बुटवल- रुपन्देहीको सैनामैनामा घरमै बसेकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । ज्वरो आउने, खोकी लाग्ने जस्ता कोरोना भाइरसको संक्रमणपछि देखिने लक्षण देखिएपछि सैनामैना नगरपालिका वडा नं. १ की ४८ वर्षीया उनको थ्रोट स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो ।
पित्तथैलीमा समस्या रहेको बताउने ती महिलाको रिपोर्ट पोजेटिभ आएको हो । दीर्घरोग रहेकोले स्वास्थ्य जटिल नहोस् भनेर थप उपचारका लागि काठमाडौं पठाइएको सैनामैना नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले जानकारी दिए ।
श्रीमान् र २ छोरा रहेको उनको परिवारलाई घरभित्रै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । सैनामैनामा शुक्रबारसम्मको तथ्यांक अनुसार २४ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित महिलाका परिवारका ३ जना सदस्यको स्वाब लिएर प्रयोगशालामा पठाइएको र महिलासँग सम्पर्कमा आएका अरुको कन्ट्याक्ट ट्रेसिङ थालिएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।