(चार पाँच जना बूढाबूढीसित एक घरकी बूढी आमा दलानमा कुराकानी गरिरहनुभएको छ । ती बूढी आमाकी एक नातिनी छन् आशिका । सबै बूढाबूढीहरूको कात्तिके ठूली एकादशी कहिले छ भनी जान्ने चाहना रहेको छ । सो घरका बूढा बा बाहिरतिर जानाले यो समस्याको गाँठो फुक्न सकेको छैन । भरखरै श्राद्ध सकिएकाले कात्तिके एकादशी थाहा पाउन बितिजाने आत्तुरी त होइन । तर पनि पाका मान्छेको पाकै काम । अलि पहिलै जानिराख्ने इच्छाले सबैलाई कुत्कुत्याएको छ । )
हजुरआमा— ए लौ नातिनी आइहालिन् नि ! बूढा नआए पनि के भो र ?
एक जना गाउँले बूढी मान्छे— के नातिनीले पात्रो हेर्छे र ?
हजुरआमा— हेर्छे नि दिदी । यस्ता तिथि व्रत हेर्न त हजुरबुबा जस्तै भै छ ।
अर्की बूढी मान्छे— हजुरबुबा, हजुरआमासित बसेका केटाकेटी त रागपाठमा लागेका हुन्छन् के । हाम्रा त देख्नु पनि छैन । दुई वर्षदेखि काठमाण्डूबाट यहाँ आउन पनि भ्याउँदैनन् । कहिले छोराको परीक्षा अरे, कहिले आमाको अफिस अरे, कहिले परीक्षाको तयारी अरे । कहिल्यै फुर्सत नहुने ।
अर्की बूढी मान्छे— यी सब नाटक हुन् । हामीलाई उँध माया कललल्ल पानीको तिर्खा झैँ भएर के गर्नी ? उनीहरूलाई वास्ता नभएपछि !
हजुरआमा— ए नानी ।
आशिका— हजुर, हजुरआमा । सबै हजुरआमाहरूलाई नमस्कार ।
( सबैले नमस्कार फर्काउँछन् । )
हजुरआमा— लौ न कात्तिके ठूली एकादशी कहिले पर्छ? बताइदेऊ ।
आशिका— ठूली एकादशी भनेपछि त कहिले पर्छिन् भन्ने होला क्यारे हजुरआमा ।
( सबै अचम्म परेको भाव मुद्रामा )
हजुरआमा— ठूली एकादशी भनी भनेर ठेस हानेको हो नानी ?
आशिका— ठूली भनेर केटी जस्तै नाम राखेपछि कहिले पर्छ भन्न मिल्यो र ? कि तँ भन्ने हो भने पर्छे भन्नुप¥यो । होइन र हजुरआमा ?
हजुरआमा— पहिलैदेखि त्यही भन्ने बानी लाग्यो । त्यही भनेँ ।
( सानैदेखि लागेको बानी । जे गरे नि कहिल्यै नजानी । गीती लयमा )
आशिका— ( पात्रो हेर्दै ) कात्तिक २२ गते शुक्रबार हरिबोधनी एकादशी ।
हजुरआमा— व्रत तलमाथि परेको छ कि ?
आशिका— छैन हजुरआमा । व्रत पनि त्यसै दिनमा परेको छ ।
अर्की बूढीमान्छे— हैन ए लाहुरेनी ठूली ( आशिकाकी हजुरआमालाई) एकादशी एक दिन हुने, व्रत अर्को दिन हुने हुन्छ र ? के सोधेको हो त्यस्तो ?
हजुरआमा— हुन्छ नि दिदी । लाग्दो तिथि छोड्दो व्रत भन्छन् नि ।
बूढीमान्छे—होला । हामी कालो अक्षर भैँसी बराबर भएका मान्छेलाई के थाहा ?
सबैजना— लौ हामीहरू उठ्यौँ । एकादशीको व्रत बस्ने दिन २२ गते कात्तिक होइन त ?
हजुरआमा— हजुर । बाईस गते कात्तिक भनेर मात्रै पनि हुन्न । शुक्रबार पनि जोडिराखौँ । अनि सम्झन सजिलो हुन्छ ।
सबैजना— हो त नि । अहिले कात्तिके सङ्क्रान्ति शुक्रवार परेको रहेछ त । सम्झन सजिलो हुनेभयो ।
आशिका— हजुरआमा, हजुरआमाहरूले कात्तिके सङ्क्रान्तिको कुरा किन गर्नुभएको हो र ?
