– दशैंमा अस्वस्थ मासु खाएकै कारण मिलनचोकका विनोद बिरामी परी बडादशैं अस्पतालमै बिताउन परेका हुनाले यस पटक फेरि त्यही गल्ती नदोहोर्याउने सोंचाईमा छन् ।
– प्लस टु मा अध्ययनरत माया गौतम क्यालोरी कन्सीयस भएकोले दशैं भन्दैमा चिल्लो मासु खाएर तथा बासी र बढी मात्रामा खाएर शरीर तथा अनुसार बिगार्ने पक्षमा नभएको बताउँछिन् ।
– बुटवल बसपार्कका मोहम्मद खाँन अचेल असार १५ को किसान जतिकै व्यस्त छन् किनभने अरुबेला भन्दा दशैंमा १०० गुणा बढी नै मासु बिक्री हुन्छ ।मापदण्ड,सरसफाई पुरा गर्न भ्याऊदैनन ।
गुणस्तरहीन मासु सेवन गर्दा मानिसलाई रोग लाग्ने मात्रै होइन, ज्यानैसमेत जान सक्छ ।
करिव ३ लाख जनसंख्या भएको महानगर उन्मुख बुटवलमा दैनिक १२ हजार ७ सय किलो मासु खपत हुन्छ तर बधशाला छैन । जहाँ मन लाग्यो त्यहि काटिन्छ, फोहर दुर्गन्ध जताततै छ, झिगा भनभनी भन्कीरहेका छन ।त्यसवाट उत्पन्न भएको वातावरणीय तथा मानवीय समस्याको लेखाजोखा नै हुने गरेका छैनन । स्वच्छ, सफा र स्वस्थ मासु खाने ईच्छा जस्ताको तस्तै छ ।
बुटवल उपमहानगरपालिकाको बिगतको आकडा अनुसार बुटवलमा दैनिक ५ हजार किलो कुखुरा,३ हजार २ सय ४० किलो खसी बोका,३ हजार ३ सय किलो पाडा,२ सय किलो बंगुर र १ हजार किलो माछाको मासु खपत हुन्छ । जसमा हुने शुद्धता ,स्वच्छताको कुरा यहाँ नगर्नु नै बेश हुन्छ होला किनभने खसी भनी बेचिने मासु ९० प्रतिशत बाख्री र पाडा कै हुने गरेको उपभोक्ता हित संरक्षण मञ्चले बताउने गरेको छ ।
चाडपर्व
असोज– कार्तिक महिना वातावरणीय हिसाबले जति रमणीय हुन्छ, धार्मिक तथा साँस्कृतिक हिसाबले झनै स्वास्थ्यको दृष्टिले पनि त्यति नै महत्वपूर्ण मानिन्छ । नेपालीहरुको सबैभन्दा ठूलो चाड बडादशैंको आफ्नो साँस्कृतिक महत्व भएपनि सबै घर परिवार, सदस्य भेट हुने, फुर्सदका साथै रमाइलो गर्ने, नयाँ लुगा लगाउने तथा मासु खाने, पर्वका रुपमा स्थापित भएकोले सबैलाई एक सूत्रमा बाध्छ । चाडपर्व भन्ने बित्तिकै पहिलो ध्यान खानेकुरामा पुग्ने गर्दछ । त्यसमा दशैं र मासुको सम्बन्ध नङ र मासुको जस्तो छ । बलि दिन, मजाले खान वा केटाकेटीको रमाइलो जे का लागि भएपनि प्रायः नेपालीको घर व्यवहारमा दशैं अघि नै जोहो गरिन्छ र मूल्य नभै पाउनु नै ठूलो मानिन्छ । दशैं मासुको विभिन्न परिकार चाख्ने अवसर पनि हो । त्यसैले के बुढा, के बालक, के राजा, के रंक हरेकको भान्साबाट मासुको वासना आउँछ ।
मानसिक उल्लास र सामाजिक सु–सम्बन्धका साथ मनाइने चाडपर्वको श्रृंखलामा खानपिनमा गुलियो, अमिलो, पिरो, नुनिलो र चिल्लोको मात्रा बढी भएको आहार, विहार र निद्रामा असन्तुलन हुन गई स्वास्थ्यमा गडबड भएको प्रायः देखिन्छ ।
प्रशस्त रक्सी नभए, मनग्गे खान नपाए, धुम्रपानको फूर्तीफार्ती र बासीत्यासी अचार नभए तथा नाचगान, देउसीभैंलो, गफगाफ र जुवातास नखेले चाड माने जस्तो नहुने सोंचाई पनि धेरैमा पाइन्छ । खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ जसले गर्दा अपच, अमिलो, झुसिलो डकार, वायुले पेट ढुस्स आउने, फुल्ने, आऊ, पखाला, रिगंटा लाग्ने, आँखा पोल्ने विझाउने, रातो हुने, वान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्याष्ट्रिक, आमाशय र आन्द्राको घाउ अल्सर, उच्च रक्तचाप, मुटु सम्बन्धी, मृगौला सम्बन्धी, कलेजो सम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने हुन्छ, त्यसैले चाडपर्व, भोजभतेर आदिमा स्वास्थ्यमा बढी ध्यान दिनु आवश्यक छ ।
