस्टासम्मको समस्त पहाडी प्रदेश र तराई खण्ड (अहिले त्यो भूभाग बंगलादेशसँग जोडिएको छ) तथा महाकालीपारि सतलजसम्मको समस्त पहाडी प्रदेश र तराईखण्ड पनि अंग्रेजको अधीन हुन पुग्यो ।

सन्धिमा असहमति:
सुगौली सन्धिमा विवादमा नपरेका नेपाल अधिकृत भूभागहरू पनि कम्पनी सरकारलाई सुम्पने प्रावधान भएकाले नेपालले यस सन्धिमा उल्लिखित केही अभिधाराप्रति आफ्नो असहमति र असन्तुष्टि प्रकट गरेको हुँदा नेपाल र कम्पनी सरकारका बीच केही तराई फिर्ता गर्ने प्रयोजनका निम्ति अर्काे आंशिक सन्धि (अनुसूची : ४) भयो । ८ डिसेम्बर १८१६ मा भएको त्यो पूरक सन्धिबाट कोसी र राप्तीका बीचको तराई नेपाललाई फिर्ता भयो तर मूल सन्धिको धारा ४ को प्रावधानलाई खारेज गरियो ।
यसरी प्रस्तावित सुगौली सन्धिको तेस्रो धारामा उल्लेख भए अनुसार सदाका निम्ति ब्रिटिश सरकारालई छाडेको भनिएको भूभागमध्ये १ वर्षभित्रमै कोसी र राप्तीका बीचको तराई नेपालले फिर्ता पायो ।

पश्चिम तराई फिर्ता :
सन् १९५७ मा बंगालका सैनिकहरूबाट लखनउमा भएको ब्रिटिशहरू विरुद्धको विद्रोह (जसलाई स्वतन्त्रता–संग्राम पनि भनिन्छ) लाई दबाउन सैनिक सहायता गरी उक्त विद्रोहलाई सफलतापूर्वक दमन गरेबापत खुसी भई अंग्रेजले सन् १८३० नोबेम्बर १ तारिखमा भएको त्रिसूत्रीयसन्धि (अनुसूची : ५) अनुसार नेपाललाई काली र राप्ती नदीबीचको भूभाग जसलाई नयाँ मुलुक पनि भनिन्छ । फिर्ता गरिदियो । नेपालले यसपछि पनि पहिले गुमेको भूभाग प्राप्त गर्ने कोसिस गरे पनि सन् १८६० को सन्धिबाट जुन र जति भूभाग उसले प्राप्त गर्‍यो त्यो नै अन्तिम किस्ता हुन गयो ।

नेपाली भूमिको अंग्रेजी वितरण :
अंग्रेजहरूले नेपालसँग युद्धको घोषणा गर्नुपूर्व नेपालले जितेका महाकालीपारिका भूभागका पराजित र असन्तुष्ट राजा रजौटाहरूलाई युद्धमा सघाएमा पुनः राजा बनाइदिने प्रलोभन दिएका थिए । यस्तै प्रलोभन सिक्किमका राजालाई पनि दिइएको थियो । सिक्किम र दार्जीलिङको मोर्चामा नेपालले नै विजयश्री कायम राखेको भए पनि सन्धिमा छल गरी मेची र टिस्टा बीचको पहाडी र तराई दुवै क्षेत्रको भूमि लिन अङ्ग्रेज सफल भयो । नेपाललाई अघि बढ्न नदिने उद्देश्यले सन् १८१७ फेब्रुअरी १० मा भएको तितालिया सन्धि (अनुसूची : ७) अनुसार कम्पनी सरकारले मेची र टिस्टाबीचका पहाडी भूभाग सिक्किमलाई प्रदान गर्‍यो । यसै गरी सन् १८१७ अप्रिल ७ को एक सनद अनुसार इस्ट इन्डिया कम्पनीले मेची नदीदेखि पूर्व र महानदीदेखि पश्चिमका बीचको सम्पूर्ण तराई सिक्किमलाई दियो ।

