रूपन्देही र कपिलवस्तुका खेतीयोग्य जमिनलाई पर्याप्त सिंचाईको व्यवस्था गर्न र जलविद्युतको समेत व्यवस्थापन गर्ने उद्देश्यले कालीगण्डकीको पानी तिनाउमा खसाल्ने विषयको चर्चा हुन थालेको करिब आधा दशक भन्दा बढी हुन थाल्यो। यो बहुउद्देश्यीय परियोजनाको चर्चासँगै यसको कार्यान्वयनको चरणका लागि यसको बहससँगै धेरै नै प्रगति पनि भएका छन्।
कालीगण्डकी–तिनाउ डाइभर्सनको काममा जति प्रगतिउन्मूख हुँदै गइरहेको छ, यसको कार्यान्वयनमा पनि त्यति नै नयाँ नयाँ खालका मुद्दाहरु उठ्न थालेका छन्। यो परियोजना सम्पन्न हुँदा तिनाउलाई प्राकृतिक, पर्यटकीय तथा जैविक विविधताले सम्पन्न बनाउन, विद्युत र सिंचाइको व्यवस्था हुने छ। जलस्रोत तथा सिंचाइ विभागका अनुसार करिब ९ मिटर चौडा सुरुङमार्गबाट ८१ दशमलब ६ क्युसेक पानी तिनाउ नदीमा खासालेर जलविद्युत उत्पादनसँगै रुपन्देही र कपिलवस्तुको १ लाख ६ हजार ६ सय हेक्टर जमिन सिंचाइको व्यवस्था हुनेछ।
हामीकहाँ कुनैपनि कामको थालनी गर्नुपूर्व त्यसबाट पर्ने वा त्यसले झेल्नुपर्ने सामाजिक अवरोध, अदालती कानुनी उल्झन जस्ता विषयमा लामै समय अल्झिनु पर्ने हुन्छ। राजनीतिक नेतृत्वले निर्वाचनमा घोषणा गरेका विकासका मुद्दाहरु पूरा गर्न विकास योजनाका कार्यक्रम ल्याउन खोज्दा मेरो घर, टोलबाट ल्याउन पाइँदैन भनेर आन्दोलननै गर्ने प्रवृत्ति हाम्रो समाजमा मौलाएको छ। यस्ताखाले अवरोधले हाम्रा विकासका आयोजना वर्षौसम्म अलपत्र पर्ने परेका धेरै नै छन्।
यसको पछिल्लो उदाहरण त बुटवलको राजमार्ग चौराहादेखि चिडायाखोला सम्मको सडक विस्तारमा वर्षौदेखि स्थानीयले गरेको अवरोध र राज्यको मुख्य अंगको रुपमा रहेको अदालतभित्रको आर्थिक चलखेल हो। यसले विकासको योजना त अलपत्र पर्यो नै समयमै योजना सम्पन्न हुन नसक्दा राज्यले करोडौं घाटा व्यहोर्नु पर्ने अवस्था छ । गत महिना वैदेशिक यात्राका लागि उत्तरी छिमेकी मुलुक चीन जाने अवसर मिल्यो।
करिब एक साताको भ्रमणले मलाई मात्र हैन, हामी भ्रमण दलमा रहेका सातजनालाई नै एउटा सिकाइको नयाँ अनुभवको अवसर मिल्यो। चीनको पनि हाल अत्यन्तै उत्कृष्ट विकासमा राम्रो फडको मार्न सफल सिचुवान प्रान्तको पहिलो भ्रमणका लागि पुष ४ गते हामी सात जनाको समूह एयर चाइनाको काठमाण्डौ–छेन्दूको उडानबाट दिउँसो १.५५ बजे हवाई यात्रा सुरु भयो।
सिचुवान हाम्रो प्रदेश नं. ५ को भगिनी सम्बन्ध स्थापित भएको प्रान्त हो । गत वर्ष मात्र हाम्रो प्रदेशका मुख्यमन्त्रीको सिचुवान भ्रमणका समयमा दुई प्रान्त बीच भगिनी सम्बन्ध स्थापित भएको हो। हामी काठमाण्डौबाट उडेको करिब सवा २ घण्टामा सिचुवानको राजधानी छेन्दुको विमानस्थल छेन्दु विमानस्थलमा अवतरण गर्दा स्थानीय समय अनुसार त्यहाँ झण्डै साढे ६ बजिसकेको थियो।
