विश्वव्यापी रुपमा फैलिरहेको नोवेल कोरोना अर्थात कोभिड १९ ले सम्पूर्ण विश्वजगतलाइ नै बन्धक बनाइराखेको छ । चीनबाट शुरु भै यो महामारी विश्वका १६५ भन्दा धेरै देशहरुमा यसले तहल्का मच्चाइरहेको छ । हाल सम्म चौविस हजार जनाको मृत्यु भैसकेको छ भने ४ लाख भन्दा धेरै व्यक्ति संक्रमित भै सकेका छन् । यसको फैलिदो संक्रमणलाइ रोकथाम गर्न धेरैजसो देशहरु लकडाउनमा गएका छन् । उद्योग पर्यटन तथा सम्पुर्ण कलकारखाना बन्द भएका छन् । यही बीचमा बैदेशिक रोजगारमा रहेका धेरै अप्रवासी नेपालीहरु बाध्यतावश घर फर्किसकेका छन् । छिमेकी देश भारतका विभिन्न स्थानमा अझ भनै अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरु त आफ्नो रोजगार गुमाएर स्वदेश फर्किएका छन् । अव यो विषम परिस्थतिको सामना तत्काल हामी सबै जिम्मेवार नागरिकको रुपमा घरमै बसेर सरकारले दिएका निर्देशनहरुको पालना गरेर गर्नु पर्नेछ भने यस महामारीलाइ कसरी अवसरको रुपमा लिन सकिन्छ त्यो पनि मनन गर्नु जरुरी छ ।
आज देशकै प्रमुख शहरी क्षेत्रमा बसोबास गरेका नेपालीहरु यो परिस्थितीमा आफुलाइ गाँउमा सुरक्षित देखेर गाँउ फर्किदै गर्दा हामी पहाडका बस्तीहरु रित्ताएर शहर आउनु गलत सावित हुदैछ । वास्तवमा पहाडमा र त्यहाका साना साना गाँउमै बसोबास ठीक रहेछ । परापुर्वकाल देखि प्रकृतिसँग मिलेर हाम्रो पुस्ताले बसाएका बस्तीहरु नै वास्तबमा उपयुक्त रहेछन् । जसरी बसोबासका लागि गाउँ उपयुक्त छ त्यसरी नै आयआर्जन र अन्य अधारभुत आवश्यकताको परिपूर्तिले पनि सुगम छ भन्ने बनाउनको लागि अबको बाटो भनेको ग्रामिण उद्यमशिलताको प्रवर्दन नै हो ।
मानव विकासको क्रमसंगै मानवीय आवश्यकताहरु बृद्धि हुदै जाँदा ति आवश्यकताहरु पूर्ति गर्नका निम्ति मानिसले गरेका प्रयासहरु नै वास्तवमा उद्यमशिलताको शुरुवात हो भन्न सकिन्छ । उद्यमशिलता व्यक्तिमा निहित क्षमता दक्षता र कला हो जसले अवसरहरुको पहिचान गरी नयाँ विचार, नयाँ वस्तु, बजार तथा उपयुक्त प्रविधिको खोजी गरी व्यवसाय सृजना गर्न प्रेरित गर्दछ । हामी नेपालीहरु अझै पनी आफ्नो करियर उधमशिलतालाइ बनाउन त्यती इच्छुक भैसकेका छैनौ । सायद हाम्रो शैक्षिक प्रणाली र पाठ्यक्रमको कारणले हुन सक्छ बैक वित्तिय संस्था तथा सरकारी स्थायी तलबी रोजगारी गर्नु विवेकपुर्ण ठान्दछौ । परम्परागत रोजगारीमा रम्न नसक्ने र सिर्जनात्मक तरिकाले बाँच्न चाहने महत्वकांक्षी व्यक्तिहरु मात्रै उधमशिलतामा प्रवेश गर्दछन् । तर पनि अव समस्यालाइ अवसरको रुपमा देख्ने सपनाको भोक देखेका युवा उधमीहरुले नै देशको भविश्य निर्माण गर्नेहो ।
ग्रामिण उधमशिलता मार्फत देश आर्थिक समृद्ध हुन चार वटा आधारहरुको अबलम्बन गर्नैपर्छ । ती चार वटा आधारहरु मध्य पहिलो हो उधमशिलता । यसका लागि भै रहेका उधमी व्यवसायीलाइ सहयोग गर्नु र नयाँ पुस्तालाइ प्रेरित गर्नु जरुरी छ । समाज रुपान्तरण नै उधमीबाट मात्र संभव छ भन्ने कुरा आगामी पुस्ताले मनन गर्न जरुरी छ । नया स्टार्टअपहरुले नै समावेशी वृदि र सामाजिक समस्या समाधान गर्न सक्छन् । राष्ट्रको आर्थिक सामाजिक विकासको लागि पनि उद्यम व्यवसायको सृजना र उद्यमीको विकास अनिवार्य छ । उधमशिलताको विकासबाट नै हामी उद्धम व्यवसाय सृजना र विकास गर्न सक्छौ ।