सन् १८१५ डिसेम्बर २ मा प्रस्तावित सुगौली सन्धिप्रति नेपालले असन्तुष्टि प्रकट गरेपछि अंग्रेज पक्षले नेपालसँग युद्धको दोस्रो अध्याय सुरु गर्ने निर्णय गर्‍यो तर त्यस बखत उसको आर्थिक अवस्था कमजोर बनेको थियो । त्यसकारण कम्पनी सरकाले अवधका नवाब बजीरसँग पुनः एक करोड थप ऋण लिएको थियो । नेपाललाई कोसीदेखि गण्डकीसम्मको तराई फिर्ता गरेपछि बाँकी रहेको तराईको केही भाग युद्ध संचालनका निमित्त लिएको ऋणको बदलामा तिनै नवाब बजीरलाई दिइयो ।

पाउन बाँकी भूभाग :
सुगौली सन्धिमा गुमेका भूभागमध्ये पछिल्लो पटक सन् १८६०मा नयाँ मुलुक प्राप्त गरेपछि पनि नेपालले अझै धेरै भूभाग पाउन बाँकी देखिन्छ । त्यस्ता भूभागमा पूर्वतिर मेची र टिस्टा नदीबीचका दार्जीलिङ, सिलिगुडी, सिक्किम तथा मेची र कोसीका बीचको तराई पर्छन् भने महाकाली र सतलज नदीका बीचका कुमाउ, गढवाल, देहरादुन, नैनीताल, सिमला आदि पर्दछन् ।

सन्धिको शब्दार्थ र भावार्थ :
सुगौली सन्धि अनुसार नेपालले जुन भूमि अंग्रेजलाई सु्म्पेको थियो, त्यो केवल अंग्रेजलाई सुम्पेको हो र अंग्रेजहरूले भारत छाड्ने घोषणा गर्ने बित्तिकै सो भूभाग नेपालको हुन्छ भन्ने मान्यता आत्मपरक होइन नितान्त वस्तुपरक छ । यो मान्यता तर्कपूर्णमात्र होइन सन्धिसम्मत पनि छ । यसको यथातथ्य हेर्न इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीचको सम्बन्धका लिखित दस्तावेज नै पल्टाउन बढी समीचिन हुन्छ ।

संशोधित सुगौली सन्धि (१८१६) देखि सन् १९२३ को सन्धिसम्म मेची र महाकाली नदीमा कुनै नयाँ पानी बगेन । सन् १८६० मा राप्ती र महाकाली नदीमा अलिकति लहर चल्यो । यी दुई नदीका बीचको तराई नेपालले यसैबेला फिर्ता पायो । तर यसदेखि बाहेक १८६० को सन्धिले पनि सुगौली सन्धिलाई सुनिश्चितता नै प्रदान गरेको छ । सन् १९२३ को नेपाल र संयुक्त अधिराज्यबीच भएको सन्धिका धारा १ र २ यस सन्दर्भमा अत्यन्त महत्वपूर्ण छन् । धारा १ अनुसार पहिलोपल्ट ब्रिटेनले नेपालको आन्तरिक र बाह्य दुवै स्वतन्त्रतालाई स्वीकार गर्‍यो जसबाट नेपाल ब्रिटिश संरक्षित राज्य हो भन्ने बाह्य विश्वको भ्रम निवारण भयो । यद्यपि यो दुर्भाग्यको कुरा हो ।

