भैरहवा–ईदगाह वर्षको दुई पटक मुस्लिम समुदायले नमाज पढ्ने विशेष ठाउँ हो। ईस्लाम धर्मको महान पर्व (ईदुल फित्र) ईद र (ईदुलअजहा) बकरईदको दिन मुस्लिम समुदाय एकत्रित भई नमाज पढ्ने गर्छन्। तर यस वर्ष ईदगाह नै नगई घरघरमै नमाज पढेर बकरइद मनाइएको छ।
हर्षोल्लासका साथ सामुहिक रुपमा नमाज पढ्ने बकरईद पर्व कोरोना संक्रमणको जोखिमले गर्दा ईतिहासमै पहिले पटक सुनसान रुपमा मनाइएको हो।
केही मस्जिदहरुमा सिमित व्यक्ति र मौलानाहरुले सामाजिक दुरी कायम गरी नमाज अदा गरेपनि भैरहवाको बसडिलवा, पिपरहिया सहित रुपन्देहीका दर्जन बढी इदगाह आजको विशेष दिन पनि खाली नै रह्यो।
मदरसा कठौतिया समितिका कोषाध्यक्ष मुसाफिर अलिका अनुसार अहिले सम्मको ईतिहासमा यस्तो अवस्था नआएको बताए।
‘४ दशक भन्दा बढी समयदेखि वर्षेनी सामुहिक नमाज पढ्दै आएका छौ तर यस वर्ष विश्वव्यापी त्रास कोरोनाका कारण सामुहिक नमाज पढ्न सकिएन, सरकारको आदेशको पालना गर्दै ईदको नमाज पनि घरमै पढ्यौ, दोस्रो ठूलो पर्व बकरईदको नमाज पनि घरघरमै पढ्ेर मनाएका छौ’–अलिले लुम्बिनी टाइम्ससँग भने।
इस्लामिक क्यालेन्डर हिजरी सम्बतको १२ औ महिना जिलहिज्जा १० तारिख अर्थात आजबाट यो पर्व ३ दिन सम्म मनाईन्छ। पशुबलीसँग प्रत्यक्ष सरोकार राख्ने बकरईद पर्व इदलुफित्र (ईद) पर्वको ठिक ७० दिनपछि पर्छ। पहिलो दिन नुहाइधुवाइ गरी सुकिला, सफा कपडाका साथमा वासनादार अत्तर लगाई इदगाह (नमाज पढ्न बनाइएको विशेष खुल्ला ठाउँ) वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढ्ने गरे पनि यस वर्ष घरमै पढेर यो पर्व मनाइदै छ।
अल्लाहको आदेशमा इब्राहिमले आफ्ना प्यारो छोरा इस्माइललाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाईन्छ। अल्लाहको आदेशमा इब्राहिमलाई आफ्नो नजिकको प्यारो के हो त्यसको कुर्वानी (बलिदान) दिनु भन्ने थियो। जस अनुसार छोरा इस्माइललाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँले बलिदान दिने क्रममा इब्राहिमको हातबाट अक्स्मात छोराको ठाउँमा दुम्बा (मरुभुमिमा पाइने भेडा) राखीदिएर बलिदान गर्ने भनी आदेश दिए। बलिदान दिदा इब्राहिमको नजरमा उनको छोरा इस्माइलको कुर्बानी भयो भन्ने थियो, तर आखाँ खोल्दा छोरा नभएर एउटा दुम्बालाई कुर्बान गरेका थिए, सोही घटनाको सम्झनामा यो पर्व मनाईन्छ।
बकरइदमा नमाजपछि आ—आफनो घर गई क्षमता र हैसियत हुनेहरुले कुर्बानी (बलि दिने) गरिन्छ। त्यस्तो कुर्बानी चौपायामा मात्रै गर्नुपर्ने हुन्छ। खसी, राँगा, भेंडा, उँट, दुम्बा लगायतका जनावरलाई कुर्बानी दिन योग्य मानिन्छ। ठूला जनावरहरू राँगा, ऊँट लगायतमा ३, ५ र ७ जनासम्मले समूहमा वा एकै व्यक्तिको नाममा कुर्बानी दिने गरिन्छ भने खसी, बाख्रा, दुम्बामा एकजना बराबर एक जनाको नाममा मात्रै कुर्वानी हुन्छ। त्यस्तो जनावर बिरामी, खुट्टा खोच्याउने, कान काटिएको, सिङ भाँचिएको हुनु हुँदैन।
कुर्बानीको मासु तीन भागमा बाँड्नुपर्छ। एक भाग आफ्ना घर परिवारका लागि, अर्को आफन्त तथा इष्टमित्रका लागि र तेस्रो भाग गरिब एवम् असक्षम मानिस लागि छुट्याउनु पर्ने हुन्छ।
यो पर्वमा कोही पनि मासु खानबाट बन्चित नहोस् भन्ने मान्यता रहेको छ। कुर्बानीको मासु तराजुमा तौलन र बिक्री गर्न मिल्दैन। कुर्बानी भएको जनावरको छाला मदरसालाई दिनुपर्ने धार्मिक नियम छ। यस्तै दोश्रो र तेश्रो दिन पनि कुरवानी दिन सकिन्छ।
बकरईदसंग हज (तीर्थाटन) समेत जोडिएको हुन्छ, सक्षम मुस्लिम समूदायले यसपर्वका अवसरमा साउदी अरबको मक्का मदिनामा गएर हज गर्न जाने भएपनि विश्वव्यापी कोरोना माहामारीका कारण हज पनि स्थगित भएको छ।
हजयात्रीहरुले बकरइदको नमाज साउदीमा नै पढ्ने गरेका थिए। साउदी सरकारले संक्रमणलाई मध्यनजर गर्दै यस वर्ष हज यात्रामा पनि ठूलो कटौती गरेको छ। विश्वका विभिन्न राष्ट्रबाट २० लाखको हाराहारीमा मुस्लिमहरु साउदी पुग्ने गरेपनि यसवर्ष सामाजिक दुरी कायम गरी दश हजार जनाले मात्र हज गर्दै छन्।
घरमै नमाज पढ्न आयोगको आग्रह
इद उल अजहा पर्व घरमै नमाज पढेर मनाउन मुस्लिम आयोगले आग्रह गरेको छ। विश्वव्यापी कोभिड–१९ भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आयोगले विज्ञप्ति मार्फत घरमै बसेर नमाज पढ्न मुस्लिम समुदायलाई आग्रह गरेको हो।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ–‘इद उल अजहाको नमाज ५ जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्माहरू, मुफ्तीहरू, नेपाली जामे मस्जिद पञ्च कश्मीरी ताकिया जामा मस्जिदका पदाधिकारीहरूको सल्लाहबमोजिम अन्य सबै आआफ्नो तरिकाअनुसार घरमै बसी नमाज पढी इद उल अज्हा मनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछु।’