Chongqing चोङ्गक्विन । यसको उच्चारण चोङ्छिङ् हुंदोरहेछ । चिनियाहरु यसलाई थोङ्सिङ् भनेर उच्चारण गर्दा रहेछन् । उनीहरुको उच्चारण थोङ्सिङ र हाम्रो नेपाली शब्द थुम्सी उस्तैउस्तै सुनिन्छ ।
चोङ्छिङ चीनको केन्द्र शासित चार नगरपालिका मध्येको एक हो । बेइजिङ्,सांघाई र तियांजिन पनि यहाँका केन्द्र शासित नगरपालिका हुन् । क्षेत्रफलका हिसावले केन्द्र शासित चारवटा नगरपालिकाहरू मध्ये चोङ्छिङ सबैभन्दा ठूलो हो ।
दक्षिण पश्चिमी चीनमा अवस्थित यो नगर सिचुआन, साङ्सी, हुनान र गुइझो प्रान्तहरूसँग जोडिएको छ । चिनियाँ सभ्यताको उद्गम थलो याङ्ची नदीको किनारमा अवस्थित यो आर्थिक केन्द्र ऐतिहासिक र सांस्कृतिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।
लामो इतिहास र ऐतिहासिक प्रमाणहरुले चोङ्छिङलाई चिनिया सभ्यताको एक महत्वपूर्ण धरोहरका रुपमा उभ्याएको छ । ‘पा’जातीका मान्छेहरुको राज्यका रुपमा रहेको यो नगर ११ औं शताब्दीमा स्थापना भएको थियो । त्यसअघि सन् ३ सय १६ मा उक्त क्षेत्र तत्कालीन राजा किनले कब्जा गरेर Hofiang नामको एउटा सहर निर्माण गरेका थिए त्यतिबेला त्यसलाई चू प्रान्त भनिन्थ्यो ।
पछि सन् ११ सय ८९ मा चोङ्छिङको रुपमा स्थापना भएपछि यो चीनको महत्वपूर्ण आर्थिक केन्द्र बन्यो । किनकि,यो एउटा मात्र क्षेत्र थियो जुन अन्तरराष्ट्रिय बजारसँग व्यापारका लागि खुला गरिएको थियो । चीन–जापान युद्धको बेला सन् १९३७ देखि १९४५ को अवधिमा जापानी वायुसेनाले यो सहरलाई निकै ठूलो हमला ग¥यो । यद्यपि पहाडी क्षेत्र भएका कारण चीनका अरु सहरहरुको तुलनामा यस सहरमा निकै कम क्षति भएको थियो । जसका कारण यस क्षेत्रलाई सुरक्षित क्षेत्र ठानेर थुपै्र कलकारखानाहरु यहाँ सारियो । त्यसपछि यो सहरको विकास द्रूत गतिमा अगाडि बढ्यो ।
सन् १९५४ मा यसलाई जनगणतन्त्र चीनको सिचुआन प्रान्तभित्रको एक उपप्रान्तको रुपमा गाभियो । सन् १९९७ मा यो सहरलाई छिमेकी जिल्ला फुलिबल, वान्सियन र कियान्जियांगसँग गाभेर सिचुआनबाट पनि अलग गरियो र चीनका चार केन्द्र शासित नगरपालिका मध्ये एक नगरपालिकाको रूपमा स्थापना गरियो । पुरानो संरचनामा भव्य व्यापार गरिरहेको चोङ्छिङ् केन्द्र सरकारको मातहतमा आएपछि तीव्र विकासको चरणमा प्रवेश गर्यो । अत्याधुनिक विकास र समृद्धिले अहिले चोङ्छिङ् ‘कल्पनाको सहर’का रुपमा परिणत भएको छ ।
२३ वर्षमा चोङ्छिङ् पश्चिमी चीनको एक महत्वपूर्ण अत्याधुनिक आर्थिक केन्द्र बनेको छ । प्रशोधित खाद्यान्न, अटोमोबाइल, निर्माण सामग्री, रसायन, कपड़ा, मेसिनरी, र इलेक्ट्रोनिक्स वस्तुहरुको उत्पादनका लागि यो क्षेत्र संसारभरि प्रख्यात छ । यो सहर चिनिया मोटरसाइकल उत्पादन गर्ने सबैभन्दा ठूलो क्षेत्र पनि हो ।