अर्को आधार हो इ गर्भनमेन्टस । इन्टरनेट प्रयोगको द्रुत बृद्धि र नयाँ प्रविधिको अनुकुलनले हाम्रो जस्तो विकासउन्मुख देशले उल्लेख प्रगति गर्न सक्छ र गरिरहेको छ । सरकारले सार्वजनिक सेवा प्रवाहमा इ गभर्नन्सको अवधारणा प्रयोगमा ल्याइसकेको छ । सरकारले प्रदान गर्ने सेवाहरुको न्युन लागतमा सेवाहरुको दक्षता पारदर्शिता र विश्वसनियता सुनिश्चित गर्न पनि इ गभर्नन्स अति अवश्यक भै सकेको छ । आईसीटीको वैश्विक परिदृश्यमा नेपाल तल्लो तहमा रहेको भए पनि पछिल्लो समयमा आईसीटी क्षेत्रमा स्पष्ट देखिने विकास भएका छन्। दूरसञ्चार सुविधा उल्लेखनीय सुधार भएको छ। आईसीटी पेशेवर / मानव संसाधन उत्पादन गर्ने शैक्षिक संस्था / विश्वविद्यालयहरूको विस्तार भएको छ। दुबै इलेक्ट्रॉनिक र प्रिन्ट मिडियाले सञ्चार टेक्नोलोजीले सामान्य व्यक्तिहरूको पहुँच विस्तार गरेको छ। इन्टरनेट, ईमेल र कम्प्युटर को उपयोग लोकप्रियता मा प्राप्त गर्दै छन्। आईसीटीमा आधारित अनलाइन सेवा सबैभन्दा प्रजातान्त्रिक र पक्षपात नगरिएको प्रणाली हो। यो सबै जाति, लिंग र जातीय समूहहरूलाई समान अवसर प्रदान गर्दछ । यस्तो विषम परिस्थतीमा यदी घर घरमा इन्टरनेट सुविधा नहुदो हो त होम क्वारेन्टिन अझै गाह्रो हुनेथियो । धेरै संस्थाहरुले आफ्ना कर्मचारीहरुलाइ घरमै बसेर सेवा दिन लगाइरहेको छ । त्यसैले इन्टरनेट सेवालाइ अझै प्रभावकारीरुपमा गाउँ गाउँमा पुराउनु जरुरी छ । जसले उधमशिलतालाइ प्रवर्दन गर्न सहयोग गर्दछ ।
अर्के आधार हामी एजुकेशनलाइ लिन सक्छौ । हाम्रो शिक्षा प्रणाली अतिनै सैद्धान्तिक र सिपविहिन मात्र रहेछ । हाम्रो शिक्षा प्रणालीमा न त व्यवहारिक ज्ञान रहेछ न त नैतिकता नै । विश्वव्यापी रुपमा नै शिक्षामा नैतिकता र मानवता हराएको भान भएको छ । विश्वका विकासशिल देशका जनताहरु पनि सरकारले दिएका निर्देशनहरुको पालना नगर्ने अवस्थामा पुगेका रहेछन् । आज आपतको बेलामा केही समय घरभित्रै बस भन्दा अटेर गर्ने नैतिकता नै हाम्रो शिक्षाको उपज रहेछ । विद्यार्थीहरु व्यवहारिक ज्ञान भन्दा पाठ्यपुस्तकमा आधारित शिद्धान्तले गर्दा आफुले सिकेको ज्ञानलाइ प्रभावकारी रुपमा प्रयोग गर्न गारो भैरहेको छ । प्रत्येक गाउँपालिकाहरुमा प्राविधिक शिक्षालयहरुको स्थापना गरी व्यवहारिक एवं सिपमुलक शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउनु जरुरी छ । त्यस्तै इन्फ्रास्टक्चर विकासमा पनि तदारुकता देखाउनु जरुरी छ । औधोगिक पुर्वाधार विकास विना नयाँ स्टार्ट अप आउन सक्दैनन् । प्रत्येक गाँउपालिकाहरुमा औधोगिक ग्रामहरु स्थापना गरी आवश्यक पुर्वाधारहरु निर्माणमा लाग्न पर्ने देखिन्छ ।
यो महामारीले फेरी एकपटक हामीलाइ आत्मनिर्भर हुनु पर्ने कुराको स्मरण गराएको छ । आफ्नो लागि आफैले रोजगारी सृजना गर्नुपर्छ भन्ने पाठ सिकाएको छ किनकी रोजगारदाताहरुले त सहज परिस्थीतीमा मात्र काम दिने हो । धेरै युवाशक्ति आज गाउँ फर्केर बस्नु भएको छ । कतिले त आफ्नो रोजगार गुमाएर आउनु भएको होला भने कति सहज भएपछि फर्किने भनेर । अब एक पटक सबैले सोचौं हाम्रो देशमा अझ भनौ हाम्रो गाउँघरमा के कस्ता व्यवसायिक अवसरहरु हुन सक्छन् । स्थानीय स्तरमा प्राप्त गर्न सकिने स्रोत साधनहरु के के हुन सक्छन् । आफुसंग के कस्तो सिप छ वा गाउँमा के कस्ता सिप जानेका व्यक्तिहरु छन् । स्थानीय सरकार प्रदेश सरकार र संघिय सरकारले ल्याएका निति तथा कार्यक्रमबाट हामीले के फाइदा लिन सक्छौ । एक पटक उजाड बनेको हाम्रो यो गाउँघरलाइ हरियाली बनाउन हामीलाइ के कस्तो सहयोगको आवश्यकता पर्दछ मनन गरौ अब गाउँ छोडेर बाहिर जाने होइन । ग्रामीण उधमशिलता प्रवदृन गरी आत्मनिर्भर नैतिकवान तथा स्वावलम्बी समाज निर्माण गरौ । महाविपत्ति पछिको अवसरको रुपमा यसलाइ सदुपयोग गरौ ।