फोटोग्राफिक मेमोरी। एक पटक हेरेको, पढेको तथा सुनेको भरमा हुबहु जस्ताको तस्तै स्मरण गर्ने क्षमता। यस क्षमताका बारेमा अहिले मात्र होइन, उहिलेदेखि नै अनेक अद्भुत प्रसंगहरु उठने गरेको इतिहास छ। तर फोटोग्राफिक मेमोरी संज्ञानात्मक मनोविज्ञानको क्षेत्रमा एक विवास्पद विषय हो। संसारका कतिपय मानिसहरुले आफुमा यस किसिमको मानसिक क्षमता भएको दाबी गरेतापनि वैज्ञानिक रुपमा यसको पुष्टि चाहिँ भएको छैन।
फोटोग्राफिक मेमोरीको सम्बन्धमा सबै भन्दा चर्चित र वैज्ञानिक अध्ययन भएको केस हो, रुसका पत्रकार एस.बी. शेरेस्वस्कीको स्मरण शक्ति।
एस.बी. शेरेस्वस्कीको एक साधारण पत्रकार थिए।
उनको आईक्यु पनि सामान्य थियो। तर उनको स्मरणशक्ति ज्यादै अद्भुत थियो । रिर्पेटिङका लागि उनलाई कागजकलम तथा टेपरिर्कडर आदिको आवश्यकता पर्दैन्थ्यो। उनले सुनेका, पढेका तथा अनुभव गरेका जुनसुकै विषयहरू पनि हुबहु सम्झन्थे, शब्द–शब्द भन्न सक्थे । उनलाई विदेशी भाषाको कविता समेत हुबहु याद हुन्थ्यो।
रुसका प्रसिद्ध स्नायुमनोवैज्ञानिक ए.आर. लुरियाले एस.बी. शेरेस्वस्की स्मरणशक्तिका बारेमा लामो अध्ययन अनुसन्धान गरेका थिए। अध्ययनका क्रममा डा. लुरियाले १४ वर्ष पहिला बताएको निरर्थक शब्दहरूको समूहलाई समेत शेरेस्वस्कीले सही सही बताएको पाए।
डा. लुरियाले आफ्नो अध्ययनबाट शेरेस्वस्कीले याद गर्नुपर्ने कुराहरूलाई सम्बद्ध (लिंक) तथा भिज्यूलाइज गरेर याद गर्ने गरेको तथ्य पनि फेला पारे। उनले याद गर्न पर्ने कुराहरूलाई रगिंन बनाएर र एक अर्कोसँग गाँसेर कल्पना चित्रमा उतार्थे। यो नै अहिले प्रचलित मेमोरी टेक्निक हो।
हिजोमात्र होइन आजपनि यस संसारमा यस्तो तीक्ष्ण स्मरणशक्ति भएका मानिसहरू थुप्रै छन्। कालिकोटका युवा विद्यार्थी विजय शाही उनको यस्तै अद्भुत स्मरण शक्तिको कारण अहिले मिडियामा, खासगरी समाजिक संजालमा छाइएका छन्।
हुनपनि हजार पृष्ठको कुनै पनि भाषाको किताब १०, १५ मिनेटमा पढेर अघि-पछि जताबाट सोधे पनि हुबहु बताउन सक्ने उनको क्षमताले जोकोहीलाई आश्चर्य चकित बनाउन सक्दछ । साथै प्रश्न पनि उठ्ने गर्दछ। के यस किसिमको फोटोग्राफिक मेमोरी सम्भव छ?
फोटोग्राफिक मेमोरीको सम्बन्धमा कतिपय कुरा रहस्यमय भएता पनि यस्ता विलक्षण मानिसहरुले मेमोरी टेक्निक प्रयोग गरेर नै शक्तिशाली स्मरणशक्ति बनाएका हुन भन्ने तथ्य चाहीँ सत्य हो। अहिले चर्चा आएका विद्यार्थी विजय शाहीले पनि मेमोरी टेक्निकहरु उपयोग गरेर याद गर्ने गरेको बताउँदै आएका छन्।
मेमोरी टेक्निकका बारेमा जानकारी नभएका मानिसहरूलाई यस्तो मेमोरी प्रर्दशनी ‘जादु’ जस्तो लाग्ने गर्छ। तर यो न त जादु हो न त जन्मिदै पुर्पुरोमा लिएर आएको क्षमता हो । मेमोरी टेक्निक सिक्ने हो भने जो सुकैले पनि अपत्यारिलो क्षमता प्रदर्शन गर्न सक्छन्, ७–८ वर्षका बालकालिकाले पनि।
वैदिक कालमा ऋषिमुनिहरु तथा उनका चेलाहरुले वैदिक मेमोरी टेक्निकद्धारा श्लोक तथा पाठहरु याद गर्थे। ५औं शताब्दीतिर ग्रीसमा पनि मेमोरी टेक्निकको खुब चर्चा थियो। तर बीचमा आएर मेमोरी टेक्निक मृत प्रायः भयो।