सन् २००७ सम्म चोङ्छिङको कुल जनसंख्या ३ करोड १४ लाख थियो । अहिले करिब साढे ४ करोड जनसंख्या रहेको अनुमान गरिन्छ । तथ्यांक अनुसार ३ करोड मानिसहरु चोङ्छिङको सहरी क्षेत्रमा बसोबास गर्छन् र काम गर्छन् । बाँकी अरु मानिसहरु सहरी क्षेत्र बाहिरका ग्रामीण इलाकामा बसेर कृषि कर्ममा सहभागी भइरहेका छन् ।
चोङ्छिङ क्षेत्रमा थुपै पर्वत श्रृंखलाहरू पनि छन् । यसको उत्तरमा दाबा पर्वत, पूर्वमा बु पर्वत, दक्षिण पूर्वमा बुलिंग पर्वत र दक्षिणमा डालोउ पर्वतहरू अवस्थित छन् । यी सबै पर्वत श्रृंखलाहरूका कारण यो सहर वातावरणीय हिसाबले पनि राम्रो मानिन्छ ।
चोङछिङ् सहर आर्थिक केन्द्रको रूपमा विकास हुनुका पछाडि जलमार्गको पहुँच सबैभन्दा ठूलो कुरा हो । चियालिङ र याङची नदीका कारण यहाँ जल यातायातको सहज पहुँच बनेको हो ।
चीन—जापान युद्ध अघि चोङ्छिङ साँघुरो सडक र भीडभाडयुक्त आवासको सहर थियो । यहाँका गरिव बस्तीहरुमा बाँस, काठ वा खाँचले निर्माण गरिएका घरहरु हुन्थे । धनी क्षेत्रमा ईंटाले निर्माण गरिएका सामान्य घरहरु थिए । सबै क्षेत्रमा भीडभाड निकै उच्च थियो । पछि केन्द्र सरकारको मातहतमा आएपछि भने यो सहरले पुरै स्वरुप बदल्यो । योजनाबद्ध विकासको एउटा खास नमुना सहरको रुपमा आज चोङ्छिङ् विकसित भएको छ । बेइजिङ् र साङ्घाइको भन्दा पनि राम्रो विकासले आज संसारभरका मान्छेहरु चोङ्छिङ घुम्न आउन थालेका छन् । चोङ्छिङको अकल्पनीय विकास र समृद्धिले यूरोपियन मुलुकका कैंयौं शासक तथा नागरिकहरु समेत अचम्मित हुने गरेका छन् । हामी नेपालीहरुका लागि त चोङ्छिङको विकास परिकल्पना भन्दा पनि बाहिर छ ।
व्यवस्थित र दीर्घकालीन योजना अनुसार निर्माण भएको सहर, सिधा र चौडा सडक,पोल र ताररहित विद्युत, निकै अग्ला तर सानोतिनो प्राकृतिक विपत्तिले हल्लाउन नसक्ने बलिया भवन,त्यस्तै पुल,सफा र कञ्चन नदी यो सहरका विशेषता हुन् । त्यसबाहेक हरियाली यहाँको प्रमुख मुद्दा हो । एउटा रुख काट्दा ५० वटा रुख रोप्ने यो नगरको अभियान छ । सहर पनि हरियो र वन पनि हरियो देखिने गरी यहाँको विकास अगाडि बढाइएको छ । सरसफाई र सुन्दरता पर्यटक आकर्षणका महत्वपूर्ण एजेण्डा हुन् । पर्यटकलाई गर्ने सत्कार र पर्यटन प्याकेजहरु आकर्षक छन् । रेल तथा सडक सञ्जालहरु हेर्दा पजल गेम जस्तो लाग्छ । सडकहरु घुमाउरा र लामा नहोउन् भन्नका लागि ढिस्काहरुमा सुरुङ् र खाल्डाहरुमा पुल हालेर सिधा बनाइएको छ । लाखौं पर्यटकले सडकहरु भरिंदा पनि कोलाहल छैन । असुरक्षाको अनुभूति पटक्कै हुँदैन । साँझपख याङची नदीको किनारमा उभिएर रंगीन बत्तीहरुसहितका गगनचुम्वी भवनहरुको दृष्य अवलोकन गर्दा यस्तो पनि पृथ्वीमा सम्भव छ र जस्तो लाग्छ ।
मौसम
