गुल्मी–सङखुवासभाको मादी गाउँपालिका २ को गरिब परिवारमा जन्मिएका थिए सूर्य कार्की। मादी गाउँका अधिकांश व्यक्तिहरु रोजगारीका लागि खाडी मुलुकमा छन्। रोजीरोटीको लागि उनको परिवारसँग पनि त्यो बाहेक अर्को विकल्प थिएन। कार्कीले जेनतेन कक्षा ३ सम्म गाउँकै छत्रेश्वरी प्राविमा पढे।
त्यसपछि अध्ययनकै लागि गाउँ छोडे। काठमाडौका विभिन्न प्राइभेट विद्यालयमा पढे। बुढानिलकण्ठ स्कुलबाट माविसम्मको अध्ययन सकेपछि छात्रवृत्तिमा भेनेजुएला र कोस्टारिका पुगे। प्लस टु सके। कार्कीको लगाब र मेहेनत बढ्दै गयो। ०६८ सालमा छात्रवृत्ति मार्फत नै अमेरिकाबाट अर्थशास्त्र र व्यापारमा स्नातक गरे।
नमुना गाउँको बनाउने अनुसन्धान
कार्कीले ०७० सालमा एक्सन एडको सहयोगमा नमुना गाउँ बनाउने अवधारणाको बारेमा रौतहटमा अनुसन्धान थाले। कार्कीले त्यो बेला तत्कालिन एमाले नेता माधव कुमार नेपालसँग नजिक भएर काम गर्ने अवसर पाएका थिए। अनुसन्धानबाट कार्कीले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको विकृति र राज्यले शिक्षाभन्दा संरचना निर्माणमा गरिरहेको अनावश्यक खर्च भएको पत्तो पाए।
सोही अवस्थाबाट प्रभावित भएका कार्कीसहित मञ्जितराज पाण्डेय, विनय बोगटी, अभिनाश झा, खेमराज खड्काले गुरु डाक्टर गुप्त बहादुर श्रेष्ठको पहलमा ०७१ सालमा युडब्लुएस नेपाल संस्था स्थापना गरेर शिक्षा क्षेत्रको विकासमा काम गरिरहेका छन्।
अहिले गुल्मी र संखुवासभामाका युडब्लुएस मार्फत शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ। अब धनकुटा, मोरङ र भोजपुरमा पनि काम गर्ने योजना रहेको संस्थाले जनाएको छ।
आकर्षक विद्यालय, गुणस्तरीय शिक्षा
रङ्गरोगनले चिटिक्क विद्यालय। एउटै प्रकारको संरचना। विद्यालयदेखि खानेपानीको धारा र शौचालयसम्म बालमैत्री। त्यो पनि कम समय र लागतमा। कक्षा कोठामा प्रयाप्त शैक्षिक सामग्री। जिल्लामा युनाइटेड वल्र्ड स्कुलले ०७४ सालबाट विद्यालय निर्माणसँगै दिगो शैक्षिक कार्यक्रमको स्थानीयले प्रशंसा गर्न थालेका छन्। संरचना निर्माणसँगै युडब्लुएसले शिक्षाको मूल जरोमै समस्या देखेकाले प्रावि केन्द्रित शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।
बालबालिकालाई विद्यालय आउन उत्प्रेरित गर्ने, बालबालिकालाई अनावश्यक गृहकार्यको बोझ हटाएर कक्षाकोठामा प्रयाप्त शैक्षिक सामग्री र प्रविधीको प्रयोगमार्फत मनोरञ्जन रुपमा आफुहरुले पठनपाठन गराउने गरिरहेको युडब्लुएस नेपालका संस्थापक सूर्य कार्कीले बताए। कार्कीले आफ्नो संस्थाले स्थापना गरेका विद्यालयहरुसँग बेलायत, बहराईन, दुवै, सिंगापुर लगायतका मुलकमा रहेका विद्यालयले भगिनी सम्बन्ध कायम गरेर सहकार्य गर्ने बताए।
डेढ महिनामै विद्यालय निर्माण
नेपालमा शिक्षा क्षेत्रमा अध्ययन, अनुसन्धानमा भन्दा संरचनामा बढी लगानी छ। त्यो पनि भनेकै समयमा काम हुँदैन। तर युनाइटेड वल्र्ड स्कुलले ४५ दिनमै ११ कोठे विद्यालय निर्माण ग¥यो। ११ संस्थाले ११ कोठे भवन ३५ लाखमा निर्माण गर्ने गरेको छ।
संरचना निर्माणको लागि आवश्यक गुणस्तरीय निर्माण सामग्री आफैले खरिद गर्ने भएकाले अनावश्यक खर्च नहुने मुसिकोट नगरपालिकाका सामाजिक विकास समिति संयोजक हरि छन्तेलले बताए। ‘११ कोठे भवन डेढ÷दुई करोडमा नबनेका पनि छन्, उनीहरुको मेहेनत र भावनाले म अत्यन्तै प्रभावित छु,’छन्तेलले भने,–‘युडब्लुएसबाट काम गर्ने पद्धति सबैले सिक्नुपर्छ।’
अभिभावक र विद्यार्थीको आकर्षण
मालिका गाउँपालिका ५ को सिद्ध प्राविमा ०७४ साल पहिले एक सय १६ विद्यार्थी थिए। अहिले एक सय ८५ छन्। आउने शैक्षिक सत्रसम्म दुई सय पुराउने लक्ष्य विद्यालयको रहेको शिक्षक चन्द्रप्रसाद अर्यालले बताए। शिक्षण पद्धति र काम गर्ने शैली आम समुदाय प्रभावित बनेका छन्।
