सरकारी सेवामा प्रवेश गरेको भर्खर ३ महिना पुगेको थियो। ३ महिनामा धेरै त के सिकिन्छ र रु नयाँ क्षेत्र, नयाँ काम। मैले काम सिक्दै थिएँ-पाल्पाको पूर्वखोला गाउँपालिकामा। पाल्पाको दुर्गम मानिने गाउँपालिका हो यो। चाहेको बेलामा गाउँबाट बाहिर निस्कन साधन पनि पाइँदैनन् यहाँ।
काम सिक्ने क्रममा रहेकाले मेरो ध्यान गाउँपालिकामा कामका प्रकृति, विधि, विधान, नीति, कार्यक्रम हेर्न, बुझ्नमै थियो। पत्रकारिताको छोटो अनुभव लिएर सरकारी सेवामा प्रवेश गरेकाले केही नयाँ र रमाइलो लाग्दै थियो।
काम त छदै थियो। छोराको चिन्ताले सताइरहन्थ्यो। ५ वर्षको छोरालाई पहिलोपटक अलग छाडेर लामो समय बिताएको नै पहिलोपटक थियो। तरपनि करिअरको सिढीको पहिलो खुट्किलो चढेको थिएँ, अझै धेरै खुट्किलाहरु चढ्न बाँकी नै छ। यही सोचेर सबै ध्यान काम सिक्न, बुझ्न र गर्नमा दिदैँ थिए। विस्तारै साथीहरु चिन्दै, बुझ्दै जाँदा काममा पनि सजिलो हुँदैथियो।
यस्तैमा कोरोना भाइरसको संक्रमणको हल्ला सुनिन थाल्यो। चीनमा एकाएक फैलिएको भाइरसले त्यसअघिको सार्सको महामारीसरहकै रुप लिनसक्छ, धेरैको ज्यान जान सक्छ भन्ने समाचारहरु आइरहेका थिए। धेरैले ज्यान गुमाएको समाचार आइरहेको थियो। नेपालमा आउँदैन होला भनेर विभिन्न अनुमानहरु भइरहेका थिए। तरपनि सुरक्षा र सतर्कता अपनाउन सरकारले भनिरहेको थियो।
सरकारी कार्यालयमा सतर्कता अपनाउन निर्देशनहरु आए। सन् २००३ मा देखिएको सार्स पनि त्यस्तै खतरनाक थियो भन्ने कुराहरु थाहा पायौं। सन् २००२ मा सार्स कोभिड पहिलोपटक मानिसमा देखिएको रहेछ। सन् २००३ को मध्यतिर पत्ता लागेको त्यो भाइरसबाट संसारभरि करिब आठ हजार मानिस संक्रमित भएका रहेछन्। श्वास–प्रश्वासमा समस्या देखिने यसको संक्रमण चमेरोबाट मानिसमा सरेको र त्यसका कारण सुरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, थकान महसुस हुने, मांशपेसी दुख्ने र बिस्तारै श्वास–प्रश्वासमा समस्या आउने अनि मृत्यु हुँदो रहेछ।
तर सार्सको असर नेपालमा रहेनछ। त्यसैले पनि हामीलाई यहाँसम्म आउँछ जस्तो त लागेको थिएन। तर पनि कता कता डर भने लाग्न थालेको थियो। किनकी त्यसबेला सार्सको असर कस्तो थियो र के भएको थियो भन्ने नै थाहा भएन। फिल्महरुमा मेडिकल माफिया वा गलत नियत राख्नेहरुले यस्ता भाइरस बनाएर छाड्ने गरेका दृश्य र कथाहरु देखेको थिएँ। तर साँच्चिकै मान्छेलाई यस्तो असर गर्छ भन्ने लागेको थिएन।
