सामन्तवादमा कानुनी शासन नहुने हुँदा त्यहाँ निधार खुम्च्याएर ट्रिक र ट्याक्टिस गर्छन्। छलछाम तिग्डमको राजनीति चल्छ। त्यहाँ प्रतिस्पर्धा हुँदैन। विगतमा राजा राजौटाहरु निधार खुम्च्याएर ट्रिक र ट्याक्टिसकै आधारमा राज्य सञ्चालन गर्थे। शक्तिशाली राजाहरु पनि साम दाम दण्ड भेदको रणनीतिमै केन्द्रित भए। त्यो समयमा शक्तिशाली बाँच्थे, कमजोरहरु समाप्त हुन्थे।
लोकतन्त्रको आगमनपछि पनि हाम्रा हाम्रा शासकहरुमा पनि त्यही थिति देखियो। उनीहरुको दिमागका सामन्तवाद कसरी लेसिएर बसेको छ भन्ने कुरा स्पष्ट देखिदै छ। उनीहरु भुरे टाकुरे राजाहरुजस्ता देखिए। कम्युनिष्टहरु विधिको सर्वोच्चतालाई सर्वोपरि मान्छन् भन्ने सुनेका थियौं। त्यो होइन रहेछ। अन्त कहीं जानु पर्दैन, हाम्रा मुख्यमन्त्रीको कार्यशैलीलाई हेरे पुग्छ। उनले दाङमा राजधानी बनाउनको लागि अढाई वर्षसम्म निधार खुम्च्याएर ट्रिक र ट्याक्टिस गरेरै समय बिताए। उनले प्रायः कार्यक्रमहरुमा रुपन्देहीबासीलाई चिढाउने कुराहरु गरे। संसद बाहिरबाट कार्यदल बनाएर उसको सिफारिस भन्दै पर्खेर बसे। आखिर कार्यदलको सिफारिसलाई पनि उनले टेरेनन््। पैसा सिध्याउने अनि दिन गुजार्दै लैजाने दाउपेच देखियो। नत्र उनले आजसम्म संसदबाटै प्रक्रियागत रुपमा नै प्रदेशको नामकरण र राजधानी तोकिसक्थे। आखिर जनताले परिणाम हेर्छन्। यो सेसनमा पनि राजधानी र प्रदेशको नाम तोक्ने छेकछन्द छैन। उनी आफै प्रदेश सत्ताको बाग्डोर पक्डेर अवरोध खडा गर्दै बसेका छन्।
प्रदेश नम्बर ५ का ४४ लाख जनताको प्रतिनिधित्व गरेर ८७ जना माननीय सभासदहरु यही राजधानीको नाम, प्रदेशको नामकरण र समृद्धिको लागि पठाइएको हो। आजसम्म यो पहिलो काम हुन सकेन। नामकरण र राजधानी तोक्नु प्रदेश पहिचानको पहिलो शर्त हो। अहिलेसम्म प्रदेश नामकरणसहितको प्रादेशिक लोगोसम्म बन्न सकेको छैन। प्रदेश सरकारबाट केही काम भइरहेको छ भन्ने महशुस गराउनको लागि प्रदेशका नाम, राजधानी, प्रदेश प्रहरी, प्रदेश विश्वविद्यालय, प्रादेशिक अस्पतालहरु, प्रादेशिक परिवहन, प्रादेशिक गौरवका योजनाहरु, प्रदेशको पर्यटन नीति, शिक्षा नीति र प्रदेशको पाठ्यक्रम, कृषि नीति आदि हुनुपर्छ। आजसम्म प्रदेशको निजत्व स्पष्ट रुपमा झल्कन सकेको छैन। यी सबै कुराहरुको एकीकृत व्यवस्थापनबाट प्रदेश स्पष्ट रुपमा देखिन थाल्छ। अमूर्त प्रदेशलाई मूर्त बनाउन सक्नु आजको आवश्यकता हो। त्यो काममा हाम्रा मुख्यमन्त्री असफल देखिएका छन्।
आज म यी कुराहरु राख्दै मुख्य कुरा प्रदेश नम्बर ५ को राजधानीको विषयमा चर्चा चलाउँछु। पछिल्लोपटक वाग्मती प्रदेश र हेटौंडा राजधानी भएपछि लुम्बिनी प्रदेश र रुपन्देहीमै राजधानी स्वाभाविक बन्यो भन्ने विषयले चर्चा पायो। तथापि हाम्रो सार्वभौम सत्ताको ताला चावी संसदहरुकै हातमा छ। यो अधिकार उनीहरुकै हातमा दिएका हौं। प्रक्रियागत रुपमा दाङ्ग नै राजधानी बनाएको भए पनि हाम्रो के लाग्थ्यो र?
