हामीले घर फोहोर भयो भने बारम्बार बढारिरहन्छौँ । मयल र पसिनाले शरीर दुर्गन्धित भएमा सधैँ नुहाउँछौँ । कपडाहरू मैलिए भने धुन ढिला गर्दैनौँ तर जीवनलाई हामीले सरसफाइ गर्ने विषयमा भने त्यति ध्यान दिँदैनौँ । तसर्थ गर्भदेखि मृत्युपर्यन्त जीवनमा कसिङ्गरहरू थुप्रिँदै गएर जीवन दुर्गन्धित र मैलो हुँदै गयो भने यसको सरसफाइ गर्नका लागि हाम्रा ऋषिमुनिहरूले हामीलाई केकस्ता निर्देशनहरू दिएका थिए ? भन्ने बारेमा हाम्रो ध्यान जानुपर्ने आवश्यकता देखिन्छ ।
संस्कार भनेको के हो ?
संसारमा मुख्यतः प्राकृत र संस्कृत गरी दुई प्रकारका वस्तुहरू हुन्छन् । माटो प्राकृत हो भने त्यसलाई परिष्कार गरेर बनाइएको घडालाई संस्कृत वस्तु भनिन्छ । जसरी उत्पन्न भयो त्यसै अवस्थामा रहनु प्राकृत हो भने उत्पन्न भएपछि त्यसलाई काँटछाट गरेर सजाउनुलाई संस्कार भनेर चिन्न सकिन्छ ।
“यन्नवे भाजने लग्ने संस्कारो नान्यथा भवेत्” (हितोपदेश १।८) अर्थात् जसरी माटाको काँचो भाँडालाई पहिला जस्तो संस्कार वा आकृति प्रदान गरियो पछिसम्म त्यस्तै आकृति रहिरहन्छ, त्यसमा पछि कुनै किसिमको परिवर्तन हुँदैन । कपास प्राकृत हो भने त्यसबाट प्रशोधन गरेर बनाइएका कपडाहरू संस्कृत हुन् । त्यसैले संसारका हरेक वस्तुमा संस्कारको आवश्यकता पर्दछ ।
वैदिक संस्कार नै किन ?
मानव सभ्यताको प्रारम्भदेखि नै संस्कारको समेत सुरुवात भएको अनुमान गर्न सकिन्छ । आपूmलाई परिष्कृत गर्दै जाने क्रममा मानवले वर्तमान सभ्यतासम्म ल्याइपुर्याएको हो तर आधुनिक सभ्यताको विकाससँगै प्राचीन संस्कारहरूलाई रूढिवादी भनेर पन्छाउँदै जाने दुष्प्रवृत्ति बढ्दै गएका कारण संस्कारको बढ्ता आवश्यकता वर्तमानमा खड्किन थालेको छ ।
वर्गीय र जातीय विभेदबाट माथि उठेर संसारका सम्पूर्ण मानव एक हौँ भन्ने उदात्त भावना जागृत हुनु शुभ लक्षण हो र सच्चा मानव बन्न सकेका अवस्थामा धर्म, जाति, सम्प्रदाय, राष्ट्र आदि सङ्कुचित घेराबाट हुने अमानवीय घटनाहरू स्वतः समाप्त हुनेछन् । त्यसका लागि वैदिक सनातन संस्कृतिले नै संयोजनको जिम्मेवारी वहन गर्न सम्भव छ । संसारमा सबै देशका सबैजसो जातिले कुनै न कुनै रूपमा संस्कारलाई अपनाउँदै आएका छन् तर ‘वसुधैव कुटुम्बकम्’ को विश्व बन्धुत्वको उच्च आदर्श भने वैदिक संस्कृतिमा मात्र देख्न सकिन्छ ।
संस्कारद्वारा पुनर्जन्मको अनुभूति गर्न सम्भव छ ?