मानिसको शरीरमा र हावामा पनि कैयौं भाइरसहरु हुने र शरीरमा रोगप्रतिरोध क्षमतामा ह्रास आए तिनले आक्रमण गर्ने कुरा त यसअघि पनि थाहै थियो। यसरी मान्छेलाई संक्रमण भएको केहीदिनमै मर्न पनि सक्ने भन्ने कुरा पहिलोपटक सुन्दै थिएँ। यसबारे धेरै कुरा थाहा थिएन। सायद यो नयाँ भाइरस भएकाले पनि चिकित्सक र विज्ञहरु पनि खोजतलासमै थिए। दिनप्रतिदिन यसबारे नयाँ कुराहरु आइरहेका थिए।
यत्तिकैमा नेपालमा पनि १र२ जनामा देखियो भन्ने समाचार आयो। हामी अलिअलि डराउन थालेका थियौं। यत्तिकैमा सरकारले चैत ११बाट लकडाउन गर्ने घोषणा गर्यो। एकहप्ताका लागि लकडाउन भनेकाले त्यसपछि त सामान्य नै होला भन्ने लाग्यो। सामान्य रुपमै लिएको थिएँ।
लकडाउन पछि सबै अत्यावश्यक बाहेक सबै सेवा र कार्यालयहरु बन्द भए। स्वास्थ्य शाखाबाहेक अरुलाई सरकारी कार्यालयमा पनि बिदा भयो। एक हप्ता लकडाउन भनेपछि हामी शुरुमा त्यति धेरै आत्तिएका थिएनौ। तर पनि घर जान पाए हुन्थ्यो भन्ने भइरहेको थियो। एकहप्तामा लकडाउन खुलिहाल्छ जस्तो लाग्दथ्यो। अर्को मन सोच्थ्यो-होइन अझै लम्बियो भने के गर्ने रु यसरी तनाव भयो।
लकडाउनको दिन कार्यालय बिदा नै भयो। त्रासले जाँदै गइएन। केहीछिनमा थाहा भयो(कार्यालयका धेरै कर्मचारीहरु घर गइसकेछन्।
त्यसपछि हामी आत्तिन थाल्यौ। आ-आफ्नो सवारी साधन हुनेहरु र चिनेजानेकोलाई भनेर भएपनि अफिसको सरहरु घर जानुभएछ। धेरैजसो तानसेन र आसपासका हुनुहुन्थ्यो। हामी टाढाका मात्र बाँकी रह्यौ। अब तनाब सुरु भयो। सार्वजनिक गाडी बन्द भइसकेका थिए।
गाइँगुइँ हल्ला चल्यो कि लकडाउन केही महिनासम्म नै हुनसक्छ। यदि लकडाउन भयो र घरबाट बाहिर निस्कन पाइएन भने हामी डिप्रेसनमा जान्छौं भन्नेखालको सोंचाइ आयो। घरमा फोन गर्यो कसरी आउँछौ अब भन्ने कुरा हुन थाल्यो। बिहानदेखि बेलुकासम्म घर कसरी जाने भनेर उपायकै खोजीमा बित्यो। अनेक उपायको खोजी भयो। तर गाडी नै नभएपछि कसरी जाने रु गाडी पनि सरकारले चल्न दिएकै थिएन।
हामी लकडाउन पछि जम्मा २ दिन पूर्वखोला बस्यौँ। तर २ महिना जस्तै भयो। संक्रमणको डर त छदैँ थियौ त्यो भन्दा बढी परिवारको चिन्ता। मनभरि छोरो आइरह्यो। मन पुरै घर पुगेको थियो तन मात्र यहाँ थियो।