चोङ्छिङ् गर्मी मौसमका लागि नै प्रख्यात छ । पहाडी क्षेत्र भएर पनि यहाँ नेपालको दिपायलमा जस्तो उखर्माउलो गर्मी हुन्छ । गर्मीमा ४७ डिग्री सेन्टिगे्रड र चिसोमा १० डिग्री सेन्टिगे्रडसम्म तापक्रम रहने गर्छ । गर्मी मौसममा यहाँ पर्यटकहरु संख्या झन् बढी हुने गर्छ । नदी किनारमा राती अबेरसम्म बसेर मानवनिर्मित भव्य संरचनाहरुको दृष्यावलोकन गर्दा शीतल महशुस हुने भएकाले गर्मी समयमा साँझ पखको मौसम निकै रमणीय हुने गर्छ ।
अर्थव्यवस्था
चोङ्छिङमा दक्षिणपश्चिमी प्रान्तहरुबाट पूर्वी चीनमा सामान ढुवानी गर्ने प्रमुख आन्तरिक सुख्खा बन्दरगाहा छ । यो क्षेत्र ४० भन्दा बढी खनिज र प्राकृतिक खानीहरुले भरिएको क्षेत्र हो । यहाँ ४.८ अर्ब मेट्रिक टन भन्दा ठूलो क्षमताको कोइला खानी छ । २ सय ७० अर्ब घनमिटर क्षेत्रमा फैलिएको प्राकृतिक ग्यास भण्डार पनि छ ।
चोङ्छिङमा एशियाको सबैभन्दा ठूलो एल्मुनियम प्लान्ट छ । जसका कारण यो दक्षिण पश्चिम चीनको एल्मुनियम घरको रुपमा समेत चिनिन्छ । यहाँबाट २ लाख १३ हजार मेट्रिक टन एल्मुनियम निकालेर निर्माण सामग्री, प्रिन्टिङ् , विद्युतीय उपकरण , एरोस्पेस, प्याकेजिङ् तथा सवारी उत्पादनमा संलग्न कम्पनीहरूको लागि उत्पादनका काममा प्रयोग भइरहेको छ । कपास, रेशम, कागज, र छालाका सामानहरूका साथै आटा मिलहरू,रंग उत्पादन कम्पनीहरु, तरकारी , तेल र खाद्य सामग्रीका प्रशोधन उद्योगहरु पनि यहाँ प्रशस्त छन् । यो सहर हस्त शिल्पहरूका लागि पनि प्रसिद्ध छ ।
चोङ्छिङ कृषि उत्पादनका हिसाबले पनि लोकप्रिय छ । अहिले पनि यहाँ चामल र फलफूलहरुको विशेष उत्पादन हुने गर्छ । कृषि, अधिकांश कृषकहरूको आयअर्जनको राम्रो स्रोत हो । विगत २५ वर्षदेखि यहाँको ठूलो जनशक्ति दक्षिणी र पूर्वी चीनका उद्योगहरुमा कार्यरत छ । आफैसँग प्रशस्त सम्भावना र उपलब्धि हुँदाहुँदै पनि यो क्षेत्र चीनको सबैभन्दा ठूलो श्रम जनशक्ति निर्यात गर्ने क्षेत्र समेत मानिन्छ ।
केन्द्रीय सरकारले हालै पश्चिमी चीनको विकास रणनीति बनाइरहेको छ र त्यसका लागि खर्बौ युआन लगानी गरिरहेको छ । केन्द्रीय सरकारले चोङ्छिङको पूर्वाधारमा अझै लगानी गरेर चोङ्छिङलाई “पश्चिम तर्फको प्रवेशद्वारको रुपमा अगाडि बढाउने योजना बनाइरहेको छ ।
यातायातः
चोङ्छिङ पश्चिमी चीनको सबैभन्दा ठूलो अन्तर्देशीय सुख्खा बन्दरगाहा पनि हो । ऐतिहासिक हिसाबले यसको धेरैजसो यातायात विशेष गरी पूर्वी चीनमा याङ्ची नदीबाट नै जोडिएको छ ।
अहिले यसलाई थुप्रै रेलवे र राजमार्गहरूमार्फत देशको अन्य भागहरूमा पनि जोडिएको छ । चोङ्छिङ – छेन्दु हाइस्पिड रेवले, चोङ्छिङ – गुइझाउ रेलवे, चोङ्छिङ–हुबेई रेलवे तथा चोङ्छिङ –हुनान रेलवेले यहाँ यातायातको सहज पहुँच बनाएको छ । त्यो बाहेक अन्य थुप्रै प्रान्तहरुसँग जोड्ने रेलवे र हाइवेहरु पजि यहाँ बनिरहेका छन् । हाइ स्पिड रेल,मेट्रो रेल,मोनो रेलसहित जल तथा थल यातायातका प्रशस्त साधनहरु यहाँ छन् । रेलवे तथा सडकका सञ्जालहरु यति भयानक छन् कि हामी जस्ता नयाँ मान्छेहरुले हेर्दा पनि रिंगटा लाग्छ ।