अधिकार पाएका व्यक्तिहरुबाट समयमै कार्य सम्पादन हुन सकेन भने टिप्पणी आउँछ। यो मुलुकमा ज्ञानेन्द्र शाही, रवि लामिछाने, भीम रावलजस्ता कठोर टिप्पणीकारहरु त्यसै जन्मेका हैनन्। जन्मनुका कारणहरु हुन्छन्। हाम्रा अपारदर्शी शैली र ढिलासुस्ती प्रवृत्तिबाट जन्मेका हुन्। जनताको इच्छा अनुसार नचलेमा जनताको निगरानी हुनु स्वाभाविकै हो। लोकतन्त्र भनेको जनाताको निगरानी, नियन्त्रण र निर्देशनमा चल्ने प्रणाली हो। पाँच पाँच वर्षको आवधिक निर्वाचनमा जनताले सन्तोष असन्तोषको प्रतिक्रिया दिन्छन्।
अहिले आम जनताको मनोविज्ञान लुम्बिनी प्रदेश र रुपन्देही राजधानी नै हो। तर पनि यसको औपचारिक अधिकार हामीले सांसदहरुलाई नै सुम्पेका छौं। उनीहरुले विधिपूर्वक गरेको काममा हाम्रो आपत्ति छैन।
आखिर किन त रुपन्देही राजधानी ? भन्ने विषयमा हामीले आजदेखि नै प्रकाश पार्नुपर्छ। राजधानीको विषयमा अन्य धेरै कुराहरु होलान् तर त्यी कुराहरुमा तीन कुराहरु मुख्य छन्। पहिलो कुरा सुरक्षा हो। दोस्रो कुरा सुगमता हो। तेस्रो कुरा पूर्वाधार हो।
यही तीनवटा विषयलाई केन्द्रविन्दुमा रहेर राजधानीको विषयमा चर्चा चलाउछु। रुपन्देहीमा यी सबै कुराहरु विद्यमान छन्।
सुरक्षाको लागि बुटवलमा ठूलो प्रहरी तालिम केन्द्र छ। सेनाको पृतना छ। गुल्म छ। भौगौलिक रुपमा पनि उत्तिकै मिलेको छ। सामरिक दृष्टिले पनि उपयुक्त छ। त्यसै कारण बुटवलले अङ्ग्रेजलाई हराएको हो। यो ठाउँ मधेस पहाड बीचको मिलन केन्द्रमा छ। राजधानीमा सुरक्षा सबैभन्दा ठूलो विषय हो। यसलाई नजरअन्दाज गर्न मिल्दैन। बुटवलको यो सुरक्षा संयन्त्रले रुपन्देहीको लागि राम्रो सुरक्षा दिन सक्छ। राजधानी देवदह, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी, तिलोत्तमा, बुटवल जहाँ पनि हुन सक्छ।
सुगमताका दृष्टिले रुपन्देही अत्यधिक जनताका लागि सुगम छ। पुरानो संरचना अनुसारको जनसंख्या हेर्ने हो भने ५४ प्रतिशत जनसंख्या त साविकको लुम्बिनी अञ्चलमै छ। पूरानो संरचना अनुसार राप्तीभित्र पर्ने रोल्पा, रुकुम र प्यूठानबाट पनि रुपन्देहीलाई त्यति टाढा मानिदैन। नजिक भए हुन्थ्यो भन्ने त सबैलाई लाग्न सक्छ तर त्यो नजिकमा माथिका तीन कुराहरु छन् कि छैनन् ? यो विषयमा सोंच्नु पर्छ। भौगोलिक रुपमा बाँके, बर्दिया टाढाजस्तो देखिए पनि बनिरहेको पूर्वाधार र अब बन्ने पूर्वाधारले धेरै टाढा बन्दैन। बाँके र बर्दियाबाट बुटवल आउन लाग्ने समय भन्दा त गुल्मी र पाल्पाका गाउँबाट बुटवल आउन धेरै समय लाग्छ। यसकारण बाँके र बर्दियालाई बुटवल पायक पर्दैन भन्नु कुतर्क मात्रै हो। त्यसैले सुगमताका दृष्टिले रुपन्देही उपयुक्त छ भन्ने निष्कर्ष छ।
