सन्ध्यावन्दन तथा पूजा गर्दा हामी यथासम्भव शुद्ध आसनमा बस्ने प्रयत्न त गर्छौं तर कस्तो आसनमा बस्ता उच्च सफलता प्राप्त गर्न सक्छौँ ? भन्ने कुरामा हामीले जानकारी हासिल गर्ने प्रयास गर्दैनौँ । त्यसैगरी फलाना पण्डितले वा हाम्रा बावुबाजेले पूजाअर्चना गर्दा फलानो दिशातिर फर्कनुपर्छ भन्थे भनेर हामी त्यही दिशातिर फर्केर पूजाअर्चना त गर्दै आएका छौँ तर वास्तवमा किन कुन दिशातिर फर्केर पूजाअर्चना गर्नुपर्दो रहेछ ? भन्ने विषयमा पनि हामीले कसैसँग जिज्ञासा राख्ने प्रयत्न गर्दैनौँ ।
यसै सन्दर्भमा विशेषतः सन्ध्यावन्दन, पूजाअर्चना आदि गर्दा कस्तो आसनमा कतातिर फर्केर बस्ता हाम्रा आध्यात्मिक कर्महरू बढ्ता फलदायी हुँदा रहेछन् ? भन्ने कुरामा हाम्रो ध्यान आकृष्ट हुनु जरुरी देखिन्छ ।
कस्तो आसनमा नबस्ने ?
आफूलाई वैज्ञानिक वा विज्ञानमुखी ठान्नेहरूले आफ्नो शरीरका कपडाहरू नमैलियून् र बस्न आरामदायी हुन सकोस् भनेर आसनमा बस्ने गर्छन् परन्तु हाम्रा ऋषिमुनिहरूले आसनकै आधारमा हामीलाई सफलता र असफलता प्राप्त हुने कुरामा विशेष विचार पुर्याउन निर्देशन दिएका थिए । कुनै पनि आसन नबिच्छ्याईकन भुइँमा बस्नाले दुःख प्राप्त हुन्छ ।
काँटी ठोकिएको काठको आसनमा वा बाँस आदिद्वारा निर्मित मान्द्राको आसनमा बसेर पूजाअर्चना गर्नाले दरिद्रता निम्तिन्छ भने ढुङ्गाको आसनमा बस्दा रोगी भइन्छ । घाँसको आसनमा बस्ता अपजस पाइन्छ भने पातको आसनमा बस्दा चित्त अत्यन्त चञ्चल हुन्छ । त्यसैगरी कपडाद्वारा बनाइका चक्ला आदिको आसनमा बस्नाले जप, ध्यान र तपस्याको हानि हुन्छ । त्यसैले यस्ता आसनमा बसेर जप, ध्यान, तपस्या र पूजाअर्चना गर्न निषेध गरिएको हो ।
कस्तो आसनमा बस्ने ?
उपयुक्त आसनमा गरिएको सन्ध्यावन्दन, जप, पूजा, तपस्या र अध्ययनले हामीलाई कहिल्यै पनि असफल र निराश बनाउँदैनन् । त्यसैले हाम्रा पूर्वजहरूले कस्तो आसनमा बस्ता सफलता प्राप्त गर्न सकिँदो रहेछ ? भन्ने बारेमा केही चर्चा गरेका छन् ।
कालो मृगको छाला आसनका लागि सबैभन्दा पुण्यजनक मानिन्छ । जुनसुकै मृगको छालालाई आसन बनाएर बस्ने व्यक्तिको कामवासना वा यौनेच्छा शान्त हुन्छ किनभने त्यसमा सात्त्विक विद्युत् शक्ति पाइन्छ । ज्ञानसिद्धि र आध्यात्मिक साधनाका लागि मृगचर्म सर्वोत्तम आसन हो । त्यसैले विशेष गरी सत्त्व गुण प्रवर्द्धन गर्ने योगीहरू र ब्रह्मचारीहरू मृगचर्मको आसनमा बस्न रुचाउँछन् । ‘मृगचर्म प्रयत्नेन वर्जयेत् पुत्रवान् गृही’ (स्मृत्यन्तर) अर्थात् पुत्रवान् गृहस्थी मृगचर्मको आसनमा बस्नु हुँदैन ।
बाघको छालालाई आसनका रूपमा उपयोग गर्ने व्यक्तिको ओज र पराक्रम बढ्छ किनकि त्यसमा राजस विद्युत् शक्ति पाइन्छ ।
