बुटवल–रूपन्देहीमा सार्वजनिक बस सञ्चालनमा आएका छन्। लुम्बिनी मेट्रोसिटी प्रालिले आफ्ना वातावरण अनुकुलित (एसी) बस बुटवल–भैरहवा रूटमा सञ्चालनमा ल्याएको हो। बुटवल भैरहवा सडकमा साढे ३ महिनापछि सार्वजनिक यातायात सञ्चालनमा आएको हो। चैत्र ११ गते लकडाउन हुनुअघि ८ गतेदेखि सार्वजनिक यातायात बन्द भएका थिए ।
प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले गृह मन्त्रालयले छोटो दुरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समन्वय गरी सञ्चालनमा ल्याएको बताए।
अध्यक्ष अधिकारीले भने,–‘सरकारको निर्देशन बमोजिम सुरक्षा अपनाएर हामीले गाडी सञ्चालनमा ल्याएका छौं ।’
समिति मातहतमा ८ वटा एसी बस छन्। ती गाडी एक/एक घण्टामा छुटनेछन्। बुटवल–बर्दघाट रुटमा पनि गाडी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। अब यात्रुले बुटवल भैरहवाको भाडा ९० रुपैयाँ तिर्नुपर्नेछ। सामान्य अवस्थामा यो रुटमा भाडादर ६० रुपैयाँ थियो।
पश्चिम नेपाल, सिद्धार्थ लगायत अन्य कम्पनीका गाडीहरु भने अझै सञ्चालनमा आएका छैनन्। सरकारले तोकेको मापदण्ड अनुरुप नै बसहरु सञ्चालनमा ल्याएको लुम्बिनी मेट्रो सिटी प्रालीका सञ्चालक सदस्य ध्रुब भण्डारीले बताए।
‘सरकारले भनेअनुसार नै ५० प्रतिशत भाडा बढाएका छौं। ४६ वटा सिट मध्ये २५ सिटमा मात्र यात्रु राखेका छौं।’ उनले भने–‘सुरक्षाका सामाग्रीहरु माक्स, सेनेटाइजर, चालक, सहचालकहरुलाई पिपीइ लागायत व्यवस्थापन गरेका छौं।’
यात्रुलाई बसमा चढाउनु अगाडि सेनिटाइजर र थर्मल गर्नले ज्वरो जाँच गर्ने, बसभित्र भौतिक दुरी कायम गरिने, सह–चालकलाई पीपीई लगाएर मात्र काम गर्न लगाउने, यात्रुलाई मास्कको अनिवार्य व्यवस्था लगायतका सुरक्षा प्रबन्ध मिलाएर बस सञ्चालनका ल्याएको उनले बताए।
बर्दघाटसम्म पनि बस सुरु गर्ने योजना भएपनि तत्कालको मुख्यमन्त्री कार्यालयको सल्लाह अनुसार तत्कालको लागि बुटवल भैरहवा मात्र सञ्चालन गरेको सञ्चालक ध्रुव भण्डारीले बताए। ‘बर्दघाट तिर अहिले नजानुस, एक दुइ दिनपछि जानुस भन्नुभयो’–उनले भने।
कोरोना भाइरसको त्रासका बीच गाडी सञ्चालनमा ल्याएको हुनसक्ने भएकोले र त्यसबाट जोखिम हुने डरले यात्रुहरुको संख्या न्यून रहेको छ।
नेपालकै ठूलोमध्येको एक पश्चिम नेपाल बस व्यवसायी प्रालिले तत्काल आफूहरुले गाडी सञ्चालनमा ल्याउन नसक्ने बताएको छ। प्रालिका अध्यक्ष दधिराम खरेलले गाडी मर्मत गर्नुपर्ने भएकोले तत्कालका लागि गुडाउन सम्भव नभएको बताए। प्रालि मातहत २ हजार ४ सय गाडी आवद्ध छन्।