प्रत्येक व्यक्तिले सामाजिक अधिकार प्राप्त गर्न सर्वप्रथम आपूmलाई संस्कृत र परिष्कृत गर्नु अत्यावश्यक छ । असंस्कृत वा परिमार्जन नगरिएको वा नसुध्रिएको व्यक्तिले समाजमा आदरसत्कार प्राप्त गर्न पनि सक्तैन । जसरी जुनसुकै कच्चा पदार्थलाई प्रशोधन वा संस्कार नगरिएसम्म त्यसलाई हामीले उपभोगमा ल्याउँदैनौँ त्यसैगरी आमाका कोखबाट जन्म लिएका बालबच्चाको विधिपूर्वक संस्कार गरिँदैन भने त्यसलाई द्विज वा ब्राह्मण, क्षत्रिय र वैश्यको कोटिमा गणना गर्न सकिँदैन ।
“जन्मना जायते शूद्रः कर्मणा द्विज उच्यते” यस प्रसिद्ध भनाइअनुसार सबै मान्छे जन्मले शूद्र हुन्छन् भने संस्कारद्वारा द्विजको सम्मान प्राप्त गर्दछन् । कोही ब्राह्मणको कोखबाट त जन्मियो तर संस्कार गरिएन भने त्यस्तो व्यक्ति शूद्रसरह नै ठहरिन्छ । यदि शूद्रकै कोखबाट जन्मिए तापनि संस्कारहरूद्वारा परिमार्जित हुँदै गएका खण्डमा त्यसलाई द्विज ठान्न सकिन्छ, संस्कारद्वारा पुनर्जन्म भएको अनुभूति गर्न सकिन्छ । “द्वाभ्यां जन्मसंस्काराभ्यां जायते इति द्विजः” अर्थात् जन्मबाट र संस्कारबाट समेत दुईपटक जन्मिने व्यक्तिलाई नै द्विज भनिएको हो । एउटा जन्मबाट जन्मिँदैमा मान्छे द्विज ठहरिँदैन । त्यसका लागि प्रत्येक व्यक्तिले संस्काररूपी दोस्रो जन्म लिने प्रयत्न गर्नुपर्छ । त्यसैले जन्मजात आपूmलाई उच्च ठान्ने अहङ्कार वा जन्मकै कारणलै आपूmलाई नीच सम्झेर हीनताबोध गरिरहनु उपयुक्त देखिँदैन ।
संस्कार केकस्ता मुख्य उद्देश्यले गरिन्छ ?
दोष निराकरण, गुणको समावेश र न्यूनताको पूर्ति गर्ने मुख्य उद्देश्यले जुनसुकै वस्तुको संस्कार वा परिमार्जन–संशोधन गरिन्छ । उदाहरणका लागि कच्चा सुनलाई सर्वप्रथम आगामा राखेर सफा गरी त्यसका दोषहरूलाई निराकरण गरिन्छ । दोस्रो चरणमा त्यही सुनलाई विभिन्न गरगहना बनाएर त्यसमा गुणको समावेश गरिन्छ भने तेस्रो चरणमा त्यसरी निर्मित गरगहनामा रहन गएका कमीकमजोरीलाई विभिन्न रत्नहरू जोडेर न्यूनताको पूर्ति गरिन्छ ।
त्यसैगरी मानव जीवनमा पनि उपर्युक्त तीन उद्देश्यले नै संस्कारहरू गरिन्छन् । सांसारिक सबै पदार्थ प्रशोधन नगरीकन ग्रहण गर्न योग्य नभएजस्तै जन्मेपछि मान्छेको कुनै संस्कार नै गर्नुपर्दैन भन्ने दुराग्रह पनि ग्रहण गर्न योग्य देखिँदैन । त्यसैले गर्भाधान, जातकर्म, अन्नप्राशन आदि संस्कारद्वारा मान्छेको गर्भवासजन्य मलिनता वा दोषहरूको निराकरण गरिन्छ । चूडाकर्म, उपनयन आदि संस्कारद्वारा मान्छेमा बौद्धिक र चारित्रिक विकास गरेर गुणहरूको समावेश गरिन्छ भने विवाह आदि संस्कारद्वारा मान्छेमा रहेका कमीकमजोरीहरू वा न्यूनताको पूर्ति गरिन्छ ।
कुन संस्कारको फल कस्तो पाइन्छ ?