हजुरआमा— महिनाको सङ्क्रान्ति जुन वार पर्छ त्यो महिनाको ८ गते पनि त्यै वार पर्छ, १५ गते, २२ गते र २९ गते पनि त्यै वारमा पर्छन् क्या !
आशिका—(पात्रो पल्टाएर निश्चित गर्दै) ए, हो त रहेछ । हाम्री हजुरआमाको पात्रो हेर्ने तरिका त कति सजिलो रहेछ !
अनि कात्तिक २६ गते के वार पर्छ भन्नुप¥यो भने के गर्नुहुन्छ नि हजुरआमा ?
हजुरआमा— (औँला भाँच्दै) बाईस गते शुक्रवार भयो । तेइस गते शनिवार भयो । चौबीस गते आइतवार, पच्चीस गते सोमवार अनि छब्बीस गते मङ्गलवार । अझ सजिलो त (औँला गन्दै) २२, २३, २४, २५, २६ गरी औँला गन्ने । अनि बाईस गते जुन वार परेको छ त्यही वारबाट २६ गते परेको औँलासम्म वार भन्दै जाने । ठ्याक्कै मिल्छ । इः यहाँ हेर, (औँला गनेर देखाउँदै) शुक्रवार, शनिवार, आइतवार, सोमवार, मङ्गलवार । मिल्यो कि मिलेन तिम्रो पात्रो हेर ।
आशिका— (पात्रो हेर्दै) ए कस्तो मिल्ने रहेछ ?
हजुरआमा— हो त । सङ्क्रान्तिको वार थाहा भएपछि अरू गतेका वार फटाफट पत्ता लगाइन्छ । गते, वारहरू तिथि जस्तो टुट्ने बढ्ने हुँदैनन् क्यारे । खुरुखुरु गन्न जाने भैहाल्यो ।
आशिका— के हो र हजुरआमा तिथि टुट्ने र बढ्ने भनेको ?
हजुरआमा— कुनै तिथि दुई दिन हुन्छन् त्यसलाई तिथि बढेको भन्छन् । कुनै तिथि हराए भने त्यसलाई तिथि टुटेको भनिन्छ ।
(हजुरबुबाको आगमन)
आशिका— हो, खोजेकै बेलामा हजुरबुबा आउनुभयो ।
हजुरबुबा— किन खोजेका थियौ र ?
आशिका— हजुरआमाले कुनै तिथि २ दिन हुन्छन् कुनै तिथि कहिलेकाहिँ हराउँछन् भन्नुहुन्छ । यस्तो पनि हुन्छ र हजुरबुबा ?
हजुरबुबा— हुन्छ नि ! हजुरआमाले भनेको ठीक हो । नपढेकी हजुरआमा भनेर तिमीले पत्याइनौ ?
आशिका— हजुरले त यी तिथिहरू चन्द्रमाका गते हुन् भन्नुभएको थियो । के गते पनि दुई दिनसम्म उही गते हुने, कुनै गते हुँदै नहुने हुन्छ र ?
हजुरबुबा— पात्रामा अहिले भर्खर हेर्न सकिने कुरालाई पनि बिनिसित्तै किन मुखमुखको गलफत्ती गर्ने ? खै पात्रो ल्याऊ त ।
आशिका— (पात्रो ल्याएर हजुरबुबालाई दिँदै) इः लौनुस् ।
हजुरबुबा— कहाँको चस्मा कहाँको के ? मैले भन्छु । तिमीले मैले भनेबमोजिम हेरर भन न !
आशिका— हस् । ल भन्नुस् । मैले के हेरूँ ?
हजुरबुबा— लौ कात्तिक शुक्ल प्रतिपदादेखि खुरुखुरु १, २.... गर्दै पढ्दै जाऊ त !
