नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ। कोभिड १९को महामारीले सिथिल रहेको अर्थतन्त्रलाई पुनःजागरण गर्नु, देशमा वित्तीय स्थायित्व प्रदान गर्नु र सरकारले बजेटमा घोषणा गरेको आर्थिक वृद्धिको लक्ष्यलाई साकार पार्नु नै मौद्रिक नीतिको लक्ष्य हो। यसवर्ष सरकारले घोषणा गरेको मौद्रिक नीति सर्वत्र चर्चा रहेको छ र कोभिड १९ को असरले प्रभावित व्यवसायीलाई केही हदसम्म मलमपट्टी लगाउने खालको मौद्रिक नीति सार्वजनिक भएको छ।
बैंक वित्तीय संस्थाले आफ्नो कुल कर्जाको न्युनतम पन्ध्र प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नु पर्ने व्यवस्था, आँप, सुन्तला, जुनार, मौसम, किवी, ड्रयागन फ्रुट, कागती, लिची, एभोकाडोलगायतका फलफुल खेतीको लागि लिएको कर्जामा प्रथम वर्ष तथा दोस्रो वर्षमा कर्जा नोक्सानी व्यवस्थामा केही छुट, कृषि ऋणपत्रको अवधारणा, कृषकलाई कृषि क्रेडिट कार्ड लगायतको व्यवस्थाले कृषि क्षेत्रमा केही आधुनिकीकरण र सबलीकरण गर्न ठूलै राहत हुने देखिन्छ।
उर्जा क्षेत्रमा लगानी गर्नुपर्ने कर्जाको न्यूनतम सीमा कायम गरिएको छ। उर्जा ऋणपत्रको अवधारणा, विद्युत निर्यात गरेमा आधार दरमा १ प्रतिशत मात्र थप गरी कर्जा व्याजदर कायम गर्ने, जलाशययुक्त जलविद्युत निर्माणमा प्रोत्साहन, प्रशारण लाइनको निर्माणमा हुने समस्याले गर्दा हुने व्याज पुँजीकरणमा केही राहातले गर्दा आगामी दिनमा नविकरणीय उर्जाको उत्पादनमा वृद्धि हुने र निर्यातमा वृद्धि भई अन्तराष्ट्रिय व्यापारमा केही टेवा पुग्ने देखिन्छ।
लघु, साना एवम् मझौला उद्यमका क्षेत्रमा रु. १ करोड भन्दा कम रकमका कर्जाहरु आफ्नो कूल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुने गरी प्रवाह गर्नु पर्ने व्यवस्था, सहुलियतपूर्ण कर्जा लगानीमा सीमा कायम गरिनु, पुनःकर्जाको आकारमा वृद्धि तथा पुनः कर्जा लगानी कार्यविधिमा भएको परिवर्तनले गर्दा व्यवसायीहरुलाई ठूलै राहत भएको छ।
बैंक वित्तीय संस्थामा हालको अवस्थामा अधिक तरलता रहेको र निक्षेपको व्याजदरमा क्रमिक रुपमा घट्ने क्रममा रहेको उच्च मुद्रास्फितिले गर्दा बैंक वित्तीय संस्थामा रहेको निक्षेप अनौपचारिक क्षेत्रतर्फ लगानी हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै व्यक्तिगत घर कर्जा, सेयर कर्जामा कर्जा मूल्याकंन अनुपातमा भएको वृद्धि कर्जाको माग बढ्न देखिन्छ। त्यस्तै सेयर कर्जाको मूल्याकंन पद्धतिमा भएको परिवर्तनले सेयर बजारलाई स्थायीत्व प्रदान गर्न खोजिएको हो कि भन्ने पनि देखिन्छ।
