हामी अझ कति दिन र महिना लकडाउन गरेर बस्ने ? वैज्ञानिकहरुले कोरोना भाइरस (सार्स कोभ २)को प्रभाव सन् २०२३ सम्म रहने अनुमान गरेका छन् र कोरोनाले रुप परिवर्तन गरेर फेरि महामारी फैलाउन सक्ने पनि उत्तिकै सम्भावना छ । भोलि कोरोनाको ठाउँमा अर्को भाइरसको महामारी आउने सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । त्यसैले अब हामीले लकडाउनको स्वस्थ र भरपर्दो विकल्प नखोजी हँुदैन । लक डाउन कोरोना महामारीको स्थायी समाधान होइन । यही स्वरुपको लकडाउन गरेर औषधि तथा भ्याक्सिनको पर्खाइमा पनि बस्नु हँुदैन । यदि यही स्वरुपको लकडाउनलाई नै निरन्तरता दिने हो भने देश झनै जटिल समस्याहरुको भुमरी पर्ने पक्का छ । आर्थिक समस्याले मात्र होइन, राजनीतिक, समाजिक, पारिवारिक तथा रोजगारका समस्याहरुले देश नै तहसनहस हुने छ ।
भनिन्छ, यस पृथ्वीमा ३ लाख २० हजार भाइरसहरु छन् । ती मध्य २१९ प्रकारका भाइरसको पहिचान भएको छ । यी भाइरसहरुले अहिले होइन उहिल्यैदेखि नै मानिसमाथि आक्रमण गरिरहेका छन् । मानिसको शरीरको रोगप्रतिरोध शक्ति (इम्युनिटि)का कारण नै मानिसहरु यस्ता भाइरसको बिचमा पनि बाँचेका छन् । त्यसैले महत्वपूर्ण भाइरसको पहिचान होइन, मानिसको इम्युनिटि हो । मानिसको इम्युनिटि शक्तिशाली भए कुनै भाइरसले पनि मानिसलाई हल्लाउन पनि सक्दैनन् । यो वैज्ञानिक तथ्य हो ।
सार्स कोभ २ को हकमा पनि यो कुरा लागू भएको छ । कोरोना भाइरस संक्रमित ८० प्रतिशत मानिसहरुलाई कोभिड १९ ले कुनै असर गरेको देखिएको छैन । कतिपय यस्ता मानिसहरुलाई कोरोना संक्रमण भएको अवगत समेत छैन । त्यो किनभने शरीरको रोगप्रतिरोधी क्षमताले स्वस्फुर्तरुपमा यस्ता भाइरसलाई खेदेर बाहिर फ्याँकिदिन्छ । यस प्रक्रियामा कसै कसैलाई ज्वरो आउन सक्दछ । ती मध्य कतिपय सिटामोल आदि खाएर नै निको हुन्छन् ।
तर, २० प्रतिशत मानिसहरु मध्य केही, जो दीर्घरोगहरुबाट पीडित छन्, रोगप्रतिरोधात्मक शक्ति कमी छ, उनीहरुमा नै कोभिड १९ देखा पर्दछ । यस्ता मानिसहरुलाई नै बढी जोखिम हुन्छ । यस्ता बिरामीहरुलाई नै सघन उपचारको आवश्यकता पर्दछ ।
निचोडमा भन्नु पर्दा कोरोनाको स्थायी समाधान भनेको मानिसको रोगप्रतिरोधी क्षमताको बृद्धि हो । त्यसैले विश्वले रोगप्रतिरोधी क्षमताको बढाउने बाटोमा अगाडि बढ्नु पर्छ । यस सम्बन्धमा आयुर्वेदिक तथा प्राकृतिक चिकित्सा विशेषज्ञहरु रोगप्रतिरोधी क्षमता बढाउने अनेक शास्त्रिय तथा वैज्ञानिक विधिहरु सुझाएका छन् । यस सन्दर्भमा भारतको आयुष मन्त्रालय तथा नेपालको आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागले पनि विख्यात वैद्यहरुको समुहले निर्माण गरेको एक गाइडलाइन जारी गरेको छ ।
अतः यी सबै तथ्यहरुलाई मध्यनजर राखेर कोरोना जित्ने जीवनशैली यहाँ प्रस्तुत गरिएको छ ।
१. बिहान उठेर दिशा पिसाब गरेपछि अलिकति नुन हालेको मनतातो पानीले जलनेती गरेर नाक सफा गर्ने । नाकमा एक दुई थोपा अणु तेल वा तिलको तेल वा नरिवलको तेल वा घिउ हाल्ने । अनि आयल पुलिङ गर्ने । यसका लागि एक चम्चा तिल वा नरिवलको तेल मुखमा राखेर २, ३ मिनेट मुख वरिपरि घुमाउने र थुक्ने । अनि नुन बेसार हालेको तातो पानीले कुल्ला गर्ने ।
