भारतीय अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको विषयलाई लिएर प्रहरीले सोधपुछ गरिरहेको छ। उनले गत १४ जुनमा मुम्बईस्थित आफ्नै घरमा आत्महत्या गरेका थिए।
उनको आत्महत्यापछि बलिउडमा नेपोटिज्म (नातावाद) को विषयलाई लिएर व्यापक बहस भएको छ भने फ्यान पनि दु:खी भएका छन्।
सुशान्तको आत्महत्यापछि भारतमा उनका फ्यानले आत्महत्या गरेको खबर बाहिरिएका छन्। यसैबीच एक १३ वर्षीया बालिकाले सुशान्तको फिल्म हेरेर आत्महत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्।
एएनआईको रिपोर्टअनुसार सुशान्तको आत्महत्याबाट दुःखी ती बालिका ७ कक्षामा अध्ययनरत थिइन्। उनको नाम जे एञ्जेला हो। उनले छोडेको नोटमा लेखेकी छिन्–सुशान्त दुनियाँबाट जानु मलाई राम्रो लागिरहेको छैन, त्यसैले म आत्महत्या गर्दैछु।
प्रहरीले उनको आत्महत्यापछि अनुसन्धान थालेको छ। मिडिया रिपोर्टका अनुसार आत्महत्या गर्नुभन्दा केही समय पहिले ती बालिकाले सुशान्तको फिल्म ‘छिछोरे’ हेरेकी थिइन्।