लकडाउनको दोस्रो दिन घर जान नपाउनुभएको सरहरुसँग सल्लाह गर्यौं। उहाँहरु पनि आत्तिनुभएको थियो। हामी दुईजना थियौ। कुमुद र म। उनीपनि बुटवल नै आउनुपर्ने थियो। तर घर जाने सहकर्मी एकजनासँग मात्रै मोटरसाईकल भएकाले दुईजनाको व्यवस्थापन कसरी गर्ने भन्ने गाह्रो भयो। तैपनि उहाँ गुल्मी जाने हामी बुटवल जाने। त्यसमा पनि केही आइडिया निस्किन्छ कि भनेर सोंचविचार गर्न थाल्यौं। बुटवलबाट मोटरसाइकल लिएर आएमा जान त सकिन्थ्यो तर त्यसका लागि स्थानीय प्रशासनले अनुमति दिनुपर्थ्यो। त्यो अलि कठीन भयो।
तानसेनसम्म मेरो श्रीमान लिन आउने र कुमुदको भाई लिन आउने कुरा भयो। कुमुदको भाइका लागि सरकारी प्रवेश पास बन्न सकेन। पछि श्रीमानसँग सल्लाह गरेर यहाँदेखि १ घण्टाको कच्ची बाटोसम्म अर्को सर छोड्न जाने र हुमिनसम्म श्रीमान् लिन आउने तय भयो। साथी मामाघर तानसेन बस्ने भइन्। बल्ल तनाब कम भयो। अफिस गइयो। कार्यालयको तर्फबाट घर जान लागेको भन्ने ब्यहोराको चिठी बनाइयो।
अनि दिउँसो ३ बजे यहाँबाट बुटवलको लागि रवाना भइयो। हुमिन पुग्दा श्रीमान आइपुग्नुभएको थियो। पूर्वखोला घर भएको सर फर्कनुभयो भने हामी घरतर्फ लाग्यौं। पाल्पादेखि बुटवलसम्मको बाटोमा एकदमै थोरै सवारी चलेका थिए। बाटोबाटोमा प्रहरीको चेकिङ थियो। बाटोमै रोकेर फिर्ता पठाइदिए के गर्ने होला भन्ने चिन्ता पनि थियो। जिल्लाभित्र आवतजावत गर्न दिएपनि जिल्लाबाहिर गाह्रै थियो। एकातिर भाइरसको डर, अर्कोतिर पुलिसको डर।
घरपुग्दा ७:३० बजेको थियो।
हाम्रो गन्तव्य त कपिलवस्तु थियो। छोरा कपिलवस्तु थियो। तर बुटवलतिरको माहोल हेर्दा तत्काल घर जान डर लाग्यो। बुटवल आएपछि खानेकुरा किन्नका लागि पसलमा गएका थियौं। मास्क र पन्जा त लगाएका थियौं तर डर लाग्यो।
साना केटाकेटीलाई छिटो सर्न सक्ने भएकोले हामी १ हप्ता बुटवल होम क्वारेन्टिनमा बसेर मात्र कपिलवस्तु जाने निर्णय गर्यौ। १ हप्ता पछि सुरक्षित तवरले घर गइयो। छोरासँग भेट हुँदा निकै खुसी लाग्यो। अब त सबै चिन्ता हरायो भन्ने भयो।
छोरोले कोरोना भाइरसबारे थाहा पाइसकेको रहेछ। पन्जा, मास्क खोलेर छुट्टै राखेर नुहाएर मात्रै भेट्न हुन्छ भन्यो। त्यति कुरा सिकेकोमा खुशी लाग्यो।
कपिलवस्तु आएपछि भारतबाट आउनेहरुको लाइन लाग्न थाल्यो। सीमानाकामा सयौं मानिसहरु रोकिएका छन्, उनीहरु भीडमा रहेकाले र यात्रामा असुरक्षित हुनसक्ने भएकाले उनीहरुमा संक्रमण हुनसक्ने अनुमान थियो। त्यसैले सरकारले उनीहरुलाई सीमामै रोक्यो। एकहिसाबले ठीकै पनि लाग्यो। अर्को हिसाबले आफ्नै देशमा आउन पनि नपाइने, सरकारले त उनीहरुलाई सुरक्षित रुपमा ल्याउनुपर्छ र सुरक्षित रुपमा क्वारेन्टिनमा राख्नुपर्छ भन्ने लाग्यो।