मासुको गुणस्तर
उपभोक्ताको घर,भान्छा र पकाउने भाँडामा आइपुगेन्जेलसम्म पशुपंक्षीको मासुको अवस्था कस्तो हुन्छ भन्नेमा ठूलो अन्योल छ मासु बजारमा । सामान्य उपभोक्ताले पशु स्वस्थ भए नभएको छुट्टयाउन सक्दैनन् । धेरैले मासु काटेको र ढुवानी गरेको पनि देख्दैनन् । त्यसैले बिक्री गर्ने ठाउँको सरसफाईका अवस्था र मासुको रुपरंग हेरेर मात्रै राम्रो नराम्रो भन्ने निर्णय गर्छन् । कुनै वैज्ञानिक जाँच वा परीक्षण भन्दा विश्वास नै हो नेपालमा बेचिने मासुको गुणस्तर मापनको आधार ।
उपभोक्तासम्म स्वस्थ र स्वच्छ मासु पु¥याउने दायित्व राज्यको हो । सरकारले जीवित पशुको स्वास्थ्य सुनिश्चित गर्न पशु स्वास्थ्य तथा पशु सेवा ऐन र मासुको गुणस्तर सुनिश्चित गर्न पशु वधशाला तथा मासु जाँच ऐन र ततसम्बन्धी नियमहरु बनाएको छ तर व्यवहारमा त्यति कार्यान्वयन भएका छैनन् ।
स्वास्थ्य
धनीहरु धेरै खाएर र गरिब सन्तुलित आहार नपाएर तथा खान नपाएर रोगी र अल्पायुमै मृत्यु भई अल्पायु हुने मुलुक विश्वमा नेपाल हो । चाडवाड बाहेक वर्षभरी रुखोसुखो आधा पेट खाने गरिब वर्गको त के कुरा मध्यम वर्गहरुले समेत सन्तुलित स्वास्थ्यकर खाना नखा“दा अधिकांश गरिब कुपोषणले अति दुब्ला, धनीहरु बढी पोषणले अति मोटा र आधा जति मध्यम वर्गीय अनियमित आहार विहारका कारण विविध रोगग्रस्त छन् । करिब चालिस प्रतिशत नेपाली उच्चरक्त ताप, ग्याष्ट्रिक अम्लपीत्त र मधुमेह मध्ये एक वा दुई रोगलाई शरीरमा आश्रय दिएका छन् र जीवन यात्रामा घस्रिरहेका छन् ।
आफ्नो शरीरले राम्ररी पचाउन सक्ने गरी खाना खाने तरिका नै स्वास्थ्य रहने मूलमन्त्र भएकोले खाना पचाउने अंग, मुख, आमाशय, पित्त प्रणाली, अग्न्याशय र आन्द्राहरु स्वस्थ रहन प¥यो र ती अंगको हामीद्वारा सदुपयोग पनि हुनुपर्दछ । खानेबेला मुखलाई चपाउने काममा नलगाई गफगाफतिर लगाउँछन् वा खुब हतारिएर नचपाई छिटो छिटो खान्छन् भने त्यस्ताले शरीरको स्वास्थ्य बिर्गाछन् । नचपाई खा“दा एकातिर पच्चिस प्रतिशत खाना वेकार जान्छ भने अर्कोतिर पच्चीस प्रतिशत रोग पनि शुरु हुन्छ । नचपाएर खानु स्वास्थ्यलाई हानी भई खर्च लाग्नु एकातिर त छदैछ अर्कोतिर त्यस्ता २५ प्रतिशत खाना नपचेर त्यसै खेरजाने भएकोले राष्ट्रलाई पनि घाटा हुन्छ ।
अन्तमा,स्वास्थ्य जागरणको व्यापक अभियान नचलेको र गरिबी एवं अभावका कारणले समेत लामो समयपछि र अन्तरालमा आउने चाडपर्वमा आवश्यक भन्दा बढी मात्रामा गुलियो, चिल्लो र गरिष्ट खाना खाने हाम्रो बानी परेको छ जस्तै एउटा परिवारले सिंगै खसी काटी खाने, चाडपर्वभरी प्रत्येक पटक माछामासु, मिठाई र फलफूल मात्रै खाने र छाकै टार्ने गरेका छौ ।
(न्याम्स वीर अस्पताल काठमाण्डौका बरिष्ठ दाँत एवं मुख रोग बिशेषज्ञ डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रिय कोषाध्यक्ष तथा नेपाल सरकारका आँखा,नाक कान घाँटी तथा मुख स्वास्थ्यका प्रमुख हुन् ।)