गुल्मी-गुल्मीको रुरु क्षेत्र गाउँपालिका वार्ड नं ५ आँटिपाटामा ढुङ्गाले घर भत्काउदा एकै घरका ४ जनाले ज्यान गएको छ।
शुक्रबार साँझ खाना पकाइरहेको बेला घर माथिबाट आएको ढुङ्गाले राजु माझीको घर भत्काउदा उनकी श्रीमती ३० वर्षकी बिना माझी, १० महिनाकी छोरी बिनिता, ७ वर्षका हेमन्त र १० बर्षका छोरा सागरको ज्यान गएको वडा अध्यक्ष हरि ज्ञवालीले जानकारी दिए।
अहिले उद्दारका लागि इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोली घटना स्थल जाँदै गरेको छ। स्थानीयले अहिले घरमा पुरिएका शबहरु निकालेको वडा अध्यक्ष ज्ञवालीले बताए।
उद्घारमा जुट्न परराष्ट्र मन्त्री र सामाजिक बिकास मन्त्रीको अपिल
परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली र प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गुल्मीमा ढुङ्गा खसेर घर भत्किएपछि ज्यान गुमाउने प्रती दुख ब्यक्त गरेका छन्। मन्त्रीद्वय ज्ञवाली र बरालले टेलीफोन मार्फत र सामाजिक सञ्जालमा मृत्युको खबरले दुखी भएको भन्दै उद्दार कार्यमा जुट्न जनप्रतिनिधि, प्रहरी प्रशासन र युवाहरुलाई आग्रह गरेका हुन्।