सीमामा रहेकाहरु धेरै कपिलवस्तुका पनि थिए। उनीहरु खेत रोपाइँ गर्न आफ्नो घर फर्किदै थिए। तर सीमामा रोकिए। पछि सरकारले सीमामा रोकिएकाहरु ल्याउन थाल्यो। परीक्षण हुन थाल्यो। कपिलवस्तुमा वैशाख २५ गते २ जनामा संक्रमण देखियो। त्यसपछि डरत्रासको ग्राफ उकालो लाग्यो।
छिमेककै एकदुईजना आएर क्वारेन्टिन बसेका थिए। गाउँमा क्वारेन्टिन बसेकाहरुलाई खाना घरबाटै पुर्याउने कि पकाएर खुवाउने भन्नेमा स्थानीय क्वारेन्टिनमा विवाद भयो।
शुरुमा केही दिन घरबाटै लगिदिए। पछि त्यहीँ पकाएर खुवाउने व्यवस्था भयो। आमा स्वास्थ्य स्वयमसेविका भएकाले धेरै मानिसहरु कुराकानी गर्न, सोधपुछ गर्न र सल्लाह गर्न आउँथे। हामीलाई उनीहरुबाट पनि डर थियो। तर गाउँमा अरु मानिसहरु लापरबाही गरिररहेका थिए। चोकमा भेला भएर गफ लगाउनेको भीड नै थियो।
हामीहरुलाई यिनीहरु डराएका छन् भनेर हामीतिर फर्केर भन्थे। हामी सतर्क हुनुपर्छ भन्थ्यौं।
घरमा बसेको पनि ३ हप्ता बितिसकेको थियो। कोरोना भाइरसले महामारीको रुप लिइसकेको थियो। चीनमा केही कन्ट्रोल भए पनि विश्वव्यापी रुप लिइसकेको थियो। अमेरिकामा संक्रमण द्रुत गतिमा फैलिएको थियो भने नेपालमा पनि संक्रमण फैलदो थियो। कोरोनाबाट अत्याधिक डर लाग्यो। घरबाहिर ननिस्कने यदि निस्कियो भने सुरक्षित हुने र नुवाएर मात्र घरभित्र पस्ने गर्थ्यौ।
श्रीमानको पनि अफिस बन्द थियो। पत्रिकाहरु बन्द भए। बुटवलमा भाइ हुनुहुन्थ्यो पोखराबाट आएर बस्नुभएको थियो। केही दिनपछि उहाँपनि पहाड जानुभयो। एकखालले घरपरिवार सबैजना सुरक्षित थियौ।
वैशाख २ गतेदेखि पत्रिका खुल्ने भयो। श्रीमानलाई बुटवल अफिस जानुपर्ने भयो। कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता भयो। शुरुमा कपिलवस्तुबाट नै आउनेजाने गर्ने, अवस्था हेरेर विकल्प खोज्ने भन्ने निर्णय भयो। अफिसमा पनि काम गर्न आउनजान डर थियो। त्यसमाथि बाटोमा हिँड्दै आएकाहरुको लाइन हुने भएकाले अर्को डर थियो। पत्रकारलाई समाचार बनाउनुपर्ने पनि थियो, आफु पनि जोगिनुपर्ने थियो।
पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकजस्ता अग्रपंक्तिमा रहेर काम गर्नेहरु बढी जोखिममा थिए। उनीहरुले जुनसुकै परिस्थितिमा पनि काम गर्नुपर्थ्यो। जहाँ जोखिम छ त्यहाँ त झनै जानुपर्थ्यो। यस्तो अवस्थामा यो पेशा किन रोजेछन् भन्ने त हुँदो रहेछ घरपरिवारमा। तर, पेशाप्रतिको लगाव र त्यसको जिम्मेवारी इमान्दारिपूर्वक निर्वाह गर्नु चुनौतीपूर्ण नै हुन्छ।