जीवनशैली
चोङ्छिङ्का अधिकांश मानिसहरु रोजगारमा संलग्न छन् । उद्योग,व्यापार तथा यातायातका साथै पर्यटन उद्योगमा लाखौं लाख युवायुवतीहरु काम गरिरहेका छन् । व्यस्त जीवनशैलीका कारण यहाँका मान्छेहरुको हरेक क्रियाकलाप तीव्र देखिन्छ । छिटो छिटो हिंड्ने, रेल,बस वा पैदल हिंड्दा समेत खाना खाँदै हिंड्ने यहाँको प्रचलनलाई व्यस्तताको प्रतीकका रुपमा लिन सकिन्छ । सार्वजनिक सवारीमा सतप्रतिसत चिनियाँहरु मोबाइलमै व्यस्त देखिन्छन् । ‘वी च्याट’ यहाँको सोसल मिडिया हो । यही मिडियाको प्रयोग गरेर उनीहरु व्यक्तिगत,सार्वजनिक वा सरकारी सूचनाहरु प्राप्त गर्ने मात्र होइन इलेक्ट्रोनिक पेमेन्टका सवै काम गर्छन् । अधिकांश चिनियाँहरु नगद पैैसा बोक्दैनन् । वी च्याट स्क्यान गरेर पैसा तिर्ने प्रवृत्ति यहाँसम्म देखियो कि सडकमा बच्चाका खेलौना विक्री गर्नेहरुले समेत स्क्यान कोड बोकेर हिंडिरहेका देखिन्थे । बिहान ६ बजे व्रेकफास्ट,दिउँसो १२ बजे लञ्च र साँझ ६ बजेदेखि डिनर खाने प्रचलन छ । साँझको डिनरलाई भने चिनियाहरु विशेष महत्व दिन्छन् र यसका लागि लामो समय छुट्याउँछन् । बिहान र दिउँसो जस्तो हतार हतार खाने साँझमा गर्दैनन् । धेरै खाने तर हलुका खाना खाने यहाँको चलन छ ।
पर्यटन
चोङ्छिङ् चीनको प्रसिद्ध आर्थिक विकास केन्द्र मात्रै होइन,पर्यटकीय केन्द्र समेत हो । यहाँ लाखौं पर्यटकहरु भ्रमणका लागि आउने गर्छन् । २५ वर्षको अवधिमा चोङ्छिङ्ले गरेको विकासको वैभव हेर्न यहाँ पर्यटकहरुको ओइरो लाग्छ । खासगरी आन्तरिक पर्यटकहरुको संख्या नै यहाँ अत्यधिक देखिन्छ । तर पछिल्ला केही वर्षदेखि यहाँ आउने विदेशी पर्यटक तथा व्यापारीहरुको संख्या समेत अत्यधिक देखिन थालेको छ । साँझ पखको विद्युतीय झिलिमिली हेर्न यहाँ लाखौ पर्यटक ओइरिंदा रहेछन् । गगनचुम्वी भवनहरुको प्रतिविम्ब याङ्ची नदीको पानीमाथि अत्यन्तै मनमोहक देखिन्छ । नदीमाथिको आकर्षक पुलको तल्लो तलामा छिनछिनमै आउने,जाने रेल तथा माथिल्लो तलामा तीव्र गतिमा दौडिरहेका सवारीहरुको बत्ती नदी किनाराबाट अत्यन्तै आकर्षक देखिन्छ । नदी किनारा तथा पहाडका भिराला जमिनमा बनेका विभिन्न स्वरुपका अग्ला अग्ला भवनहरुले अचम्मित तुल्याउँछ । यहाँ वार्षिक १० करोड स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन् ।
चीनको विकासको स्पिड हेर्दा आश्चर्य लाग्छ । विशेष गरी सन १९९० देखि आजसम्म आउँदाको अकल्पनीय विकास देखेर नयाँ समाजमा पुराना आदतहरु फर्न र एडजस्ट हुन गाह्रो लागेको छ । साठी वर्षदेखि माथिका मानिसहरु ज्यादै अचम्भित हुन्छन् र चीनप्रति गर्व गर्छन् । राजनीतिक क्रान्तिका नायक माओ, आर्थिक समृद्धिका सूत्राधार देङ्ग र अहिलेका राष्ट्रपति सिजिपिङ्गप्रति गौरव गर्छन् ।