त्यसरी नै पूर्वाधारको विषयमा चर्चा गर्दा पूर्वपश्चिम र उत्तर दक्षिण राजमार्ग छ। विकासका ठूला ठूला पूर्वाधाहरु बनेका छन्। व्यावसायिक दृष्टिले पनि मानिसहरु आउने जाने क्रम बढ्दो छ। बुटवल बेलहिया सडकले डेढघण्टालाई आधा घण्टाभित्र ल्याएको छ। नेपालकै सबैभन्दा सुन्दर बेलबास–बेथरी सडक बनिरहेको छ। यसले सुरक्षालाई अनुकूल बनाउँछ। हामी आगामी दश वर्र्षमा बिहान ८ बजे काडमाडौतिर गई बजार गरेर बेलुकी छिट्टै रुपन्देही बस्न आउन सक्छौं। यता बुटवल नारायणघाटको फोरलेनको बाटो आरम्भ भई सकेकोे छ। पश्चिमतिर जाने पनि चार लेनको बाटो बन्ने छ।
पूर्वपश्चिम रेलमार्ग पनि यही रुपन्देही भएर जान्छ। नेपालगन्जबाट रुपन्देहीसम्म हाइस्पिड रेलमार्गबाट आउन जान आधा घण्टाको बाटो बन्ने छ र त्यतातिरका सबै सभासदहरु आआफ्नै घरमै खाना खाएर रुपन्देहीको संसद भवनमा आउन सक्नेछन्। चारलेनको बाटोले रुपन्देही नेपालगन्जलाई नजिक ल्याउने छ। यसले पनि रुपन्देही सुगम छ भन्ने देखाउँछ।
रुपन्देहीमा पूर्वाधार राम्रो छ। रुपन्देहीमै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल छ। अब लुम्बिनीबाट, तिलोत्तमा, देवदह, सैनामैना, बुटवल र आसपासमा लाखौ पर्यटकहरुको ओइरो लाग्दैछ। यसको लागि ठूला ठूला होटलहरु बनिरहेका छन्। औद्योगिक करिडोरहरु छन्। ठूला ठूला लगानीकर्ताहरु छन्। पर्यटकीय दृष्टिले यो नेपालको अग्रणी स्थान बन्दैछ। विविध विषयका विज्ञ जनशक्ति छन्। जनशक्तिका दृष्टिले पनि यो जिल्ला राजधानी बन्न सुहाउँछ।
अब अर्काे दश वर्षमा बुटवल, सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना, लुम्बिनी सांस्कृतिक नगरपालिकाहरु महानगरपालिकामा परिणत हुनेछन्। यो नेपालको सबैभन्दा ठूलो सुविधा सम्पन्न शहर बन्नेछ। यी सबै नगरपालिकाहरुलाई जोड्ने भूमिगत मेट्रो रेल तथा सतहमा मोनोरेल चलाउन योजना बनाउनु पर्छ। यो सम्भव छ। सरकारले नसके निजी क्षेत्रलाई दिएमा छिटो विकास हुन सक्छ। यी सबै कुराहरुले अहिलेका अवस्थामा रुपन्देही राजधानी बनाउन उपयुक्त भएको हो। ६ वटै नगरपालिकाहरु एकीकरण गरी बन्ने महानगरपालिकामा यो प्रदेशबाट मात्र हैन, बाहिरबाट पनि ठूलो परिणाममा बसाई सराई गरी आउनेहरुको संख्या आगामी बीस वर्षमा चालिस लाख हुनेछ। हामीले त्यसरी नै सम्भावित पूर्वाधारको संरचना तयार गर्नुपर्छ। त्यो समयसम्म यहाँको समृद्धि निकै उचो हुनेछ। यसको लागि पानी आपूर्ति गर्न कालीगण्डकी डाइभर्सन आवश्यक हुनेछ।
