काठमाण्डौं - नेपाल टेलिकमले नयाँ सिम कार्ड खरिद गर्दा थप सुविधा उपलब्ध गराउने भएकाे छ । पहिला नयाँ जीएसएम/सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको हाे ।
आउँदाे पुस १६ अर्थात जनवरी १ (अंग्रेजी नयाँ वर्ष) देखि सिम कार्डमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको हो । नयाँ सिमकार्डमा १० रुपैयाँ ब्यालेन्सको रुपमा उपलब्ध हुनेछ भने ४० मिनेट टक टाइम अर्थात कुराकानी गर्न र ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सकिने छ ।
सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा फाेन गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने छ । यस्तै, ४० मिनेट टक टाइम र २० वटा एसएमएस एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
यसअघि नै सिमकार्ड खरिद गरी एक्टिभ नगरेका ग्राहकहरुले पुस १५ गतेसम्म सिम एक्टिभेट गरेमा पुरानो व्यवस्था अनुसारको ब्यालेन्स ५० रुपैयाँ प्राप्त हुनेछ । यस्तै, पुस १६ गते वा त्याे भन्दापछि एक्टिभेट गरेमा नयाँ व्यवस्था अनुसारको ब्यालेन्स १० रुपैयाँ तथा थप सुविधा प्राप्त हुनेछ ।
नयाँ प्रिपेड सिम कार्डमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएता पनि यसको मूल्यमा कुनै परिवर्तन गरिएको छैन । ९० रुपैयाँमै सिमकार्ड उपलब्ध हुनेछ । यसबाट नेपाल टेलिकमका ग्राहकहरु अझ बढी लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।