शीर्षक झट्ट पढ्दा पक्कै नै अस्वभाविक लाग्ला तर, केही अर्थमा हामीलाई यो तथ्य स्वीकार गर्नैपर्ने देखिएको छ । यहाँ जनजातिको शत्रु जनजाति भन्दा पनि सान्दर्भिक होला ।
दलित महिला संघले अर्घाखाँचीमा पनि आफ्ना कार्यक्रमहरु गरिरहेको हुन्छ । हरेकपटक बोलाइन्छु । जान्छु । अतिथि, विशिष्ट अतिथि, प्रमुख अतिथिका कुरा सुन्छु र फर्कन्छु । समाज उसैगरी हिँडिरहेको छ । कतै कुनै तात्विक असर समाजलाई परेको छैन । समाजलाई परिवत्र्तन पनि हुनुपरेको छैन । र अझ दुःखको कुरा त दलित आफैलाई बद्लिनुपरेको छैन ।
वक्ताहरु प्रायःले स्वीकार गरेका केही कुरा यिनै हुन्छन्,
१. समाज एकैपटक परिवर्तन हुँदैन ।
२. पहिलेभन्दा छुवाछुतको अवस्थामा धेरै सुधार भएको छ ।
३. गाउँगाउँमा सहभोजको आयोजना गरिनुपर्छ ।
आदि आदि ।
आज पनि म यिनै थेगो सुनेर फर्किएँ । मलाई विश्वास छ, समाज परिवत्र्तन त पक्कै हुन्छ तर कसले चाहेकोजस्तो ? एउटा जनजातिले चाहेजस्तो ? दलितले चाहेजस्तो ? या धर्म र नैतिकताका ठेकेदारले चाहेजस्तो ?
समाजमा छुवाछुतको अवस्था कायमै छ । यो घट्दो हैन, बढ्दो छ । आज पनि समाजमा धर्मकै आडमा शासन र हैकम चलाउन चाहनेहरु छुवाछुतको बढावामा उद्दत छन् । विवेक हराएको भीडमा उनीहरुकै आवाज मुखर सुनिएको छ । उनीहरु नै हरेक क्षेत्रमा प्रभावी देखिएका छन् । दलित समुदायका सचेत भनिएका व्यक्तिहरु पनि उनीहरुको भुलभुलैयामा परेका देखिन्छन् । यो बडो ताज्जुबलाग्दो कुरो छ ।
केही समयअघि दलितसम्बन्धी लेखनका लागि सामग्री जुटाउने उपक्रममा थिएँ । अर्घाखाँचीमा अन्तर्जातीय बिहे गरेका दलित समुदायले भोगेका पीडालाई लिपिबद्ध गर्ने मेरो योजना थियो । त्यसका लागि सन्धिखर्कमा यस समुदायका केही बौद्धिक युवाहरुसँग सल्लाह खोजेको थिएँ । ती युवाहरुले मलाई हकारे । उनीहरुले एकै मुखले भने कि ‘जसको कथा तिमी लेख्दैछौ, ती त दलित हैनन् । जुन दलित भनिनेका नाम तिमी लिँदैछौ, ती त बाहुन भैसके, क्षत्रीय भैसके । यो हामीले भनेका होइनौं, उनीहरुकै व्यवहारले देखाएको छ ।’
यसबारेमा अध्ययन गर्दैजाँदा यो त अर्को भयानक समस्या पो रहेछ । दलित समुदायका पढेलेखेका र समाजमा सचेत भनेर चिनिएका युवाहरुले छुवाछुतजन्य भेदभावको निर्मूलीकरणको आधार अन्तर्जातीय बिवाहलाई मान्दारहेछन् । मन मिलेर, एकअर्कामा प्रेम भएर, सँगै ज्युने वाचा गरेर बिवाह गर्नेभन्दा समाजमा आफूभन्दा कथित उपल्लो जातकी छोरी भगाउन पाए हुन्थ्यो भन्ने लालसाले त्यसरी बिहे गर्नेहरु झन् ज्यादा रहेछन् । यसो गर्दा उनीहरुको एउटा अहंको तुष्टि हुनेगरेको पनि देखियो । उनीहरु मैले त क्षत्रीको या बाहुनको अर्थात् आफूभन्दा ठूलो जातको केटी पो बिहे गरेको भन्ने झूटो आत्मगौरवमा रमाउने गरेको देखियो ।
अन्तर्जातीय बिहे गरेर समाजमा ‘उथलपुथल ल्याउन चाहने’ दलित युवक होस् या अरु, त्यसले सर्वप्रथम त आफूभन्दा कथित तल्लो जातको केटी बिहे गर्नेबारे सोच्नै चाहन्न । उसको छनौटमा आफूभन्दा कथित ठूलै जातको केटी हुन्छे । त्यसरी अन्तर्जातीय बिहे गरेका युवकहरु बिहेअघि खुबै क्रान्तिकारी देखिने र बिहेपछि छुवाछुत या विभेदको विरुद्धमा बोल्नै छाड्ने प्रवृत्ति व्याप्त भइदियो । मानौ, अन्तर्जातीय अझ भन्नुपर्दा आफूभन्दा कथित ठूलो जातको केटी बिहे गर्नु नै उनीहरुको एक मात्र क्रान्ति र त्यसको मुद्दा थियो । त्यसपछि मानौं उनीहरु सिकन्दर बनिहाले । उनीहरुले अन्तर्जातीय बिहे गरेपछि मानौं संसारमा बोल्नै नपर्नेगरी समानता छायो । योभन्दा ठूलो भुलभुलैया अर्को के होला ? आफूभन्दा कथित ठूलो जातकी केटी खोज्दै हिँड्नेले मानसिक रुपमा आफू कमजोर भएको त आफैले प्रमाणित गरिसक्यो नि । म सानो जातको मान्छे भनेर उसको मनले स्वीकार पनि गरिसक्यो । अब यस्ता युवाहरुबाट दलित समुदायको उत्थानमा केही काम होला भनेर के भर पर्नु ?