साथै बाघको छालाको आसनमा बस्दा सर्प, बिच्छी आदि विषालु जीवहरूले डस्न पनि सक्तैनन् । विशेषतः राजा वा प्रशासनिक नेतृत्व सम्हाल्ने व्यक्तिहरूका लागि बाघको छालाको आसन उपयुक्त मानिन्छ । त्यही भएर राजसिंहासनमा बाघको छाला बिच्छ्याउने प्रचलन बसेको हो ।
अन्य आसनमा धेरै बस्दा मान्छेमा अस्वस्थताका लक्षणहरू देखिन्छन् तर मृगको छाला र बाघको छालामा धेरै बेर बस्दा समेत त्यस्ता लक्षणहरूको सम्भावना अत्यन्त कम हुन्छ । त्यसैले मृग र बाघको छालाको आसनमा बसेर हाम्रा ऋषिमुनिहरूले आफ्नो ब्रह्मचर्य पालन गर्नाका साथै पराक्रम प्राप्त गर्न र सम्भाव्य शारीरिक रोगहरूबाट बच्न हामीलाई निर्देशन दिएका हुन् ।
न धेरै अग्लो न धेरै होचो पवित्र र एकान्त स्थानमा आसन बिच्छ्याउनुपर्छ । त्यसरी आसन बिच्छ्याउँदा कुश, मृगचर्म र वस्त्र तीनै चीज उपलब्ध भएमा सबैभन्दा पहिला कुशको आसन, त्यसमाथि मृगचर्म र त्यसमाथि वस्त्र बिच्छ्याउनुपर्छ (श्रीमद्भगवद्गीता ६।११) तर केवल वस्त्र वा कपडाको गद्दा बिच्छ्याएर गरिएका जप, ध्यान, तपस्या, पूजा आदि कर्महरू फलदायी हुँदैनन् ।
कुशको आसनमा बस्ने व्यक्तिमा उत्पन्न भएको विद्युत् शक्ति पृथ्वीमा जान सक्तैन अर्थात् कुशले आफ्नो शक्तिले पृथ्वीको आकर्षणलाई निवारण गर्छ (अथर्ववेद १९।३३।३) । त्यसैले सबै किसिमका आसनहरू भए पनि कुशको आसन सबै कर्ममा अनिवार्यजस्तै ठानिएको हो ।
नित्यकर्मका रूपमा नभई कुनै विशेष फल प्राप्त गर्ने उद्देश्यले जप, ध्यान, तपस्या वा पूजापाठ आदि गरिँदै छ भने त्यतिबेला कम्बलको आसनमा बस्नु राम्रो हुन्छ र त्यसमा पनि रातो कम्बल उत्तम मानिन्छ ।
कालो मृगचर्मको आसनमा बसेर कर्म गर्दा ज्ञानको सिद्धि हुन्छ भने बाघको छालामा बसेर कर्म गर्दा मोक्ष प्राप्त हुन्छ । त्यसैगरी कुशको आसनमा बसेर कर्म गर्दा मन्त्रको सिद्धि हुन्छ भन्ने कुरामा कुनै शङ्का छैन ।
आसन छनौटको आवश्यकता किन ?
गुरुत्वाकर्षणको सिद्धान्तअनुसार हरेक पार्थिव वस्तुलाई पृथ्वीले आफुतर्फ खिच्दछ । सन्ध्यावन्दन, जप, ध्यान, पूजापाठ र स्वाध्याय गर्दासमेत हाम्रो ध्यान एकाग्र हुने भएकाले त्यतिबेला हामीमा विद्यमान ऊर्जा पनि एकत्रित भएको हुन्छ भने नवीन ऊर्जासमेत प्राप्त हुने क्रम चलिरहेको हुन्छ ।
त्यस्तो ऊर्जालाई पृथ्वीले आफूतर्फ नखिचोस् र साधकलाई प्रभावित नपारोस् भनेर हाम्रा ऋषिमुनिहरूले यस्तो अवस्थामा उपयुक्त आसनको छनौट गर्न निर्देश गरेका हुन् । कुशासन, मृगचर्मको आसन, बाघको छालाको आसन, कम्बलको आसन आदिले साधक र पृथ्वीका बीचमा रहेर दुवैको विद्युत् प्रवाहलाई एकआपसमा सङ्क्रमण हुन नदिने भएकाले त्यस्ता चीजलाई आसनका रूपमा ग्रहण गर्ने गरिएको हो ।
कुन दिशातिर फर्केर बस्ने ?