अर्कोतर्फ समस्यालाई सबैभन्दा अफ्ठ्यारो समयमा रहेर पनि समाधान गर्न पाउनु पनि गर्वको कुरा हो। सायद, स्वास्थ्यकर्मीले यस्तो बेलामा काम गर्दिन भनेको भए, सुरक्षाकर्मीले यस्तो जोखिममा म काम गर्दिन भनेको भए, पत्रकारले यस्तो जोखिममा के को सूचना समाचार, मानिसका समस्याका कुरा बाहिर ल्याउनु भनेर बसेको भए र एम्बुलेन्स चालकले म संक्रमित बोक्दिन भनेको भए हामी यो अवस्थामै रहनेथिएनौं।
यी सबै अग्रपंक्तिमा रहेर काम गर्ने पेशाकर्मीहरु प्रति यो संकटले एउटा सम्मान र आदरको भाव जागृत गर्यो।
खैर, श्रीमान् पत्रिकामा काम गर्न जाने र आउने गर्नुभयो। काममा बुटवल जानेआउने गरेपछि उहाँ छोरोको नजिक पनि जानुहुँदैनथ्यो। छोरोले टाढैबाट नुहाएर आउनु भनेर भनिहाल्थ्यो। तपाइँसँग कोरोना भाइरस हुनसक्छ, ती कपडाहरु बाहिरै राख्नु भनेर भन्न थाल्थ्यो। जोखिम त छँदै थियो।
गाउँका मानिसहरु अब हामीदेखि पो डराउन थाले। बुटवल आउने जाने गर्न थालेपछि डराए। हामी पूरा सुरक्षित हुनेसम्म प्रयास गरिरहेकै थियौं। पसलबाट ल्याएका सामान र तरकारी एकदिनभरि बाहिर राख्थ्यौं। केही त साबुनपानीले धोएर पनि खायौं।
बैशाखको गर्मी। श्रीमान् बिहानै अफिस जानुभएको थियो। दिउसोमा खासै नसुत्ने छोरो सुत्यो। छोरोलाई उठ्दाखेरि ज्वरो आयो। ज्यान एकदमै तातो भएको थियो।
उफ् ऽऽऽ
कोरोना भाइरसको डर। मुख्य लक्षण नै ज्वरो। १ सय डिग्री फरेनहाइटभन्दा बढी थियो ज्वरो। अब के गर्नेरु के गर्ने के भन्ने भयो। बुवाआमा पनि आत्तिनुभयो। नजिकै मेडिकल थियो सिटामोल लिन गयौं। सिटामोल लिएर आउँदासम्म श्रीमान पनि आउनुभयो। सिटामोल सामान्य पाइएन। ब्रुफिनसहितको रहेछ। त्यतिबेला ज्वरो आएमा ब्रुफिनजस्ता दुखाइ कम गर्ने औषधिहरु नखानु भनिरहेका थिए।
छोरोलाई ज्वरो आइरहेको छ, औषधि हातमा छ। खुवाउने कि नखुवाउने अलमल भयो। बालरोग विशेषज्ञ डा सन्तोष पोखरेल बाबुको डक्टर भएकाले उहाँसँग नै परामर्श गर्यौं। उहाँले लक्षणहरु सोध्नुभयो। अनि त्यही सिटामोल खुवाउन भन्नुभयो। ३ दिनसम्म खुवाएर ठीक भएन भने थप कुरा गरौला, फोन गर्दै गर्नु न भन्नुभयो। सिटामोल खुवाएको अर्को दिनसम्म त पूरा ठीक भयो। दिउसो धेरै खेलेका कारणले ज्वरो आएको रहेछ।
राहत महसुस भयो।
-----
