भैरहवा । दर्जनभन्दा धेरै ओभरलोडेड मालवाहक भारतीय गाडीहरुलाई यातायात व्यवसायीले बेलहिया नाकामा रोकेका छन् ।
भन्सार विन्दुमा भारवहन क्षमता जाँच गरी नेपाल प्रवेश दिनु पर्ने व्यवस्था रहे पनि क्षमता भन्दा दोब्बर लोड बोकेर निर्वाध रुपमा नेपाल भित्रिन लागेका दर्जनौं सवारीलाई पश्चिमाञ्चल यातायात व्यवसायी समितिले बेलहिया वाइपासमा रोकेको हो ।
नेपालमा ३० टन भन्दा बढि क्षमताको कुनै पनि गाडी चलाउने व्यवस्था कानुनले गरेको छैन, तर भन्सार विन्दु बाट नै ७१ टन भारवहन भएका गाडी नेपाल प्रवेश गर्ने गरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष अर्जुन भुसालले बताए ।
भारवहनको नेपाली मापदण्ड अनुसार सवारी नचलेका कारण भारतीय सवारी रोकिएको पनि उनले जानकारी दिए । साथै उनले नेपालमा नेपाली गाडीले ढुवानी गर्न पाउनु पर्नेसमेत बताए । उनले भने-'भारतीय गाडीले नेपालभरी निर्वाधरुपमा ओभरलोडसहित ढुवानी गरेर यातायात व्यवसायीलाई बेरोजगार हुन बाध्य पारेका छन् ।'
सम्बन्धीत निकायहरुलाई कयौं पटक समस्याबारे पत्राचार गरे पनि मौन रहेकोले आज गाडी रोक्नु पर्ने अवस्था आएको उनको भनाई छ । 'कि हामीलाई पनि ओभरलोड बोक्न दिनु पर्यो, होइन भने हाम्रो गाडी त मरेको मरै, भारतीय गाडी चलेको चल्यै हुने भयो,' उपाध्यक्ष भुसालले भने ।
यातायात व्यवसायीले हिजोबाट ओभरलोडका गाडी रोकेका हुन । उनीहरुले १४६ वटा गाडी आज छाडेका छन् ।
उनीहरुले ३ दर्जन भन्दा बढि ट्रकहरुलाई रोकेर राखेका छन् । नियमानुसार जरिवाना नतिरेसम्म सवारीलाई नेपाल छिर्न नदिन उनीहरुले ट्राफिकलाई अनुरोध गरेका छन् ।
यता भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानले भन्सार ऐन र आर्थिक ऐनले ओभरलोडबारे केही नभनेको कारण रोक्न नमिलेको बताए । ओभरलोड आफूहरुलेभन्दा पनि प्रहरी प्रशासनले हेर्नूपर्ने बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रमुख प्रहरी नायब निरिक्षक दामोदर मल्लले भन्सार विन्दुमा नै भार मिलान गर्नुपर्ने बताए ।
२०७१ सालमा भौतिक पूर्वाधार मन्त्रालयमा भएको निर्णयले भन्सारमा विन्दुमै भार मिलान गरी पठाउने निर्णय छ । भार मिलान गर्न नसकिने गाडीहरुको सन्दर्भमा यातयात व्यवस्था कार्यालयबाट अनुमति लिई तोकिएको शुल्क जरिवाना वापत तिरेर पठाउने व्यवस्था छ ।
'१७ टन बोक्नेले ७१ टन बोकेर आएको पाएका छौं । हामीले अहिले सम्म ५ सय देखि २ हजार सम्म जरिवाना काट्न मिल्छ, अहिले सम्म १५ सय काटिरहेका थियो आजबाट २ हजार जविाना काट्छौ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को १०७ २ क अनुसार सो जरिवाना गर्न पाउने व्यवस्था छ,' मल्लले भने ।