काठमाडौं-टेलिभिजनका लागि सेवा प्रदान गरिररहेको डिस होमले इन्टरनेट सेवा शुरु गरेको छ। डिस मिडिया नेटवर्क लिमिटेडले फाइबर टु दि होम (एफटीटीएच) मार्फत इन्टरनेट सेवा शुरु गरेको हो।
गत माघमा नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवाको अनुमति पाएको डिस मिडियाले शुरुमा काठमाडौं क्षेत्रमा मात्रै इन्टरनेट सेवा शुरु गर्ने कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए।
काठमाडौं भैंसीपाटी क्षेत्र, तिनकुने–बानेश्वर क्षेत्र र कपन–बौद्ध क्षेत्रमा इन्टरनेट सेवा सुरु गरिसकेको उनले बताए।
सो कम्पनीले अबको एक महिनाभित्र इन्टरनेट प्रयोगकर्ताको संख्या १२ हजारको हाराहारीमा पुर्याउने लक्ष्य लिएको उनले जनाए। कम्पनीले यो वर्षभित्र उपत्यकामा रिङरोड बाहिर सेवा विस्तार गरिसक्ने योजनाका साथ काम गरिरहेको आचार्यले बताए। काठमाडौंबाहिर सेवा सञ्चालनबारे भने कम्पनीले उल्लेख गरेको छैन।
कम्पनीले स्याटेलाइट इन्टरनेटलाई पनि विकल्पको रुपमा अघि बढाएपछि काठमाडौबाहिर सेवा शुरु हुने संकेत उसको छ। गाउँ गाउँमा फाइबर विस्तार गरी सेवा दिन असहज हुने भएकाले कम्पनीले स्याटेलाइटमार्फत इन्टरनेट सेवा दिने गरी तयारी गरेको उनले बताए।