संसारभरमा महिलालाई लाग्ने क्यान्सर मध्ये सबैभन्दा बढी हरेक आठ महिला मध्ये एक महिला र हरेक १३ मिनेटमा १ जनाको मृत्युवरण गराउने स्तन क्यान्सर हो । स्तन क्यान्सरमा १ देखि ६ प्रतिशत पुरुष छन । विकसित देशमा ८ महिलामा १ तथा एसियाली महिलामा हरेक २२ मा १ जनामा स्तन क्यान्सर पाइने गरेको छ ।
नेपालमा भएका ६० हजार क्यान्सर रोगी मध्ये ७ हजार स्तन क्यान्सरका छन् । विश्वमा सबैभन्दा बढी अनुसन्धान भै राखेको क्यान्सर स्तन क्यान्सर हो । लाजको कारण रोग लुकाउने गर्दा रोग फैलिरहेछ भने गरिबी अशिक्षा र अज्ञानताका कारण समयमै उपचार नगर्नाले यो रोग महिलाहरुको मृत्युको कारण भएको छ । स्तन क्यान्सर भएका महिलाहरुको संख्या बढ्दो छ र प्रायः महिलाहरु स्तन वा काखीमा गाँठो देखा परेपछि मात्रै वा जटिल अवस्थामा चिकित्सकसँग परामर्श वा उपचारका लागि आउने भएकोले यस क्यान्सरबाट हुने मृत्युदर बढ्दो छ ।
सम्भाव्य कारणहरु
. प्रौढ महिलाहरु
. पारिवारिक स्तन क्यान्सर
. चाँडै महिनावारी शुरु हुने तथा ढिलो महिनावारी सुक्ने
. विवाह नगरेका/विवाह त गरेका तर बच्चा नै नपाएका वा जन्माउने क्षमता नभएका तथा पहिलो बच्चा ढिलो जन्माएका
. बच्चालाई स्तनपान नगराउने र धेरै वर्षसम्म परिवार नियोजनको चक्की,गर्भ नतुहिने औषधी डीईस तथा विभिन्न हर्मोनको उपयोग गर्ने महिला ।
. सानो उमेरमा अनावश्यक विकिरण गराएका गोरा महिला
. अत्याधिक बोसो भएको खाद्य पदार्थको सेवन
. नियमित रक्सी तथा चुरोटको सेवन गर्ने महिला ।
. स्तनमा पहिलेदेखि नै गाँठागुठी वा पुराना समस्याहरु भएका र
. पहिला एउटा स्तनमा क्यान्सर भइसकेका
लक्षण तथा चिन्हहरु
महिलाको दुवै स्तन समान नभई आकार, लेवल र बनौटमा फरक देखा पर्दछ । स्तनको कुनै पनि भागमा दुख्ने वा नदुख्ने लाम्चो आकारको गिर्खा आउँछ । स्तन सुन्निएर कडा भई दुख्न थाल्छ । स्तनको मुन्टाबाट रगत, पीप अथवा फोहर पदार्थ आउनु र ब्रा भिजीरहेका हुन्छन । स्तनको मुन्टा सिधा बाहिरपट्टी नफर्की दायाँ बायाँ बा घुमेर भित्रपट्टी फर्कन्छ (स्तनको मुन्टो गाडिन्छ )। स्तनको छालामा रंग अथवा नरमपनामा केही परिवर्तन साह्रो देखा पर्नु, मुन्टो सुन्तलाको बोक्राको जस्तो प्वाल— प्वाल पर्छ । स्तनमा लामो समयसम्म निको नहुने घाउ हुन्छ । स्तनमा गिर्खा नदेखिएपनि काखीमा गिर्खा देखा पर्छ । समयमै उपचार नभए हड्डी, कलेजो, डिम्बासय, स्नायुप्रणाली र फोक्सोमा समेत क्यान्सर फैलनसक्छ ।
शुरुको अवस्थामा पत्ता लगाउने तरिका
स्तन क्यान्सर शुरुकै अवस्थामा निदान गरी आवश्यक उपचार गरेमा पूर्णतया निको हुने हुन्छ ।
१. नियमित स्वास्थ्य परीक्षणः स्तन क्यान्सर शुरुकै अवस्थामा पत्ता लगाउन चिकित्सक वा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुको पन्जा लगाएको हातबाट स्तनको नियमित परीक्षण गराउनु पर्दछ । किनभने १ से.मि. भन्दा सानो ट्यूमर आफ्नो हातले छामेर पत्ता लाग्दैन । २० देखि ४० वर्षकाले हरेक ३ वर्षमा र ४० वर्ष माथिकाले हरेक १ वर्षमा कम्तीमा विशेषज्ञसँग परीक्षण गराउन पर्दछ ।
२. म्यामोग्राफी परीक्षणः म्यामोग्राफी प्रविधि स्तन क्यान्सर शुरुकै अवस्थामा पत्ता लगाउने एक विशेष प्रकारको एक्स–रे परीक्षण हो । परीक्षणबाट स्तन क्यान्सर शुरुकै अवस्थामा पत्ता लगाउन सकिने भएकोले ४० वर्ष उमेर पुगिसकेकाले मेमोग्राफी तथा ३० वर्षभन्दा कमकाले अल्ट्रासाउण्ड र मेमोगाफ्री तथा यो रोग लाग्न सक्ने सम्भावना बढी भएका महिलाहरुले दुई वर्षमा एक पटक वा चिकित्सकको सल्लाह अनुसार यो परीक्षण गराउनु पर्दछ ।
३. आफ्नो स्तनको आफैले गर्ने परीक्षण : स्तनमा नयाँ वा असामान्य गिर्खा, डल्लाहरु छन् कि छैनन् भनी थाहा पाउन महिलाहरुले स्तनको आफैले परीक्षण गरी पत्ता लगाउन सक्छन् । यो सरल एवं व्यवहारिक तरिका पनि हो । २० वर्षभन्दा माथिका प्रत्येक महिलाले यो जाँच गर्नु पर्दछ । महिनावारी नियमित रुपमा भई राखेको महिलाले नछुने रोकिएको ४/५ दिन पछि यो जाँच गर्नुपर्दछ । अनियमित महिनावारी वा महिनावारी बन्द भै सकेको महिलाहरु तथा कहिलेका“ही कुनै महिनाको महिनावारी छुट्ने महिलाले प्रत्येक महिनाको कुनै दिन तोकेर जाँच गर्नुपर्दछ ।
कसरी गर्ने
जाँच कपडा फेर्दा वा नुहाउँदा पनि सहजै गर्न सकिन्छ । ऐना अगाडि उभिएर वा ओछ्यानमा पल्टेर पनि जाँच गर्न सकिन्छ । स्तनलाई छाम्दा हातको औला मध्येमा बीचका तिनवटा औंलाको माथिल्लो एक तिहाई भागको प्रयोग गर्नु पर्दछ । दाहिने हातले देब्रे स्तन तथा देब्रे हातले दाहिने स्तनको जाँच गर्नु पर्दछ र जाँच्ने क्रममा स्तनको ५ वटै भाग (बाहिरी, भित्री, तलको बाहिरी, तलको भित्री र मध्य भाग– जसमा स्तनको मुन्टो तथा वरिपरीको कालो भाग हुन्छ ।) को क्रमवद्ध रुपमा जाँच गर्नु पर्दछ ।
ऐना अगाडि उभिएर वा सुतेर वा नुहाउँदा आफ्नो दुवै स्तनको समानता, आकार, बनौट, मुन्टोको अवस्था, छालाको रंग र नरमपनाको फरकपन तथा स्तनको कुनै पनि भागमा रहेको गिर्खालाई ध्यानसँग हेने, तथा दाँया स्तनका लागि बाया र बाया स्तनका लागी दाया हातले स्तनको ५ भाग मध्ये प्रत्येक भागको क्रमबद्ध रुपमा छामेर जाँच गर्नुपर्छ ।
अन्तमा, बिरामीको अवस्था, शरीरका अन्य भागमा क्यान्सर फैलिएको वा नफैलिएको आधारमा उपचार विधि फरक फरक प्रयोग गरिन्छ ।शुरुकै अवस्थामा पत्ता लाग्यो र उपचार गरियो भने ९० प्रतिशत निर्मूल वा क्यान्सरको खतरावाट मुक्त हुन्छन । पहिलो, दोस्रो र तेस्रो अवस्थाको स्तन क्यान्सरको उपचार लक्ष्य क्यान्सर निको पार्ने र दोहोरिन नदिने हुन्छ भने चौथो अवस्थाको स्तन क्यान्सरमा उपचारको लक्ष्य लाक्षणिक र आयु लम्बयाउने खालको हुन्छ । तसर्थ सचेत भई स्तन तथा शरीर जोगाउन क्रियाशील रहौ ।
डा. बुढाथोकी न्याम्स वीर अस्पताल काठमाण्डौका सह प्राध्यापक तथा नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।