हामी विमानस्थलमा ओर्लिंदा बेलुका भएको तर, सबैतिर आकर्षक बत्तीको झलमल्ल उज्यालोले हामीलाई उत्साहित तुल्यायो। हामी जहाजबाट ओर्लिंदा मुटु नै कमाउने चिसो त्यसमा अझै सिमसिम पानी परिरहेको न्यानोका लागि हतारमै एयर बसमा पुग्यौ। बसले विमानस्थलको झण्डै २ किलोमिटर जति हिंडेपछि अध्यागमनमा प्रवेश गरियो। अध्यागमनमा हाम्रा पासपोर्टको चेकिङ र मेसिनमा हाम्रा फेससेभिङ र औंठाको छापपछि मात्र चीन प्रवेशको अनुमति प्राप्त भएको ढोका खुल्यो।
चिनियाँहरुको अध्यागमनको चेकिङको कामप्रतिको संवेदनशीलता र व्यवस्थापनले लाग्छ, हामी त हाम्रो अध्यागमनमा किन यति धेरै कमजोरी गर्छाैं। हामी चिनियाँ अध्यागमनमा सबै किसिमको चेकजाँच पश्चात बाहिर निस्कदासँगै काठमाण्डौंबाट गएका चिनियाँ गाइड रेनले त्यहाँको ट्राभल एजेन्सीका प्रतिनिधि र त्यसको गाडी विमानस्थलमा आइपुगेको जानकारी दिएपछि सोही गाडीमा पहिलो दिनको गन्तव्य होटलतर्फ लागियो।
गाडीको यात्राका क्रममा हामी उमेरले झण्डै आधा आधाको फरकका ७ जना सुरुमै सहज बनाउनेतर्फ लागियो। न कि यसपछिका यात्रामा कुनै असहज नहोस् भन्ने हाम्रो मनसायले काम गरेको थियो।
झण्डै १ घण्टाको यात्रामा विमानको यात्राका रमाइला विषय उठाउँदा पत्रकार मित्र विष्णु घिमिरेले आदरणीय पत्रकार दाजु अर्जुन ज्ञवालीलाई विमान नास्ता खाने समयका लागि रोकिएको छ भन्दा अर्जुन दाइले हो र ? मैले त थाहै पाइन भनेको विषयले सबैलाई रमाइलो बनायो। विमानस्थलबाट होटलसम्म पुग्दाको करिव १ घण्टा बढीको यात्रामा हामी चिनियाँ विकासका बारेमा देखेका भन्दा पनि सुनेका र अध्ययन गरेका विषयमा गफिदै यात्रा गर्दै होटल पुग्दा स्थानीय समय अनुसार झण्डै ८ बजेको थियो। होटलमा पुगेर कोठाको व्यवस्थापन पछि खानाको प्रबन्ध गर्न हाम्रा गाइडले बाहिर कतैबाट नुडल्स मगाएर खुवाए।
भोक अल्लि नै लाग्या हुनाले होला थुप्पासहितको नुडल्स सबैले स्वादिलो मानेरै खाइयो। यद्यपि हाम्रा भन्सामा साँझ बिहानै नेपाली खाना दाल भात खाने मुख नुडल्सले हाम्रो पेट त हरायो तर, भोक हराए जस्तो लागेन। तै पनि विकल्प नै केही थिएन। चिनियाँहरुको संस्कार बेलुका ७ बजेपछि खाना खान खोज्नु असम्भव जस्तै हुँदो रहेछ। भ्रमणको पहिलो दिन बिहानै ८ बजे रेष्टुरेन्टमा बिहानको खाजा खान झरियो।
हाम्रा चिनियाँ गाइड साथीले विमानस्थलबाट होटलमा आएपछि अर्को दिनको समय तालिका बताइसकेका थिए। सोही अनुसार हामी बिहान तयार भएर बिहानको खाजा खान तल झरेका थियौं। तर, हामी भन्दा उनीहरु नै केही ढिला गरे। बिहानको खाजा खाएर भ्रमणको गन्तव्य पुग्दा करिब १० बजेको थियो। उक्त दिन पहिलो गन्तव्य मन्जुश्रीको मन्दिरको अवलोकन हामीलाई पुर्याइयो।