हाम्रो स्वतन्त्रताको पुष्टि त्यसबखतसम्म हामीले गर्न सकेका थिएनौं । (ब्रिटिशहरुले तिमीहरू स्वतन्त्र हौ भनी लिखित गरिदिएपछि हामी स्वतन्त्र ठहरियौं) । धारा २ मा दुवै देश (नेपाल र संयुक्त अधिराज्य बेलायत) बीच भएका पहिलेका सम्पूर्ण सन्धि, सहमति तथा दायित्वपत्रहरू १८१५ को सुगौली सन्धिसमेतलाई वर्तमान सन्धिले परिवर्तन गरेबाहेक पुष्टि गरिएको छ भनिएको छ । यसरी सन् १९२३ सम्म नेपाल बेलायत दुवै मुलुकबाट अनुमोदित हुँदै आएको सुगौली सन्धिलाई सन् १९५० अक्टोबर ३० तारिखमा भएको उक्त सन्धिले रद्द गरेको छ ।

यो दश सूत्रीय प्रस्तावनामा नेपाल र ब्रिटेनका बीचमा सन् १८१५ देखि आनन्दपूर्वक शान्ति, मैत्री र सद्भावको सम्बन्ध कायम रहिआएको ध्यानमा राखी भारत र पाकिस्तानका दुई स्वाधीन राज्यहरूको स्थापना भएको फलस्वरुप काठमाडौंमा सन् १९२३ को डिसेम्बर २१ तारिखका दिन हस्ताक्षर भएको सन्धिपत्र र सोभन्दा अघिका सन्धिपत्रहरूका समेत कोही–कोही दफा युनाइटेड किङ्डम र नेपालका सरकारहरूका बीचमा लागू नरहने विचार गर्दै यति दीर्घकालसम्म परस्परमा रहेको राम्रो सम्बन्धलाई कायम गर्दै औ झन् बलियो पार्नको मनसायले सो अभिप्रायका निम्ति एक नयाँ सन्धिपत्र गर्ने इरादा गरी दशओटा दफाहरूमा लेखिए बमोजिम मन्जुर गरेको व्यहोरा उल्लेख भएको छ ।

पछिल्ला सन्धिमा सुगौली सन्धिको चर्चा:
नेपालसँग भएको १८१६ को संशोधित सुगौली सन्धिपछि ब्रिटेन र सिक्किमबीच सन् १८१७ फेबु्रअरी १० तारिखमा भएको १० सूत्रीय तितालिया सन्धिका नेपालसँग सम्बन्धित प्रथम तीन धारामध्ये पहिलो धारामा सुगौली सन्धिको उल्लेख गरिएको छ । उक्त धारामा सिक्किमलाई ब्रिटेनले दिएको मेची र टिस्टाबीचको पहाडी भू–भाग पहिले गोर्खाका राजाका अधीनमा थियो र सुगौली सन्धि अनुसार इस्ट इन्डिया कम्पनीमा गाभिएको थियो भनिएको छ । यसै गरी सन् १८१७ अप्रिल ६ को सनदमा मेचीदेखि पूर्व र महानदीदेखि पश्चिमको सम्पूर्ण तराई सिक्किमलाई दिँदै उक्त भूभाग पहिले नेपालको राजाका अधिकारमा रहेको र सुगौली सन्धि अनुसार इस्ट इन्डिया कम्पनीलाई सुम्पेको भन्ने उल्लेख छ ।

सुगौली सन्धिसँग सम्बद्ध अन्य पछिल्ला सन्धिहरूमा सन् १८६० को पश्चिम तराई फिर्ता सम्बन्धी सन्धि र सन् १९२३ को नेपाल–ब्रिटेन सन्धि मुख्य छन् । उक्त दुई सन्धिमध्ये सन् १८६० को सन्धिको प्रस्तावना र धारा २ मा काली र राप्तीका बीचको भूभाग सन् १८१५ को डिसेम्बर २ मा भएको सुगौली सन्धि अनुसार नेपालले ब्रिटिश सरकारलाई सुम्पिएको थियो भनी उक्त भूमि पहिले नेपालकै भएको स्वीकार गरिएको छ । यसपछि सन् १९२३ डिसेम्बर २१ तारिखमा भएको नेपाल–ब्रिटेन सन्धिको धारा २ मा पनि सुगौली सन्धिको उल्लेख भएको छ । यो सन्धिको धारा १ अनुसार नेपाल र ब्रिटेन दुवै मुलुकले एक अर्काको आन्तरिक र बाह्य दुवै स्वतन्त्रतालाई पारस्परिक रुपमा स्वीकार गरेका छन् भने धारा २ ले सगौली सन्धिलाई अनुमोदन गरेको छ (अनुसूची : ६) ।

