बुटवल-भारतमा प्रतिबन्ध लगाएसँगै विवादमा तानिएको टिकटक एपको स्वामित्व अमेरिकामा जाने तयारी भएको छ। प्रयोगकर्ताको डेटा सेक्युरिटीको विषयमा लामो समयदेखि विवाद झेल्दै आएको टिकटक अमेरिकी स्वामित्वमा जान राजी भएको हो।
गएको एक महिना लामो छलफलपछि टिकटकको प्यारेन्ट कम्पनी बाइटड्यान्सले माइक्रोसफ्टसँग स्वामित्व हस्तान्तरणबारे छलफल गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउनसक्ने जनाएपछि टिकटकले यसअघि नै संभावित प्रतिबन्ध रोक्नका लागि अमेरिकी कम्पनीलाई आफ्नो निश्चित हिस्सेदारी बेच्न सक्ने बताएको थियो।
तर अन्तिम समयमा आएर टिकटक आफ्नो सम्पूर्ण हिस्सा अमेरिकालाई दिन तयार भएको हो। यसका लागि माइक्रोसफ्ट र बाइटड्यान्सबीच पाँच अर्ब अमेरिकी डलरमा सम्झौता भएको हुन सक्ने बताइएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अब टिकटकका प्रयोगकर्ताहरूको डेटाका लागि माइक्रोसफ्ट जिम्मेवार हुनेछ। प्रयोगकर्ताको डेटा माइक्रोसफ्टको सर्भरमा स्टोर हुनेछ।
यद्यपि सम्झौताको विषयमा अहिलेसम्म टिकटक वा माइक्रोसफ्ट कुनै पनि पक्षबाट आधिकारिक जानकारी बाहिर आएको छैन। टिकटकको बजार भारतपछि, अमेरिका दोस्रो ठूलो बजार हो। अमेरिकामा टिकटककका मासिक सक्रिय प्रयोगकर्ताको संख्या आठ करोड रहेको छ। लगातार दुई ठूला बजार गुमाउने अवस्थामा पुगेको टिकटकका लागि माइक्रोसफ्टसँगको सम्झौताले ठूलो संरक्षण प्रदान विश्वास लिइएको छ।
-एजेन्सीको सहयोगमा