हामीले बाटामा कहाँ जाँदै छौ भनेर रेमलाई सोध्दा उनले मन्जुश्रीको मन्दिर भनेको हामीले पटक्कै नबुझेपछि उनले हामीलाई सजिलो गरी बुझाए ‘काठमाण्डौंको पानी निकाल्न चोभारको डाँडो काट्ने मान्छे ’ भने पछि बल्ल सबैको मुखबाट एकैपटक मन्जुश्री भन्ने निस्कियो।
सबैजना हास्यौं। पहिलो दिन छेन्दुकै मन्जुश्री मन्दिर, ऐतिहासिक बजार क्षेत्र हाम्रो पाटन दरबार क्षेत्रझै लाग्ने बजार क्षेत्रमा घुमेर म्युजियम अवलोकन गर्न पुग्यौं। पहिलो दिनको हाम्रो भ्रमणलाई म्युजियम नजिकैको स्थापना गरिएको चिनियाँ सांस्कृतिक क्रान्तिका महान नेता माओत्सेतुङ्को शालिकलाई सबैले श्रद्धापूर्वक अभिवादन गरेर केही थान तस्वीर खिचेर होटल तर्फको गन्तव्यतिर लागियो।
पहिलो दिनको घुमफिरको सामान्य समीक्षा गर्दै बेलुकाको खाना खान होटलको गोलो डायनिङ टेबलमा बसियो। चीनको विकास र समृद्धि सामान्य ढंगले सम्भव भएको होइन, यसमा सबैभन्दा पहिला राजनीतिक नेतृत्वको सोंच, परिकल्पना, इमान्दारिता र जनताको विश्वासले मात्र सम्भव भएको भन्ने हामिले अनुभव गर्यौ। हाम्रो नेपालमा राजनीतिक नेतृत्वलाई अहिले त्यो खालको अवसर जनताले दिएका छन्। जनताले दिएको यो अवसरलाई नेतृत्वले अब देशलाई समृद्धितर्फ डोराउने इच्छाशक्तिसहित अगाडि बढ्ने आँट गरेकोले नेपालको समृद्धिको सपना पूरा हुने कुरामा विश्वस्त हुन सकिने सबैको एकमत रह्यो । चीन भ्रमणका धेरै कुराहरु स्मरण लायक छन्। ती विषयहरु विस्तारै लेखनका माध्यमबाट प्रस्तुत गरौंला नै। भ्रमणको दोस्रो दिन साह्रै चिसो थियो । म आफू चिसो छल्न न्यानो ज्याकेट लगाएर बिहानको खाजा खान झरेको त प्रदीप र अमृतले मलाई हिजो सुटमा ठाँटिने आज हामी सुटमा आउँदा ज्याकेट लाउने भनेर नराम्रोसँग झपारे। म पनि पुनः रुममा फर्किएर अघिल्लो दिनकै सुटमा ठाँटिएर यात्रामा सबै निस्कियौं। दोस्रो दिनको पहिलो यात्रा सिचुवान पाण्डा रिसर्च सेन्टर पुर्याइयो।
पाण्डा चीनको राष्ट्रिय जनावर हो। अनुसन्धान केन्द्रमा संरक्षण गरिएका दर्जनौं पाण्डाको क्रियाकलापको अवलोकनसहित झण्डै ३ घण्टा पाण्डा अनुसन्धान क्षेत्रमा बिताएर फर्कियौं। त्यहाँ विभिन्न देशबाट पाण्डाको विषयमा अध्ययनरत विद्यार्थी अनुसन्धानका लागि आउने रहेछन्।
पाण्डा अनुसन्धान केन्द्रबाट निस्किएर करिब १५ मिनेटको यात्रापछि दिउँसोको खाना खाने होटलमा पुग्यौं। खानापछि करिव १ घण्टाको यात्रामा निकै महत्वपूर्ण क्षेत्रको अवलोकन र भ्रमण गर्ने अवसर पाइयो । उक्त दिनको मौसमले बल्ल स्वाद चखायो।
बिहान सुरुमै ज्याकेट लगाएर निस्केको मान्छे म साथीहरुको लहलहैमा लाग्दा दिनभरि चिसो स्वाँठको मज्जाले स्वाद पाइयो। खानापछि हामीलाई चीनको आर्थिक विकासमा अत्यन्तै महत्वपूर्ण मानिएको त्यहाँको खानेपानी, सिंचाइ लगायतका कामका लागि झण्डै १४ सय वर्ष पुरानो याङ्ग्त्जी नदीमा निर्माण गरिएको सिंचाइ प्रणाली अवलोकन गर्न पुग्यौ।