गर्भाधान संस्कारदेखि लिएर मृत्यु संस्कारसम्म वेदमन्त्रद्वारा पहिल्यैदेखि जसको संस्कारको विधान छ त्यस्ता व्यक्तिको मात्र वेद, पुराण, स्मृति आदि शास्त्रहरूमा अधिकार हुन्छ, यसबाहेक अन्य व्यक्तिको शास्त्रमा अधिकार हुँदैन (मनुस्मृति २।१६) । शास्त्रमा आफ्नो अधिकार प्राप्त गर्नका लागि गर्भाधान आदि १६ संस्कारहरू अनिवार्य रूपमा गर्नुपर्छ । तीमध्ये गर्भाधान संस्कारद्वारा बीज तथा गर्भसम्बन्धी सम्पूर्ण मलिनता वा दोष नष्ट हुन्छन् भने क्षेत्ररूपी स्त्रीको संस्कार पनि हुन्छ । ‘यस गर्भबाट पुत्र नै जन्मियोस्’ भन्ने कामनाले पुंसवन संस्कार गरिन्छ । त्यसैले पुत्रीको चाहना राख्नेले पुंसवन संस्कार गर्नुपर्दैन । गर्भाधानकै जस्तो सीमन्तोन्नयन संस्कार पनि गर्भको शुद्धिका लागि गरिन्छ । आमाका खानपानसम्बन्धी सम्पूर्ण दोष निराकरण गर्नका लागि जातकर्म (नाल काट्ने) संस्कार गर्ने गरिएको हो । आयु तथा तेजको वृद्धिका साथै लोकव्यवहारमा नामको प्रसिद्धि र नामको पृथक् अस्तित्व कायम हुन सकोस् भन्ने उद्देश्यले ‘नामकरण’ (न्वारन) संस्कार गरिन्छ ।
आयु तथा लक्ष्मीको वृद्धिको कामनाले भगवान् सूर्यलाई सर्वप्रथम दर्शन गराउनका लागि निष्क्रमण संस्कार गर्ने गरिएको हो । गर्भमा रहँदा खराब खानपानद्वारा उत्पन्न दोषलाई निराकरण गर्न अन्नप्राशन (पास्नी) संस्कार गरिन्छ । बल, आयु र तेजको वृद्धि हुन सकोस् भनेर चूडाकर्म संस्कार गर्ने गरिएको हो भने द्विजको कोटीमा जन्मिन र वेद अध्ययन गर्ने अधिकार पाउनका लागि उपनयन (व्रतबन्ध) संस्कार गरिन्छ । त्यसैगरी सुसन्तान जन्माएर जीवित आमाबुवाको सेवा र मृत पितृहरूको श्राद्ध आदि कर्मद्वारा उद्धार गर्न सकियोस् भन्ने कामनाले विवाह संस्कार गर्ने गरिएको हो । मृत्यु संस्कार ऊध्र्वगति वा मोक्षप्राप्ति हुन सकोस् भन्ने कामनाले गरिन्छ । शास्त्रमा गर्भाधान आदि १६ संस्कारहरूको उल्लेख भए तापनि वर्तमान समयमा मुख्यतः नामकरण, अन्नप्राशन, उपनयन, विवाह र मृत्यु गरी पाँच संस्कार मात्र गर्न धेरैजसो व्यक्तिहरूको ध्यान जान थालेका कारण हाम्रा अन्य संस्कारहरू ओझेलमा पर्दै गएका छन् । फलस्वरूप संस्कारहरूबाट प्राप्त हुने शास्त्रोक्त फलहरू पनि हामीले प्राप्त गर्न सकिरहेका छैनौँ । तसर्थ हामीले आफ्ना सन्ततिहरूलाई आफ्ना १६ ओटै संस्कारहरूको महत्त्वबोध गराएर पालना गर्दै जान प्रेरित गर्नु आवश्यक छ ।
संस्कार कति छन् ?
पूर्वीय वाङ्मयमा संस्कारका भेदहरूका बारेमा पर्याप्त मतभिन्नता पाइन्छ । महर्षि गौतमले ४० संस्कार मानेका छन् भने महर्षि अङ्गिराले २५ संस्कारको अस्तित्व स्वीकार गरेका छन् । त्यसैगरी वेदव्यासका अनुसार गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण, निष्क्रमण, अन्नप्राशन, चूडाकर्म, कर्णवेध, यज्ञोपवीत, वेदारम्भ, केशान्त, समावर्तन, विवाह, आवसथ्याधान र श्रौताधान गरी १६ संस्कार मानिन्छन् । मनुस्मृतिमा उपर्युक्त पुंसवन, सीमन्तोन्नयन, कर्णवेध, वेदारम्भ, आवसथ्याध्यान र श्रौताधान ६ संस्कारको उल्लेख भएको पाइँदैन भने वानप्रस्थ, सन्न्यास र अन्त्येष्टि गरी थप तीन संस्कारसहित जम्मा १३ संस्कारको चर्चा गरिएको छ । आश्वलायन गृह्यसूत्रमा विवाह, गर्भालम्भन, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण, अन्नप्राशन, चूडाकर्म, उपनयन, समावर्तन र अन्त्येष्टि गरी ११ संस्कारको मात्र उल्लेख गरिएको छ । पारस्कर गृह्यसूत्रमा वेदारम्भ, निष्क्रमण, वानप्रस्थ, सन्न्यास र अन्त्येष्टिबाहेकका १२ संस्कारको वर्णन छ । शास्त्रमा जेजस्तो मतभिन्नता विद्यमान रहे पनि १६ संस्कार भन्नाले नेपाली समाजमा गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, षष्ठिका (छैटी), नामकरण (न्वारन), निष्क्रमण, अन्नप्राशन (पास्नी), कर्णवेध, विद्यारम्भ, चूडाकर्म, उपनयन (व्रतबन्ध), वेदारम्भ, समावर्तन, विवाह र अन्त्येष्टि संस्कार बुझिँदै आइएको छ ।
संस्कारमा क–कसको अधिकार छ ?
