बुटवल । रुपन्देहीको शुद्धोधनमा ठूलाे लगानीमा आलुका तयारी परिकार उत्पादन गर्ने उद्योग निर्माण गरिरहेको फर्स्ट च्वाइस फूड्स प्रालिले २०८० सम्ममा लुम्बिनी प्रदेशका तराईका जिल्लाका ५० हजारभन्दा धेरै किसानलाई आलु खेतीमा लगाउने बताएको छ ।
आज उद्योग निर्माणस्थल शुद्धोधन-४ मा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका सञ्चालक कृष्णप्रसाद पौडेलले उद्योगमा कच्चा पदार्थका रुपमा ठूलो परिमाणमा आलु चाहिने हुँदा धेरैभन्दा धेरै किसानलाई आलु उत्पादनमा जोडिने बताए । पहिलो चरणमा लुम्बिनीका रुपन्देही, कपिलवस्तु, दाङ र बर्दियाका किसानलाई आलु खेतिमा लगाइने उनको भनाई छ । त्यसका लागि यी जिल्लाहरुका किसानसँग हालैमात्र अन्तरक्रिया गरी योजना अगाडि बढाइएको उनले बताए ।
उद्योग सञ्चालन हुँदा प्रतिघण्टा ३० टन आलु आवश्यक पर्ने कम्पनीको अनुमान छ । उक्त परिमाणको आलु उत्पादनमा स्थानीय किसानलाई संलग्न गरी विदेशबाट हुने आलुको आयातलाई निरुत्साहन गर्ने र स्वदेशकै किसानहरुको जिवनस्तर उकास्ने लक्ष्य कम्पनीको रहेको छ ।
नेपालमा हाल भारत र बेल्जियम लगायतका देशहरुबाट बार्षिक १७ अर्ब रुपैयाँको आलुका तयारी परिकारहरु नेपालमा आयात हुने गर्दछन्, जसबाट ठूलो रकम विदेशिने गरेको छ ।
आलु र आलुका परिकारको आयातलाई निरूत्साहन गरि स्वदेशमा नै उत्पादन गर्ने हेतु आलु वालीमा आधारित उद्योग खोल्न लागिएको उद्योगी पौडेलले जानकारी दिए । उनले स्वदेशको खपतका लागि मात्रै नभई विदेशमा निर्यात गर्नसमेत पहिलो बर्षमा १० हजार टन आलुका परिकार उत्पादन गर्ने लक्ष्य लिइएको बताए ।
उद्योगका बारेमा जानकारी दिंदै उनले भने-"पहिलो बर्ष फ्रेन्च फ्राइज उत्पादन गर्ने छौं । अर्को बर्षबाट बर्गर, समोसा, टिक्कीलगायतका आलुका परिकार उत्पादन गर्छौं । जर्मन प्रविधिको मेसिनबाट उत्पादन हुने यी परिकारहरू स्वदेशी खपतका लागि मात्र होइन, दुवई,मलेसिया, भारत, पाकिस्तान लगायतका देशमा पनि निर्यात गर्ने छौं ।" उनका अनुसार उद्योगलाई आवश्यक पर्ने आलुको उत्पादन प्रक्रिया र बजारिकरणमा कम्पनीले किसानलाई प्रत्यक्ष सहयोग गर्नेछ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले उद्योगको स्थापनासँगै गाउँपालिकाका किसानहरुका लागि ठूलो मौका आएको बताए । उनले भने-'उद्योग दुहुनु गाई बनेर आएको छ, जति सक्नुहुन्छ किसान साथिहरुले दुहुनुहोस् ।' गाउँपालिकाले किसानहरुलाई आलु उत्पादनसँग जोड्न सकेको सहयोग गर्ने उनले प्रतिवद्धता पनि जनाए । उनले किसानहरुको जिवनस्तरसँग जोडिएर उद्योग सञ्चालन हुनुपर्ने बताउँदै उद्योग सञ्चालनका लागि गाउँपालिकाले समन्वयकर्ताको भूमिका निर्वाह गर्ने पनि बताए ।
कार्यक्रममा आलु वाली विज्ञ श्यामप्रसाद ढकालले खाद्यसुरक्षाका हिसाबले नेपालमा आलु वालीको भूमिका निकै ठूलो रहेको बताउँदै ठूलो परिमाणमा विदेशबाट आयात गर्नु पर्ने वाध्यता हटाउन उद्योगले बलियो भूमिका खेल्न सक्ने बताए । त्यसका लागि आलु उत्पादनमा किसानहरुलाई प्रोत्साहित गर्न आलु उत्पादनका लागि किसानलाई चाहिने प्राविधिकदेखि भण्डारणसम्मका योजनाहरु उद्योगले अगाडि सारेको बताए ।
उनले भने-"नेपालमा फ्रेन्च फ्राइजका लागि उपर्युक्त जात छैनन् । ती जातहरु ल्याएर टिस्यु कल्चरद्वारा यहीँ बिउ उत्पादन गर्न सकिन्छ । त्यसका लागि हामी सक्षम छौं । उन्नत् जातको बिउ ल्याएर १६ टनको ठाउँमा ३२ टन आलु उत्पादन सक्षम छौं।"
कार्यक्रममा बोल्दै कम्पनीका व्यवस्थापक अनिष कुमार खड्काले कम्पनीको लक्ष्य नेपालका हरेक डिपार्टमेण्टल स्टोर तथा साना-ठूला सबै पसलमा उत्पादनहरु सरल र सुपथ मुल्यमा उपलब्ध गराउनु रहेको बताए । उनले आलु उत्पादनका लागि किसानलाई आवश्यक पर्ने प्राविधिक र उत्पादन पछिको बजारीकरणमा कम्पनीले उल्लेख्य सहयोग गर्ने बताए ।
उनले भने-"हाम्रा उत्पादनलाई राष्ट्रिय अन्तराष्ट्रिय ब्राण्डको रूपमा स्थापित गर्नु कम्पनीको उद्धेश्य रहेको छ । आलुको उत्पादनले बजार नपाएको गुनासो पनि छ । किसानले उत्पादन गरेको आलु पुरै कम्पनिले खपत गर्नेछ । कम्पनीले आलुको मूल्य बजारनियोचित दिने छ ।"
आगामी बैशाखमा उद्योग सञ्चालन हुनभन्दा पहिले नै किसानहरुलाई आलु खेतीमा लगाउने फर्स्ट च्वाइस फुड प्रालिले तयारी गरेको छ । उद्योग सञ्चालनमा आएको दोस्रो वर्षसम्ममा २० हजार घरपरिवारलाई आलु खेतीमा लगाउने प्रालिको तयारी छ । कम्पनीका अनुसार २०८० पछि लुम्बिनी प्रदेशका ४० देखि ५० हजार परिवारले उद्योगकै लागि व्यवसायिक आलु खेती गर्नेछन् । जर्मनीको इमा कम्पनीको प्रविधिमा शुद्धोधन गाउँपालिकामा आलु जन्य परिकारको उद्योगको प्लान्ट निर्माण हुन लागेको कम्पनीले बताएको छ । उद्योगको निर्माणको लागि एक अर्ब भन्दा बढि लागत लाग्ने कम्पनीको अनुमान छ ।