त्यसपछि नेपाल र भारतबीच सन् १९५० जुलाई ३१ मा एउटा सन्धि (अनुसूची : ८) भयो भने नेपाल र ब्रिटेनका बीच सन् १९५० अक्टोबर ३० तारिखका दिन अर्काे सन्धि (अनुसूची : ९) भएको देखिन्छ । यी दुवै सन्धिको धारा ८ मा अर्थगत समानताको संयोग छ । यी प्रत्येक सन्धिका धारा ८ मा नेपाल र ब्रिटिश इन्डिया तथा नेपाल र संयुक्त अधिराज्य बेलायत सरकारबीच पहिले भएका सबै सन्धि सम्झौताहरू रद्द भएको उल्लेख छ । यद्यपि यी दुवै सन्धिका उक्त धारामा सुगौली सन्धिको उल्लेख छैन तर दुवै सन्धिको धारा ८ अनुसार रद्द भएका पहिलेका सन्धिका सन्दर्भमा सुगौली सन्धिको नाम स्वतः आउँछ । यसरी यी दुवै सन्धिमा सुगौली सन्धिको नाम नलिइकन सुगौली सन्धिलाई रद्द गरिएको व्यहोरा उल्लिखित छ ।

सन्धिमा असमानता :
सुगौली सन्धि विविध दृष्टिले असमान छ । यसबाट नेपाललाई बेफाइदा मात्र भयो भने अंग्रेजलाई फाइदै फाइदा भयो । नेपालले कुनै सुविधा र सहुलियत पाएन । पूर्वमा टिस्टा, पश्चिममा सतलज र दक्षिणमा गङ्गासम्म फैलिएको नेपाल सुगौली सन्धिपछि मेची र महाकालीमा सीमित हुन पुग्यो । दक्षिणको तराईको धेरै ठूलो भूभाग अंग्रेजको अधीन हुन गयो । नेपालले अंग्रेजबाट भौगोलिक क्षति मात्र बेहोर्नु परेन कूटनीतिक हस्तक्षेप पनि सहनुपर्‍यो । सुगौली सन्धि हेर्दा त्यसमा द्विपक्षीय सौहार्द र आपसी समझदारीको कुनै संकेतसम्म पाइँदैन । यसमा एकपक्षीय रुपमा नेपालमाथि दायित्व मात्र थोपरिएको छ । त्यसैले सन्धिका ज्ञाताहरू यसलाई सन्धिको संज्ञा नदिए पनि हुन्छ, भन्ने धारण राख्छन् ।

सन्धिको वैधता :
अंग्रेज पक्षले २ डिसेम्बर १८१५ मा सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपालका राजाबाट काउन्टर हस्ताक्षर गरी फिर्ता पठाउन १५ दिनको म्याद दिएकोमा सन्धिको व्यहोरामा चित्त नबुझेकोले उक्त अवधिभित्र नेपाली पक्षबाट हस्ताक्षर गर्ने काम भएन । २ डिसेम्बर १८१५ को ९३ औं दिन अर्थात् ४ मार्च १८१६ मा मात्र चन्द्रशेखर उपाध्यायले सुगौली सन्धिमा हस्ताक्षर गरी अंग्रेजलाई बुझाए । यो सन्धि १८१५ डिसेम्बर २ देखि उता १५ दिनभित्रमा नेपालका राजाबाट अनुमोदन हुनेछ भनिएकोमा न त १५ दिनभित्र अनुमोदन भयो न त नेपाल अधिराज्यका तत्कालीन श्री ५ महाराजधिराज गीर्वाणयुद्धविक्रम शाहबाट नै हस्ताक्षर गरियो । यो सन्धिमा नेपालका तर्फबाट चन्द्रशेखर उपाध्याय र कम्पनी सरकारका तर्फबाट प्यारिस ब्राडशले हस्ताक्षर गरेका छन् भने बेलायतका गभर्नर जनरल अक्टर लोनीले मात्र यसको अनुमोदन गरेकोले नेपालका तत्कालीन श्री ५ महाराजाधिराजको लालमोहर नलागेको अवस्थामा सन्धिको वैधतामाथि स्वतः प्रश्न चिह्न उठ्छ ।