बैशाखको १३ गते अफिसबाट फोन आयो। ल, अब अफिस जान पर्ने भयो। घरमा बस्दा रमाइलो भइरहेको थियो। जस्तो अवस्था भएपनि अफिस त जानैपर्यो। १र२ दिनमा अफिसको गाडी बुटवल वा तानसेन सम्म भएपनि आयो भने जान सजिलो हुन्छ भनेर अफिसमा खबर गर्न भनेँ।
अफिसबाट खबर नआएपछि १५ गतेतिर जान पर्यो भन्ने सोंच बनाएँ। तर १७ गते मेरो जन्मदिन थियो। अफिस गएपछि तत्काल घर फर्कन नपाइने ढुक्क थियो। सबैले जन्मदिन मनाएर जाने भन्ने भयो। अफिसबाट फेरि फोन आए वा गाडी बुटवल आए जाने नत्र १८ गते बाइकमा जाने निधो भयो। यत्तिकैमा बर्थडेकै दिन अफिसमा फोन गरेको अब एकछिन नआउनु भन्नुभयो।
एकजना सर बुटवलबाट जानुभएको रहेछ। उहाँलाई अफिस जानै नदिइ स्थानीयले क्वारेन्टिनमा बस्नुपर्छ भनेछन्। रातभर क्वारेन्टिन बसेर अर्को दिन बुटवल फर्किनुभएछ। बाहिरी मान्छेलाई गाउँलेहरुले प्रवेश निषेध गरेको र क्वारानटाईनमा भारतबाट आएकाहरु पनि भएकोले अफिसबाट तत्काल नआउन भन्नुभयो।
त्यसपछि घरमै बसेर दिन बित्न थाले। छिनछिनमा संक्रमितको संख्या बढिरहेको थियो। घरभित्रबाट बाहिर निस्किनु थिएन। घरभित्रै बस्यो, चलायो मोबाइल, टिभी। नभए सुत्यो। यस्तैमा बित्यो दैनिकी। लकडाउनको बेला के के नयाँ कामहरु गर्छु, पढ्छु, केही लेख्छु भन्ने प्लानहरु कुनैदिन सफल भएनन्। आज त यत्तिकै भयो भोलि गर्नुपर्ला भन्दाभन्दै बिते।
जेठ सकिन थालेपछि भने अफिस जाने विषयमा तनाव हुन थाल्यो। सरकारले नै सरकारी अफिसका कर्मचारी असार १ देखि हाजिर हुन निर्देशन दियो। अफिसमा फोन गरेको एकछिन नआउनु भन्ने खबर आउँछ। गाउँलेले बाहिरका मान्छे जानै दिएनन्। अफिसमा कसैलाई नबोलाउन दबाब दिइरहे।
के गर्ने के नगर्ने तनाबका बीच जेठको अन्त्यमा अफिसबाट नै फोन आयो। अफिसको केही काम रहेछ। त्यसैले बुटवल आइयो। छोरालाई पनि सँगै लिएर आयौं। छोरोलाई लिएर बजार जान जोखिमपूर्ण लाग्यो। श्रीमान् र म काम परेमा पालैपालो बाहिर निस्कन्थ्यौं। यस्तैमा अफिसको काम पनि सकियो। अफिसको गाडी बुटवल आएको रहेछ। त्यसैमा आउनु भनेपछि राती नै छोरालाई घर छोडेर पूर्वखोलातिर लागेँ।
शुरुमा मलाई पूर्वखोला आएर क्वारेन्टिन बस्नुपर्छ भनिएको थिएन। तर गइसकेपछि होम क्वारेन्टिन बस्नुपर्ने भयो। होम क्वारेन्टिन बसेँ। १ हप्ता होम क्वारेन्टिन बस्दा भने साँच्चिकै कोरोना भाइरसकै संक्रमण नै भएजस्तो अनुभव भयो। त्यहाँ बाहिर कसैलाई मतलब थिएन। कसैले मास्क पनि लगाएका थिएनन्, तर बाहिरबाट आउनेलाई धेरै नै कडाइ भयो। हामी बुटवल वा कपिलवस्तु बस्दा निकै सावधानीपूर्वक बसियो। तर रुपन्देही र कपिलवस्तुमा धेरै संक्रमण फैलिएर होला। पूर्वखोलाकै एक जनाको कोरोनाकै कारण मृत्यु भएको थियो। त्यही भएर पनि यहाँका मान्छे धेरै डराएको हुनुपर्छ।
