प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा गरेको सम्बोधनको मुख्य अंश
हामीले लोकतान्त्रिक प्रणाली स्थापित गरिसक्यौं, जनतामा सार्वभौसमसत्ता आइसक्यो, सार्वभौम जनता सबै कुराका अन्तिम निर्णायक शक्ति हुन् । हामीले प्रणाली मात्र होइन, प्रकृया पनि लोकतान्त्रिक अवलम्बन गरेका छौं, अगाडि बढाएका छौं । जनताको सार्वभौमसत्तालाई व्यवहारिक रुपमा निर्वाचन समेत गराएर कार्यान्वयन गरिएको छ ।
संरचनाहरु तयार गरेर संविधान कार्यान्वयन र संरचनाहरुलाई संविधान कार्यान्वयनका निम्ति गतिशील बनाउने सन्दर्भमा हामीले बाटो तय गरिसकेका छौं र अगाडि बढिसकेका छौं । यस्तो अवस्थामा हामीले अब सुशासन र विकासका प्रश्नहरुमा आफ्ना सम्पूर्ण विचार र प्रयासहरुलाई केन्द्रीत गरेर अगाडि बढ्न जरुरी छ ।
हामी विभिन्न दल छौं, हामीले रोजेको प्रणाली हो बहुदलीय व्यवस्था, बहुदल, बहुविचार, बहुलता र विविधता । हामीले रोजेको छानेको स्वीकारेको प्रणाली हो । यसमा स्वाभाविक रुपमा केही मतभेद हुनसक्छ तर हामी आधारभूत र महत्वपूर्ण कुरामा एकतावद्ध भएर स्वस्थ प्रतिस्पर्धाको बाटोबाट अगाडि जान सक्छौं ।
हिजो हामी लोकतन्त्रको लडाईंमा थियौं, लोकतन्त्रको लडाईंमा हामी साथसाथै अगाडि बढेका थियौं । हाम्रा तरिकाहरु र बाटाहरु अलि फरफरक भए पनि गन्तव्य एउटै थियो । त्यसकारण विभिन्न ठूला असहमतिका बावजुद हामी सहमतिको विन्दुमा पुगेका छौं र आज यस ठाउँमा छौं । आज प्रणालीको ग्राह्यता, उपलब्धीहरुको अर्थ र मर्म सहित त्यसको स्वीकार्यता, तिनलाई संस्थागत गर्ने संविधान, तिनको कार्यान्वयन र अब समाजलाई अगाडि बढाउने अभियानमा हामी एउटै यात्रामा अगाडि पनि बढेका छौं ।
हाम्रो समाजको चरित्र पनि अलि त्यस्तै छ । हामी संघर्ष गर्दा पनि अन्तिममा सहमतिमा पुग्छौं, हाम्रा संघर्षको र संघर्षहरुको उपलब्धीको टुंगो लगाउने विधि पनि त्यही छ । २००७ सालमा सशस्त्र संघर्ष भयो । त्यो संघर्ष सम्झौतामा टुंगियो । जो राणा शासन विरुद्ध आन्दोलन गरिएको थियो, तिनै राणालाई प्रधानमन्त्री बनाएर, जुन राजा भागेर गएका थिए तिनै राजालाई फेरि बोकेर ल्याएर आसन ग्रहण गराएर आन्दोलनकारी शक्ति सरकारमा समेल भएर सहमति बनेको थियो ।
र, सहमतिको बाटोमा देश अगाडि बढेको थियो । जहाँ सहमति भयो र सहमतिका साथ अगाडि बढ्यौं त्यहाँ हामीले ठूलठूला सफलता पाएका छौं । संघर्षको मैदानमा सफलता पाएका छौं, आन्दोलनको क्रममा सफलता पाएका छौं । पछिल्ला अवधीमा जहाँ हामी एकतावद्ध भएर उभिएका छौं त्यहाँ सफल भएका छौं । विभिन्न प्रतिगामी कदम त्यतिबेला भएका छन् जतिबेला हमी एकतावद्ध हुन सकेनौं । निर्दलीय निरंकुशतन्त्र त्यतिबेलासम्म चलेको छ जतिबेलासम्म हामी एकतावद्ध हुन सकेनौं । ०४६ मा हामी एकतावद्ध भयौं । ३० वर्षको निरंकुशतन्त्र ढल्यो । पछि पनि हामी एकतावद्ध भयौं, माघ १९ जस्ता कदमहरुलाई पराजित गर्यौं । राजतन्त्रका निरंकुश हुने सपनालाई पराजित गर्यौं हामीले एकतावद्ध भएपछि ।