अधिकांश सामुदायिक विद्यालय जीर्ण छन्। १५ हजारको शैक्षिक सामग्रीले बर्ष गुजार्नुपर्ने बाध्यता छ। युडब्लुएसले शैक्षिक विकासको निम्ति तीन जनशक्ति प्रदान, करिव दुई लाखका शैक्षिक सामग्री र गरिव एवं जेहेन्दार बिद्यार्थीलाई छात्रवृति समेत प्रदान गर्दै आएकोले बिद्यार्थी र अभिभावक थप आकर्षित भएको अर्यालले बताए।
निशुल्क रुपमा छोराछोरीहरुलाई गाउँमै अंग्रेजी शिक्षाका साथै बालमैत्री वातावरणमा पढाई हुने भएकाले आफुहरु ढुक्क भएको मालिका गाउँपालिका ५ का अभिभावक पुर्ण बहादुर विकले बताए।
समुदाय उत्प्रेरित
युडब्लुएस नेपालले पैसालेभन्दा शिक्षा मार्फत गरिबी निर्मुल पार्न सकिने सोच राखेको छ। समुदाय र विद्यालयको सक्रियता नभएसम्म शिक्षा क्षेत्रको विकास संभव छैन। अधिकांश सामुदायिक विद्यालयको शिक्षण पद्धति घोकन्ते छन्। विद्यालय प्रति अभिभावक र समुदायकाको चासो कम छ।
युडब्लुएसले शिक्षाको मुल जरोमै समस्या देखेको छ। प्रावि स्तरमै समस्या रहेकाले बालबालिकालाई विद्यालय आउन उत्प्रेरित गर्ने, बालबालिकालाई अनावश्यक गृहकार्यको बोझ हटाएर कक्षाकोठामा प्रयाप्त शैक्षिक सामग्री र प्रविधिको प्रयोग मार्फत मनोरञ्जनात्मक रुपमा पठनपाठन गराउने गरिरहेको समुदाय थप उत्प्रेरित भएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए।
युडब्लुएसले बिद्यालय निर्माणमा ३० प्रतिशत समुदायको संलग्नता खोज्ने र १५÷१५ दिनमा बिद्यालय र अभिभावबीच अन्तरक्रिया गर्ने भएकाले पनि परिवारको चासो विद्यालय प्रति थप बढ्दै गएको पोख्रेलले बताए।
आगामी वर्षसम्म २० बिद्यालय निर्माण
युडब्लुएसले निर्माण गरेको बिद्यालय उद्घाटन गर्न पुर्व मन्त्री गोकर्ण बिष्ट ०७१ साल सङखुवासभा पुगेका थिए। त्यो बेला स्कुलको संरचना मन परेपछि कार्कीलाई आफ्नो जिल्लामा पनि सहकार्य गरेर काम गर्न बिष्टले आग्रह गरे।
त्यसपछि ०७४ सालबाट जिल्लामा युडब्लुएसले काम गरिरहेको छ। युडब्लुएसले जिल्लाको मुसीकोट नगरपालिका ४ वडागाउँ दजाकोटको पशुपति निमावि, धुर्कोट गाउँपालिका–७ वाग्लाको रामपोखरी प्रावि, वडा नम्बर ४ जैसीथोकको देविस्थान प्रावि, मालिका गाउँपालिका ५ छापहिलेको सिद्ध प्रावि र मदाने गाउँपालिका २ बाँझकटेरीको पञ्चमीपोखरी प्राथामिक विद्यालयमा संरचना निर्माणसँगै कक्षा सञ्चालन भइरहेको छ।
मालिका गाउँपालिका ७ घमिरको बरारुख आधारभूत विद्यालय र रेसुङ्गा नगरपालिका–६ को साउनेथुम प्रावि र इस्मा गाउँपालिका २ को पालुखा माविका सरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
इस्मा गाउँपालिका ६ अम्मरपुर वुल्म आधारभूत विद्यालय निर्माणाधिन अवस्थामा रहेको छ।
गुल्मीमा युडब्लुएसले नौवटा विद्यालय भवन निर्माण गरिरहेको छ। तीमध्ये पाँच वटा विद्यालयमा पठनपाठन समेत संचालन भएका छन्। आउने शैक्षिक सत्रबाट बाँकी चार बिद्यालयमा पनि निर्माण गरिने युडब्लुएस नेपालका संस्थापक सुर्य कार्कीले बताए। आगामी बर्षसम्म गुल्मीको क्षेत्र नं २ मा मात्रै २० बिद्यालय निर्माण गर्ने उदेश्य संस्थाको रहेको छ।
प्रभावशाली युवा प्रतिभा
युडब्लुएस नेपालका संस्थाक सुर्य कार्की नेपालका प्रभावशाली युवा प्रतिभा हुन्। उनलाई फेसवुकले ०७५ सालमा विश्वका एक सय १५ देशका प्रतिभाशाली युवा मध्ये नेपालबाट पुरस्कृत गरेको छ।
५० हजार अमेरिकी डलरको प्रविधी शिक्षा पुरस्कार मार्फत कार्कीलाई पुरस्कृत गरेको थियो। त्यो पुरस्कारको रकम पनि विद्यालयमा प्रविधि सुधारमै लगानी गरेको कार्कीले बताए।