वास्तवमै याङ्ग्त्जी नदी चीनको नदी सभ्यताको महत्वपूर्ण र आर्थिक समृद्धिका लागि बरदान सावित भएको मानिदो रहेछ । यो नदी सिंगो चीनमा मात्र झण्डै ६ हजार ३ किलोमिटर अर्थात ३ हजार ९ सय माइल बग्दछ। यसले चीनका विभिन्न १२ वटा राज्य भएर बग्दा ती राज्यहरुले यसलाई सबैभन्दा लामो नदी हो। विश्वको तेस्रो सबैभन्दा लामो र सम्पूर्ण रूपमा बग्ने विश्वमै सबैभन्दा लामो नदी हो।
यो तिब्बती पठारको उत्तरी भागमा उदाउँछ र चीनको पूर्वी दिशामा सागरमा बिलाउँछ। याङ्ग्जी नदीले चीनमा पीआरसीको जिडीपीको २० प्रतिशत जति उत्पन्न गर्दछ। यसमा चीनले सन् २०१४ मा निर्माण गरेका विश्वकै ठूलो मध्येको थ्री गर्जेज विद्युत उत्पादन गृह रहेको छ।
यसरी यो नदीले चीनको इतिहास, संस्कृति र अर्थव्यवस्थामा प्रमुख भूमिका खेलेको छ। यसैमा हजारौं वर्षदेखि यस नदीलाई पानी, सिँचाइ, सरसफाई, यातायात, उद्योग, सीमा चिन्ह लगाउने र युद्धको लागि प्रयोग गरिएको छ। यसर्थ चीनको आर्थिक समृद्धिमा याङ्ग्त्जी नदीको महत्वपूर्ण योगदान रहेको देखिन्छ। चिनको सिचुवानको डुज्यानग्यान सहरमा याङ्ग्त्जी नदीको एउटा महत्वपूर्ण डाइभर्सन निर्माण गरिएको छ।
चीनको सिचुआनको डुज्यानग्यान सहरमा रहेको एक सिंचाइ प्राचीन प्रणाली हो। मूल रूपमा ई.पू. २५६ को आसपासमा किन राज्यले सिंचाइ र बाढी नियन्त्रण परियोजनाको रूपमा निर्माण गरेको इतिहास छ। जुन आज पनि प्रयोगमा छ। तत्कालीन किन राज्यका लागि तत्कालीन शुका गभर्नर ली बिंग र उनका छोरा दुज्यानग्यानले यो सिंचाइ प्रणालीको निर्माणको नेतृत्व गरिरहेका थिए, जसले नदीलाई पानीको बाँध बनाउने र विभाजन गर्ने नयाँ विधि प्रयोग गरी नदीलाई बग्ने नदी बनायो।
यस क्षेत्रका २,००० वर्ग मिल जमिनमा सिँचाइ गर्न अहिले पनि पानी व्यवस्थापन योजना प्रयोगमा छ। उक्त नहर निर्माणमा महत्वपूर्ण योगदान गरेका नेतृत्वकर्ता इन्जिनियरहरुका शालिकहरु त्यस क्षेत्रका स्थापित गरिएको छ। उक्त नहरको निरीक्षणमा जाँदा एउटा कुरामा हामी विषय प्रवेश गर्यौ। हामीले कालिगण्डकी–तिनाउ डाइभर्सनको विषयलाई यस क्षेत्रका जनप्रतिनिधि विकासको नेतृत्वकर्ता नेकपाका महासचिव विष्णु पौडेलले जुन बेलादेखि अगाडि सार्नुभयो अब यसले मूर्त रुप पाउने विषयमा कुनै विवाद छैन।
तर, यस खालको पूर्वाधारमा माथिल्लो तटीय क्षेत्रका समुदायले समेत लाभ लिन सक्ने अवस्थालाई सम्बोधन गर्न विकासका पूर्वाधार बनाउन सकिंदो रहेछ भन्ने त्यस दिनको हाम्रो समान्य भ्रमण र अवलोकनबाट सिक्ने अवसर पाइयो। त्यस्ता ठाउँमा निर्माण गरिने पूर्वाधार त्यहाँका जनताको रोजगारीलाई प्रत्यक्ष जोड्नका लागि गरिनु पर्छ भन्ने हो।