एकतावद्ध भएर नै हामीले संविधान जारी गर्न सकेका हौं । एकतावद्ध नभएको भए संविधान जारी गर्न सकिने थिएन, सम्भव हुने थिएन । एकतावद्ध नभएको भए संविधान जारी गरिसकेपछि पनि निर्वाचन सम्भव हुने थिएन । निर्वाचन पनि हामी एकतावद्ध भएर सम्भव भएको हो । अब हामी यी सबै काम भइसकेको अवस्थामा आइपुगेका छौं र अनुभवले हामीलाई एकतावद्ध ढंगले अगाडि बढ्न शिक्षा दिएको छ । यति बेला म त्यहि अग्राह गर्न चाहन्छु । अब हाम्रा एजेण्डाहरु, हाम्रा विषयहरु, यी कुराहरुलाई पनि हामीले सुशासन र विकासतर्फ केन्द्रीत गर्न जरुरी छ ।
आजको समय आइडियोलोजिकल आग्रहमा अल्झिने र ती मतभेदले सत्यलाई अस्वीकार गर्ने, सत्यभन्दा संलग्नतालाई माथि ठान्ने जस्ता कुराहरु मैले अगाडिका सन्दर्भमा पनि कहिले कहिले भन्ने गरेको छु ।
संलग्नतालाई महत्वपूर्ण ठान्ने र सत्यलाई कम महत्व दिने जस्ता कुराहरु हामीले गर्न यतिबेला अब हामीसँग समय छैन । दुनियाँ तिव्र गतिमा अगाडि बढिरहेको छ । विकासका हिसाबले, विज्ञानप्रविधिको हिसाबले, भौतिक, कनेक्टिभिटी अरु विभिन्न हिसाबले दुनियाँ तिव्र गतिमा अगाडि बढेको छ । तिब्र गतिमा अगाडि बढेको दुनियाँलाई हामीले पक्रन सकेनौं भने हामीले समय खेर फालेका हुन्छौं । समयले हामीलाई पर्खिएको हुँदैन, पर्खिँदैन ।
त्यसकारण मेरो सबै माननीयजीहरुमा सभामुखजी मार्फत आग्रह छ विकासको यस गतिलाई समाउन सकौं । यस कामको नेतृत्व अहिलेको सरकारले गर्छ । हामीले बलिदानपूर्ण संघर्षबाट लडेर ल्याएको प्रणाली र त्यस प्रणाली अनुसारको संविधान, त्यस संविधान अनुसारका कानुन निर्माण र कार्यान्वयनमा सरकार प्रतिवद्ध छ । हामी यतिबेला ससाना कुरामा अल्झने, आग्रहहरुमा अल्झने, अनावश्यक बहसमा अल्झनु उपयुक्त हुँदैन ।
केही दिनपछि आजको राजनीतिक अवस्था, विभिन्न किसिमका अहिले चर्चामा रहेका समसामयिक सान्दर्भिक विषयहरु, हामीले गर्नुपर्ने काम, तत् सम्बन्धमा नेपाल सरकारको दृष्टिकोण आदिका विषयमा छुट्टै समय लिएर राख्नेछु । हामी अलिकति विलम्ब भइसकेका छौं । सभामुख चयनकै सम्बन्धमा पनि हामी केही विलम्ब भयौं । अब हामीले विलम्ब गर्नु हुँदैन । हाम्रा कामहरुलाई संसद्ले पनि सरकारले पनि र हरेक ठाउँबाट तिब्र गतिमा अगाडि बढाउन जरुरी छ । नत्र हामी वास्तवमै पछाडि पर्छौं ।
अरु विषयहरुमा म पछि आफ्ना कुराहरु राख्नेछु । यतिबेला हाम्रो अगाडि थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्नेछ । प्रस्तावहरु पारित गर्नुपर्नेछ । हामीले धेरै अगाडिदेखि विभिन्न चरणहरु पार गर्दै आएको, पाँचसात वटा प्रधानमन्त्रीको कार्यकालहरु जोड्दै अगाडि आएको र अहिले संसद् समक्ष अनुमोदनका लागि प्रतिक्षा गरिरहेको एमसिसी जस्ता कुराहरु पारित गर्नुपर्ने छ ।
त्यस्ता अनेक विषय हाम्रा अगाडि छ । जसका सम्बन्धमा म सविस्तार पछि भन्नेछु । अहिले यस अधिवेशनमा म सबै माननीयजीहरुलाई स्वागत पनि गर्न चाहन्छु । नयाँ वर्ष २०२० लाई हामीले नेपाल भ्रमण वर्षका रुपमा अगाडि सारेका छौं ।
सुरुमै हामीलाई केही धक्काका संकेतहरु प्राकृतिक हिसाबले देखा परेका छन् । जसलाई हामीले सावधानीपूर्वक सामना गर्नुपर्ने छ । सरकार त्यसको तयारीमा लागेको छ । अब यस अधिवेशनलाई अलिकति समय खेर गएको भए पनि अब खेर जान नदिएर थुप्रै कामहरु हाम्रा अगाडि जुन छन् तिनलाई सहज ढंगले अगाडि बढाउनुपर्ने छ । ती कामहरु हामी अगाडि बढाउन सफल हुनेछौं र यस कामलाई सभामुख महोदयको सफल नेतृत्व सदनमा रहनेछ भन्ने मैले विश्वाश लिएको छु ।