आशिका— अँ....१, २, ४ । ए ३ नै छैन हजुरबुबा ।
हजुरबुबा— हो, त्यै हो तिथि हराएको भनेको । यसरी तिथि हराएको अवस्थालाई तिथि टुटेको भनिन्छ । तृतीया तिथि टुटेको छ । अब अझ अगाडि पढ्दै जाऊ त ।
आशिका— अँ... ५, ६, ७, ८, ८ ए यहाँ त दुई दिन ८, ८ पो आयो ।
हजुरबुबा— हो, यही हो तिथि बढेको भनेको । यहाँ अष्टमी बढेको छ ।
आशिका— कसरी यस्तो हुन्छ नि हजुरबुबा ?
हजुरबुबा— त्यो कुरा त मैले जान्दिन । तिम्रा बुबाआमालाई सोध न । जानेका छन् कि ?
आशिका— छोरालाई बुहारीलाई सोध नभनेर तिम्रा बुबाआमालाई सोध पो भन्नुभयो ए हजुरबुबाले ! सबैभन्दा पहिला त हजुरका छोरा बुहारी हुनुहुन्थ्यो नि बुबाआमा त । होइन र ?
हजुरबुबा— हो त । नानीले एकदम ठीक भन्यौ ।
आशिका— अझ हजुरले त विज्ञान शिक्षकलाई सोध्न भन्नुपर्ने । त्यो त भन्नुभएन ए ।
हजुरबुबा— भन्नै लागेको थिएँ । यस्ता कुरा त कि विज्ञान शिक्षक कि ज्योतिषीलाई सोधे राम्ररी बताइदिन्छन् ।
आशिका— हजुरका यस्तै कुरा सुनेर हजुरआमाले पनि कहिलेकाहीँ “विज्ञानी शिक्षकलाई सोध” भन्नुहुन्छ नि हजुरबुबा !
हजुरआमा— (हाँस्दै) ए, हजुरबुबासित मेरा कुरा लगाउँदै छ्यौ होइन ?
आशिका— हजुरले भनेको कुरा त भनेकी छु । यस्तो पनि के कुरा लगाएको हुन्छ र हजुरबुबा ?
हजुरबुबा—(हाँस्दै) के को कुरा लगाएको भयो र ! “भनेको कुरा भन्न हुन्छ, खनेको बाटो हिँड्न हुन्छ” भन्ने त हाम्रो कानुन नै हो नि सानो छँदाको । कि कसो ?
आशिका— हो त नि !
हजुरआमा— लौ हेर नातिनी बाजेको एउटै मोतो भयो ।
(सबैको हाँसो । यत्तिकैका बुहारी अर्थात आशिकाकी आमा उत्तराको आगमन)
ए लौ आमा पनि आइहाल्नुभयो ।
उत्तरा— लौ आएँ । केही भन्नुछ भने भन ।
आशिका— यी तिथि बढ्ने घट्ने कसरी हुन्छन् ? भनेर हजुरआमा, हजुरबुबासित सोधेको त हामीले जान्दैनौँ । बुबाआमासित सोध भन्नुभयो ।
उत्तरा— सबै कुरा त मैले पो के जानँुला र । तैपनि मैले जाने जति भन्छु । खै पात्रो ल्याऊ त ।
आशिका— (पात्रो दिँदै) इः लिनुस् ।
उत्तरा— (पात्रो पल्टाउँदै । आशिकाले कात्तिक शुक्लपक्ष भेटाइदिएर टुटेको तिथि तृतीया र बढेको तिथि अष्टमी देखाइदिन्छे ।) अँ लौ हेर । यो द्वितीयाको २ को दायाँपट्टि तलमाथि गरेर साना साना अङ्कमा लेखेको छ नि । माथिल्लो द्वितीयाको समय हो र तल्लो तृतीयाको समय हो ।
आशिका— अँ, यहाँ ३ लेखेकै छैन । अनि कसरी तृतीयाको समय हुन्छ ?
उत्तरा— पख न । म भन्दै छु । लौ हेर द्वितीया बिहान कति बजेसम्म छ ?
आशिका— यही हो ?
उत्तरा— हो ।
आशिका— ए । अँ, ६ बजेर १८ मिनेटसम्म ।
उत्तरा— ठीक भन्यौ । अनि उः अलि पर हेर । यो कति बेला घाम लाग्छन् भनेको हो । सू. उ. भनेको सूर्य उदय भनेको हो । यहाँ हेरेर भन । घाम कति बेला लाग्ने रहेछन् ?
आशिका— अँ ६ बजेर १३ मिनेट जाँदा ।
उत्तरा— ठीक भन्यौ । यस दिन घाम लागेको कति बेरपछि द्वितीया सकिने रहेछ ?