सन्धिको असर :
सुगौली सन्धिअघि नेपालको सिमाना पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म फैलिएको थियो । टिस्टादेखि सतलजसम्मको लम्बाइ ३७७६ किलोमिटर र यसको क्षेत्रफल २,०४,९१७ वर्ग किलोमिटर रहेको थियो । सुगौली सन्धिपछि नेपालको सिमाना मेचीदेखि महाकालीसम्म कायम भयो भने यसको पूर्व पश्चिम लम्बाइ पुगनपुग ८८५ कि.मि र क्षेत्रफल १, ४७, १८१ वर्ग किलोमिटरमा सीमित हुन पुग्यो । यसरी वर्तमान नेपालको झन्डै एकतिहाइ अर्थात् ५७७३६ वर्ग किलोमिटर भूभाग ब्रिटिश इन्डियामा गाभियो । पूर्व र पश्चिम दुवैतिरको भूभाग अंगे्रजको अधिनमा गएपछि नेपालको एकीकरण अभियानमा पूर्ण विराम नै लाग्यो ।

सन्धिमा बलजफ्ती :
सुगौली सन्धि नेपाल–अंग्रेज युद्धमा नेपालको पराजयको परिणामभन्दा अंग्रेजको कुटनीतिक चातुर्यको फल बढी हो जसबाट केवल अंग्रेजलाई उपलब्धि भयो । सुगौली सन्धिमा हस्ताक्षर हुनुभन्दा पूर्व अमरसिंह थापा र अक्टर लोनीबीच १५ मे १८१५ मा भएको सम्झौता र सुगौली सन्धिको ब्यहोरा हेर्ने हो भने सुगौली सन्धि नेपाललाई मात्र एकपछि अर्काे दायित्व थोपरिएको ‘प्रतिबद्धता–पत्र’ जस्तो लाग्दछ । १८१५ मा भएको सम्झौताको आठौं धारामा काजी बख्तवरसिंहको गढवालको क्षेत्र खाली गर्नु पर्नेछ भनिएको छ भने सातौं धारामा काजी अमरसिंह थापाले भिली, सवाथु, जैथक, जगतगढ, रोवाहिन, आदि क्षेत्र खाली गरिदिन आदेश दिने छन् भनिएको छ । त्यस्तै सुगौली सन्धिमा नेपालका राजा स्वयं आफ्ना सम्बन्धी तथा उत्तराधिकारीहरूको तर्फबाट काली नदी पश्चिमको भूभागको सम्पूर्ण अधिकार परित्याग गर्छन् र साथै त्यो इलाका तथा त्यस इलाकाका निवासीहरूसँग कुनै किसिमको सम्बन्ध नराख्न बचनबद्ध हुन्छन् भन्ने उल्लेख गरिएको छ ।