एउटै वस्तु पनि परिवेशअनुसार राम्रो र नराम्रो मानिन्छ । उदाहरणका लागि घिउले मान्छेलाई बल र शक्ति प्रदान गरेर दीर्घायु बनाउँछ तर ज्वरो र रुघाखोकी लागेका बेलामा प्रतिकूल प्रभाव परेर मृत्युको मुखसम्म पु¥याउने भएकाले त्यही घिउ नराम्रो ठानिन्छ । त्यसैले संस्कारहरू पनि सम्पूर्ण विश्वका मानवहरूलाई सुसंस्कृत बनाउनका लागि व्यवस्थित गरिएका हुन् तापनि यिनलाई योग्य र अयोग्य पात्रको विचार गरेर प्रयोगमा ल्याउन उपयुक्त हुन्छ । त्यसै सन्दर्भमा महर्षि याज्ञवल्क्यले ब्राह्मण, क्षत्रिय र वैश्य यी तीन द्विज वर्णले गर्भाधानदेखि मृत्युसम्मका सबै संस्कार वैदिक मन्त्रका आधारमा र शूद्रलाई विना मन्त्र यी संस्कारहरूको पालना गर्न निर्देश गरेका हुन् । मन्त्रको अशुद्ध उच्चारण गर्नुभन्दा विना वैदिक मन्त्र संस्कार गर्नु राम्रो मानिएकाले शूद्रलाई मन्त्रको विशेष विधान नगरिएको हो । वैदिक मन्त्र निषेध गरिएको भए पनि लौकिक वा तान्त्रिक मन्त्र भने शूद्रले पनि प्रयोगमा ल्याउन सक्छन् । ‘कम परिश्रम र अधिक लाभ’ लिने अधिकारवादको वर्तमान युगमा शूद्रलाई किन जनै लगाउने अनि वैदिक मन्त्र पढ्ने अधिकार दिइएन र भेदभाव गरियो ? भन्ने प्रश्न उठ्नु अस्वाभाविक होइन । वास्तवमा जनै नलगाई वैदिक मन्त्र नपढीकन शूद्रले जुन कर्म गर्छन्, जनै लगाएर वैदिक मन्त्र पढी कर्म गर्ने ब्राह्मण आदिले जत्तिकै उनीहरूले फल प्राप्त गर्दछन् भन्ने कुरामा सम्बद्ध अधिकारवादीहरूको ध्यान जानु आवश्यक छ ।
उपसंहार
वर्तमान भौतिक युगले पनि मानवले उपभोगमा ल्याउने हरेक कुरा सफासुग्घर र प्रशोधन गरिएको हुनुपर्छ भन्ने कुरामा जोड दिन्छ भने हाम्रा ऋषिमुनिहरूले हजारौँ वर्ष पहिले नै त्यसैलाई प्रकारान्तरले ‘संस्कार’को नाम दिएका थिए । कर्मकाण्डलाई आफ्नो मुख्य पेसा बनाएका अधिकांश गुरुपुरोहितहरूले आपूmलाई यजमानअनुकूल बनाउन खोज्दा र अध्ययन–अनुसन्धानतर्पm ध्यान नदिँदा हाम्रा हरेक धार्मिक कर्महरूमा विकृतिहरू मौलाउँदै गएका छन् । तिनलाई निराकरण गर्दै जान र गर्भाधानदेखि मृत्युसम्मका संस्कारहरूका बारेमा आफ्ना यजमानहरूलाई सुसूचित गर्न आवश्यक छ भने यजमानहरू पनि कुन कर्म किन गरिनुपर्दो रहेछ ? भनेर आपूmले गर्ने हरेक कर्महरूको शास्त्रीय महत्त्वबोध गर्न अग्रसर हुनु आवश्यक छ ।
(लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयको सहप्राध्यापक पदमा सेवारत छन्)