जति नै सकारात्मक बनेपनि समाजमा छुवाछुतजन्य भेदभाव कत्ति घटेको छैन । जनप्रतिनिधि भनिनेहरुबाट दलित कुटिएको समाचार आइरहेको छ । हिजो मात्रै छठपूजामा दलितलाई छुट्टै र अलग्गै प्रकारको मञ्च बनाउन लगाइयो । धर्म र छुवाछुत यसरी कहिल्यै नछुट्टिनेगरी गाँसिएका छन् । यो सबैलाई थाहा छ । सहज हुँदा जतिसुकै समानताका कुरा गरेपछि थोरै प्रतिकूलता हुनासाथ जातपातको नाउँमा भद्दा गालीगलौजमा उत्रने हाम्रो समाजको चरित्रका बारेमा गायक प्रकाश सपूतको घटना हामीले भर्खरै व्यहोरेका छौं । आज पनि केही उपल्लो पदमा पुगेका दलित समुदायका व्यक्तिहरुका बारेमा समाजमा कुरा काट्ने गरिन्छ । सायद यी सबै थाहा भएकै कारण आजको कार्यक्रमको उद्घाटन सत्रमा सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार बिक ‘किशोर’ले आफू बसेको कुर्सीमा ईतर जातिको उपप्रमुख भएको भए मानिसले आफूलाईभन्दा राम्रो नजरले हेर्नेथिए तापनि हीनताबोध नगरी काम गर्नुपर्छ भन्दै आफैलाई ढाडस दिने काम गरे ।
सहभोजले छुवाछुतको अन्त्य हुनेभए अनेक सशक्तीकरण र चेतनामूलक तालिम, गोष्ठी र सेमिनारको सट्टामा महिनैपिच्छे त्यही गरे हुन्न र ? सन्धिखर्क बजारमा कथित ठूला जातका मानिसका बिहे या भोजभतेरमा कथित ठूला जातका मानिसलाई पहिलो प्रहर र कथित सानो जातका मानिसलाई दोस्रो तेस्रो प्रहरमा निम्तो दिने चलन चलाइएको छ । यो कुरा बाँडिएको निम्तोपत्रमै देख्न सकिन्छ । दलित समुदायको भोजमा कथित उपल्लो जातका मानिस सकेसम्म जाँदैनन् । गएपनि भतेरमा गैरदलित भान्से छ कि छैन, निश्चयता गरेर मात्र जान्छन् । भोजले छुवाछुत घटाउँदैन बरु बढाउने काम गरिरहेको छ ।
यस्तो भयानक कालमा पनि हाम्रा दलित (जनजाति पनि) समुदायका युवाहरु सुतेका छन् । अन्तर्जातीय (आफूभन्दा कथित ठूलो जातसँग) बिहे गरेका युवकहरु जातीय मुद्दामा सबभन्दा बढी निदाएका छन् । उनीहरुलाई यो विषयमा केही बोल्नु छैन । केही लेख्नु छैन । अझ तिनका बोली भाषामा पनि कता कता कथित ठूला जातको गन्ध पो आउँछ । उनीहरुलाई सोध्न मन लाग्छ, तिम्ले कथित ठूलो जातको छोरी बिहे गर्दैमा यो देशमा छुवाछुत निर्मूल भयो ? विभेदको अन्त्य भयो ? यो प्रश्न पूरै वैयक्तिक लागेपनि प्रवृत्तिप्रति लक्षित छ । यसको जवाफ खोजी हुन जरुरी छ ।