हामीहरू सामान्यतया बिहानको सन्ध्या गर्दा र देवीदेवताको पूजा गर्दा पूर्व दिशातिर फर्केर, बेलुकाको सन्ध्या गर्दा पश्चिम दिशातिर फर्केर अनि श्राद्ध गर्दा दक्षिण दिशातिर फर्केर कर्महरू गर्दै आएका छौँ तर हामी किन अलग अलग कर्म गर्दा अलग अलग दिशातिर मुख फर्काएर कर्म गर्छौं ? भन्ने बारेमा शास्त्रीय र वैज्ञानिक कारणहरूको ख्याल गरेका छैनौँ ।
प्रत्येक दिशाका मालिक भिन्न भिन्न देवता हुन्छन् । अथर्ववेद (३।२७।१–४) का अनुसार पूर्व, दक्षिण, पश्चिम र उत्तर दिशाका मालिक क्रमशः अग्नि, इन्द्र, वरुण र सोम देवता मानिन्छन् । अथर्ववेद (१२।३।७–१०) कै अनुसार हवन आदि देवकर्मका लागि पूर्वतर्फ, यमराजको पूजा गर्न एवं पितृकर्मका लागि दक्षिण दिशातर्फ, श्रेष्ठ कर्म गरी शक्तिसम्पन्न हुनका लागि पश्चिम दिशा र ज्ञान आर्जनका साथ उच्चतम व्यक्तित्व विकास गर्नका लागि वा पढ्ने बेलामा उत्तर दिशातर्फ फर्केर आसनमा बस्नु राम्रो मानिन्छ । साथै योगको अभ्यास गर्दा र रातमा शिवजीको पूजा गर्नुपर्दा पनि उत्तर दिशातर्फ फर्किने प्रचलन छ ।
बिहान ब्रह्ममुहूर्तदेखि मध्याह्नसम्मका सूर्यको आकर्षण सामुन्ने रहने र त्यस अवस्थामा हाम्रो ज्ञानतन्तु अत्यधिक फुर्तिलो भई हामीमा दैवी गुणको विकास हुने भएकाले बिहानको सन्ध्या, नित्यपूजा, नैमित्तिक पूजा, संस्कारसम्बन्धी पूजा र हवन पनि पूर्व दिशातर्फ फर्केर गर्ने गरिएको हो ।
उत्तर दिशामा हिमालय रहने, त्यतातिर फर्केर अध्ययन र योगाभ्यास गर्नाले हाम्रा मनमा प्राचीन तपस्वी ऋषिमुनिहरूको उच्चतम आदर्श उपस्थित हुने, शिवजी पनि उत्तर दिशाकै कैलाश पर्वतमा रहने र विद्याको कामना गर्ने व्यक्तिले शिवजीको उपासना गर्नुपर्ने भएकाले पनि यस्ता कर्म गर्दा उत्तरदिशातर्फ फर्किनुपर्ने कुरा शास्त्रमा निर्देश गरिएको हो ।
वेद आदि शास्त्रहरूमा उल्लेख भएअनुसार दक्षिण दिशामा चन्द्रमाभन्दा माथिल्लो कक्षमा पितृलोक रहेको र पूर्वतर्फ फर्कंदा सूर्यको आकर्षण पितृहरूका लागि अवरोधक हुने अनि उत्तर दिशातर्फ फर्कंदा पितृहरू पिठ्यूँपछाडि पर्ने भएको हुँदा पितृकर्ममा दक्षिण दिशातर्फ फर्किने प्रचलन रहेको हो । बेलुका सूर्य पश्चिम दिशामै हुने भएकाले सूर्यतर्फ फर्केर बेलुकाको सन्ध्या गर्न शास्त्रमा निर्देश गरिएको हो ।
उपसंहार
जप, तप, पूजाअर्चना, योग आदि साधनाद्वारा आर्जन गरिएको विद्युत शक्ति पृथ्वीमा स्थानान्तरित नहोस् र साधकमै सुरक्षित रहन सकोस् भन्नका लागि खाली भुइँमा नबसी कुचालक र असङ्क्रामक आसनमा बस्ने प्रावधान ऋषिमुनिहरूले गरेका हुन् ।
त्यसका लागि विशेष गरी मृगचर्म, व्याघ्रचर्म, कुशासन, कम्बल र रेसमी वस्त्रलाई ग्राह्य एवं पवित्र आसन ठानिएको हो । तीमध्येमा पनि मृगचर्म योगी र ब्रह्मचारीका लागि तथा व्याघ्रचर्म राजा वा प्रशासनिक नेतृत्व वहन गर्ने व्यक्तिविशेषका लागि बढ्ता उपयोगी मानिन्छन् । गृहस्थीहरूका लागि भने कुशको आसन सर्वसुलभ हुने भएकाले त्यसमाथि कम्बल र त्यसमाथि रेसमी वस्त्रको आसन उपयोगमा ल्याएर सम्बद्ध कर्मविशेषको सिद्धिका लागि सम्बद्ध दिशातर्फ फर्केर कर्म गर्न अग्रसर आफूलाई अभ्यस्त गराउनुपर्छ ।
(लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयको सहप्राध्यापक पदमा सेवारत छन्।)