बुटवल-रुपन्देहीमा एकदिनमा ३ जनाले आत्महत्या गरेका छन्। प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका अनुसार बुटवल ४ राममन्दिर लाईनमा एकजना २७ वर्षका युवाले आत्महत्या गरेका छन्। आत्महत्या गर्ने क्रममा बाबुले देखेपछि अस्पताल लगेपनि उनलाई अस्पतालले मृत घोषणा गरेको थियो।
यस्तै तिलोत्तमा नगरपालिका ३ मा छोराको ससुरालीमा लामो समयदेखि उपचारका लागि बस्दै आएका कपिलवस्तु वाणगंगाकी ५२ वर्षीया महिलाले आत्महत्या गरेकी छिन्।
यस्तै गरी सिद्धार्थनगर नगरपालिका ८ कान्छीबजार बस्ने ५५ वर्षीया महिलाले आत्महत्या गरेको प्रहरीले बताएको छ।
पछिल्लो समयमा आत्महत्याका घटना बढ्दै गएको प्रदेश ५ प्रहरी प्रवक्ता राजकुमार वैदवारले जानकारी दिए। उनका अनुसार धेरैजसो घटनाहरु मानसिक तनाबका कारण भएका छन्।
पछिल्लो समय आत्महत्याको दर बढदै गएको छ। लामो समयको कोभिड–१९ (कोरोना भाइरस) को महामारीसँगै भएको ‘लकडाउन’ परेको मानसिक बिचलनको कारण मानिसले बढी आत्महत्या गरेको देखिन्छ।
प्रदेश ५ मा लकडाउन (चैत ११) सुरु भएदेखि जेठ मसान्तसम्म ३१३ जनाले आत्महत्या गरेका छन्। असारमा भएका आत्महत्याले यो संख्या अझै बढेर जान्छ। प्रदेश ५ प्रहरी कार्यालय, दाङका अनुसार चैतमा ६९, वैशाखमा ११७, र जेठमा १२७ वटा आत्महत्याका घटना भएका छन्।
प्रदेश ५ प्रहरी कार्यालय, दाङका प्रवक्ता तथा प्रहरी उपरीक्षक राजकुमार बैदवारले पारिवारिक कलह, गरिबी र मनोसामाजिक समस्याले मानिसहरू आत्महत्या गरेको देखिने बताए। बैदवारले भने, ‘आत्महत्या गर्नेमा बढी युवा छन्। उनीहरु १६ देखि २५ वर्ष उमेर समूहका छन्।’
तीन महिनामा १६ देखि २५ वर्ष उमेर समूहका ९१ जनाले युवाले आफ्नो ज्यान आफै लिएका छन्। १६ वर्ष मुनिका २६ जना, २६ देखि ३५ वर्ष उमेर समूहका ८९ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ५२ जना, ४६ देखि ६० वर्ष उमेर समूहका २८ जना र उमेर नखुलेको १ जना छन्।