मे १५ को सम्झौता हेर्दा सतलज र महाकाली नदीका बीचका धेरै ठाउँमा नेपाली पक्षले आफ्नो अधिकार कायमै राखेको थियो भन्ने कुरा ती क्षेत्र नेपाली पक्षले खाली गर्नु पर्नेछ भनिएबाट स्पष्ट हुन्छ । अझ युद्ध नै नभएको र हारजीतको प्रश्न नै नउठेको मेची र टिस्टा बीचको समस्त तल्लो भूमि (तराई) र मेचीपूर्वका सम्पूर्ण पहाडी इलाकाहरू पनि अंग्रेजी पक्षलाई छोड्नु पर्ने स्थिति किन आयो ? यो प्रश्नले पटक–पटक नेपाली छातीमा सियोले झैं घोचिरहन्छ । सुगौली सन्धिको धारा ३ उपधारा ४ र ५ मा भनिएको छ — मेची र टिस्टाबीचको समस्त तल्लो भूमि, मेची नदीभन्दा पूर्वतर्फको सम्पूर्ण पहाडी इलाकाहरु, नागरीको दुर्ग र जमिन तथा नगरकोटको घाटी (जसमा मोरङ पहाडतिर जाने बोटो छ), यससँगै सो घाटी र सो नागरीका बीचका सबै भूभाग यस मितिदेखि ४० दिन भित्रमा गोर्खाली सेनाले खाली गरि दिनु पर्नेछ । लडाँइ नै नभई कसले हा¥यो कसले जित्यो भन्ने प्रश्नै उठ्तैन ।

लडाँइमा गोर्खाली सैनिकहरू हारेका भए तिनलाई युद्धबन्दी बनाइन्थ्यो वा उनीहरूलाई त्यो क्षेत्र छाडेर जाने स्वतन्त्रता छ भनिन्थ्यो । मेची र टिस्टाबीचको पहाड र तराई जसमा सिक्किम, दार्जीलिङ र सिलगढी पर्दछन् । यी क्षेत्रहरूमाथि नेपालको अधिकार कायम छँदाछँदै यो भूभाग किन अंग्रेजलाई छोड्नु पर्‍यो ? लडाइँ नै नभएको र हार्दै नहारेको क्षेत्र पनि छाड्नु पर्ने स्थिति आउनु अंग्रेज पक्षको बलजफ्ती सिवाय अरु के हो त ? (खबरडबलीबाट)

प्रतिकृया दिनुहोस

पछिल्ला समाचार

Happy Cheese Balls

लोकप्रिय

  • के छ ‘नथिया’ मा ? यसो भन्छिन  सरस्वती प्रतिक्षा
    लुम्बिनी टाइम्स / आईतवार, ४ चैत ।

    वादी समुदायको कथामा लेखिएको उपन्यास हो ‘नथिया’ । कवितामा दरिलो छाप छोडन् सफल साहित्यकार सरस्वती प्रतिक्षाले यो उपन्यास लेखेकि हुन् । २०३५ साल देखी २०४७ साल सम्मको वादी समुदायको कथा उपन्यसमा समेटिएको प्रतिक्षाले बताईन । यो उपन्यासको लागि उनि दाङ, कैलाली लगाएतका जिल्लाहरुमा रहेका वादी समुदायमा पुगेर अनुसन्धान गरेकि थिईन । गत माघ महिनमा सार्वजनिक भएकोे ‘नथिया’ ले राम्रै बजार पाएको छ भने यो कृतिलाई लिएर चलचित्र निमार्ण गर्ने निर्देशक दिपेन्द्र के खनालले घोषण गरेका छन् । पाठक मञ्चले आयोजना गरेको ‘नथिया’ पुस्तक विमर्श कार्यक्रमको लागि सरस्वति प्रतिक्षा बुटवल आएको बेला गरिएको कुराकानी :

  • पाँच नम्बरमा तीन वटा मेघासिटी : पोखरेल
    लुम्बिनी टाइम्स / २९ पुस ।

    प्रदेशको राजधानी आफ्नो ठाउँमै हुनुपर्ने मागसहित कतिपय स्थानमा आन्दोलन चलेका छन् भने केही नेताहरू पनि त्यसमा सामेल देखिएका छन् । प्रस्तुत छ, यही मौकामा यी र यस्ता विषयलाई केन्द्रमा राखेर एमाले नेता तथा प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीमा प्रस्तावित शंकर पोखरेलसँग दाङको घोराहीमा भेटेर  सी. पी. खनालले गरेको कुराकानी ।