बुटवल–रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर ५ को मझगावाँमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति थियो। अन्य सरकारी संयन्त्र र रेडक्रसको टोली पनि त्यहाँ पुगेको थियो।
उद्धार टोलीहरु केही टायरको ट्युब लिएर खोलामा पसे। अर्को समूह डुंगा लिएर खोलामा होमियो। कतिपय उद्धार टोली बाढी र डुबानमा फसेका मान्छे लिएर किनार तिर आइरहेका थिए। उनीहरुलाई स्टे«चरमा राखेर रेडक्रसको प्राथमिक उपचार कक्षमा लगियो। गम्भीर भएकाहरुलाई अस्पताल लैजाने तयारी भैरहेको थियो।
उद्धार भइरहेको ठाउँमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना लगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, स्थानीय पालिकाका प्रमुखहरु समेत पुगेका थिए।
कोटहीमाइको मझगावाँमा भएको यो उद्धार कार्य वास्तविक भने थिएन। कतै बाढी र डुबान भइहालेमा कसरी उद्धार गर्न सकिन्छ भनेर नमूना अभ्यास मात्र गरिएको हो।
रुपन्देहीस्थित नेपाली सेना गरुणदल गणको आयोजनामा अन्य सुरक्षा निकाय र विपत प्रतिकार्यका विभिन्न समूहका प्रतिनिधिलाई सहभागी गराई बाढी र डुबानबाट कसरी जोगाउने भन्ने पूर्वतयारी गरिएको हो। रुपन्देहीमा तिनाउ, दानव लगायतका क्षेत्र बाढीको जोखिम क्षेत्र मानिन्छ भने दक्षिणतर्फ डुबानको जोखिम क्षेत्र हो।