याङ्ग्त्जी नदीको उक्त डाइभर्सन निर्माण गरेको क्षेत्रमा हेर्दा स्थानीय जनताको रोजगारीलाई नै केन्द्रित गरेर पर्यटकीय पूर्वाधारलाई विशेष जोड दिइएको छ। त्यस क्षेत्रको चारैतिर पर्यटकलाई घण्टौ भुलाउने पूर्वाधार बनाइएको छ। त्यसैका लागि दैनिक हजारौौ आन्तरिक तथा वाह्य पर्यटक आकर्षित भएका छन्। हाम्रो त्यस दिनको यात्रा दिनभरिको शितलहरमा समेत करिब ४ घण्टा त्यही नहरको संरचना र त्यससँगै निर्माण भएका पर्यटकीय पूर्वाधारको अवलोकनमा बित्यो। हामीले कालिगण्डकी–तिनाउ डाइभर्सन या भेरी–बबई डाइभर्सनको माथिल्लो तटीय क्षेत्रमा त्यस्तैखाले पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना सँगसँगै अगाडि बढाउने हो भने तल्लो क्षेत्रमा हुने फाइदासँगै माथिल्लो तटीय क्षेत्रले पनि यस्ता परियोजनाबाट समान रुपले विकासको अवसर प्राप्त गर्ने अवस्था निर्माण गर्न सकिदो रहेछ।
कालिगण्डकी–तिनाउ डाइभर्सनको हामीले कुरा गरिरहँदा कालिगण्डकीको पानी तिनाउमा खस्दा बगिरहेको निलो तिनाउ नदी, किनारै किनारमा डुंगा तथा र्याफ्टिङमा हुलका हुल पर्यटकहरु रमाउने नदी किनार सफा र हरियालीले सबैको मन रमाउने कल्पना गर्न सकिन्छ। यति मात्र हैन, तिनाउमा पानी सुकेपछि अस्तित्व विलय भएका माछाको पुनःस्थापन हुँदा पानीमा तैरिंदै गरेका माछाको लहर, नदी किनाराका जंगलबाट निस्किएका जनावर र चराचुरुङ्गीले पर्यकटलाई आकर्षित गर्ने निश्चित छ। तिनाउको वारिपारि दुबैतर्फका नुवाकोट र बसन्तपुर डाँडामा पर्यटकलाई पुर्याउन अगाडि सारिएको केबुलकारमा चडेर माथि पुग्दा तिनाउको त्यो रमणीय दृष्यले पर्यटकलाई अझै उत्साहित बनाउने हुनसक्छ।
तर, यसको उपल्लोतटीय क्षेत्रमा समेत यहाँका पर्यटकलाई पुराउने सुविधायुक्त सडक, उपल्लो तटीय क्षेत्रमा पर्यटकीय संरचना निर्माण गरेर यहाँका पर्यटकलाई पुराउने गरी यो आयोजनामा जोड्न सकिए प्रदेश नं. ५ को पर्यटकीय गन्तव्यमा उल्लेख्य फड्को मार्न सकिन्छ। कालीगण्डकीको राम्दी पुलको एक किमि तलबाट नदी डाइभर्सन गरी ८० क्युसेक (८० हजार लिटर प्रतिसेकेन्ड) पानी ३० किमि लामो सुरुङ निर्माण गरी तिनाउ नदीमा लगिने छ। तिनाउमा बाँध बाँधी मुख्य र सहायक नहरबाट तीन जिल्लामा पानी पुराउने योजना यस परियोजनामा समेटिएको छ। सिँचाइ सुविधा पुगेपछि ती जिल्लामा खाद्यान्न उत्पादन दोब्बरभन्दा बढ्ने निश्चित छ।
चीनको याङ्ग्त्जी नदीको उक्त डाइभर्सनबाट जसरी चीनको आर्थिक विकासमा महत्वपूर्ण वरदान सावित भएको छ। हामीले पनि कालीगण्डकी–तिनाउ डाइभर्सनबाट कृषि, पर्यटन, वातावरणीय, उद्योग र सरसफाइको क्षेत्रमा यस क्षेत्रमा धेरै काम गर्न सकिनेमा हामी विश्वस्त हुुँदै दोस्रो दिनको भ्रमणलाई बिट मारियो। क्रमशः