भनिन्छ राजनीतिमा पदका लागि दाउपेच र हानथाप धेरै हुन्छ । व्यक्तिगत महत्वकांक्षा चुलाउने र त्यसको व्यवस्थापन गर्न नसक्दा असन्तुष्टि छताछुल्ल पार्ने प्रवृति पनि झन मौलाउँदै छ । राजनैतिक यात्रामा आफ्नो दुनो सोझ्याउ जे पनि गर्ने भेटिन्छन् । लोकतान्त्रिक नीति, विचार र पद्दतीलाई व्यवहारमा उतार्न नसक्ने प्रवृतिले नेता, कार्यकर्तालाई गाँजेको छ । समपर्ण, निष्ठा र आदर्शलाई बोकेर अघि बढ्ने पंक्ति राजनीतिमा कमजोर हुन्छ कि भन्ने चिन्ता व्याप्त छ ।
बलदेव शर्मा पोखरेल, बर्ष ८२, जो समर्पण र निष्ठालाई प्राथमिकतामा राखे । दाउपेच र हानथापलाई रोजेनन् । निष्ठा, मूल्य, मान्यता र आदर्श खोज्नेहरुका लागि एउटा उदाहारण बने । आफूले खडा गरेका मूल्य र मान्यतालाई स्थापित गर्न सधैं प्रयासरत पोखरेल यही माघ ६ गते भौतिक रुपमा सधैंका लागि अस्ताएका छन् ।
राजनैतिक चेतनाको विजारोपण भएदेखि नै उनले कांग्रेसलाई रोजे । प्युठानको तुसारामा १९९५ मा जन्मेका बलदेवलाई अभिभावकले राम्रो शिक्षादिक्षा दिने निधो गरे । गाउँमा गुरुकुल शिक्षापछि उनी पढ्न काठमाडौं पुगे । दरबार हाइस्कुल पढे । त्यही पढ्दापढ्दै उनमा राजनैतिक गतिविधिमा सक्रियता बढ्योे । २०१० सालमा दरबार हाइस्कुलमा पूर्वमध्यमा पढ्दादेखि विद्यार्थी राजनीतिमा होमिए । छात्र संघमा संगठित भए । २०१४ सालमा भद्र अवज्ञा आन्दोलन भयो । त्यसमा सक्रिय सहभागी भए । दुई वर्ष अघि प्रदेशसभा सदस्यमा चुनिएपछि पंक्तिकारसगंको कुराकानीमा भनेका थिए—त्यो आन्दोलनमा सक्रिय सहभागी भएपछि मलाई राजनीतिमा परिपक्क बनाउँदै लग्यो ।
२०१५ सालको चुनावमा पार्टीका उम्मेदवारलाई जिताउन तत्कालीन प्युठान – हालको रोल्पा—प्युठान) खटिए । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठेर निरंशुक पञ्चायती व्यवस्था लागु गरे । प्रजातन्त्रका लागि लडेका उनी २०१७ सालमा पक्राउ परे । तीन बर्ष नेपालगञ्ज जेल बसेपछि रिहा भए ।
जेलबाट रिहा भएपछि २०२० सालमा उनी प्यूठानबाट रुपन्देही बसाईं सरे । यही कांग्रेसको राजनीतिमा सक्रिय भए । २०१५ सालको संसदीय चुनावमा गुल्मीबाट चुनिएका थिए—निलाम्बर पन्थी । पन्थी पनि पछि रुपन्देही बसाई सरे । पञ्चायतको अप्ठारो बेला संगठनमा लागेर काम गर्नेको खडेरी प¥यो । यही बेला डिल्लीरमण शर्मा, पन्थी र पोखरेल लगायतले कांग्रेसलाई तंग्राउने काम गरे ।
पञ्चायती व्यवस्थाको कठिन समयमा २०२४देखि २०३८ सालसम्म कांग्रेस रुपन्देहीको सभापति थिए पन्थी । त्यही बेला सचिवको जिम्मेवारी निभाए,पोखरेलले । २०४२ सालमा कांग्रेसले सत्याग्रह आन्दोलन गर्यो । यही आन्दोलनमा पक्राउ परेका उनी चार महिना तौलिहवा जेल बसे ।
बहुदलीय व्यवस्था आगमनपछि कांग्रेस लामो समय सत्ताको केन्द्रमा रह्यो । कांग्रेससंग लामो समय सत्ताको साँचो हातमा हुँदा राजकीय पदको फाइदा लिनेहरु धेरै भएपनि उनी अटाएनन् । राजकीय जिम्मेवारी नपाउँदा उनको कुनै गुनासो भएन् । प्रदेशसभा सदस्यको समानुपातिक सूची तयार गर्न कांग्रेस बुथ समितिको बैठक बस्यो । बैठकका पाका नेता पोखरेलले मुख खोले— मपनि प्रदेश सभा सदस्यको लागि समानुपातिक सूचीमा बस्छु ।’ लामो राजनैतिक यात्राको बाटो पार गरेका उले इच्छा गरेपछि अरु बोल्न सकेनन्,सबैले समर्थन जनाए । बुथ, क्षेत्र, जिल्ला हुँदै माथिल्लो कमिटीमा उनको नाम सिफारिश भयो । उनी उम्मेदवार चयन मात्रै भएनन्, सबैतिर कांग्रेसको पराजय हुँदा सिमित संख्यामा अन्तिम सूचीमा छनौट पर्दा उनी छुटेनन् ।