अर्को, बाहिरबाट कोही नआएपछि फैलिदैन भन्ने विश्वास भएर पनि होला।
क्वारेन्टिनमा बसेर के गर्ने। पढ्न मन लागेन। मोबाइल कति चलाउनु। दिन काट्नै मुश्किल।
एक दिन म भित्र बसिरहेकी थिएँ। बच्चाहरु बाहिर खेलिरहेका थिए। बच्चाहरु मेरो कोठाको बाहिर बसेर कुरा गरे। एक जनाले भन्यो- यहाँ को बस्छ र ? अर्कोले भन्यो- यहाँ त कोरोनाको मान्छे बस्छ।
उनीहरुको कुरा सुनेर यस्तो भएँ कि रोउँ कि हासुँ। म संक्रमित थिइन यसैले मलाई डर थिएन। तर उनीहरु मलाई संक्रमितजसरी पो भने। अरुबेला भएको भए म सामान्य रुपमा लिएर हाँसीदिन्थेँ होला। तर त्यसरी बन्द कोठाभित्र बसेको म के गरुँ।
यहाँका मान्छेले मलाई कोरोना संक्रमित नै भन्ठान्नेछन्। घरका ठूलो मान्छेले सिकाएर त भने होलान् नि नत्र त उनीहरुलाई के थाहा रु बच्चाहरुले ठूलो मान्छेले भनेरै सिक्ने हुन् नि। नराम्रो लाग्यो। तर के भन्नु बच्चाहरुलाई। यत्तिकै बसेँ। कहिले आरडिटी चेक होला अनि अफिस जाउँला जस्तो लागेको थियो। आरडिटि चेक गर्न अफिसबाट आउनुभयो। चेक गर्ने बेलामा भने डर लाग्दो रहेछ। त्यही पनि लागिहालेको भए भन्ने शंका उपशंका हुने रहेछ। औलाबाट रगत निकालियो। १५ मिनेटमै थाहा भो(नेगेटिभ रहेछ। त्यसपछि बल्ल ढुक्क भो।
लामो सास फेरेँ।
कोरोनाको एउटा तनाबबाट मुक्त भइयो।
चेक गरेर नेगेटिभ भएपछि त्यही दिनबाटै अफिस जान थालेँ। अफिसमा असारको मसान्त भएकाले काम धेरै थियो। हामीलाई नि काम नगरेको धेरै भएकोले अफिस गएर काम गर्ने उत्साह थियो। कोरोना भाइरसको संक्रमणको जोखिम अन्त्य भएको त छैन। अब फेरि फैलने डर बढिरहेछ।
तर सतर्कताको लागि केही उपाय नअपनाएको देख्दा दु:ख लाग्छ। समयमा नै सुरक्षित रहनु वा संक्रमण फैलने नदिनु नै उपयुक्त उपाय हो। अर्को कुरा पहिले धेरै नबुझ्दा पनि धेरै डर लाग्थ्यो। तर अब संक्रमण भैहाले पनि मरिदैन, सन्चो हुन्छ भन्ने आत्मविश्वासले पनि मानिसहरु सामान्य जीवनयापनमा अगाडि बढ्न थालेजस्तो लाग्छ। सुरक्षित रहदैँ सामान्य जीवनमा फर्कनुको विकल्प पनि त छैन।
-------------------
प्रिय पाठक, तपाइँसँग पनि यस्ता अनुभवहरु छन् भने हामीलाई पठाउनुहोला।
इमेल ठेगाना: [email protected]