बुटवल–प्रदेश ५ मा लकडाउनको अवधिमा ६४ जनाको गाडी दुर्घटनामा मृत्यु भएको छ । कोभिड–१९ को संक्रमण भित्रिन नदिन गत चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेको थियो ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार प्रदेश ५ का १२ जिल्लामा गत चैत ११ गतेदेखि असार १० गतेसम्मको अवधिमा २ सय ३५ वटा सवारी साधन दुर्घटना हुँदा ६४ जनाको मृत्यु भएको हो ।
ती दुर्घटनामा परी ३ सय १२ जना घाईते भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।
प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार प्रदेश ५ मा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुर्घटनामा परी मृत्यु हुनेको संख्या घटेको छ । चालु आर्थिक वर्षको असारको १० गतेसम्म ४ सय ५९ जनाको गाडी दुर्घटनामा परी मृत्यु भएको छ । अघिल्लो अर्थिक वर्षमा प्रदेश ५ मा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ सय २३ रहेको थियो भने त्यो भन्दा अघिल्लो वर्ष आर्थिक वर्ष ०७४/७५ मा ५ सय २० थियो ।
चालू आर्थिक वर्षमा राजश्व संकलन भने घटेको छ । ट्राफिक प्रहरीले प्रदेश ५ मा लक डाउनको अवधिमा मात्रै ६० लाख १७ हजार ५ सय रुपैंयाँ राजश्व संकलन गरेको जनाएको छ । चालू आर्थिक वर्षको असार १० गतेसम्म ९ करोड ८४ लाख ७३ हजार रुपैंयाँ राजश्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट गत आर्थिक वर्षमा १४ करोड ४१ लाख ९४ हजार ५ सय रुपैंयाँ र आर्थिक वर्ष ०७४/७५ मा १९ करोड ३१ लाख ६ हजार ५ सय रुपैंयाँ राजश्व संकलन भएको थियो ।
अघिल्लो वर्षको तुलनामा राजश्व संकलनमा कमी हुनुमा मुख्यतः लकडाउन नै भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पाण्डेले बताए ।
उनका अनुसार लकडाउन अवधिमा प्रदेश भित्र ५० हजार ८ सय ९९ वटा सवारी साधन भित्रिएका छन् भने ६७ हजार ८ सय २० वटा सवारी साधन प्रदेशबाट बाहिरिएका छन् । त्यस्तै लकडाउनकै अवधिमा प्रदेश ५ मा १ लाख ५६ हजार ३ सय ७८ जना मानिस भित्रिएका थिए भने २ लाख २३ हजार ३ सय ४३ जना मानिस बाहिरिएका छन् ।
त्यस्तैगरी प्रदेश ५ मा दैनिक सरदर १ हजार ३ सय ५ वटा सवारी साधन प्रवेश गर्ने गरेको र १ हजार ६ सय ३२ वटा सवारी साधन बाहिरिने गरेको सूचना अधिकारी पाण्डेले बताए । प्रदेश ५ मा दैनिक सरदर ३ हजार ७ सय जना प्रवेश गर्ने गरेका छन् भने ४ हजार ५ सय जना बाहिरिने गरेको उनले बताए ।