“अहिले पार्टीले मुल्याङकन गर्यो भन्ने महशुस भएको छ—दुई वर्ष अघि प्रदेशसभा सदस्य चुनिएपछि उनले यस पंक्तिकारलाई भनेका थिए । प्रदेश नम्बर ५ प्रदेशसभामा ८७ सदस्य छन् । तीमध्ये उनको पहिचान बन्यो जेष्ठ सदस्यको रुपमा । जेष्ठ सदस्यभएकाले उनले प्रदेश प्रमुखबाट सपथ ग्रहण गरी अरु सदस्यलाई सपथ गराए । सभामुखको चयन नहुञ्जेल प्रदेशसभा सञ्चालन गरे ।
रुपन्देही, तिलोत्तमा—१४, खैरहियाका बलदेव शर्मा पोखरेल प्रदेशसभामा कांग्रेस संसदीय दलको नेता हुनु नै प्रदेशसभामा कांग्रेसलाई सहमति र सहकार्यको बाटोमा हिडाएको विश्लेषण गरिएको छ । पाका राजनीतिज्ञ पोखरेलले संघीय शासन प्रणाली नेपालको लागि नयाँ भएकाले सबै मिलेर संस्थागत गर्नुपर्ने धारणा पटक पटक सार्वजनिक गर्दै आएका थिए ।
कांग्रेस ससंदीय दलको नेता चुनिएपछि उनले भनेका थिए— हामी प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्छौं । उनले भनेझैं कांग्रेसले प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेलेको र त्यसको श्रेय नै उनी भएको दलका नेताले समेत बताइसकेका छन् । कांग्रेस संसदीय दलले आयोजना गरेको कार्यक्रममा नेताहरुले सहमति र सहकार्यका लागि पोखरेलले गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि कांग्रेस यसैगरी अघि बढ्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री शंकर पोखरेलको भनाईमा पाका नेता पोखरेलले प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई सहमतिको बाटोमा हिडाएर परिपक्क काम गरे ।
नेपा प्रमुख सचेतक भुमिश्वर ढकाल सहमति र सहकार्य मार्फत सिंगो प्रदेशसभालाई सही बाटो दिन उनले दिशानिर्देश गरेको र सधैं सम्झना रहने बताउँछन् ।
कांग्रेस महिला नेतृ एंव प्रदेश सभा सदस्य रमा अर्याल पोखरेललाई आफूले चाकरी चाप्लुसी नगर्ने र लागेको कुरा बोल्ने इमान्दार नेताको रुपमा बुझेको बताउँछिन् ।
लामो राजनैतिक जीवनमा उनले थुप्रै मोर्चामा जिते । लामो राजनैतिक यात्रामा अनेक हण्डर र ठक्करको सामना गर्दै अन्ततः उनले जित निकाले । जुन शासन व्यवस्थाका निम्ति लडे, त्यो शासन व्यवस्था आयो । त्यो जीत नै उनको लागि ठूलो थियो । तर जीवनमा उनले रोगसंग हारे ।
एक वर्ष अघि उनलाई छाती दुख्यो । श्वासप्रश्वासमा समस्या भयो । २०७५, फागुन दोश्रो साता उपचारको लागि काठमाडौं गए । ह्याम्स अस्पतालमा जाँच गर्दा फोक्सोमा क्यान्सर भएको पत्ता लाग्यो । बुढ्यौली उमेर तर पनि उनी कत्ति विचलित भएनन् । रोगलाई जित्न सकिन्छ भन्ने दृढ आत्मविश्वास देखियो । सात पल्ट किमोथेरापी गरियो तर पनि उनलाई रोगले गाँज्दै लग्यो । काठमाडौंबाट घरमा ल्याइयो । रगतमा प्लेटलेसको कमि भएर बेहोस भएपछि क्रिमसन अस्पताल लगियो । बेहोस भएर अस्पताल पुगेका उनी निको भएनन् । जीवनको लामो यात्रामा राजनीति केवल पदीय हानथापका लागि मात्रै होइन् भन्ने स्थापित गरे ।
सहकार्य र सहमतिबाटै लोकतन्त्रलाई संस्थागत गर्न सकिन्छ । लोकतान्त्रिक पद्दतीलाई स्थापित गर्न सक्दा समाजलाई सही बाटोमा लैजान सकिन्छ । स्वर्गीय पोखरेलले छोडेको यही मर्मलाई आत्मसात गर्दा नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
प्रजातान्त्रिक योद्धा बलदेव शर्मा पोखरेलप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली ।