म घरमा जेठी छोरी । भाइबहिनीहरु साना थिए । त्यसैले घरको काममा आमालाई सघाउन पथ्र्यो । ९–१० वर्षको उमेरबाटै मैले धान रोप्न थालेँ । मेरो जन्म कास्कीमा भयो । कास्कीबाट हाम्रो परिवार बसाइ सरेर बर्दियाको मैनापोखर पुगेको थियो ।
धान रोपाईको मेरो धेरै अनुभव बर्दियामा नै छ । पछि ०३९ सालमा हामी बाँकेको कोहलपुर आयौं । बर्खामासमा स्कुल बिदा हुने, बिदा भएपछि केटाकेटीलाई खेत जान, रोपाइँ गर्न रमाइलो लाग्ने नै भयो ।
सानोमा रोप्न एकदमै रमाइलो लाग्थ्यो । हाम्रोतिर रोपाइँमा अर्मपर्म चल्थ्यो । आमा पर्म तिर्न जाँदा म पनि जान्थें । कहिलेकाँही एक जना मात्र जान पर्दा नानीलाई पठाइदिनुस न उनले छिटो रोप्छिन् भनेर छिमेकीहरुले आमालाई भन्थे । मलाई त्यो कुरा सुनेर रमाइलो लाग्थ्यो । रोपाइ गर्न त साह्रै रमाइलो लाग्थ्यो । रोपाइँ सँगै मिठो खाजा खाने, नाच्ने गाउने रमाइलो गर्दथ्यौं । काम गरेजस्तो महसुस हुँदैन थियो ।
३०–४० जनाको समूह बनाएर एकै ठाउँमा धान रोप्थ्योैं । एउटा खेतको गरामा १०–१२ जनाको लहर मिलाएर रोपाइँ हुन्थ्यो । रोपाइँका बेलामा असारे गीत पनि घन्किन्थे । घरका पीडा, माइतीलाई सम्झेका कुराहरु गीतमा गाउँथे । हामीले पनि आफुभन्दा ठूलाले गाएको सुनेर गाउथ्यौं । बाउसे र रोपाहार बिच हिलो छ्यापाछ्याप हुन्थ्यो ।
रोपाईका बेला कहिलेकाँही बदमासी गरेको पनि याद आउँछ । रोपाइँमा एक्लै हुँदा अलि अल्छी लाग्थ्यो । आमाले यत्ति रोपेर आउ भनेर धानको बीउ थमाउनुहुन्थ्यो । ठूलोे गाँझ छिटो छिटो रोपेर घर भाग्थें । त्यस्तै कहिले छिटो रोपाई सकेर रुखमा चढेर जामुनो टिपेर खाने गर्दथ्यौ ।
धान रोपाइ सकिने दिनलाई मैजारो भनिन्छ । यो दिन छुट्टै रमाइलो हुन्थ्यो । हिलो छोड्ने दिन भनेर अरु दिन भन्दा मिठो मिठो खाने गथ्र्यौं । धान रोपाइँको काम सकिँदा आनन्दको अनुभूति हुन्थ्यो ।
किसानी कामसँगै राजनीतिमा पनि लागियो । अहिले प्रदेश ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा छु ।
अहिले मन्त्री भएपनि मैले किसानको पिडा भोगेको छु । किसानले पाउनुपर्ने सुविधा पाएका छैनन् । रोप्ने बेलामा मल, बीउ नपाउँदा मलाई पनि पिडा बोध हुन्छ । मेरो ध्यान कसरी किसानलाई सघाउ हुने कार्यक्रम ल्याउने भन्नेमै छ । किसानको समस्या र भोगाइलाई छुने गरी नीति निर्माणमा लागिरहेका छौं ।
(लुम्बिनी टाइम्ससँगको कुराकानीमा आधारित)