उता पोखराजस्तो पर्यटकीय सहरसँग चारलेनको बाटोले जोडिने योजना बन्दैछ। सिद्धबाबामा सुरुङ्ग मार्ग बन्ने प्रक्रिया शुरु भईसकेको छ। त्यस योजनाको लागि ११ अर्ब छुट्टेको छ। भविष्यमा सिगात्से, गोसाईकुण्ड हुँदै काठमाडौ आउने रेलमार्ग काठमाडौको टोखाबाट शुरु भई कुरिनटारबाट पोखरा र रुपन्देहीमा आउनको लागि सम्भाव्यता अध्ययन भईसकेको छ। त्यसको लागत ७ खर्ब बजेट लाग्ने अनुमान छ। हाइस्पिड रेल मार्गबाट रुपन्देही र संघीय राजधानीको दूरीको एक घण्टाको हुनेछ।
जियोलोजिकल पार्कसहित अन्य आधा दर्जन जति राम्रा राम्रा पार्कहरु बनिरहेका छन्। ऐतिहासिक वीरगाथा बोकेको शौर्य स्मारकको रुपमा जितगढी किल्ला छ। रामापिथेकसको अवशेषले विश्वलाई चिनाएको छ। नुवाकोट र वसन्तपुरमा जानको लागि केबुलकार बन्ने योजनामा छन्। सिद्धबाबाजस्तो पवित्र भूमि छ। रेसुङ्गा, पाल्पा, पोखरातिर जान सुगम छ। बुटवलमै अन्तरराष्ट्रिय भवन बनिरहेको छ।
रुपन्देही शिक्षा क्षेत्रमा पनि निकै माथि छ। वाणिज्य विश्वविद्यायल, बौद्ध विश्व विद्यालय जस्ता विश्व विद्यालयहरु छन्। एउटा प्राविधिक विश्व विद्यालय बन्ने कुरा पनि भइरहेको छ। अर्कोतिर पुरानो संरचना अनुसारको लुम्बिनीमा ५६ प्रतिशत जनसंख्या छ। यसले पनि प्रशासनिक सुगमतालाई बताउँछ।
आगामी १० वर्षमा प्रदेश नम्बर ५ मा ५० प्रतिशत वैदेशिक रोजगार घट्ने छ। उनीहरु नेपाली बजारमा फर्केर व्यवसाय गर्न थाल्ने छन्। जानेहरु पनि सीप सिकेरै जानेछन्। वैदेशिक रोजगारमा गएकाहरु सीपमूलक तालिम सिकेर जाने भएकोले रेमिटान्समा कमी आउने छैन। देशभरमै उत्कृष्ट पहिचान बनाएका निजी तथा सामुदायिक विद्यालयहरु छन्। निजी क्षेत्रका मेडिकल कलेजहरु पनि छन्। अनि प्रादेशिक अस्पताल रुपन्देहीमै छ। यी सबै कुराहरुले रुपन्देहीमा राजधानी बन्ने आधार बलियो भएको छ।
अन्त्यमा रुपन्देहीलाई राजधानी बनाउन किन आनाकानी गर्नुपर्छ र ? यसलाई प्रतिष्ठाको विषय बनाउन हुँदैन। यसलाई जित र हारको प्रसङ्गमा लैजानु हुँदैन। जिम्मेवार नेताहरु आफूलाई नायक ठानेर निधार खुम्च्याएर क्यारिम खेल्छन्। ट्रिक र ट्याक्टिस गर्छन्। जनतालाई रनभुल्लमा पार्छन्। यसलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँछन्। अहिले नभए पनि आगामी निर्वाचनमा फेरि यही मुद्दा बनाएर जित्ने दाउमा छन्। कसको हार र कसको जीत भन्दै बहस टक्कर गर्छन्। गुटहरु बनाएर कार्यकर्ताहरुलाई फन्फनी नचाउँछन्। यस्तो संस्कृतिले मुलुक बन्दैन। त्यसैले अब रुपन्देहीलाई राजधानी बनाएर यो प्रदेशको भविष्य उज्ज्वल बनाउनु पर्छ। बुटवलमा जसरी प्रदेशको राजधानी स्थापनाको चरणमा पूर्वाधारका समस्या देखा परेका थिए ती समाधान भइसकेका छन्। सबै संरचनाहरु तयार भइसकेका छन्। नयाँ निर्माण गर्नुपर्ने संरचनाहरु रुपन्देहीका विभिन्न स्थानीय तहहरुमा बनाउँ। राजधानी अन्यत्र सार्ने प्रयास गरेर प्रदेशको समृद्धिलाई अरु केही वर्ष पर धकेल्ने खेल नखेलौ।