आशिका— यो त मैले बुझिन ।
उत्तरा— यहाँ हेर न । घाम ६ बजेर १३ मिनेट हुँदा उदाउँछन् । द्वितीया ६ बजेर १८ मिनेट जाँदा सकिन्छ भने घाम उदाएको ६ मिनेटपछि द्वितीया सकिने भयो कि भएन ?
आशिका— ए ए अँ भयो भयो ।
उत्तरा— द्वितीया सकिएपछि के लाग्ने भयो त ?
आशिका— हुन त तृतीया लाग्ने हो । तर त्यहाँ तृतीया नै लेखेको छैन । एकैचोटी ४ लेखेको छ । चौथी लेखेको छ ।
उत्तरा— त्यै त भनेको । त्यहाँ साना अक्षरमा द्वितीयाको समय तलतिर समय लेखेको छ नि । त्यो तृतीयाको समय हो । त्यो समय हेर त कति लेखेको छ ?
आशिका— अँ त्यो त ५ बजेर ८ मिनेटसम्म छ ।
उत्तरा— बिहान ६ बजेर १८ मिनेटमा द्वितीया सकिएर तृतीया लाग्यो र यो अर्को दिन बिहान ५ बजेर ८ मिनेटसम्म रह्यो ।
आशिका— ए । तर तृतीया किन लेखेन ?
उत्तरा— पख न । म भन्दै छु । ल भन अर्को दिन बिहान घाम कति बेला लागे ?
आशिका— अँ... ६ बजेर १४ मिनेट जाँदा घाम लागे ।
उत्तरा— एकदम ठीक भन्यौ । अर्को दिन बिहान कति बेलासम्म तृतीया थियो ?
आशिका— अँ ... तृतीया ५ बजेर ८ मिनेटसम्म ।
उत्तरा— त्यसपछि के लाग्छ ?
आशिका— चौथी ।
उत्तरा— ६ बजेर १४ मिनेटमा घाम लाग्दा कुन तिथि हुने भयो ?
आशिका— चौथी ।
उत्तरा— किन ?
आशिका— किनभने पाँच बजेर आठ मिनेट जाँदा तृतीया सकिन्छ ।
उत्तरा— हो ठीक भन्यौ । उदाउने बेलाको घाम तृतीयाले देख्न पाएन । त्यसैले तृतीया टुट्यो । यदि कुनै तिथिले उदाउने बेलाको घाम देख्न पाएन भने त्यो टुट्छ । यदि कुनै तिथिले दुई दिनसम्म घाम उदाएको देख्छ भने त्यो बढेको भनिन्छ । तल अष्टमीमा हे¥यौ भने ठीक त्यही भएको छ । एक दिनभरि अष्टमी भएर अर्को दिन पनि थोरै समयले अष्टमीले घाम उदाएको देख्न पाएको छ । त्यसैले दुवै दिन अष्टमी भएको छ ।
आशिका— ए ए । निकै अप्ठ्यारो रहेछ । बल्लबल्ल बुझेँ ।
हजुरबुबा— ओहो आज नातिनीका प्रसाद यति राम्रो कुरा सिक्न पाइयो । बुहारीलाई थाहा रहेछ । यस्तो थाहा छ भन्ने कुरा हामीलाई थाहा थिएन ।
हजुरआमा— यो सिक्ने कुरा पनि कहिल्यै नसकिने रहेछ । मर्ने बेलासम्म पनि ए, अँ त नि, हो त, ... भन्यो रमायो ।
हजुरबुबा— हो त बूढीमान्छे । यसैमा त स्वाद छ । सिक्ने भन्ने कुरा कोक्रोदेखि मैरीसम्म हुन्छ रे क्या ।
आशिका— के भनेको हो हजुरबुबा कोक्रोदेखि मैरीसम्म भनेको ।
हजुरबुबा— जन्मदेखि मृत्युसम्म भनेको हो । मृत्यु भन्दाखेरि अलि नराम्रो सुनिएला भनेर मैरी भनेको क्या । मर्ने बेलामा मैरी (तुलसी मठ) मा सुताइन्छ नि । त्यै भएर मैरी भनेको ।
आशिका— मेरा हजुरबुबाको साहित्यिक भाषा !