अदभुत स्मरणशक्तिका पत्रकार शेरेस्वस्की अवगमनसँगै पुनः मेमोरी टेक्निकले चर्चा पायो। मेमोरिष्ट हैरी लोरेनको किताब, मेमोरी बुकले मेमोरी टेक्निकलाई संसारभरि फैलायो। अहिले त करोडौं मानिसहरुले मेमोरी टेक्निक सिकेर फाइदा लिइरहेका छन्। हुनपनि मेमोरी टेक्निकले कतिपय अवस्थामा कमाल नै देखाउँछ।
तर, मेमोरी टेक्निकका पनि सीमाहरु छन्। हरेक कुराहरु याद गर्न मेमोरी टेक्निकको उपयोग गर्न कठीन हुन्छ। एक सेकेण्डमा एक पृष्ट पढेर कुनै किताब याद गर्न सकिँदैन। त्यो किनभने कुनै पनि विषय स्मरणको लागि पञ्च ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो तथा त्वचा) मार्फत् विषय मनमस्तिष्क स्टोर हुन आवश्यक छ।
देखेर, सुनेर, पढेर तथा अनुभव गरेर नै सूचना मनमस्तिष्कमा स्टोर हुन्छन्। र, मनमस्तिष्कमा स्टोर भएका सूचना नै स्मृतिमा आउने हो।
समान्यतया औसत मानिसले एक मिनेटमा ३ सय शब्दहरु पढ्न सक्छन्। तर मेमोरी टेक्निकको स्पीड रिडिङ सिकेका व्यक्तिले एक मिनेटमा १५ सय शब्दहरु पढ्न सक्छन्। कसै कसैले त एक मिनेटमा १० औं हजार शब्दहरु पढ्न सक्ने दावी गर्छन् ।
डा. पाउल आर. शेलेको एउटा चर्चित किताब छ, फोटोरिडिङ। यस किताबमा लेखकले फोटोरिडिङको टेक्निक सिकेर अभ्यास गर्ने हो भने फोटोरिडरले एक मिनेटमा २५,००० शब्द भन्दा बढी शब्दहरु पढ्न सक्षम हुने दाबी गरेका छन्। यसको मतलब एक पृष्ट किताब पढ्न १ सेकेण्ड लाग्दछ। १६९ पृष्ठको उनको किताब फोटोरिडिंग पढ्न सिर्फ ३ मिनेट लाग्छ।
तर यस किसिमको पढाई स्टन्ट देखाउनका लागि उपयुक्त भएपनि यसको व्यबहारिक अर्थ भने खासै छैन। त्यो किनभने पढ्नु भनेको सिर्फ पढ्नु मात्र होइन बुझ्नु पनि हो।
फोटोरिडिङ टेक्निक मार्फत् पढेका शब्दहरुको निचोडलाई मात्र मस्तिष्कले चित्रका रुपमा स्टोर गर्दछ, शब्द शब्दलाई होइन। शब्द-शब्दलाई स्टोर गर्न हरेक शब्दहरु पढ्न (हेर्न) आवश्यक हुन्छ।
सामान्यतया एक शब्द हेर्न र स्टोर गर्न ०.३ सकेण्ड जति समय लाग्छ। त्यसैले कुनै पनि व्यक्तिले सर्र पाठहरु हेरेको भरमा १ हजार पृष्ठको किताब १०, १५ मिनेटमा शब्द शब्द हुबहु याद गर्न सक्ने प्रश्न नै उठ्दैन। सामान्यतया कुनै पनि किताब शब्द शब्द नपढीकन किताब हुबहु याद गर्न सम्भव छैन।
वैज्ञानिक रुपमा अहिलेसम्म फोटोग्राफिक मेमोरी सत्य सावित नभएता पनि मेमोरीसँग सम्बन्धित कतिपय किताबहरुको पाना पल्टाउने हो भने फोटोग्राफिक मेमोरीका वारेमा यस्ता हजारौं घटनाहरु उल्लेख पाइन्छ।
तर, पत्रकार एस.बी. शेरेस्वस्की वाहेक कुनै पनि यस्ता व्यक्तिहरुको स्मरण शक्तिका वारेमा वैज्ञानिक अध्ययन चाहीँ भएको छैन। कतिपय संज्ञानात्मक मनोवैज्ञानिकहरु फोटोग्राफिक मेमोरीको यस कथित क्षमतालाई वाहियात र अफवाहको संज्ञा पनि दिने गर्छन्।
त्यसैले हजार पृष्ठको कुनै पनि भाषाको किताब १०, १५ मिनेटमा पढेर अघि पछि जताबाट सोधे पनि हुबहु बताउन सक्ने क्षमता भएको भनिएका विजय शाहीको स्मरण शक्तिको वारेमा वैज्ञानिक परीक्षण गरेर सत्यतथ्य पत्ता लगाउनु आवश्यक छ। यदि विजय शाहीको स्मरण शक्ति साँचो ठहरियो भने विजय शाही विश्वका संज्ञानात्मक मनोवैज्ञानिकहरुका लागि अध्ययन अनुसंधानको विषय बन्ने छन्।
(लेखक साइकोथेरापिस्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)