कोभिड १९ बाट सिर्जित असहज अवस्थाले गर्दा बैंक वित्तीय संस्थाको कर्जा असुलीमा समस्या देखिएको छ। बैंक वित्तीय संस्थाले कर्जा असुली प्रक्रिया अगाडि बढाउनुका साथै व्यवसायीको व्यवसाय बन्द रहेको अवस्थामा कर्जा तिर्न नसकी बैंक र व्यवसायीबीच आउन सक्ने असहज अवस्थालाई मौद्रिक नीतिले स्पष्ट रुपमा सम्बोधन गरिदिएको छ। कर्जाको भुक्तानी अवधिमा केही थप, व्याज पूँजीकरणमा सहुलियत, अल्पकालीन कर्जाहरुको समयावधिमा थप, कर्जा पुनःसंरचनामा राहत लगायतका नीतिले व्यवसायी र बैंक दुवैको समस्या समाधान दिएको छ।
हालको विषम अवस्थाको मुक्ति पश्चात् आर्थिक क्रियाकलापलाई चलायमान बनाउनुपर्ने दायित्व सरकारसँग रहेको छ। यसर्थ एक वर्षको लागि कर्जा निक्षेप अनुपातमा ८० प्रतिशतबाट वृद्धि गरी ८५ प्रतिशत कायम गरिएको छ। तर, तरलता अनुपातमा केही पुनःविचार नगरिएकोले उक्त सीमामै बैंक वित्तीय संस्थाले कर्जा लगानी गर्न सक्ने अवस्था भने देखिदैन।
बैंक वित्तीय संस्थाले मनोमानी रुपमा असुल गर्ने सेवा शुल्कले आजित भएका ऋणीको समस्या यस पटकको मौद्रिक नीतिले स्पष्ट रुपमा सम्बोधन गरेको छ। बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग लिने सेवा शुल्कहरुलाई थप व्यवस्थित र पारदर्शी बनाउन वाणिज्य बैंक, विकास वैंक, वित्त कम्पनी र लघु वित्त वित्तीय संस्थाले कर्जा स्वीकृति गर्दा सेवा शुल्क वापत क्रमशः अधिकतम ०.७५ प्रतिशत, १.०० प्रतिशत, १.२५ प्रतिशत र १.५० प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था भएकोले समेत ग्राहकलाई ठूलै राहत भएको छ। साथै, नेपाल राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाई इकाईलाई कन्जुमर प्रोटेक्सन युनिटको रुपमा अघि सारिनुले ग्राहकका समस्या छिटै सम्बोधन हुने र बैंक तथा ग्राहक बीचको समस्या समाधानतर्फ राहत हुने देखिन्छ।
यसर्थ यस पटकको मौद्रिक नीति बैंक वित्तीय संस्था तथा ग्राहकको अधिकांश समस्या समाधान हुने गरी तयार पारिएको छ। हालको विषम अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न बैंक वित्तीय संस्थाको अभिभावकको रुपमा रहेको नेपाल राष्ट्र बैंकले लिएका कदमहरु सराहनिय छन्। तर यसको कार्यान्वयनको चुनौती भने यथावत नै रहेको छ। साथै यसको कार्यान्वयनको सिलसिलामा आवश्यक पर्नै नीति तथा निर्देशन छिटो जारी भएमा प्रभावित क्षेत्रले छिटो लाभ प्राप्त गर्ने थिए।
साना तथा मझौला उद्यममा गर्नु पर्ने कर्जा लगानीको सीमामा वृद्धि कृषि कर्जाको सीमामा वृद्धि, पुनःकर्जा तथा सहुलियतपूर्ण कर्जाको कर्जा लगानी प्रक्रियामा केही सहजता, बैंक वित्तीय संस्थाले लिने सेवा शुल्कमा अंकुश, लघुवित्त वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको व्याजदरमा अंकुशले गर्दा साना तथा मझौला उद्यममा नेपालीलाई आकषित गर्ने र उद्यमशीलता वृद्धि गर्नतर्फ मौद्रिक नीति अग्रसर भएको देखिन्छ। समृद्ध नेपाल सुखी नेपालीको अवधारणामा यो उत्तम कडी बन्न सक्छ। यसर्थ सबैले यथास्थानबाट मौद्रिक नीति कार्यान्वयनमा आवश्यक पहल गर्न जरुरी देखिन्छ।