भैरहवा- महान्यायाधिवक्ताको कार्यालयले उच्च सरकारी वकील कार्यालय बुटवल मार्फत रुपन्देही कारागारलाई पुस्तक उपलब्ध गराएको छ। बिहीबार कारगार परिसरमा आयोजित एक कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, उच्च सरकारी वकील कार्यालय बुटवलका प्रमुख सह–न्यायाधिवक्ता मोहन सागर बस्यालले कारागार प्रमुख नारायण पन्थीलाई पुस्तकहरु हस्तान्तरण गरे।
कार्यक्रममा उच्च सरकारी बकील कार्यालय बुटवलका उपन्यायधिवक्ता कृष्णचन्द पाण्डे, जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख न्यायाधिवक्ता डम्बर प्रसाद काफ्ले, रुपन्देही प्रहरी प्रमुख मनोज कुमार केसी, महान्याधिवक्ताको कार्यालय काठमाण्डौका सहायक न्यायधिवक्ता शिव वाग्ले लगायतको उपस्थितीमा पुस्तक हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कारगार भित्र रहेका कैदी तथा बन्दीले पुस्तकलाई सही रुपमा प्रयोग गर्ने वातावरणको सृजना गर्न आन्तरिक प्रशासनलाई आग्रह गरे। उनले पुस्तक तल्लो तह सम्म सही रुपमा सदुपयोग गरी कैदिहरुको जिवन परिवर्तन गर्ने, ज्ञान क्षमता विकास गर्न सहयोग पुग्ने बताए।
महानयायधिवक्ताको कार्यालयले कारागारको अनुगमन तथा निरिक्षण गर्दा यहाँ रहेको समस्यालाई समाधान गर्न पहल गरे स्वरुप करागार भित्र लाइब्ररीको व्यवस्थापन गरिएको छ । अध्ययनले नै जीवनशैलीमा ठूलो उपलब्धि र परिवर्तन ल्याउने हुदा पुस्तक अध्ययन गरेर सुधारिने मौका मिलोस् भन्ने अभिप्रायले पुस्तक हस्तान्तरण गरिएको हो।
उच्च सरकारी वकील कार्यालय बुटवलका प्रमुख सह–न्यायाधिवक्ता मोहन सागर बस्यालले धेरै नै महत्वपूर्ण विद्याका पुस्तक कारागारमा हस्तान्तरण गरेकाले पुस्तकको दर्ता र अभिलेखीकरण गरेर मात्र प्रयोग गर्न आग्रह गरे। सानो कुराले पनि ठूलो नतिजा ल्याउने बताउदै उनले गत वर्ष मात्रै भैरहवा स्थित बाल सुधार गृहलाई पुस्तक हस्तान्तरण गरेकोले धेरै परिवर्तन पाएको बताए।
नेपालको संविधान, साहित्य, मुलुकी, देवानी, कानूनी विषय, कथा, उपन्यास, शब्दकोस, प्रशासनिक संरचना लगायतका विधाका २८० वटा पुस्तक १ लाख २० हजार बढि मुल्य बराबरको हस्तान्तरण गरिएको उच्च सरकारी वकील कार्यालय बुटवलका कम्प्युटर अपरेटर बुद्धि पराजुलीले बताए । २ ब्लक रहेको रुपन्देही कारागारमा हाल ४ सय ५१ कैदी बन्दी रहेका छन।