२. बिहान खाली पेटमा एक चम्चा (१० एमएल) अमलाको रस, एक चम्चा घिउकुमारीको रस तथा एक चम्चा गुर्जोको (गिलोय) रस तीन चम्चा तातो पानीमा मिसाएर सेवन गर्ने वा तातो पानीसँग एक चम्चा अमलाको धुलो तथा काँचो बेसारको सानो टुक्रा सेवन गर्ने ।
३. खुल्ला ठाउँमा कलिलो घाम ताप्दै कम्तीमा पनि आधा घण्टा योग, ध्यान तथा प्राणायाम गर्ने । अनि एक चम्चा च्यवनप्रास बिस्तारै–बिस्तारै १० मिनेट समय लगाएर चाट्ने । मधुमेह रोगीले चाही सुगरफ्री च्यवनप्रास सेवन गर्ने । नास्ता खाने बेलामा तुलसी पत्र, दालचिनी, मरिच, सुठो, मुनक्का आदिको काढा वा जडिबुटी चिया पिउने । स्वादका लागि आवश्यकता अनुसार मह वा गुँढ तथा कागतीको रस हाल्ने । साँझ पनि यो चिया पिउने ।
४. दिनभरि प्रशस्त मात्रामा तातो पानी पिउने । राती सुत्ने बेलामा ५ ग्राम जति बेसार हालेको तातो दुःध पिउने ।
५. रोग प्रतिरोधात्मक क्षमता बढाई कोरोना संक्रमण रोकथाम गर्नका लागि बिहान खाली पेट आर्सेनिकम अल्बम ३० सी को एक एक खुराक तीन दिन सेवन गर्ने र अनि हप्ताको एक एक खुराक तीन हप्तासम्म दिने । यदि कोरोना संक्रमण रहिरहेमा एक महिना पछि पुनः दिनु पर्ने हुन्छ ।
६. सरसफाइमा विशेष ध्यान दिने । भौतिक दुरी कायम राख्ने, भीडभाडबाट टाढा रहने, कतै जाँदा गुणस्तरीय मास्कको प्रयोग गर्ने । पटक पटक हात धुने र हात नधोइकन अनुहार नछुने, सरसफाइका साथै आहारविहारमा विशेष ध्यान दिने । चुरोट, रक्सी, अत्याधिक चिसो तथा गुलियो पदार्थ, फास्टफुड्स, जंकफुड्स जस्ता औद्योगिक पदार्थ सेवन नगर्ने, गिलोय, तुलसी, अमला, कागती, सुन्तला, अदुवा, प्याज, बेसार तथा लहसुन आदि कुनै न कुनै रुपमा सेवन गर्ने । प्रशस्त मात्रामा मौसमी फलफूलहरु सेवन गर्ने । वैज्ञानिक अध्ययन भन्छ, यदि मानिसको शरीरको रगत प्लाज्मामा लगभग १६ एमसीएमओएल प्रति लिटर भिटामिन सी हुन्छ भने भाइरस तथा ब्याक्टेरियाले आक्रमण गर्न नसक्ने लगभग ८० प्रतिशत सम्भावना हुन्छ । यदि गरिहाले पनि शरीरको इम्युनिटिले यस्ता भाइरसहरुलाई खेदेर शरीर बाहिर फ्याँकिदिन्छ । भिटामिन सीको प्रमुख स्रोतहरु भनेको अमला, कागती, सुन्तला, मौसमी तथा अन्य अमिलो फलफुल तथा तरकारीहरु हुन् । अतः दैनिक दुई दाना ताजा अमला वा एक चम्चा शुद्ध अमला पाउडर सेवन गर्ने हो भने इम्युनिटि बढ्ने मात्र होइन, अनेक स्वास्थ्य लाभ प्राप्त हुन्छ ।
७. बृद्धबृद्धा, अशक्त तथा बिरामीहरुको स्वास्थ्यलाई विशेष ध्यान दिने । उचित र सुरक्षित रेखदेखको वातावरण बनाउने ।
८. अर्को महत्वपुर्ण कुरा अफवाह तथा हल्लाको पछि नलाग्ने । मनलाई भित्रदेखि नै बलियो बनाउने । मनबाट डर, त्रास हटाउने । विज्ञान भन्छ, डर, त्रास र आतंकको वातावरणले मानिसको मन तथा शरीरमा कुप्रभाव पार्दछ । मनमा बारम्बार डरत्रासको विचार आइरहेको खण्डमा एनजाइटी, फोबिया, पैनिक अट्याक तथा अब्सेसन कम्पल्सन जस्ता मानसिक समस्याहरु देखा पर्न सक्दछन् ।
डरत्रासले मानिसको मनमस्तिष्कमा मात्र होइन शरीरमा पनि असर गर्दछ । डरत्रासले मानिसको इम्युनिटि पनि कमजोर बनाउँछ । मानिसको इम्युनिटि कमजोर भयो भने साधारण मौसमी फ्लूले (रुघा) पनि ज्यान लिन सक्दछ । सकारात्मक सोच, उचित खानपान तथा योग, ध्यान तथा प्राणायले मनलाई मजबुत बनाउन सहयोग गर्छ । यदि हामीहरुले यस किसिमको जीवनशैली अपनायौ भने कोरोनाको महामारीलाई जित्न सक्छौं ।
(लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन् ।)